सत्ता र शक्तिको
उन्माद बेस्सरी बढेर गयो
बेथिति र अराजकताले
पराकाष्ठा नाघेर आयो
सरकार ।
देश र जनताको
लागि त्याग गर्नु पर्ने
बेलामा, झिना मसिना
कुरा र केही व्यक्तिको
पछि लाग्दा जनताको
भविष्यमा अन्यौलता
छाएको छ सरकर ।
जनताको बोल्न पाउने
हक किन कुण्ठित गर्नु
बोल्ने बोल्दै गर्छन्
धर्ना, जुलुस गर्ने
गर्दै गर्छन् विरोध गर्नेको
बाटो खुल्ला गर्दिनु सरकार ।
जनतालाई न्याय दिनु
गाँस, बास्, कपासको
व्यवस्था गर्नु शिक्षा
स्वास्थ्य र रोजगारीको
ग्यारेन्टी गर्नु सरकार ।
कुराले मात्र हैन कामले
जनताको मन जित्नु
कलकारखाना उद्योग
धन्दा, बाटो, घाटो
बत्तीको विकास गर्नु
सरकार ।
आयातलाई घटाएर
निर्यात बडाई
कृषि र पर्यटनको
श्रीवृद्धि गरी स्वनिर्भर
बन्ने जनतालाई बाटो
देखाउनु सरकार ।
आत्मघाती असमान, सन्धि
सम्झौता खारेजी गरी
विश्व सामू नेपालीको शिर
ठाडो पारेर, वीर गोर्खालीको
अस्तित्त्व र पहिचानलाई
कायम राख्नु सरकार ।
बुद्धको देश
वीर विराङ्गनाको देश
प्राकृतिक सुन्दरता
खोला, नाला, वनजङ्गल
हिमाल, पहाड, तराई
मिलेर बनेको देश
भाषा, कला, धर्म, संस्कृति
जातजातिमा सहिष्णुता
रहेको सुन्दर देशमा
सरकार ।
कहिले सम्म भ्रष्टाचारको
दुर्गन्ध फैलाइरहने
युवा शक्ति पलायन गराइरहने
ठग र अपराधीलाई संरक्षण
गरिरहने सरकार ?
वास्तविक द्वन्द्व पीडित,
सहकरी पीडित,
मीटर ब्याजी र सुकुम्बासीले
कहिले न्याय पाउने सरकार ?
नाराले मात्र
समृद्ध नेपाल सुखी नेपाली
बनाउन सकिएला
पानीजहाज र रेल ल्याउन
सकिएला, घर घरमा
ग्यासको पाइप जोड्न
सकिएला सरकार ?
देशमा आमूल परिवर्तन
समृद्धि र विकास
चाहिएको छ जनतालाई
अमन चयन सुख र
शान्ति चाहिएको छ
सरकार ।
अब देशका लागि
ब्युँझिएर जनताको सपना
साकार पार्ने बेला आएन र
सरकार ?
– कृष्ण बजगाई
भक्तपुर


