हिजोका त्रुटिहरूलाई चिन्ताको स्रोत बनाई
सुन्दर भोलिको आशामा
बिर्सिएर घमाइलो आजलाई
म कहाँ पुगेछु।
ठुला घर जमीन र दौलतको पछि दौडेर
अनि बिर्सिएर
तिनै दौडाइका पदचापहरुलाई
खै म कहाँ पुगेछु।
छाडेर बालापनका तोते बोली
र बेबजहका खित्काहरू,
चढेर जवानीको रेलमा
आखिर
म पुनः बालापनमै पुगेछु।
कसैका अघि सुन्दर देखिने हुटहुटीमा
कसैको मिठा स्वरहरूमा
भेटिने मेरा मिथ्या तारिफहरूमा
अनि हरपल बनिदिने मेरा
झुठा परिचयहरूका आनन्दमा
दिनरात होम्मिएर
अनि अझै चिन्तन गरेर,
भुलेर मेरो वास्तविकतालाई,
म कहाँ पुगेछु?
हे भोगी!
भनिदेऊ
खै म कहाँ पुगेछु?
– रोशन गड्तौला


