पत्रकारितामा लागेपछि धेरै कुरा सिक्ने अवसर पाएँ । रिपोर्टिङका क्रममा सडक देखि सदन सम्मका मान्छे भेट्ने मौका मिल्यो । अफिसियल कामकाजले भेट गर्नुपर्ने भएता पनि कोही कोहीसँग वैयक्तिक चिनाजानीहरु पनि थपिने नै भए । विशेष त राजनीतिक भेटघाट र सभा समारोहमा म छुट्दैन थिएँ । म पत्रकार मात्रै भएर महिला पत्रकार पनि नभएको भए सायद राजनीति भित्रको पनि पुरुष नीति बुझ्ने अवसर मिल्ने थिएन मलाई । राजनीति नामको रंगमञ्चमा मञ्चन भने अरु नै चीजहरुको बढि हुँदो रहेछ । अफिसर बन्नका लागि दशौँ वर्ष घुँडा धसेर पढेकाहरुको मेहनत एक रातमा किनबेच गरिएको पनि देखेँ । समाजशास्त्र र राजनीति दर्शनको विद्यार्थी भएर पनि मलाई यी खेलहरु बुझ्न फिल्डमै उत्रनु पर्यो । किताबमा त व्याख्याहरु हुन्छन् , परिभाषाहरु हुन्छन् । अनि समाजमा चरितार्थ गर्ने नायक, खलनायकहरु हुन्छन् ।
तस्करीहरु को हुन् ? बलात्कारी को हो ? भ्रष्टाचारी को हो ? सबै सबैका अनुहारहरु स्पष्ट आउँछ स्मरणमा । विडम्बना म मौन, म जस्तै अरु मौन र हाम्रो मौनतामाथि मनपरी गरिरहेका छन् ठालुहरु ।
लामो समयको राजनीतिक पत्रकारिताबाट म देशको भविष्य प्रति विचलित भएँ । यहाँसम्मको मेरो संघर्षका यात्राहरु मेरो आफ्नै भविष्य प्रति व्यङ्ग्य गर्न थालेका थिए ।
के पाइस् ?
धन सम्पत्ति ?
पावर ?
सुनिश्चित भविष्य ?
आत्म सन्तुष्टि ?
अहँ! केही पनि मिलेन ।
एक किसिमको मानसिक विचलन आयो म मा । म हार मान्नेवाली थिइनँ । कसरी हुन्छ मलाई मेरो लक्ष्य भेट्नु थियोे । एक कुशल पत्रकार बनिरहन सकिनँ त के भो ? सफल जिवनका अनेक आयामहरु खोजिरहन्थेँ म ।
एकाएक मनमा एक झिल्को आगो बल्यो । म आफै पनि मानसिक तनावका कारण मनोपरामर्श मा थिएँ । यसैबीच एक बलात्कारीसँग भेट भयो । तीस बत्तीसको हाराहारीको पुरुष । उसले १८ वर्षको उमेरमा ७ वर्षकी बालिका बलात्कार गर्यो र बाह्र वर्ष लामो जेल सजाय पश्चात् मानसिक रुपमा विचलित भयो । र त्यसैको मनो परामर्शका क्रममा हाम्रो भेट भयो । हेर्दा साधारण, हुन त ऊ अहिले आफैंमा विक्षिप्त भएको छ । रोगी भएको छ र उसलाई उपचारको जरुरत छ । जिङ्रिङ्ग कपाल, पसिनाको अमिलो गन्ध, कम बोल्ने, एकोहोरो हेर्ने, बोलाएको धेरै बेरपछि थाहा पाउने । एक किसिमको पागलपन व्याप्त थियोे उसमा । लाग्थ्यो ऊ बलात्कारी होइन, पागल हो । उसले पागलपनमा बलात्कार गर्यो होला या पागलपन माथि बलात्कारको आरोप पो प्रमाणित गराइयो कि ? मनमा अनेकौं सवालहरु आए र गए पनि ।
दैनिक भेटघाट र ऊ प्रतिको मेरो तिव्र जिज्ञासाहरुले मलाई दिनदिनै उसको नजिक बनाईरहेको थियोे । अब म उसलाई परामर्श केन्द्र बाहिर पनि फलो गर्न थालेँ । ऊ बोल्दैन थियो, बोल्नै परे पनि एकदम जोखेर बोल्थ्यो, मानौ उसको बोली सुनको हो र ऊ लाल लालमा अड्कलेर बोल्छ । म जानि जानि एउटा अपराधीको किन सन्निकट हुन खोजिरहेकी हुँ ? यो प्रश्नले मलाई कहिल्यै पछि हटाएन ।
बिना उदेश्य सडकमा हिँडिरहेको थिएँ । सडक पेटीमा सागका मुठा बेच्ने आमाहरूको अनुहार पढिरहेको थिएँ । अगाडि साग कम, हातमा पैसा बढि हुने आमाहरूको आँखामा उज्यालो थियो अनि पैसा कम सागको मुठा बढि हुने आमाहरूको आँखामा निराशा……उफ् कोही खानका लागि बाँच्छन्, कोहि बाँच्नका लागि खान पाउँदैनन् ।
अलिपर एउटा चौतारो छ । मैले आफ्नो गन्तव्य त्यहिँसम्म बनाएँ । वरैबाट देखेँ , बलात्कारी पनि त्यहिँ बसिरहेको छ । मैले देखेँ, उसले देखेको छैन मलाई । देखे पनि के ? के लिनुदिनु र ऊ सँग मेरो । त्यसमाथि ऊ यताउता हिँड्छ र मात्रै नभए मुर्ति र उसमा केही फरक छैन । मौनता, सुन्यता, चकमन्न छ संसार उसको । नजिकै पुगेपछि म मुस्कुराएँ, उसले पनि थोरै ओठ तन्कायो ।
“हाइ , म उदिता”
“हजुर, म रमण”
यति मिठो बोल्नेले नि बलात्कार गर्यो होला ?
मनमा कस्तो कस्तो भएर आउँछ । दुविधा जस्तो, अविश्वास जस्तो ।
तर ऊ जेल बसेर आएको हो । अपराधी हो, बलात्कारी हो । सात वर्षे बालिकाको योनी क्षत् विक्षत् बनाएको हो । अ हो म किन एउटा बलात्कारीसँग यसरी आत्मियता दर्शाइरहेछु ?
होइन उसले गर्न नहुने अपराध गरेको हो र त्यसको सजाय पनि भोगिसकेको छ । यहाँ हजार अपराध गरेर खुलेआम बाँच्नेहरूको धेरै आदर्श लेखियो । एउटा अपराधी जो, आफैं आत्मग्लानीले बहुलाएको छ । के उसलाई हामी माफ गर्न सक्दैनौं ? हामी नसही कमसेकम म उसलाई यो अवस्थाबाट उठ्न सहयोगी हुन सक्दिनँ ?
सधैं देख्दा, भेट्दा विस्तार विस्तार ऊ पनि खुल्न थाल्यो । मेरो मुस्कानमा मुस्कुराउन मात्रै होइन ऊ खिलखिलाएर हाँस्न पनि थाल्यो । मलाई उसको हाँसोको आदत पर्यो । म बिना कारण उसलाई भेटिरहन थालेँ । सायद उसलाई पनि मेरो बानी पर्दै गयो । उमेरमा म ऊ भन्दा ५/७ वर्ष जेठो छु । तर ऊ मभन्दा बूढो देखिन्छ । उमेरभन्दा अगावै चाउरिएका गालाका छाला, टिङ्रिङ्ग उठेको गालाको हड्डी । कहिलेकाहीँ त लाग्छ ऊ हाड र छाला मात्रैले बनेको छ । उसको शरिरमा कतै पनि मासु मिसिएको छैन जस्तो ।
जे नहुनु थियो, त्यहीँ भयो । म एउटा बलात्कारीको प्रेममा परेँ । झुस्स दाह्री, जिङ्रिङ्ग कपाल, ठुस्स गन्ध आउने पसिना सबै सबै मनपर्न थाल्यो । उसको मौनता , उसको तोलाको बोली त झन् मेरो प्राण हर्ने कारण हुँदै गए ।
अब हामी बीचका दुरीहररू कम हुन थालेका थिए । ऊ मसँग खुलेर बोल्ने मात्रै होइन बहस गर्न सक्ने भएको छ । मलाई उसका तर्कहररू मिठा लाग्छन् । म उसलाई जिताउन भए पनि हारिदिन्छु । मलाई लाग्दैन ऊ मलाई बलात्कार गर्छ । धेरै पटक हामीले सुनसान बाटोहरु दुई जना मात्रैले गुजार्यौँ । उसले मेरो हातहररू सम्म नछोएर हिँड्यो । जसरी ईश्वर हरेक मान्छेभित्र हुन्छ भनिन्छ, त्यस्तै दानवत्व पनि मान्छे भित्रै हुन्छ । आफुभित्रको दैत्यलाई बेलैमा बध गर्न सकेको भए, ऊ बलात्कारी हुने थिएन र हुने थिएन ऊ मेरो बलात्कारी प्रेमी ।
– अनामिका सजल
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।