विवश जिन्दगीको जिउने अधिकार
खोज्दै हिँडेको समय
बन्दुकको नाल र एम्बुसको पासोबाट
मुक्तिको कामना गरिरहेछ ।
संवेदना हराएको मस्तिक झैँ निर्जीव
लमतन्न सडकमा आफू समय हुनुमा दुखिरहेछ
खै ! कसलाई थाहाँ छ
आँसुको भेललाई रोकेर उसले
हर्षो उन्माद फैलाईरहेको फगत मृगतृष्णाको भूमरीमा
अल्झि रहेछ समय !
आफूले आफ्नै इच्छा आकांक्षालाई तरवारको धारमा
राखेर उन्मुक्त भएकाछन् समयहरु !
बुद्ध पनि अब त समयको अगाडी विवश भैं
निर्लिप्त भावमा चुपचाप हेरिरहेछन्
सोच्दै होलान
मेरो शान्तिको सन्देशलाई
कति कठोर संग छलिरहेको छ समय
अझ ! अब कति
बीभत्स नृत्य गर्ने हो समयले ?
भो ! पुग्यो अब शान्तिको बर्षा चाहिन्छ !
टाढा टाढा क्षितिजसम्म
जीवनको शंखनाद चाहिन्छ
शान्तिको परेवा उड्नु पर्छ अब !
विश्वासको दियो बल्नु पर्छ
हृदयमा अब !
✍️हरिश कल्पित
काठमाडौं


