मेरो देश
र मेरो देशमा रहेका दुईवटा रेखाहरु
एउटा मैले चाहेर पनि पार गर्न सकेको छैन ।
र अर्को…
मैले बाध्यताले पार गर्नुपरेको छ ।
मैले चाहेर पनि पार गर्न नसकेको यो गरिबीको रेखा
खै कसरी फड्को मारु सोच्ने फुर्सदै मिलेन
परिवार छोराछोरीको साँझ-बिहानी छाक सोच्दा सोच्दै
अनि…
देशको नाममा कोरिएको रेखा नाघ्न बाध्य हुन्छु ।
स-साना छोराछोरी सकेको जिम्मेवारी सम्हालिरहेछ घरमा
भोग्न नपाई सकिरहेछ उनीहरूको बालापन
गाउँका मुखियाका छोरा
चुनावपछि सहर पसेर फर्किएका छैनन् ।
खबर पठाएको थियो रे।
मान्छे भर्ती गर्न खातिर गुन्जी रहेछ संसद
गाउँको दुःख बोकेको मेरो बोली गुञ्जाहाट मै हरायो ।
उनी सहरमै हराए ।
मैले पार गर्न चाहेको रेखा झन् विशाल बनिरहेछ ।
बाध्यताले पार गर्नुपर्ने रेखाले दूरी छोट्याइ रहेछ ।
✍️नविन श्रेष्ठ
खोटाङ, बराहपोखरी


