एउटा सपना देखेको थिएँ
जहाँ – पुरा गाउँ अटेको थियो
जहाँ – गाउँलेहरुको सम्भावना अटेका थिए
जहाँ – सपना र महत्त्वाकाङ्क्षा समानान्तर हुन्थें
जहाँ – सपना देख्ने आँखाका परेलीहरुमा
गाउँका सारा मैलोहरु छानिएका हुन्थें
तिनै आँखाका नानीहरुमा
गतिमान भइ कुदिरहेका हुन्थें
विकासका क्रमिक सपनाहरू
जहाँ – तिमी र म भन्दा माथि -हामी हुन्थ्यौँ
हामी भन्दा अझै माथि -हाम्रो समुदाय हुन्थ्यो
धर्म भन्दा ठूलो -दया र करुणा हुन्थ्यो
जात भन्दा माथि -कर्म र श्रम हुन्थ्यो
वर्ग भन्दा बेजोड -व्यवहारिक समानता हुन्थ्यो
वर्ण भन्दा सुन्दर -चरित्रको रङ्ग हुन्थ्यो
मेरो लागि -समाजवाद मात्रै यति थियो
जो देख्थे- म सपनामा
जो चाहान्थे- म विपनामा
जसलाई- निर्माण गर्न
कुनै दिन मैले पनि बन्दुक बोकेको थिएँ
र गरेको थिएँ अर्पण दुवै खुट्टा
पुँजीवादी व्यवस्था विरुद्ध
तर -अहिलेसम्म कसैगरी आएन समाजवाद
बरु भित्रीयो -नवउदारवाद
चर्कियो -दलाल पुँजीवादी व्यवस्था
झन बढ्यो -समाजभित्र वर्गीय युद्ध
होली खेलिरहे मानिसहरु धर्मका रङ्गहरुमा
आजकाल…
गुमेको मेरो खुट्टाको घाउ बाट
मेरो समाजवाद- मलाई नै जिस्कारहन्छ ।।
✍️असल चरित्र
हलेसी तुवाचुङ नगरपालिका – ५ खोटाङ


