निद्रा
आएको छैन आज पनि यतिबेलासम्म।
भएको छ ऊ उहल्लघन्करी,
आउँदैन कहिल्यैँ समयमा।
गरेको छु मैले आफ्नो कर्तव्य,
गरेको छैन कुनै अपहेलना।
आएको छ उसको जीवनमा नयाँ समस्या।
ऊ सोचिरहेको छ त्यसको समाधान।
सोच्दा सोच्दै लिएछ हातमा कापी र कलम,
लेख्न थालेछ आफ्नो मनका कुरा।
आउँदैन उसलाई आफ्ना कुरा पोख्न,
उसले पोखेछ आफ्ना भावना
कथा र कविताका रूपमा।
अर्को दिन पढ्नेछन् मानिसहरू र
भन्नेछन्, “कति राम्रो रचना!”
कसरी डुब्न सकेछ होला
कल्पनापुरमा यति मिठो रचना गर्न?
तर बुझ्दैन समाज,
ऊ यो कल्पनामा होइन,
यथार्थमा लेखिरहेको छ
आफ्नो मन र मस्तिष्कका कुरा।
जुन उसले बाध्य भएर भोग्नुपरेको छ।
समाज बुझ्दैन अरूका समस्या।
समाजलाई त चाहिएको छ केवल कुरा
उडाउन हावामा, जसरी उड्छ चियाको बाफ।
समाज बन्छ उसको सल्लाहकार, तर
खोज्दैन बन्न उसको साथी।
ऊ बिउँझिन्छ आफ्नै कल्पनाबाट,
पूरा गर्छ रचना।
लाग्छ उसलाई,
निद्रा…
थाहाँ छैन उसलाई कहिले
ऊ निदायो र ब्युँझियो।
उसको यो दिनचर्या।
ऊ खुसी छ आफ्नो एक्लोपनमा।
✍️अमृत पन्थी
सन्धिखर्क अर्घाखाँची




