एक मुरि मुर्छा बोकेर
ओझेल भयो घाम
आँखाको नानीबाट
उ मजदुर हो
ज्याला नपाउने मजदुर
आफ्नै लाभाले
आफै जलिरहेको
आफूले आफैलाई जितेर
आफै हारिरहने
एक निहत्था उज्यालो !!
करोडौं बर्षदेखि
एउटा गरीब मजदुर बाँच्यो
घाइतेको चोटमा होस
विधवाको आँखामा होस्
रोगीको पुरानो ओछ्यानमा होस्
उपियाँ परेको
एक दिनहीन को खटियामा होस्
उपचारको पैसा तिर्न नसकेर
अस्पतालको झ्यालबाट
फाल हाल्ने सोचमा रोइरहेको
बिरामीको आँसु संग होस्
उ उज्यालो बनेर आइदिन्छ
बिहे छिनेर रद्ध गर्ने केटासँग होस् कि
दाइजो नपाएको निहुँमा
दुलहीलाई आगो लगाउने
पुरुषार्थहीन पुरुष होस्
या फेरि कतारको डढेलोमा
परिवारलाई पाल्न गएको
श्रीमान् को सपना कुल्चेर
यौवनको तातो खोज्दै
पराइ बनेकी श्रीमतीको आँखामा होस्
घाम जहाँसुकै आइदिन्छ
उ विभेद गर्दैन कसैलाई पनि
तिमी के सिकाउंछौ घामलाई
मानव अधिकार ?
आफै बलेर अरुलाइ उज्यालो दिने
घामको जिन्दगी बाँचेर हेर
कसैको कुभलो नसोच्ने
घामको प्रार्थना सुनेर त हेर
जुनको पछ्यौरी ओडेर
रजनीको अँध्यारो
धुम धुम्ती
मेरो नजिक आउने छ
म चिसो घुस्यान जम्मा गर्दैछु
बाल्दै छु आगो मुटु कापेको बेला
बारीको कान्लाबाट जुनकीरी
गीत गाउँदै हाम्फाल्छे
कोदो टिपेर छोडेको विधवा नलहरु
निर्वाध कुरिरहेछन्
भोलिको उदाउँदो घामलाई
एउटा बुढो मजदुर
जो सधैं सधैं
बिहानै गीत गाउँन आइपुग्छ
पीडाको आगनीमा
सनहीको स्वर लिएर
कुमारीको आँखाभरि सपना भरिदिन्छ उ
र फेरि डुबिदिन्छ क्षितिजमा
मान्छेहरुको कहालीलाग्दो
अरबौँ कथा लिएर
✍️लक्ष्मण सिटाैला
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।