एक मुरि मुर्छा बोकेर
ओझेल भयो घाम
आँखाको नानीबाट
उ मजदुर हो
ज्याला नपाउने मजदुर
आफ्नै लाभाले
आफै जलिरहेको
आफूले आफैलाई जितेर
आफै हारिरहने
एक निहत्था उज्यालो !!
करोडौं बर्षदेखि
एउटा गरीब मजदुर बाँच्यो
घाइतेको चोटमा होस
विधवाको आँखामा होस्
रोगीको पुरानो ओछ्यानमा होस्
उपियाँ परेको
एक दिनहीन को खटियामा होस्
उपचारको पैसा तिर्न नसकेर
अस्पतालको झ्यालबाट
फाल हाल्ने सोचमा रोइरहेको
बिरामीको आँसु संग होस्
उ उज्यालो बनेर आइदिन्छ
बिहे छिनेर रद्ध गर्ने केटासँग होस् कि
दाइजो नपाएको निहुँमा
दुलहीलाई आगो लगाउने
पुरुषार्थहीन पुरुष होस्
या फेरि कतारको डढेलोमा
परिवारलाई पाल्न गएको
श्रीमान् को सपना कुल्चेर
यौवनको तातो खोज्दै
पराइ बनेकी श्रीमतीको आँखामा होस्
घाम जहाँसुकै आइदिन्छ
उ विभेद गर्दैन कसैलाई पनि
तिमी के सिकाउंछौ घामलाई
मानव अधिकार ?
आफै बलेर अरुलाइ उज्यालो दिने
घामको जिन्दगी बाँचेर हेर
कसैको कुभलो नसोच्ने
घामको प्रार्थना सुनेर त हेर
जुनको पछ्यौरी ओडेर
रजनीको अँध्यारो
धुम धुम्ती
मेरो नजिक आउने छ
म चिसो घुस्यान जम्मा गर्दैछु
बाल्दै छु आगो मुटु कापेको बेला
बारीको कान्लाबाट जुनकीरी
गीत गाउँदै हाम्फाल्छे
कोदो टिपेर छोडेको विधवा नलहरु
निर्वाध कुरिरहेछन्
भोलिको उदाउँदो घामलाई
एउटा बुढो मजदुर
जो सधैं सधैं
बिहानै गीत गाउँन आइपुग्छ
पीडाको आगनीमा
सनहीको स्वर लिएर
कुमारीको आँखाभरि सपना भरिदिन्छ उ
र फेरि डुबिदिन्छ क्षितिजमा
मान्छेहरुको कहालीलाग्दो
अरबौँ कथा लिएर
✍️लक्ष्मण सिटाैला



