तिमीले ठुलो सोच्छौ आफूलाई यो सृष्टिमा
तिमी जति ठुलो ठान्छौ, त्यति सानो छौ मेरो दृष्टिमा।
पृथ्वी ?
सिर्जना र विनाशको एक झिल्को मात्र
तिमी फुल्छौ त्यहाँ,
तर मलाई केही फरक महसुस हुँदैन।
सूर्य?
यो त एउटा बत्ती हो, मेरो असीम आकाशमा
बुझ, यसको बत्ती निभे पनि मेरो यात्रा रोकिँदैन।
तिमी?
एक यात्री, मेरा कान्तिहरूमा हराउने
तिमी आउँछौ, सास लिन्छौ र फेरि हराउँछौ,
तर मलाई फरक नै पर्दैन।
तिमीले जे खायौ, जहाँ बस्यौ, सबै मेरो देन हो
तर के तिमीलाई थाहा छ?
मलाई थाहा छैन, तिमी को हौ!
तिमीले मेरो बारे सोच्यौ ?
मेरो नियमहरू जान्न खोज्यौ ?
तर म,
म तिमीलाई कहिल्यै चिन्ने छैन।
म असमझनीय छु, कल्पना भन्दा पर,
तर तिमीले मलाई बाँच्न सक्छौ
बाँच, हाँस, अनि महसुस गर
किनकी तिम्रो जीवन तिम्रो पुरै हो
तर मेरो अदृश्य हिस्सा मात्र।
स्मरण गर, मलाई तिम्रो ख्याल छैन,
तर तिमीले मेरो सृष्टिलाई प्रेम गर्न सक्छौ।
त्यसैले सुन, तर प्रश्न नगर,
बाँच, तर घमण्ड नगर,
म ब्रह्माण्ड हुँ,
र तिमी,
मेरा अनन्त कहानीहरू मध्ये
एउटा सानो कहानिको सूक्ष्म अक्षर ।
– असिम देव तिवारी




