आधुनिक जमाना यो
कस्तो, बुझेर पनि अबुझ बन्नु पर्ने
यहाँ आफ्ना भोगाइ पनि ताैलिँदै भन्नु पर्ने
समाज हरेक पल्ट मलाई नै खोट निकाल्दै
अपमान गर्न खोज्छ
तर पनि
मैले आफुले आफूलाई सम्मान गर्छु
त्यति मात्रै कहाँ होर
मैले आफैंले आफैंलाई माया गर्छु।
सधैँ बोलाउने कोही नहुन सक्छ यहाँ
म स्वयं आफैं सँग बोल्छु
सुनाउनका लागि अथाह शब्द त छन् मसँग
म आफैंलाई सुनाउछु
समाजले दिएका नीति नियमहरूमा
आफ्नो स्थान खोज्दै
म आफैंले आफैंलाई बुझ्न खोज्छु
जीवनको उतार चढाव सँगै गुनासो हुन्छ मलाई
त्यसैले म आफैंले आफैंलाई प्रश्न गर्छु
मेरो प्रश्नहरुमा तर्क नहुन सक्छ अरूका लागि
म आफैं स्नेहपूर्ण भावना बटुल्दै
आफैंले आफैंलाई उत्तर दिन्छु ।
सोचे जस्तो भएन भन्दै कुनै पल
म आफैंले आफैंलाई दुखी बनाउँछु
समय एक नास कहाँ छ भन्दै
म आफैंले आफैंलाई हसाउँछु
यति मै कहाँ सिमित छ जीवन
यो त एक अमुल्य प्रतिविम्ब भित्रको म!
– अनु अर्याल



