हरियो अँगालोमा लुकेको पृथ्वी,
जहाँ जीवन फुल्थ्यो, गीत गुञ्जिन्थ्यो।
तर आज, ती हरियाली सपनाहरू
कुल्हाडीको धारले चुँडिएका छन्।
चरा-चुरुङ्गीको मुक्त गान,
जो कहिल्यै थाक्दैनथ्यो,
आज मौन छ,
फगत् स्मृतिको धूलो बनेको छ।
वातावरणको छातीमा
फोहोर र धुवाँको चोट,
जसले धर्तीलाई बाँच्न
संघर्ष गर्न बाध्य बनाएको छ।
वनका रूखहरूका चिच्याहट,
जसले हाम्रो लागि सास फेर्थे,
अहिले आफ्नै अस्तित्वका लागि
पुकार गरिरहेका छन्।
तर मान्छे अन्धो छ,
लोभको काठले आँखा छोपेको छ।
हरेक बिउमा बाँकी छ रगतको कथा,
हरेक पानीको थोपामा बग्छ आँसुको कथा।
तर सोच,
जब अन्तिम रूख ढल्नेछ,
जब अन्तिम पानी सुक्नेछ,
र जब अन्तिम चरा उड्नेछ,
के मानव आफैं बाँच्न सक्ला?
वनको पुकार सुन,
यसको आवाजमा हाम्रो भविष्य छ
हरेक हरियो पातको झराईसँगै,
हाम्रो जीवन पनि रित्तिँदैछ।
– लक्ष्मी रिजाल
सप्तरी



