“म त नेपालमा बनेको कपडा किन्दिनँ ! ” गोकर्णले भन्यो । उसले पर्ल्याकपुर्लुक चारैतिर हेरेर फेरि भन्यो,”अमेरिकाबाट आएको आयातित कपडा मात्रै किन्छु । नेपालको त केही कुरा पनि राम्रो हुँदैन । तपाईं त यतैका सस्तामस्ता लुगाफाटा किन्नु हुन्छ क्यार । तपाईंलाई त गाह्रो पनि छ । बाहिरबाट आएका सरसामान महङ्गो पर्छ । तपाईंको कमाइले भ्याउँदैन ।” उ हरिलाई लक्षित गरेर धेरैबेर फत्फताइरह्यो । हरि मन नलागी नलागी उसको अमेरिकी व्याख्यान सुनिरहेको थियोे ।
उ केही बर्ष अमेरिका बसेर एकबर्ष अघि मात्र नेपाल फर्केको थियो ! कोही मान्छे भेट्न हुँदैन, उ अमेरिकाको वर्णन गर्न र नेपालको उछित्तो काढ्न थालिहाल्थ्यो ! उसको मस्तिष्कमा अमेरिकाको नकारात्मक कुरा र नेपालको सकारात्मक कुरा केही पनि छैन झैं लाग्थ्यो ! उ अमेरिकाबाट फर्केर किन नेपाल आयो! कसैलाई थाहा थिएन । उ नेपालमा बसिरहेको थियोे र अमेरिकाको प्रशंसा गरिरहेको थियोे ! मातृभूमि नेपाललाई चाहिँ उ दुश्मनलाई झैं गाली गरिरहेको हुन्थ्यो ।
उसको यस्तो क्रियाकलाप देखेर उसका वरिपरिका छिमेकीहरु छक्क पर्थे । उसको अमेरिकी व्याख्यान सुन्दा सुन्दा छिमेकीहरुका कान टट्याइसकेका थिए । अव उसलाई देखेपछि छिमेकीहरु लाखापाखा लाग्न थालेका थिए ।
निकै दिन यत्तिकै बित्यो । न उ कतै देखियो, न त छिमेकीहरु नै उसको बिषयमा गफिन चौकमा जम्मा भए । सबै आआफ्नै नित्य कर्ममा ब्यस्त थिए ।
एकदिन हरिले घुमफिरका क्रममा सडकको छेउमा अपत्यारिलो दृश्य देखे र कौतुहलपूर्ण नजरले छेउतिर हेर्न थाले । अनि उनको ओठबाट एक्कासी यस्तो वाक्य निस्कियो, “गोकर्ण जी ! तपाईं यहाँ !”
गोकर्ण भने सडक छेउको फुटपाथमा रङ्ग रङ्गका कपडाहरुको मोलतोल गरिरहेको थियो !
– लीलाराज दाहाल
वागमती ११, कर्मैया, सर्लाही



