“म त नेपालमा बनेको कपडा किन्दिनँ ! ” गोकर्णले भन्यो । उसले पर्ल्याकपुर्लुक चारैतिर हेरेर फेरि भन्यो,”अमेरिकाबाट आएको आयातित कपडा मात्रै किन्छु । नेपालको त केही कुरा पनि राम्रो हुँदैन । तपाईं त यतैका सस्तामस्ता लुगाफाटा किन्नु हुन्छ क्यार । तपाईंलाई त गाह्रो पनि छ । बाहिरबाट आएका सरसामान महङ्गो पर्छ । तपाईंको कमाइले भ्याउँदैन ।” उ हरिलाई लक्षित गरेर धेरैबेर फत्फताइरह्यो । हरि मन नलागी नलागी उसको अमेरिकी व्याख्यान सुनिरहेको थियोे ।
उ केही बर्ष अमेरिका बसेर एकबर्ष अघि मात्र नेपाल फर्केको थियो ! कोही मान्छे भेट्न हुँदैन, उ अमेरिकाको वर्णन गर्न र नेपालको उछित्तो काढ्न थालिहाल्थ्यो ! उसको मस्तिष्कमा अमेरिकाको नकारात्मक कुरा र नेपालको सकारात्मक कुरा केही पनि छैन झैं लाग्थ्यो ! उ अमेरिकाबाट फर्केर किन नेपाल आयो! कसैलाई थाहा थिएन । उ नेपालमा बसिरहेको थियोे र अमेरिकाको प्रशंसा गरिरहेको थियोे ! मातृभूमि नेपाललाई चाहिँ उ दुश्मनलाई झैं गाली गरिरहेको हुन्थ्यो ।
उसको यस्तो क्रियाकलाप देखेर उसका वरिपरिका छिमेकीहरु छक्क पर्थे । उसको अमेरिकी व्याख्यान सुन्दा सुन्दा छिमेकीहरुका कान टट्याइसकेका थिए । अव उसलाई देखेपछि छिमेकीहरु लाखापाखा लाग्न थालेका थिए ।
निकै दिन यत्तिकै बित्यो । न उ कतै देखियो, न त छिमेकीहरु नै उसको बिषयमा गफिन चौकमा जम्मा भए । सबै आआफ्नै नित्य कर्ममा ब्यस्त थिए ।
एकदिन हरिले घुमफिरका क्रममा सडकको छेउमा अपत्यारिलो दृश्य देखे र कौतुहलपूर्ण नजरले छेउतिर हेर्न थाले । अनि उनको ओठबाट एक्कासी यस्तो वाक्य निस्कियो, “गोकर्ण जी ! तपाईं यहाँ !”
गोकर्ण भने सडक छेउको फुटपाथमा रङ्ग रङ्गका कपडाहरुको मोलतोल गरिरहेको थियो !
– लीलाराज दाहाल
वागमती ११, कर्मैया, सर्लाही
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।