उ आफैंसँग विलौना गर्दै थियो, “आखिर नेपालको पढाइ के मा काम लाग्यो र ? न रोजगार, न कुनै आयमूलक काम ? पढेको पनि व्यर्थ भयो । आफू जन्मिएको, हुर्किएको ठाउँ छोडेर यो विरानो देशमा जिम्मेवारी बोकेर एक्लै बाँच्न कसलाई पो रहर हुन्छ र ?”
परिवारको गरिबी अनि देशको परिस्थितिले देशमा बस्ने वातावरण नै भएन । ऋणको भारि बोकेर आएपछि यहाँको पढाइ र कामले हाँस्नु न रुनु बनाएको छ। दु:ख र सङ्घर्षलाई साथी बनाएर बाँच्नु परेको छ । न बेलामा सुत्नु छ , न त खानु नै । अर्काको देशमा चिनेजानेको कोही छैन ।
घरपरिवार सम्झेर कतिपटक रोएँ। देशको डाँडापाखा हेर्न कल्पिएर कतिपटक बैरागिएँ । ती बुढी आमा आउने बाटो कुर्दी हुन् । मन हुँदाहुँदै पनि बाध्यताले रोक्छ । सुनौलो भविष्यको कल्पनामा पटक पटक सङ्कल्प गर्छु , “एकदिन त मेरा पनि दिन पक्कै आउनेछन् ।”
यहीं सङ्कल्पले फेरि प्रोत्साहन दिन्छ र फेरि जाँगरिलो बन्छु । हाड घोटछु । रगत , पसिना बगाउँछु । कहिलेकाँही त लाग्छ , “यत्रो श्रम आफ्नै देशमा गरेको भए मुहार त फेरिन्थ्यो होला नि !”
– भुमिका गैरे तिमिल्सिना
गैंडाकोट ४, नवलपुर



