बिहेको रौनक बढेको थियोे । उमेर पुगेका सन्तानलाई बा-आमा र आफन्तले बिहे गर्नुपर्छ भनेर कर गरिरहेका थिए ।
“म वर्षालाई मन पराउँछु । उसैसँग बिहे गर्छु ।” हेमन्तले बुबासँग भन्यो ।
“तर म त वसन्तलाई चाहन्छु । ऊ नै मेरो जीवनसाथी हुन लायक छ ।” वर्षाले आमासँग भनी ।
वसन्त भने ऋतुलाई मन पराउँछ । शिशिर जो पाए नि खुशी छ । यो कुरो तिनीहरूलाई भलिभाँती थाहा छ । तथापि कुरो जेरी झैं बेरिएर छेउटुप्पो पत्ता लगाउन हम्मे परेको छ ।
समस्याको हल गर्न सबै युग बाजेकामा गए र बेलिविस्तार लगाए । उनले मुस्कुराउँदै परीक्षा लिने र उपयुक्त जोडी बाँधिदिने बताए । सबै राजी भए ।
“ल भन त वसन्त, तिमीसँग ऋतुले किन बिहे गर्ने ?” बाजेले सोधे ।
“म सबैभन्दा सुन्दर छु । मलाई सबैले मन पराउँछन् । ऋतुले पनि अरूलाई भन्दा मलाई नै मन पराउँछिन् होला !” वसन्त यति भनेर फुलेर बस्यो ।
उसका कुरामा कसोकसो घमण्ड मिसिएको गन्ध सबैले अनुभूति गरे ।
अब हेमन्तको पालो, “ल भन त तिमी वर्षालाई किन चाहन्छौ ।”
“म उनको स्वतन्त्रता र मर्यादित जीवनको सम्मान गर्छु । उनको चाहनाको स्वागत गर्छु ।” हेमन्तले गम्भीर भएर भन्यो ।
बाजेले शिशिरको पनि कुरा सुनिसकेपछि भने, “ल अब अन्तिममा ऋतुलाई एउटा जिज्ञासा, तिमी किन बिहे गर्न चाहन्छ्यौ ?”
“म त कुरो नलुकाइ भन्दिन्छु, सन्तान जन्माउन र यौनिक एकनिष्ठताको लागि हो बिहे गर्ने । नत्र त किन बिहे गर्नुपर्यो र !”
बाजेले निर्णय सुनाए, “सबको विचार र भावनालाई ख्याल गर्दै हेमन्तको बिहे वर्षासँग र ऋतुको बिहे शिशिरसँग हुनेछ । वसन्तले उपयुक्त जोडी खोजेर आउनुपर्नेछ । अन्यथा ऊ अविवाहित नै रहनेछ ।”
– कुमार काफ्ले
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।