एकदिन अचानक म्हेपी मन्दिरमा भेटिइन उनी ।
दसौं बर्ष सम्म नभेटेपछि मैले उनलाई कि विदेश गइन् या कि बिहे गरेर घरजम गरिन् भन्ने सोचेथेँ। मेरो अनुमान सहि निक्लियो । उनीले बिहे गरिछन् । मन्दिर आउँदा साथमा एउटा सानो छोरा सँगै थियो ।
म्हेपीको पश्चिम् पट्टिको खुड्किला उक्लिँदै गर्दा दस वर्ष पछि एक्कासि भेट भो हाम्रो । म मन्दिर दर्शन गरेर सिँढी ओर्लदै थिए । उनी हातमा थाली बोकेर उक्लिँदै थिइन् ।
पहिला त उनी धेरै दुब्ली थिइन् तर बिहे गरेपछि मोटाइछन् । केटीहरु प्रायः बिहे गरेपछि मोटाउँछन् । त्यो माथि पनि बच्चा भएपछि त झन्…।
उनले देखिन् । अलिकति हासिन् । तर मैले उनलाई बोलाइन । बाटोमा हिड्ने अरु सामान्य मान्छेले जस्तै उनी हिँडिरहेकी थिइन् । उनी चढेकी खुड्किलो र म झरेको खुड्किलाको एउटा मिलन् बिन्दु आयो । उनी रातोपिरो भइन् । एक्कासि अनुहारमा हाँसो, खुसी, लाज, बेचैनी, छट्पटी, अतीत सब दौडिएको देखे । हामी सानोमा अक्सर यहीं सिँढीमा आएर घण्टौं गफिन्थ्यौं ।
हाम्रो प्रेमको प्रथम पुष्प यहीं मन्दिरकोबाट फुल्न सुरु भएको थियो । प्राय: शिशिर ऋतुमा पनि नझर्ने बोटहरु थिए यहाँ । उनलाई उजाड मन पर्दैनथ्यो । यहाँ एकान्त छ र प्रेमले एकान्त नै खोज्छ ।
सानै देखि परिचित यही ठाउँमा हाम्रो दश वर्ष पछि भेट हुँदा म एक्कासि भावुक भएछु । सधैँ शनिबार म्हेपी दर्शन गर्ने बहाना लिएर उनलाई भेट्न् आउँथे म । भर्खरै एसएलसि उतिर्ण गरेर उनले अमृत साइन्स क्याम्पसमा आइएससि ज्वाइन गरेकी थिइँन् । म सरस्वती कलेजमा आइकम सेकेन्ड एयर अध्ययन गर्दै थिए । मन्दिर बाट सुरु भएको हाम्रो प्रेम मन्दिर बाट नै अन्त भएको थियो । त्यो एउटा अतीत बाँचिरहेको थियोे मेरो छातीको भित्तोमा ।
टाेलाएर हेरिरहे मैले उनको मुहारमा ।
उनले पनि मैले जस्तै हेरिरहेकी थिइँन् । बाटो शुन्य थियो । बच्चा भित्तामा फुलेको चमेली फूलको लहरा सँग खेल्न थाल्यो । हामी दुवैको परेली एक्कासि भिजे । लत्रेको परेलीको ढक्कन माथि खोलिन् उनले र मलाई निस्पि्कक्री हेरिरहीन् । छेउमै उभिएको सल्लाको बोटमा अडेस लागे म । अक्सर बिगतमा म यहीं गर्थे । खोइ किन पो हो सल्लाको बोटमा अडेस लागेर उभिँदा उनी मलाई धेरै हेन्डसम लाग्थ्यो रे ! उनको खुसीको लागि कहिलेकाहीँ त म्हेपीको सबैभन्दा ठूलो रुख पनि चढेको छु।
जब म उभिएर उनको आखामा हेर्न थाले-
उनका आँखाबाट गाजल पखाल्ने गरि आँसुको नदी बग्न थाल्यो । एकछिन अतीतले दुवैलाई डोऱ्याएर लग्यो धेरै परसम्म र भिजाई रह्यो दुवैको आँखा ।
शब्दहरूको आवश्यकता पर्दो रहेनछ रुनको लागि। सिङ्गो एउटा मीठो अतीत नै काफी हुदोरहेछ । निशब्द मै हजारौं शब्दहरूको निर्माण हुँदो रहेछ । घामको किरणले स्पर्श गरेका मन्दिरका छानाहरूबाट आएको उज्यालो मेरो आँखामै पर्यो । जस्तो पहिला पहिला पनि पर्थ्यो र मेरो मुहारमा छल्किएको उज्यालो हेर्नकै लागि भनेर उनी हरेक शनिबार ठिक आठ बजे भेट्ने बहान गर्थिन यति नै बेला प्रायः । आज पनि यस्तै भो । आज त सन्जोग हो । के जिन्दगी यिनै सन्जोगहरूको सञ्चिति हो र ? तर सन्जोग पनि यतिबेला नै पर्नु पर्ने, कस्तो अचम्म ! सल्लाको फेदबाट चियाइरहेको घामको किरण अनि सिरसिर बगेको पातलो बतासको शितल चिसोले छोएपछि हामी कस्तो नोस्टाल्जिक भयौँ।
मेरा पनि आँखाबाट अतीत झर्यो ।
धेरै बरको मौनतालाई भङ्ग गर्दै मैले नै बोलाए-
“माया !”
“हजुर”
“किन रोएकी?”
“हजूर चै किन रोएको त ?”
“तिमी रोएको देखेर”
“मत धेरै रोइसके। यस्तो लाग्छ अब मसँग रुने आँसु नै छैन ।”
“म दिउलानी सापटि लिन्छ्यौ?”
“ह्या हजुर पनि त्यही जिस्किने बानी गएको रहेनछ है”
“त्यही बानीले त तिम्रो मन जितेको थिए नि ”
“तपाई अझैसम्म यो मन्दिर आउनुहुन्छ र?”
“आइरहेको छु हरेक शनिबार जस्तो पहिला आउने गर्थे ।”
“यतिबेला नै आउनुहुन्थ्यो ?”
“हो यतिनै बेला आएरहे दश वर्ष सम्म लगातार”
“ओ माइ गड रियल्ली, “अनि यतिनै बेला चाहिँ किन आउनु परेको नि हजुरलाई !”
“यो बेला सुर्यको किरणले मन्दिरको छानाबाट उज्यालो फ्याक्थ्यो अनि तिमीले हेरिरन्थ्यौ मेरो मुहारको उज्यालोमा”
“ओ गड आइ एम सरि राजा भेरी भेरी सरि ल !”
“बिहे गरिसकिछौ बच्चा पनि यत्रो भैसकेछ !”
“मामु”
भित्तामा फूलसँग खेलिरहेको सानो बाबुले हाम्रो वार्ता भङ्ग गरिदियो । अनि, तिनै जना फेरि मन्दिर उक्लिन थाल्यौ । बाबुलाइ मैले हात दिए । उ मेरो हात समातेर सिँढी उक्लिन थाल्यो । कस्तो मायालु थियो बाबु । यस्तो लाग्यो मैले उसलाई धेरै पहिले देखि नै भेटेर चक्लेट दिदै आइरहेको छु ।
तल पारिजात स्मृति भवन देखाउँदै उनी बोल्न थालिन् फेरि ।
“त्यहीँ भवनको स्टेशनरि पसलमा हजुरलाई एउटा पत्र छोडेर म अष्ट्रेलिया अध्ययन गर्न गएकि थिए । आइएस्सी सकेपछि बुबाले बाहिर पढ्न जानुपर्छ भन्नु भो । मैले नाइ भन्न पनि सकिन । पन्ध्रौं दिनमा भिसाको सबै प्रक्रिया सकियो । मैले जानेबेलामा हजुरलाई भेट्न धेरै कोसिस गरे तर सकिन । बुबालाई अलिकति थाहा थियो हाम्रो प्रेमको बारेमा । हजुर त केटा त्यति गाह्रो थिएन तर मलाई गाह्रो थियो । मेरी बैनीलाई थाहा थियो हाम्रो प्रेमको बारेमा । एक्दिन बुबालाई सबै कुरा लगाइदिछ उसले । त्यो रात बुबाले मलाई धेरै गाली गर्नु भो अनि भोलिपल्टै अष्ट्रेलियाको कुरा गर्नु भो ।
अष्ट्रेलियाको पारामाटा वीन्सटन चर्चिल कलेज(Paramatta Winston Churchill College)मा मेरो आइटि मा एडमिसन भएको थियो । पारामाटा सिड्नी बाट टाढा थियो । आमाको माइती पट्टिका एकजना चिनेका दाजु हुनुहुन्थ्यो सिड्नीमा । बुबाले उहाँकै जिम्मेवारीमा मलाई पठाउनु भो । नेपालबाट अष्ट्रेलिया पुग्दा यहाँको रहनसहन र त्यहाँको संस्कृतिमा धेरै अन्तर पाए मैले । एउटी महिला विदेशमा बसेको एक अपरिचित पुरुषको सरणमा पुगे म । उ एयरपोर्ट लिन आएको रहेछ । सिडनीको सरिहिल्समा उसको रुम रहेछ । आधा घण्टामै पुऱ्यायो गाडीले ।
मेरा अभिवावक कति निर्दयी रहेछन् जस्तो लाग्यो । विदेशमा एउटा अपरिचित पुरुषकोमा सरण मागेर बस् भनी खुल्ला भन्नु भनेको भोकाएको बाघको खोरमा एउटा कलिलो खरायो हाल्दिनु त हो नि होइन ?
नेपालमा छोरी बिग्रन्छे भनेर गाली गर्छन्, प्रेम गरि भने अनेक जुक्ति निकालेर छुटाउने बहानाबाजि गर्छन्, सबले घृणा गर्छन तर विदेशमा चै सिधै केटोको मै जाउ भनेर भन्छन् अचम्म छैन त ! विदेशमा जे गरे पनि छुट है हाम्रो नेपाली समाजलाई ! म बाध्य भएर उ सँगै बसे अरु कुनै उपाय पनि त थिएन नि। उसलाई छोडेर अन्त बस्नु पनि झन खतरा थियो । नेपालबाट अध्ययन गर्न अष्ट्रेलिया जाने प्रायः सबै केटीको यस्तै कथा होला मेरो जस्तै ।
क्लास सुरु हुनुभन्दा एक महिना अगाडि नै यहाँ छोरी बिग्री भनेर मलाई मेरा अभिवावकले अष्ट्रेलिया जान बाध्य पारेका थिए । त्यहाँ पुगेपछि बुबाले उसलाई फोन गर्नु भो र भन्नू भो “ल बैनीलाइ राम्रो सँग जिम्मा लिएर राख उसलाई कुनै समस्या नहोस् है” भनेर।
उसले राम्रै जिम्मा लियो मेरो । पुगेको दिनमै -“वाइन पिउनुपर्छ यहाँ त वाइन नपिउने मान्छे त पुरै पाखे हुन्छ” भन्यो उस्ले ।
म एक अदना अन्जान केटी उसको अनुरोधलाई कसरी अस्वीकार गर्न सक्थे र ? गएकै दिनबाट अष्ट्रेलियन वाइन पिउन थाले । एउटा कोठा थियोे । त्यहीँ भान्सा, त्यहीँ बेडरूम, त्यहीँ बाथरुम, त्यहीँ डाइनिङ्ग, त्यहीँ टिभी । पलङ पनि थिएन । एउटा मात्रै मोटो फोम बाट निर्मित ठूलो बेड थियो ।
दुई दिन बित्यो संकटले । आमाले माइती गाउँको परिचीत भाइ सोझो छन् ती भाइ भनेको सम्म थाहा छ मलाई तर भाइ अष्ट्रेलिया आएपछि कति बिग्रेका रहेछन् आफैं पुगेपछि थाहा भो ।
काठमाडौं धेरै सुरक्षीत । नेपाल धेरै स्वच्छ, म नयाँबजारकी माया न्यौपाने, मेरो नयाँबजार धेरै पवित्र लाग्यो ।
उसलाई खाना बनाउनु, उस्को लुगा धुनु, कयौं महिना देखि नधोएका तन्ना सोफाका खोल र उसका सबै लुगाफाटो धुनु मेरो दैनिकी बन्न थाल्यो । यति सम्म गर्यो कि उसले भित्री कपडा सम्म धुन लगायो मलाई ।यतिमा पनि उसको अभिष्टता पूरा हुन सकिरहेको थिएन मलाई रिस देखाउँथ्यो ।
दिनको एक बट्टा त चुरोट पिउथ्यो उ, लुगा धुदा पाइन्टको गोजीमा खैनी र गुट्खाका पोका पाउँथे । उ नुहाउन बाथरुम जान्थ्यो तर चुकुल लगाउदैन्थ्यो । नाङ्गै नुहाउंथ्यो । मलाई यति असहज महसुस हुन्थ्यो की यहीं आत्महत्या गरेर मरुकी जस्तो ।
कस्तो खराब हर्कत बोकेर बाँचेको एउटा अधर्मी पुरुष थियो उ । आदिम मान्छे जस्तो । यस्तालाई कसरी दियो होला भिसा पनि एम्बेस्सीले भनेर कल्पना गर्थें । के पढ्न सक्छ होला यस्ताले मनमनमा सोच्न बाध्य हुन्थें ।
म बाथरुममा लुगा धुँदा पनि चुकुल हालेर धुन्थ्ये उ चुकुल नहाल भन्थ्यो । हरेक पटक म बाथरुममा नुहाउन वा लुगा धुन जाँदा र ढोका खोल्दा उ टिभीमा अश्लील चलचित्र हेरिरहेको हुन्थ्यो । अनि म कता जानु जम्मा त्यही एउटा कोठा त थियो । म बाथरुम बाट बाहिर निस्किसकेपछि एक छिनमा बल्ल बन्द गर्थ्यो त्यो अस्लील भिडियो । एकदिन म भित्र नुहाइरहेको बेलामा बाहिर बाट चुकुल हालिदियो उसले र शर्त गरायो मलाई कि अब आइन्दा कहिले पनि चुकुल नलगाई नुहाउने भनेर । निस्सासिएर मर्नु भन्दा उसको शर्त मान्न म मजबुर भए । निस्कँदा उही अश्लील चलचित्र लगाएको थियो टिभीमा ।
मलाई थाहा थियो म उसको यौनको सिकार हुन्छु भन्ने ।
उसले त्यही किसिमको वातावरण तयार गर्दै थियो । कसैलाई पनि चिन्दिनथे म उ बाहेक । पुगेको दिन देखि त्यहाँबाट म कतै बाहिर निस्केको पनि थिइन । उ नै मेरो लागि सबथोक थियो । अभिवावक भने पनि, दाजु भने पनि या एउटा नेपालीको नाता भने पनि वा साथी भने पनि ।
उ यौनको एउटा लामो तृष्णा र भोक लिएर बाचेको छ या उ एउटा यौनको मनोरोग लिएर बाचेको मनोरोगी हो भन्ने मैले सम्झिए । हरेक कुरामा उ यौनलाइ जोडी हाल्थ्यो । उ रोगी हो । एउटा लामो यौनको मनोरोग पालेर बाचेको पुरुष शरीर थियो उ । यस्तो मनोरोगीको हातमा जिम्मा लगाउने मेरा अभिवावक पनि रोगी नै हुन भनेर चित्त बुझाउन थाले मैले । उ अश्लील हेर्थ्यो, अश्लील पढ्थ्यो ,अश्लील सोच्थ्यो, अश्लील खान्थ्यो ( मादक पदार्थ ) र अश्लील नै बन्दै थियो । अन्तत म बच्न सकिन उस्को त्यो मनोरोग बाट ।
जस्तो सङ्गत त्यस्तै त बन्दोरहेछ नि मान्छे । कि प्रत्याक्रमण गर्न सक्न पर्यो कि हात उठाउनु पर्यो । मैले हात उठाउनुको विकल्प थिएन । हात उठाए । उ खुसी हुन थाल्यो । मलाई पनि वाइन पिउने आदत पर्यो । रोक्ने, देख्ने, घृणा गर्ने, गाली गर्ने, अर्ति दिने, अन्कुस लगाउने, राम्रो कर्म गर्नका लागि उत्प्रेरित गर्ने मान्छे कोही हुँदैन विदेशमा । यहाँ बाट जाने सबैलाई उन्मुक्ति मिलेको आभास हुन्छ । स्वतन्त्रता भनेको यहीं हो भन्ने अनुभुती गर्छन सबै विद्यार्थीले । हद भन्दा बढी नै दुरुपयोग हुदोरहेछ स्वतन्त्रताको त्यहाँ । त्यसैले त्यहाँको स्वतन्त्रता आफैं घाइते बन्धकीमा परेको छ ।
जुन उदेश्य लिएर, जुन उम्मिद लिएर, जुन सपना लिएर म त्यहाँ गएकी थिए तर ती सबै मिथ्या लाग्यो । मेरो रुममेट पुरुष, अनि म महिला । धेरै यसरी नै अध्ययन गर्दा रहेछन अस्ट्रेलियामा । एउटा रुममेटसँग झगडा पर्यो भने अर्को रुममेटसँग बस्नु बाध्यता हुँदोरहेछ । प्रायः केटीले आफ्नो अस्तित्व र अस्मिताको घमण्ड नगरे हुनेरहेछ । पछि बुझ्दै गए । सुरुको त्यो डर, त्रास, अहम्, महिला हुनुको अस्तित्वबोध, लज्जाबोध, स्त्रीधर्म र अस्मिता बिस्तारै हराउँदै गए मेरा पनि।
म महिला हूँ कि पुरुष हूँ भन्ने आफ्नै सम्बोधिता हराउँदै जादोरहेछ । म मा पनि त्यही भयो जस्तो त्यहाँ पुग्ने प्रायः केटीहररूले त्यो पीडा भोग्दा रहेछन् माया हुँदैन त्यहाँ त्याग, दया, धर्म, संस्कार, संस्कृती आफ्नोपनको अनुभुती हराउँदै गएपछि मानिस र पत्थर बिच भिन्नता नै के र ?
एक महिना पछि पढाई सुरु भयो ।
सिड्नी र पारामाटा दैनिक दुई दुई घन्टा यात्राले म थकित भए र अब उतै बस्ने सोंच बनाए । कलेजको होस्टेल पनि प्याक भैसकेको थियो । कुनै विकल्प थिएन । एकजना इन्जिनियरिङ क्लासको नेपाली केटा साथी भेटे । परिचय भयो । गोरखा पाचखुवा देउरालीका इन्द्र देवकोटा । सहयोगी रहेछन् । उनी र उन्को महिला रुममेट रहेछन् सँगै । महिला जापानीज रहिछन् । भान्साकोठा फरक थियो । एउटा पलङ्ग बेग्लै रहेछ । जापानीज ती केटी पनि इन्जिनियरिङ्ग कै विद्यार्थी रहिछन् । मलाई पनि सजिलो भो । इन्द्रजीले सहयोग गरे । यता सिड्नीबाट आफ्ना सामान लिएर म पारामाटा सरे ।
पढाइ सुरु भो । आइ टि पढ्न गएकी थिए म । खर्च सक्किसकेको थियो । बुबाले अब खर्च पठाउन नसक्ने आशय व्यक्त गरिसक्नु भएको थियो । सबैको विद्यार्थी जीवन । भनेको बेलामा काम पनि पाउन गाह्रो । उता आमाले पनि अब आफैं जागिर खाएर पढ्न पर्छ भन्नु भएको थियो । केही दिन त इन्द्रजीले सहयोग गर्नुभयो । काम नमिले सम्म ग्रोसरी किन्न पर्दैन र रुमको भाडा पनि तिर्न पर्दैन भन्नुभयो । नेपालबाट अध्ययनमा त्यहाँ जाने प्रायः सबैलाई यो नियम लागू थियो । जापानीज केटी ईन्द्र भन्दा भुतुक्क हुदिरहिछ । उनीहरू रातभर चलेको, गिज्जेको मलाई असज महसुस भैरहेको थियो । त्यहाँ पनि वाइन पिइन्थ्यो । रमाइलो थियोे वातावरण । थोरै समयमा म परिचित भए । मोबाइल किनेकी थिए । नम्बर यता सिड्नीको मेरो आमाको माइती तिरको हरिलाई पनि दिएको थिए ।
कामको खोजिमा भौतारिरहेको थिए । सधैंभरी अरुको कमाइ खाएर कसरी बस्नु । ग्लानी भैरहेको थियो । जस्तो काम पाए पनि गर्छु भन्ने मनसाय बनाए । पारामाटाको गल्ली गल्ली चोक चोक चहारे । एउटा रेस्टुरेन्टमा “किचन क्लिनर वान्टेड” को विज्ञापन देखे। फोन गरेको आइज भन्यो । भोलिपल्ट साँझबाट म काम गर्न थाले । भान्सामा आइपर्ने सबै काम गर्नुपर्थ्यो । घन्टाको पन्ध्र डलरमा जम्मा पाँच घन्टा काम थियो दैनिक । एकजना नेपाली भाडा माझ्ने काम गर्छ यहाँ, उ अहिले आमा बिमार परेर नेपाल गएको छ भन्यो सेफले । खुसी लाग्यो म काम गर्ने ठाउमा अर्को नेपाली पनि काम गर्दो रहेछ भनेर । काममा रमाउन थाले र ती नेपाली को आगमनको प्रतिक्षा गर्न थाले ।
म जागीरे भएको पहिला सँगै बसेको मेरो रुममेट हरिलाई थाहा थियो । उसले आफ्नो नेपाली नाम बिगारेर ह्यारी राखेको थियो ।
एकदिन अचानक उ मलाई भेट्न् पारामाटा आयो । साँझ परेको थियो । उ मेरो काम गर्नी ठाउँमा आयो र बेलुकी सम्म कुरिरह्यो । आज यही बस्ने भन्यो मैले नाइ भन्न सकिन । किनकी एक महिना सम्म त उसले मलाई सरण दिएको थियो । जे भयो अब म त्यो नमीठो अतीत बिर्सन चाहन्थें । तर फेरि आज त्यही अतीत आयो मेरो सामुन्ने र यसबाट भाग्न सकिन म । मैले रुममा लिएर आए । रातको नौ बजिसकेको थियो । उसले बेस्सरी वाइन खायो । हामीहरू सबैले वाइन पियौँ । उसले थुप्रै ग्रोसरी किनिदियो । त्यो रात हामी सँगै बस्यौँ। उ भान्सामा म सँगै सुत्यो । इन्द्रजीले पनि माइन्ड गर्नुभएन । अर्को अचम्ममा परे म फेरि त्यो रात ।
अर्को दिन अचानक – आमा बिमारी भएर नेपाल आउनु भएको साथी रेष्टुरेन्टमा फर्किनु भएछ । उहाँ डिस वासमा भाडा हालेर होज हान्दै हुनुहुन्थ्यो । मलाई देख्नु भो । उहाँलाई देखेर म झसङ्ग भए । आफ्नै परिचित साथी पकनाजोलका नीर्मल श्रेष्ठ । हामी आठ क्लास सम्म नयाँबजारमा सँगै पढेको । देख्नासाथ उसले मलाई हग गर्यो । ओहो मलाई पनि बल्ल आफू सुरक्षित भएको महसुस भयो । दुवै एकै रेष्टुरेन्टमा जागिरे र कलेज पनि एउटा नै रहेछ । केही दिन हामी सँगै घुम्न निस्कियौ । उ एक्लै रहेछ । भाडा तिर्नकै लागि भए पनि रुममेट खोजेर सँगै बस्नु बाध्यता रहेछ त्यहाँको । एकदिन उसले मलाई उ सँगै बस्न अनुरोध गर्यो । मैले नाइ भन्न सकिन र इन्द्रजीको कोठाबाट आफ्नो सामान सारे ।
नीर्मल लाई पहिलाको घटना सुनाएको थिइन । सुनाउनु आवश्यक पनि ठानिन किनकि अष्ट्रेलियामा रुममेट प्रवृत्ति वा “लिभ इन रिलेसनशिप” सामान्य कुरा रहेछ । पुरुष र महिला सङ्गै बस्नु सामान्य कुरा रहेछ। अब म नीर्मल सङ्गै बस्न थाले । अलिकति सहज हुन थाल्यो परिवेश । सिड्नीबाट आउँदा नै मेरो मिन्स रोकिएको थियो । दस दिन क्रस भैसकेको थियो । नीर्मलको रुममा आएको भोलिपल्ट मैले आफू मिन्स भएको नाटक गरे र अलग ओछ्यान मै रात बिताए। रुम एउटा मात्रै थियो । अलग फोममा मैले पाँच दिन बिताए तर त्यो पाँच दिन मेरो लागि यति गम्भीर र चिन्ताजनक थियो कि मलाई नै थाहा छ त्यसको दुखाइ र पीडा ।
यदि साँचो कुरा भनु भने नीर्मल रिसाउला भन्ने डर अनि झुट बोलिरहूँ भने पनि सत्यतथ्य एकदिन बाहिर आउँछ भन्ने त्रास । काम पनि सँगै कलेज पनि सँगै र बस्ने पनि सँगै हामी । हमेशा अब सँगै भयौँ । अब मलाइ नीर्मलबाट भाग्न सक्तिन भन्ने लाग्यो । सातौं दिनको दिन खोइ वाइनको रमाइलोमा हामी बिच के के भयो । नीर्मलले मलाई माया गर्न थाल्यो । अर्को एक महिना पछि मैले नीर्मल लाई आफ्नो मिन्स रोकिएको कुरा गरे । जतिबेला मेरो मिन्स रोकिएको दुई महिना भैसकेको थियो । नीर्मल अत्यन्तै खुसी भयो । लिभिङ्ग टुगेदर लाई अष्ट्रेलियामा आधा बिहेको मान्यता मिल्दोरहेछ ।
नीर्मल केही महिना पछि ईलिगल हुँदै रहेछ । कलेज परिवर्तन गरेको फि नतिरेको र हप्ताको बीस घण्टा भन्दा बढी काम गरेको कारणले । बच्चा भएपछि यै बच्चाको कारण उस्को अस्ट्रेलियाको बसाईलाई लम्ब्याउने सोचमा पुग्यो उ । स्थिति सामान्य हुँदै गयो।
मैले कुनै विपत्ति नआओस् भनेर मोबाइल नम्बर नै परिवर्तन गरे ।
र त्यो हरिबाट टाढा भए जसको कारण म गर्भवती भएकी थिए । मेरो लागि नीर्मल नै सर्वस्व थियो अब । उ आफू पनि दङ्ग थियो बाबू बन्न पाएकोमा ।
महिना पुगेपछि उ बाबू बन्यो म आमा बने । उसले आफ्नो पेपर बनायो यै बच्चाको कारण । उ खुसी भयो। म काम र पढाई छोडेर छोराको स्याहार सुसार गर्न थाले । पेपर बनेपछि नीर्मल म देखि पर पर हुन खोज्यो। छोरा रोएको पनि उसलाई अब झर्को लाग्न थाल्यो। पहिला जस्तो थियो त्यस्तो उ कहिले पनि भएन । उ एकदिन नेपाल आयो र पछि म भएको ठाउमा कहिल्यै फर्केर गएन ।
फेरि अर्को दिन- अचम्म पर्नु भो इन्द्र देवकोटा मलाई देखेर । उहाँको पनि जापानीज केटी अध्ययन सकेर ओसाका फर्किछन् । हामी बिच फोनमा कुरा भए पनि कहिले बच्चाको बारेमा केही भनिन मैले । काम गर्न थालेको थिए बच्चालाई चाइल्ड किएरमा राखेर । धेरै महिना देखि म एक्लीदै थिए । इन्द्रजी पनि एक्लै हुनुभएछ । उहाँकै अनुरोधमा म फेरि उहाँकोमा गए । समय बितिरह्यो जसरी बितिरहन्छन् अनेक ऋतुहरु आफ्नो अहमता छोड्दै छोड्दै ।
बच्चाको किएर पुग्यो । उ हुर्कंदै गयो । उता सिड्नीको त्यो आफन्त भनाउदो हरि लागू औषधी खाएर जेल परेको थुप्रै दिन भैसकेको रहेछ । आनन्द लाग्यो । कमसेकम मैले आफूलाई सुरक्षित महसुस गरे अब। पढाई पुरा गरे । जागिर खाए। पिआर लिएको छु । छोरा साथी छ अब । इन्द्रजी साथी हुनुहुन्छ । सँगै बस्छौं । हामी बिच ‘लिभ इन रिलेसनशीप’को नाता छ । बिहे गरौँ न भन्यो भने -“तिम्रो त पिआर भो अब मेरो पनि पिआर भए पछि बिहे गरौँला” भन्नुहुन्छ । पिआर को नाउमा अष्ट्रेलियामा हजारौं युवायुवतीले प्यार नै भुलिसकेका छन् । अहिले हजुरको हात समाउने छोरा मेरो छोरा हो अरु कसैको नि होइन ।”
“राजा ! हजूर बिगत दस बर्ष देखि यहि मन्दिरमा यहि समयमा लगातार आउनु भो है ! लह लह झुल्ने धानका खेतहरूमा कङ्क्रिटको जङ्गल देखें । मान्छे पनि कङ्क्रिटको जङ्गल भैसके छन् है ।”
” कङ्क्रिट बाँचीछ्यौ माया तिमी, त्यसैले फुलेका फूल पनि तिमीलाई कङ्क्रिटझैँ लाग्न सक्छ ।”
नजिक भएर बगिरहेको बिष्णुमतीको दुर्गन्ध आइरहेको थियो ।
उसको कुराले म अवाक् भए । मान्छे कसरी परिस्थितिको दास भएर बाँच्न विवश हुदोरहेछ है कठैबरा ! बुझाए आज आफ्नै मन ।
केही पनि भनिन मायालाई। अब उसलाई दुखी बनाएर मलाई के मिल्छ र ?
पारिजात स्मृति भवन पुग्यौँ हामी गफिँदै । दस बर्ष पहिले उसले मलाई पठाएको पत्र त्यै स्टेशनरीको भाइसँग सहि सलामत रहेछ दियो उसले सानो कन्तुरबाट झिकेर । बाहिर खाममा मेरो नाम लेखिएको थियो। खुसी लाग्यो । खाम बाहिर उसले माया गरेर चुप्पा खाँदा रातो लालीको डाेब पनि मेटिएको थिएन ।
पत्रको एक अंश पढे मैले-
“राजा ! अन्तिम बेलामा त्यो मायालु आँखा हेर्न इच्छुक थिएँ तर पाइनँ। दुखी भएर अष्ट्रेलिया जाँदैछु केवल हजुरकै सम्झनाको आँसु बोकेर ।”
म सँगै उभिएको उनको छोरालाई बोकेर माथि उठाए आकाशतिर र भने “बाबू आमालाई धेरै माया गर है ! सबै पुरुष कुपुरुष हुँदैनन् तिमी पनि म जस्तै सत्पुरुष बन्नु ल”
पर्सिको उडान रहेछ मायाको । मैले त्यहींबाट उनलाई बिदाइ गरें।
– लक्ष्मण सिटौला
काठमाडौं ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।