[स्रोतकथा]
लघुकथा: सम्पादक
– सुरेशकुमार पाण्डे
“हजुरलाई एउटा राम्रो राजनीतिक लेख लेख्न भनेको खै त?” – मनमोहनले सम्झाए । उनी पत्रिकाको मालिक र सम्पादक पनि थिए ।
“ओहो सर ! मैले बिर्सेछु । भरेसम्म आफैं लिएर आउँछु हजुरकहाँ ।” लेखक साधुरामले आश्वासन दिए । साधुराम पेशाले व्यापारी थिए, तर समय-समयमा लेख लेखेर पत्रिकामा छपाउने गर्थे । लेखन उनको व्यवसाय थिएन, तर क्षमताचाहिँ अद्भुत थियो । यही कारण केही पत्रिकाका सम्पादकहरू उनलाई आफ्नो नजिक राख्थे ।
दुवै आ-आफ्नो गन्तव्यतर्फ लागे ।
“सर, हजुरको लेख!” साँझ परेपछि साधुरामले एक राजनीतिक लेख मनमोहनलाई थमाउँदै भने ।
“धन्यवाद, साधुरामजी ! तर पत्रिका त प्रेसमा पुगिसक्यो । अब भोलि छाप्छु, है !” – सम्पादक मनमोहनले भने ।
“हस् सर ! अब आज्ञा दिनुहोस् ।” साधुरामले विदा माग्दै आफ्नो घरतिर लागे ।
मनमोहन लेख पढ्न बसे ।
“लेख त गज्जब आयो ! यसले त मेरो पत्रिकाको प्रतिष्ठा बढ्छ ।” उनले मनमनै भने । लेख यति सान्दर्भिक थियो कि उनले कैयौँ पटक दोहोर्याएर पढे ।
भोलिपल्ट बिहान मनमोहनले साधुरामलाई फोन गरे ।
“साधुरामजी, हजुरले त मेरै लेख नकल गर्नुभएछ । यो लेख त मैले हिजो नै छापिसकेको हुँ । हिजोको पत्रिका हेर्नुभएन ?”
साधुरामले झस्किँदै हिजोको पत्रिका पल्टाए । पत्रिकामा आफ्नै लेख छापिएको थियो तर लेखकको नाम र फोटो भने मनमोहनकै थियो । यस दृश्यले उनलाई गहिरो धक्का दियो ।
⁰⁰⁰⁰⁰
[उत्तरकथा]
लघुकथा: प्रतिवाद
– नन्दलाल आचार्य
“सर, यो त गलत भयो” साधुरामले अप्ठ्यारो मान्दै भने ।
“गलत त तपाईंले गर्नुभयो साधुरामजी । लेख मैले नै लेखेको भन्दै हिजो छाप्न पठाइसकेको थिएँ । अब प्रमाण के छ कि यो तपाईँकै हो ?” मनमोहनको आवाज कठोर थियो ।
साधुरामले गहिरो सास फेर्दै आफ्नो डायरी खोलिदिए । “यहाँ मेरो मौलिक पाण्डुलिपि छ । म सँगै तपाईंलाई दिएको दिनको मिति सहितको कागजात पनि छ ।”
मनमोहन केहीबेर स्तब्ध रहे । ती शब्द र विचारहरू ठ्याक्कै मिल्दथे । उनका अनुहारमा लाजको छाया दौडियो ।
“तपाईंको लेखन प्रशंसनीय छ । यो मेरो भूल हो । म क्षमा चाहन्छु । अब आगामी अंकमा तपाईंको नामसहित लेख प्रकाशित हुनेछ ।” उनले गल्ती स्वीकार्दै भने ।
साधुरामले फोन राख्दै भने, “तर सर, सत्यलाई फेरि सिद्ध गर्नुपर्ने स्थिति आउनु आफैंमा दुःखद हो ।”
मनमोहन मौन रहे । अन्तमा उनले भने, “सत्य कहिल्यै छोड्नु हुँदैन साधुरामजी, त्यसलाई नै सम्मान दिइनु पर्छ ।”


