[स्रोतकथा]
लघुकथा: सम्पादक
– सुरेशकुमार पाण्डे
“हजुरलाई एउटा राम्रो राजनीतिक लेख लेख्न भनेको खै त?” – मनमोहनले सम्झाए । उनी पत्रिकाको मालिक र सम्पादक पनि थिए ।
“ओहो सर ! मैले बिर्सेछु । भरेसम्म आफैं लिएर आउँछु हजुरकहाँ ।” लेखक साधुरामले आश्वासन दिए । साधुराम पेशाले व्यापारी थिए, तर समय-समयमा लेख लेखेर पत्रिकामा छपाउने गर्थे । लेखन उनको व्यवसाय थिएन, तर क्षमताचाहिँ अद्भुत थियो । यही कारण केही पत्रिकाका सम्पादकहरू उनलाई आफ्नो नजिक राख्थे ।
दुवै आ-आफ्नो गन्तव्यतर्फ लागे ।
“सर, हजुरको लेख!” साँझ परेपछि साधुरामले एक राजनीतिक लेख मनमोहनलाई थमाउँदै भने ।
“धन्यवाद, साधुरामजी ! तर पत्रिका त प्रेसमा पुगिसक्यो । अब भोलि छाप्छु, है !” – सम्पादक मनमोहनले भने ।
“हस् सर ! अब आज्ञा दिनुहोस् ।” साधुरामले विदा माग्दै आफ्नो घरतिर लागे ।
मनमोहन लेख पढ्न बसे ।
“लेख त गज्जब आयो ! यसले त मेरो पत्रिकाको प्रतिष्ठा बढ्छ ।” उनले मनमनै भने । लेख यति सान्दर्भिक थियो कि उनले कैयौँ पटक दोहोर्याएर पढे ।
भोलिपल्ट बिहान मनमोहनले साधुरामलाई फोन गरे ।
“साधुरामजी, हजुरले त मेरै लेख नकल गर्नुभएछ । यो लेख त मैले हिजो नै छापिसकेको हुँ । हिजोको पत्रिका हेर्नुभएन ?”
साधुरामले झस्किँदै हिजोको पत्रिका पल्टाए । पत्रिकामा आफ्नै लेख छापिएको थियो तर लेखकको नाम र फोटो भने मनमोहनकै थियो । यस दृश्यले उनलाई गहिरो धक्का दियो ।
⁰⁰⁰⁰⁰
[उत्तरकथा]
लघुकथा: प्रतिवाद
– नन्दलाल आचार्य
“सर, यो त गलत भयो” साधुरामले अप्ठ्यारो मान्दै भने ।
“गलत त तपाईंले गर्नुभयो साधुरामजी । लेख मैले नै लेखेको भन्दै हिजो छाप्न पठाइसकेको थिएँ । अब प्रमाण के छ कि यो तपाईँकै हो ?” मनमोहनको आवाज कठोर थियो ।
साधुरामले गहिरो सास फेर्दै आफ्नो डायरी खोलिदिए । “यहाँ मेरो मौलिक पाण्डुलिपि छ । म सँगै तपाईंलाई दिएको दिनको मिति सहितको कागजात पनि छ ।”
मनमोहन केहीबेर स्तब्ध रहे । ती शब्द र विचारहरू ठ्याक्कै मिल्दथे । उनका अनुहारमा लाजको छाया दौडियो ।
“तपाईंको लेखन प्रशंसनीय छ । यो मेरो भूल हो । म क्षमा चाहन्छु । अब आगामी अंकमा तपाईंको नामसहित लेख प्रकाशित हुनेछ ।” उनले गल्ती स्वीकार्दै भने ।
साधुरामले फोन राख्दै भने, “तर सर, सत्यलाई फेरि सिद्ध गर्नुपर्ने स्थिति आउनु आफैंमा दुःखद हो ।”
मनमोहन मौन रहे । अन्तमा उनले भने, “सत्य कहिल्यै छोड्नु हुँदैन साधुरामजी, त्यसलाई नै सम्मान दिइनु पर्छ ।”
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।