तिमी जाँदै गर्दा,
त्यो मौनता भित्र एउटा गहिरो घाउ झैँ
मेरो अस्तित्वमा बस्यो।
तिमी पतझरको पात हौ,
जसले रूखलाई नाङ्गो बनाएर
माटोको आँसुमा विलिन हुन्छ।
म ठिङ्ग उभिएको रूखजस्तै हुनेछु,
तिम्रो विदाइलाई
नयाँ पालुवाको आधार बनाउँदै जानेछु।
तिमीले ल्याएका आँधीहरू
मेरो जीवनको सागरमा छरपस्ट भए।
अब म तटको चट्टान बन्नेछु,
जहाँ न त तिम्रो छालले बिगार्न सक्छ,
न त तिम्रो छायाले
मलाई पछाडि फर्काउन सक्छ।
मुटुको खरानी बनेका सम्झनाहरू
अब हावाको विरोधमा हराउनेछन्।
ती खरानीलाई
कुनै दीपमा जलाउने छैन,
किनभने तिम्रो आगमनले
सधैं मलाई अँध्यारोमा डुबायो।
तिमी ती डरलाग्दो छायाँ हौ,
जसले मेरो बाटाहरूलाई
आफ्नो अस्तित्वले अवरुद्ध गर्यो।
बुझ्ने प्रयास गर, म उज्यालोको सन्तान हुँ,
जहाँ भविष्यका प्रत्येक पाइला
अब मेरो आफ्नै प्रकाशले लेखिनेछन्।
छोडी जाने मन,
तिमी ओइलिएको फूल हौ,
जसले न त सुगन्ध दिन सक्छ,
न त आशाको दीप जलाउन।
मैले तिम्रा धोकाका सम्झनाहरूलाई
आफ्ना पाइलाहरूको शक्तिमा बदलिसकेको छु।
तिमी मेरो कथा होइन,
तिमी केवल पाठ हौ,
जसले मलाई जीवनको अर्थ सिकायो।
अब म तिम्रो अन्त्यलाई
मेरो जीवनको सुरुवातको
प्रथम महाकाव्य बनाउनेछु।
कवि: विनोद विवश
इटहरी, सुनसरी
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।