मेरा नामका चिह्नहरू सबै मेटाइदिनु,
मेरो अस्तित्वको चिहान सजाउन जरुरी छैन।
मेरो लासलाई बोकेर सम्मान खोज्न होइन,
बस समयसँगै हराउने मेसो बनाइदिनु।
मेरो जन्मदिन र मरेको दिनको हिसाब नगर्नु,
मेरो कथा पुराना किताबमा खोज्न जरुरी छैन।
आकाशले बिर्सेको बादल झैँ म विलाउँछु,
मेरो नाम पनि हावाको चालसँग उड्न दिनु।
मेरो हाँसोको सम्झना पनि खेर गयो भने,
त्यसमा दुःखको रेखा खिच्न जरुरी छैन।
मेरो आँसुका थोपा जमिनले सोसेझैँ,
मलाई समयको माटोले छोप्न दिनु।
म पछि कुनै फूल फुल्छ भने त्यो तिम्रै होस्,
मेरो सासको अन्त्यसँगै सबै कुरा बिर्सिदिनु।
मलाई जिन्दगीको परिभाषामा राख्ने हो भने,
बस, ‘थियो’ भनेर भुलिदिनु।
मेरो हरेक पाइला समयसँगै गलेर जान्छ,
त्यसैले मलाई सम्झिएर झुक्न जरुरी छैन।
म अस्ताएको सुर्यझैँ तिम्रो बिहान सुरू होस्,
मेरो अस्तित्वलाई यहीँ अन्त्य गर्न दिनु।
कवि: रुमन श्रेष्ठ
शैलुङ, दोलखा




