— भूमिका गैरे तिमिल्सिना
“यो नाति हुर्काउदा मलाई कम्ता त धौ धौ भएको थिएन ? रातभर नसुती बोतलबाट दुध खुवाउँथे ? त्यो दुधे बालक ल्याएको हिजो जस्तो लाग्छ , अहिले यत्रो भयो ।” अतीत सम्झिँदै उनले बुढासँग भनिन् ।
“हामीले नल्याएको भए यसको स्याहार सुसार कसले गर्थ्यो ? उता विदेशमा यसका बाबा आमालाई एकछिन फुर्सद छैन । अब त आफैँ स्कुल जान सक्ने भएको छ । साँवाभन्दा ब्याजको माया !” नातितिर हेर्दै पुलकित मुन्द्रामा बुढाले भने ।
“अरुबेला त ठिकै हो । बिरामी भयो भने मेरो सातो नै जान्छ । ऊ बेला आफ्ना छोराछोरी मेलापात, दाउरा घाँस गर्दै कति दुखले हुर्काइयो । अहिले यसको मात्र चाकडी गर्दै दिन बित्छ ।” बुढीले भन्दै थिइन् , मोबाइलमा घन्टी बज्यो ।
छोराबुहारीले भिडियो कल गरे । बुढीले नाति बोलाउन थालिन् , “आऊ, आऊ सुबोध ! तिम्रो बाबाआमाको फोन आयो । ल बोल्न यता आऊ त !”
ऊ आफ्नै पारामा खेलिरह्यो । कति गर्दा पनि बोल्न खोजेन ? वास्तै गरेन । उनीहरूले फोन काटे ।
बुढीले चिन्ता गर्दै भनिन् , “हाम्रो मायाले कतै आफ्ना बाबा आमासंग यसको दूरी त बढ्ने होइन ।”
बुढा एकछिन घोरिए अनि भने, “आमाबुबाको स्पर्श नपाएपछि कसरी माया बसोस् त ? बाध्यताले निम्त्याएको यो दूरी पनि ठीक त होइन ।”
गैंडाकोट ४, नवलपुर


