Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: हैसियत

कथा: हैसियत

आख्यान - कथा
कुमार काफ्लेकुमार काफ्लेपुस २९, २०८१2K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

केही बुझे झैं धेरै भुले झैं
समय यसरी बेरिएर आयो लहरामा
जसको न फेद थियो न त टुप्पो नै
अनन्त आकाशको प्रतिबिम्ब
घोसेमुन्टो लाएर तलाउमा नियालिरहेको बेला
भूकम्पको धक्काले हल्लाएको छ ।
अब कतिञ्जेल पराकम्प ओ पराकम्प आइरहने हो !

मुहारपुस्तकले धेरै साथीसंगीहरूसँग भेटघाट र भलाकुसारी गरायो । धेरै राम्रा, केही नराम्रा साथी र बानीहरू थपिए मेरो जीवनमा । पहाडको एउटा दुर्गम गाउँमा सरकारी विद्यालयमा शिक्षण गर्ने म फुर्सदमा कथा, कविताहरू लेखि टोपल्थें । यसै सिलसिलामा मेरो सङ्गत साहित्य क्षेत्रमा क्रियाशील मित्रहरूसँग बढ्दै गयो ।

एकदिन साथीहरूले राजधानीमा साहित्यिक भेटघाट कार्यक्रम गर्ने कुरा राख्नु भो । म पनि कार्यक्रममा जान उत्सुक थिएँ । कहिल्यै नदेखेका, नभेटेका साथीहरूसँग भेटिने, चिनजान बढ्ने लोभले म त्यहाँ जान लालायित थिएँ।
घरमा श्रीमतीलाई भनें, “पर्सि म काठमाडौं जान्छु है !”
अचानक काठमाडौं जाने कुरा सुनेर मञ्जु छक्क परिन् र भनिन्, “ठट्टा नगर्नुस् न हजुर पनि ! यहाँ आफूलाई टाउको दुखेर मर्नु भएको छ ।”

उनको टाउको दुख्न थालेको निकै वर्ष भइसक्यो । मैले उपचारको लागि गाउँकै स्वास्थ्य चौकी भन्दा अन्त लैजाने हिम्मत गरेको छैन । ब्रुफिन र सिटामोलको निरन्तर सेवनले उनी दिन प्रतिदिन कमजोर हुँदै छिन् । चौमासिक रुपमा आउने तलबले पसलको उधारो तिर्न र बालबच्चा पढाउन धौधौ थियो । त्यसमाथि बुबाको उपचारको लागि लिएको ऋणको ब्याज पनि बुझाउनुपर्थ्यो । चाडपर्व मान्न र अन्य आवश्यकता पूरा गर्न बेलाबेलामा ऋण थपिने क्रम जारी थियो ।

पुलुक्क उनलाई हेरें, ओइलाउँदै गरेको सयपत्री फूलजस्तो मलिन अनुहार थियो । टाउकोमा ब्याण्डेज बाँधे झैं फेटा कसेर बसेकी थिईन् उनी ।
उनको मनले भने झैँ लाग्यो, ‘हजुर काठमाडौं जाने भए मलाई पनि लिएर जानुस् न ! एकपटक राम्रो हस्पिटलमा लगेर देखाईदिनु न !’
म साँच्चिकै उनले यसै भन्ने हुन् कि भन्ने डरले कुरा मोड्न लागें हतारहतार । तर कहिलेकाहीँ त भन्न मन लाग्थ्यो, ‘अब हामी तिम्रो उपचार गर्न काठमाडौं जाने । अनि उपचारपछि मनकामना दर्शन र पोखरा घुमेर आउने ! मौका मिलेमा लुम्बिनीसम्म घुमेर फर्कने !’
मनमा त थियो तर मैले यो कुरा कहिल्यै प्रकट गरिनँ न उनले नै यसबारेमा गुनासो गरिन् । म यी तमाम कुराहरू र आफ्नो विवशता सम्झेर क्षणक्षण विस्मित हुन्थें।
मनको कुरा मनैमा सीमित भइरहेको थियो ।

उनले म काठमाडौं जाने कुरा पत्याएकी थिईनन् तर म जाने निश्चित जस्तै भइसकेको थियो । कहिले केही आपत पर्छ कि भनेर पर्सको भित्रपट्टी चेपमा जहिल्यै दुई तीन हजार पैसा लुकाएर राख्ने गर्थें । त्यसरी लुकाएको बाहेक खुद्राखाद्री पाँच सात सय रुपैयाँ हुँदो हो मसँग । त्यही पैसाले काठमाडौं पुगेर आउने सोच बनाएको थिएँ मैले ।
त्यसको भोलिपल्ट साँझ मैले झोला मिलाएँ । एउटा डायरी र एक जोर फेर्ने लुगा राखें । केही वर्ष भएथ्यो मैले नयाँ लुगा नकिनेको । मेरा क्रियाकलाप नियालिरहेकी उनले मुख फोरिन्,

‘ए हजुर त साँच्चै जान लाग्नु भएको रहेछ, मैले त नपत्याइरहेकी ! के पर्यो त्यस्तो अर्जेन्ट ? नगइ नहुने !”
“होइन एउटा कार्यक्रम छ जानै पर्ने खालको …”
“ए, कुनै तालिम, गोष्ठी हो कि के हो त ?”
अफिसबाट कहिलेकाहीँ तालिम गोष्ठीमा जाँदा भत्ता ल्याएको सम्झेर उनले सोचिन् होला ! त्यस्तै पैसा आउने कार्यक्रम रहेछ क्यारे !
मैले भनें, “होइन तालिम त, साहित्यिक कार्यक्रम छ ।”
उनले अनुहार अँध्यारो पारिन् र भनिन्, “म सँग त पैसा छैन नि ! कसरी पुगेर आउनुहुन्छ काठमाडौं ?”
“मैले तिमीसँग पैसा मागेको छु त लाटी !”
“अनि कसरी गएर आउनुहुन्छ त !”
मेरो बदमासी समातिन आँटेको थियो र हतारहतार भनें, “साथीसँग लिएको छु ।”
जहिल्यै तलब आउँदा हात लाग्ने भन्दा चार पाँच हजार घटाएर भन्ने गर्थें म।
“ए फेरि ऋण गर्नुभयो है ? कति पुग्यो ऋण हिसाब गर्नुस् त !”
“ल ल भो, सुत्ने बेलामा ऋणको कुरा नगर त ! तिमीले नै भनेकी हैनौं खानेबेला घिन र सुत्नेबेला रिनको कुरा गर्नुहुँदैन भनेर !”
उनी चुपचाप, म पनि चुप ! तर मनभरि कुरा खेलिरहेका थिए ।

साहित्यले नाता जोडिदिएको र सिर्जना मार्फत आत्मीय सम्बन्ध कायम भएका दिपेन्द्र, मालिका, विपिन, सुनील, बिमला, तुलसी, बाबुराम, निर्दोष, गणेश, सपना, अमृत लगायतका दर्जनौं साथीहरूसँग प्रत्यक्ष भेटघाट र भलाकुसारी हुनेवाला थियो । देश विदेशमा रहेका सौगात, वीरेन्द्र, शारदा, लोकेन्द्र लगायतका धेरै साथीहरूले त्यो ऐतिहासिक भेलाको लागि शुभेच्छा र शुभकामना व्यक्त गरिरहेका थिए । यस्तै सम्झनाको तरेलीमा निद्रा गायब भएको थियो । कहिलेकाहीँ सम्झनासँग निद्राले पनि हार्दोरहेछ ।

बिहान हिँड्ने बेलामा उनले केही खुद्रा पैसा हातमा थमाइन् र भनिन्, “राम्रोसँग जानुहोला, घर फर्कदाँ पैसा उघ्र्यो भने केही पत्ता ब्रुफिन ल्याउनुहोला है ! यताको मेडिकलमा भन्दा सस्तो पर्छ कि !”

हृदयमा पराकम्प आयो ।
त्यो कम्पनले मन एक तमासको भो ! टाउकोमा घनले ठोकेजस्तो लाग्यो । जति मरिहत्ते गरेर काम गरेपनि एउटी श्रीमतीको टाउको दुखेको उपचार गराउन नसकेको पीडामा डुबें । ब्रुफिन कता सस्तो पाइएला भनेर सोच्नु, खोज्नु परेको छ । हे भगवान् ! धन्न सिटामोल चाँहि हेल्थ पोष्टले सित्तैमा दिइरहेको थियो । नत्र घर फर्कदाँ ल्याउने सूचीमा सिटामोल पनि शानदार तरिकाले चढ्ने थियो । अरूका श्रीमतीहरूका माग सारी र सिक्री हुदाँ मेरी प्यारीको डिमाण्ड ब्रुफिन थियो । मैले मनमनै आफू र आफ्नो विवशतालाई धिक्कारें । सोचें, ‘दशैं पेश्की आएपछि जसरी हुन्छ राम्रो हस्पिटलमा लगेर उपचार गराउँछु ।’ मैले यस्तो योजना बनाएको पनि दुई वर्ष भइसक्यो ! भ्यागुताको धार्नी कहिल्यै पुग्दैन भन्थे हो रहेछ ।
एउटा मनले भन्यो, ‘बिनाकाम नजा हो काठमाडौं, त्यहाँ पुगेर आउने खर्चले त बूढीको उपचार गर्न मिल्छ !’
फेरि अर्को मनले भन्यो, ‘ह्या, यो महङ्गीमा दुई चार हजारले के पो उपचार हुन्छ र ! छिस्स नि हुँदैन । तलब आएको बेला मन खोलेर राम्रोसँग उपचार गराउँछु ।’
छिट्छिटो यस्ता कुराहरू मनमा आए र गह्रुङ्गो मन लिएर म राजधानीतिर लागें । राति पनि अनेकौं सोच मनमा खेलाएर त्यति निद्रा नपरेकोले बसको सिटमा मस्त निदाएछु ।

कार्यक्रम तय गरिएको दिन सबेरै उठें र झोलाबाट लुगा झिकें । कच्याककुचुक परेका रहेछन् । कपडामा मेरो हैसियत ऐनामा झैँ प्रतिबिम्बित भए जस्तो लाग्यो । रङ खुइलिएका तिनै कपडा लाएर खाना खाएँ र गोल्डस्टार जुत्ता लगाएर लागे प्रज्ञा प्रतिष्ठानतिर । प्रज्ञाको गेटबाट भित्र छिर्ने बेला सुरक्षाकर्मीले केरकार गरे । आज हाम्रो कार्यक्रम छ भनेर गएँ । तिनीहरूले पत्याए कि पत्याएनन् मैले वास्ता गरिनँ । सबैभन्दा पहिला त्यहाँ मै पुगेको रहेछु, आँखा घुमाएर यताउता हेरें, कोही देखिनँ ।

केही क्षण त्यसै टहलें । बालकृष्ण सम, भिमनिधि तिवारी, सिद्धिचरण, मोतीराम लगायतका स्रष्टाका सालिक हेर्दै भानुभक्तको प्रतिमा मुनि गएर सुस्ताएँ । त्यत्तिकैमा केही मान्छेहरू आए कोही बाइकमा, कोही स्कुटीमा । मालिका, विपिन, बिमलाहरू रहेछन् । एकदुई पैदल पनि आएका थिए तर उनीहरूको लवाई, हिँडाई मेरो भन्दा उत्तम खालेजस्तो लाग्यो । त्यहाँ सबैभन्दा निम्छरो मै थिएँ भनेर ठम्याउन मलाई कुनै समय लागेन । आफूले आफैंलाई सम्झाएँ, ‘मान्छेको हैसियत लवाइखवाइ र सम्पत्तिले निर्धारण गर्दैन । तँ यस‌ै ठीक छस् ।’

भेटघाट उपलब्धिमूलक रह्यो । साहित्यलाई माया गर्नेहरूको एउटा साझा संस्था ‘हातेमालो साहित्य सङ्गम’ स्थापना गर्ने निर्णयसहित भेला सकियो । भेला सकिदाँ पर्सको चेपमा भएको एक हजार रुपैयाँ पनि सकियो । त्यसपछि साथीहरूले खाजा खान जाने प्रस्ताव राखे । मैले मेरो खल्ती सम्झिएँ र नछामी पत्ता लगाएँ; मसँग होटल, रेष्टुरेन्टमा खाजा खान पुग्ने पैसो थिएन । साथीहरूले खुवाउलान् भन्ने आशामा सँगसँगै जान अप्ठ्यारो लागेकाले म तर्किदै अरुभन्दा पछिपछि सुस्तरी हिँड्न थालें । तर मालिकाले पक्रिनुभयो र अँगालो मारेरै अगाडि लिएर जानुभो । म असमञ्जसमा परें ।

रेष्टुराँमा खाजा खान थालियो । स्वादिलो थियो तर मन खाजामा भन्दा खाजाको पैसा कसरी तिर्ने चिन्तामा डुबेको थियो । भोक लागेपनि म ढिलो गरेर खाइरहेको थिएँ । छिटोछिटो खाउँ भने पैसा तिर्नेमा आफै परिएला ! फेरि यी पन्ध्र सोह्र जनाले खाएको खाजाको पैसा तिर्ने सामर्थ्य मसँग थिएन । अघिल्लो पटक काठमाडौं आउँदा जिन्दगीमा एकपटक क्याफेमा बसेर कफीको चुस्की लिनुपर्यो भनेर छिरेको सम्झिएँ । एक कप कफीको एक सय बीस रुपैयाँ खत्रक्क तिर्नुपर्दा म फत्रक्क परेको थिएँ । उपरखुट्टी लाएर पिउँदा स्वादिलो लागेको कफी क्याफेबाट बाहिरिँदा खल्लोखल्लो टर्रो लागेको थियो ।

काठमाडौं सारै खर्चिलो लाग्यो । खल्ती रित्तिनै आँटेको थियो । अब घर फर्किनुपर्यो भन्ने सोचेर ब्रुफिन किन्न औषधी पसलतिर सोझिएँ । ब्रुफिन किन्ने बेला पैसा नियालें; घर फर्कन बसभाडा पनि नपुग्ने रहेछ । किनौं कि नकिनौं भनेर दोधारमा परें । आ ! जे पर्ला सोही टर्ला भनेर दुई पत्ता झ्याप्प किनेर झोलामा हालें ।

टिनिनिनि ! टिनिनिनि !! टिनिनिनि !!!
म झस्किएँ।

उताबाट छोरीको आवाज आयो, “बाबा, हजुर छिटो आउनू न ! यहाँ ममीलाई कस्तो साह्रो भएको छ । औषधी पनि सकिएछ, छिटो औषधी लिएर आउनू ल ?”
यो पटकको पराकम्पले मलाई हल्लाउन सकेन । किंकर्तव्यविमूढ भएर एकछिन जहाँको तहीँ सालिक झैं ठडिइरहें ।

काठमाडौं आएर दुई तीन हजार रुपैयाँ बेफ्वाँकमा सिध्याएकोमा ग्लानी महशुस हुन थाल्यो । हृदय सल्केर बलेको अग्निको रापले मन भतभती पोल्यो । त्यहाँबाट सिधै कोटेश्वर गएर गाडी चढें । बीच बाटामा कन्डक्टर पैसा उठाउन आयो । मसँग पूरै भाडा तिर्न पैसा थिएन । त्यसैले झर्ने बेलामा दिन्छु है भाइ भनेर टार्न खोजे । महाको घामट रहेछ, मान्दै मानेन । हाम्रो गलफत्ती सुनेर अगाडिबाट अर्को चर्को आवाज आयो, “पैसा नदिने भए के खान गाडी चढेको झार्दे न ! झार्दे !!”

म झनन्न भएँ । उता घरमा बूढी बिरामी छिन् यता चढेको गाडीबाट झार्दे भने त कसरी घर पुग्नु !

त्यो झार्दे न झार्दे भन्ने रूखो बोलीवालाको स्वर कताकता सुने झैँ लाग्यो र यसो घाँटी तन्काएर ऊ तिर हेरें । केही वर्ष अघि मैले नै पढाएको पल्लो गाउँको कमले पो रहेछ चालक त ! उसलाई देखेपछि अलिक सास आयो र भनें, “बाबु कमल मसँग आज गाडीभाडा तिर्ने पैसा छैन ! केही दिनपछि जसरी नि तिमीलाई हात लाइदिन्छु है ?”
कहिलेकाहीं रूखो बोली पनि मीठो भइदिन्छ ! कमलको त्यही रूखो बोली ‘……झार्दे न झार्दे !’ मेरो लागि पीडामा मलम भइदियो ।
ऊ पनि तीन छक्क पर्यो र कन्डक्टरलाई सरसँग पैसा नमाग्नू है भन्यो । गाडीका सबै यात्रुहरूले मै तिर हेरे वाल्ल परेर ।

गाडीबाट ओर्लेर म छिटोछिटो घरतिर हिँडे । हिँडे के भन्नू ! दौडिएँ । घर पुग्दा ठूली छोरी आमाको टाउको समातेर रुञ्चे मुख लाएर बसिरहेकी रहिछिन् । उनीहरूको अवस्था देखेर मैले मन थाम्न सकिनँ । तत्कालै ब्रुफिन खोलेर एक चक्की खुवाएँ र अप्ठ्यारो गरेर पानीले औषधी निलेपछि उनले म तिर हेरिन् र आँसुका ढिका खसाल्दै भनिन्, “म अब बाँच्दिनँ होला ! यी छोराछोरीको राम्रो ख्याल गर्नूस् है !”

अहिले त हृदयमा पराकम्प होइन ठूलो भूँइचालो नै गइदियो ।
टेकेको धरती हल्लियो । मलाई उभिन गाह्रो भइदियो । कानमा हजार डेसिबलको ध्वनि आएर बज्रिए जस्तो लाग्यो । भाउन्न छुटेर आयो । भित्तो च्याप्प समातेर थ्याच्च बसें । त्यसपछि म केही बोल्नै सकिनँ ! मात्र दुइटा आँखा बोले आफ्नै भाषामा ।
सानो छोरो भन्दै थियो, “बाबा तपाईं किन लुनु भएको ?”

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा कुमार काफ्ले हैसियत

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.