‘लोञ्जाइनस्-जोन्सन् समारम्भं ब्लूमाचार्यादि मध्यमां।
अस्मदाचार्य पर्यन्तां वन्दे श्रीगुरूपरम्परां।।’
जीवनबाट भाग्न होइन हामी – बरू हामीबाट जीवन नभागोस् भनी – यात्रा एउटा गरिन्छ, सायद।
साझा प्रकाशनद्वारा वि. सं. २०७९ मा प्रथम प्रकाशित तथा खरसाङ् महाविद्यालय, दार्जिलिङ्, भारतका एसोसियट प्रोफेसर अध्ययन-अध्यापकीय विषय अनुदिते योगेश खातीको भूमिकाद्वारा आलोकित – डा. दामोदर पुडासैनी ‘किशोर’ विरचित एउटा नियात्रा-कृति ‘डोल्पो! ओ डोल्पो!!’ कृतिकारबाट सस्नेह प्राप्त हुँदा सो को निकट पठन पश्चात् प्रस्तुत प्रकरणकारका मन-मस्तिष्कद्वारा निःसृत केही भाव-प्रभाव यहाँ उल्लेख गर्ने यत्न गरिन्छ। ‘किशोर’ कृत पूर्वोदित कृतिमाथि प्रकाशकीय सङ्क्षिप्त प्रकाश, भूमिकाकार श्रीयुत खातीको ‘रहस्य, लालित्य र ज्ञानको नवीन त्रिवेणीमा “डोल्पो! ओ डोल्पो!!” नामकृत एउटा उज्यालो पाश्र्वभूमि, र नियात्राकार स्वयंको ‘अनुभूतिका चिरस्थायी चित्रहरू’ उपाधियुक्त एउटा यथोचित लेखकीयद्वारा यहाँ विवेच्य सम्पूर्ण कृति ‘डोल्पो! ओ डोल्पो!!’ सम्यक्रूपेण स्वयं उद्भाषित-परिभाषित भएको छ भन्छु, एउटा पूर्वाधुनिक फ्रान्सेली प्रतीकवादी कवि तथा समालोचक स्टिफन् मलार्मी (ई. सं. १८४२ – १८९८)को पूर्वानुमानित अनुमतिले। किनभने, मलार्मी भन्छन् – “परिभाषा गर्नु भनेको विनष्ट गर्नु हो [ To define is to destroy. ]।”
केही अनियमितताहरूलाई यत्क्षणनिमित्तम् विस्मृतिको गर्तमा प्रचालयन गर्ने हो भने – कालक्रमेण वि. सं. २०७४ श्रावण १९ गते गुरूवासरदेखि उही वर्ष आश्विन ७ गते शनिवासरसम्मको समयावधिमा विस्तारित अत्यन्त सुविचारित नानाप्रभृति उपशीर्षकहरूमा विरचित कुल ३६ संस्मरणपरक प्रबन्धहरूमा सङ्गठित – नियात्राकार ‘किशोर’को यहाँ विवेच्य कृति ‘डोल्पो! ओ डोल्पो!!’ एउटी बङ्गाली उत्पत्तिकी बेलायती-अमेरिकी लेखिका निलञ्जना सुदेश्णा “झुम्पा” लाहिरी (जन्म: ई. सं. १९६७ )ले भनेजस्तो “आफ्ना पाईताला नचलाईकन” पाठकहरूलाई डोल्पोे “भ्रमण गराउन” समर्थ छ। प्रत्येक प्रबन्ध एउटा अथवा अर्को सूत्रात्मक पक्ष-वाक्य(हरू)द्वारा प्रारम्भ हुनुले सम्पूर्ण कृतिले एउटा संसक्ति प्राप्त गरेको छ, भन्छु। “पक्षपात, असहिष्णुता तथा सङ्कीर्णताप्रति यात्रा अरिष्ट हुन्छ।” मार्क ट्वेन (ई. सं. १८३५ – १९१०)ले जस्तै यही कुरा बुझेर त्यसैको निवारण हेतु डोल्पो संकेन्द्रित कर्णाली प्रदेशको यात्रा गरेका हुन् ‘किशोर’ले पनि सायद। अमेरिकी बीट् पुस्ताका कवि तथा उपन्यासकार ज्याक् केरूआक् (ई. सं. ११९२२ – १९६९)ले ‘लोन्सम् ट्राभलर् (ई. सं. १९६०)’मा भने – “पेरिस स्त्री हुन्; तर लण्डन पुरूष।” पेरिस र लण्डनलाई के भन्दा हुन् ‘किशोर’ – थाहा छैन; तर, ‘डोल्पो’ ‘किशोर’की ‘किशोरी’ हुन्; ‘डोल्पो’ सुन्दरी हुन् ‘किशोर’की – प्रेयसी हुन्; र हुन् प्रियतमा पनि। ‘किशोर’ ‘कृष्ण’ हुन् भने ‘डोल्पो’ ‘राधारानी’ हुन्। आफ्नी सहधर्मचारिणी ‘पार्वती’लाई प्रेमपूर्वक ‘पारू’ भनिरहँदा आफ्नी प्रेयसी ‘डोल्पो’लाई कुन कार्पण्यदोषले अथवा, कुन ‘पारू (सूर्य)का प्रतापले’ ‘डोल्पु’ भन्न नसकेका हुन् – सोध्न मन लागेको हो। संप्रति, मोरक्कोमा निर्वासित जीवन बाँचिरहेका अमेरिकी-फ्रान्सेली कवि तथा उपन्यासकार रोमन् पेइन् (जन्म – ई. सं. १९७७) ‘क्रेपस्क्युल (ई. सं. २००४)’मा भन्छन् – “केशर टिप्न इटली, स्पेन अथवा इरान जाऊ। अफिम टिप्न बर्मा अथवा दक्षिण-पूर्व एशिया जाऊ। नवीन विचार टिप्न पेरिस जाऊ।” यहाँ, ‘किशोर’ भन्छन् – “नवीन विचार टिप्न कर्णाली जाऊ; डोल्पो जाऊ।” मोरक्को निवासी कवि, यात्री तथा अन्वेषक इबन् बतुता (ई. सं. १३०४ — १३६९)को विचारमा “यात्राले तिमीलाई प्रथमतः निःशब्द तुल्याउँछ; तत्पश्चात् तिमीलाई एउटा कथाकार बनाउँछ।” यही कुरा प्रसक्त भएको छ ‘किशोर’को हकमा पनि उनको डोल्पो यात्राको क्रममा। “एउटा यात्री र एउटा पर्यटक विमध्य एउटा सूक्ष्म पार्थक्य हुन्छ। एउटा यात्रीले जे देख्छ, त्यही हेर्छ; र एउटा पर्यटकले जे हेर्न गएको हो, त्यही देख्छ।” एउटा सुसिद्ध बेलायती कवि, साहित्यिक तथा कला समीक्षक जी. के. चेस्टर्टन् (ई. सं. १८७४ – १९३६)ले भनेका कुरा हुन् यी। यही पर्यालोकमा हेर्दा ‘किशोर’ एउटा ‘यात्री’ हुन् ; ‘पर्यटक’ होइनन्।
नियात्राको ऐतिहासिक परम्परामाथि पर्यालोकन गर्दा केही महत्त्वपूर्ण नियात्राहरू निम्नानुसार देखापर्दछन् –
क्रमसः
०१.
काल-क्रम: ईशाको प्रथम शताब्दि
कृतिकार: अज्ञात
कृति: पेरिप्लस् अव् दि अरिथे्रयान्
विषय-वस्तु: सामुद्रिक यात्रा तथा व्यापारिक अवसरहरूको वृत्तान्त
०२.
काल-क्रम: ईशाको द्वितीय शताब्दि
कृतिकार: पोसिनियस्
कृति: डेस्क्रिप्सन् अव् ग्रीस्
विषय-वस्तु: प्राचीन ग्रीस्को भौगोलिक वर्णन
०३.
काल-क्रम: ई. सं. ६०२ – ६६४
कृतिकार: हु एन् साङ् (धर्मनाम – मोक्षदेव)
कृति: रेकर्ड्ज अव् द वेस्टर्न रिजन्स
विषय-वस्तु: मध्यकालीन केन्द्रीय एशिया तथा भारतवर्षको अध्ययन
०४.
काल-क्रम: ई. सं. ९७३ – १०५०
कृतिकार: अल्-बिरूनि
कृति: तारीख-अल्-हिन्द
विषय-वस्तु: भारतवर्षको इतिहास
०५.
काल-क्रम: ई.सं. १००३ – १०७७
कृतिकार: नासिर् खुस्रो
कृति: सफरनामा
विषय-वस्तु: इज्लामिक संसारमा खुस्रोको ७ वर्षे-यात्रा वृत्तान्त
०६.
काल-क्रम: ई. सं. ११४६ – १२२३
कृतिकार: जेरार्ड अव् वेल्स
कृति: डेस्क्रिप्सन् अव् वेल्स
विषय-वस्तु: वेल्सको भौगोलिक वर्णन
०७.
काल-क्रम: ई. सं. १७४० – १७९५
कृतिकार: जेम्स बोस्वेल्
कृति: जर्नल अव् अ टुर टु हेब्रिडीज्
विषय-वस्तु: स्कटिश् द्विपसमूहहरूको वर्णन
०८.
काल-क्रम: ई. सं. १८३५ – १९१०
कृतिकार: माक ट्वेन्
कृति: एड्भेञ्चर्स अव् हकल्बेरी फिन्
विषय-वस्तु: हक्को जीवन-यात्रा
०९.
काल-क्रम: ई. सं. १८६३ – १९३५
कृतिकार: सिल्भाँ लेभाइ
कृति: नेपाल
विषय-वस्तु: हिन्दु अधिराज्यको ऐतिहासिक अध्ययन
१०.
काल-क्रम: ई. सं. १८९२ – १९८३
कृतिकार: रेबेका वेस्ट
कृति: ब्ल्याक् ल्याम्ब एण्ड ग्रेइ फोल्कन्
विषय-वस्तु: युगोस्लाभिया यात्राको वर्णन
सामान्यतया, एउटा असल नियात्रामा अपेक्षित केही आवश्यक गुणहरू निम्नानुसार हुनसक्तछन् –
— कथाकारीता
— सचित्र एवं यथार्थ वर्णन
— आन्तरिक संसारमाथि प्रकाश
— नियात्राकारको टिप्पणी
— स्थानीयसँगको वार्तालाप
— सांवादिक भाषा अथवा स्वर
— आकर्षक आरम्भ
— सन्देश तथा समाधान संयुत उपसंहार
— नाधिनधो मूल्याङ्कन
— सङ्क्षिप्तता, इत्यादि।
एउटा असल नियात्रामा अपेक्षित नेदिष्ठ पूर्वोदित गुणावलीको कषपट्टिकामा स्थापन गरी हेर्दा ‘किशोर’को नियात्रावली एउटा शाही स्थान ओगट्न सक्षम छ, सफल छ। एउटा असल र सम्यक् समालोचना – एउटा विश्वविश्रुत अङ्ग्रेजी कवि, साहित्यिक समालोचक, अनुवादक तथा नाटककार जोन् ड्राइडेन् (ई. सं. १६३१ – १७००)का शब्दमा “पाठेतर आयातित भाण्डक”का आधारमा होइन, “पाठाभ्यन्तर उपस्थित-उपस्थापित उपपत्तिहरू”का आधारमा हुनु-गरिनु पर्दछ। चर्चा त ‘डोल्पो! ओ डोल्पो!!’ का सम्पूर्ण ३६ सै नियात्रालेखहरूमाथि गर्न मन लागेको हो। तथापि, समयस्थानसङ्कोचवशः, यहाँ, केवल ‘पञ्चालेख’ प्रथम ४, र अन्तिम १ = ५ आलेखसमूहे मात्र चर्चित हुनेछन्। त्यसो त यहाँ अचर्चित आलेखहरू पनि स्वयंचर्चित हुन् – श्रीमच्चन्दनचर्चितोज्ज्वलवपु हुन्। यहाँ चर्चित-अचर्चित – सम्पूर्ण लिलेखहरू समानरूपेण आनन्दवर्षक-रोमहर्षक छन्। ती सम्पूर्ण ‘एकभन्दा अर्को – कोभन्दा को कम’ जस्ता छन्। भन्नै पर्दछ – मान्नै पर्दछ, ती सम्पूर्णः एकेकोटा माहात्म्य हुन् – कुनै ढुङ्गाका, कुनै माटाका; कुनै धामीझाँक्रीका, कुनै डाङ्रेका; कुनै अश्वका, कुनै मस्टोका; कुनै हिमालका, कुनै पहाडका; कुनै कर्णालीका, कुनै भेरीका; कुनै नदका, कुनै नदीका; कुनै जनका, कुनै वनका; कुनै वनस्पतिका, कुनै खगस्पतिका; कुनै जाङ्गल फूलका, कुनै माङ्गल कन्दमूलका; कुनै सुगन्धका, कुनै मकरन्दका; कुनै कीराका, कुनै मीराका; कुनै गीतका, कुनै मितका; कुनै प्राक्सन्दर्भका, कुनै सरकारी कामकाजका; कुनै लोकोक्तिका, कुनै वक्रोक्तिका; कुनै केका, कुनै केका; – आखिर माहात्म्य हुन् त सम्पूर्ण जीवनका, सम्पूर्ण जगतका; सम्पूर्ण जैविक-जागतिक रहस्यका – सुमतिका, कुमतिका; प्रगतिका र प्रतिगतिका पनि। अतिशयोक्तिको आरोप नलाग्दो होः, र त्यो अतिशयोक्तिद्वारा व्यङ्ग्योत्पत्ति नहुँदो हो त प्रस्तुत प्रकरणकार त भन्नेथियो – यहाँ विवेच्य कृति ‘डोल्पो! ओ डोल्पो!!’का सम्पूर्ण ३६ सै नियात्रालेखहरू एकेकोटा श्रीमद्भगवद्गीता हुन्; सायद। किनभने कृतिकार दामोदर ‘किशोर’ हुन्, र ‘किशोर’ पनि कृष्ण हुन्।’ अतोनिमित्तम्, श्रीकेशवार्जुनसंवाद गङ्गोदकं गीताको जस्तै ‘किशोर’कृत नियात्रावली हिमोदकं ‘डोल्पो! ओ डोल्पो!!’को निमित्त एउटा प्रास्ताविक ‘डोेल्पो-माहात्म्य’ यस्तो हुनसत्तछ “सर्वोपनिषदो गावो दोग्धा हरिनन्दनः। वत्सो भूतो सुधीर्भोक्ता दुग्धं डोल्पामृतं महत्।” यत्पश्चात्, यहाँ विवेच्य कृति ‘डोल्पो! ओ डोल्पो!!’का केही ईप्सित पाठ-संकेन्द्रित एउटा समालोचकीय संलाप प्रस्तुत गर्ने यत्न गरिन्छ।
०१. आकर्षणको अन्तध्र्वनि
- प्रस्तुत आरम्भिक आलेख नियात्राकारको यायावरीय लोलुपाको एउटा ललामकरूपक हो; ‘कहाँ सन्तोष लाग्छ र मान्छेलाई रगरग नहिँडेसम्म।’ यहाँ, ‘डोल्पो’ मानवीकृत मात्र होइन, स्त्रीकृत भएकी छन् – जोन् किट्स (ई. सं. १७९५ – १८२१)की ग्रीसेली कलशजस्तै: ‘तिमी इदानीमपि अबलात्कृत शान्तिकी वधू हौ [Thou still unravished bride of quietness.]।’ यहाँ, ‘किशोर’ भन्छन्: ‘मायाको धन खोतल्न डोल्पो यात्रा तय गरेँ मैले, के बिराएँ?’ हो, ‘किशोर’! तिमी सत्याभिसन्ध हौ। तिमीले केही बिराएका छैनौ डोल्पो यात्रा तय गरेर। बिराएका त हामीले रहेछौँ डोल्पोलाई चिन्न नसकेर। ‘किशोर’की ‘कृशोदरी’ डोल्पोप्रति उनको प्रेम ईशोपनिषद्को पवित्र मन्त्र ‘ॐ पूर्णमदः पूर्णमिदं…’ जस्तै कहिल्यै नरित्तिने पवित्र प्रेम हो – एउटा अनासक्त प्रेम [platonic love] हो।
०२. धमिला आँखाहरू
- एउटा सुन्दर दार्शनिक वाक्यद्वारा समारम्भ हुन्छ प्रस्तुत नियात्रालेख: ‘चिताएका सबै पुगे खुसी हराउँथ्यो संसारबाट’ मौसमको प्रतिकूलता, यात्राको व्यग्र तथा विकल्पहीन प्रतीक्षा, विमानस्थलका नैक दृश्य-नादहरू, र तिनीहरूका उपलक्षणाहरू यहाँ समाविष्ट केही विषय-वस्तुहरू हुन्। त्यो दिन यात्रा प्रारम्भ हुननसक्ने विमानसेवाका कर्मचारीको उद्घोषसँगै एउटा मरूद्यान पुनरपि एउटा मरूस्थलमै बिलाएको प्रसङ्ग यहाँ वर्णित छ।
०३. हरित समुद्रमा श्वेत कुहिरो
- एउटा अत्यन्त अतिशयोक्तिपूर्ण र त्यसैले अत्यन्त काव्यिक वाक्यद्वारा समारम्भ हुन्छ प्रस्तुत पाठ: ‘आफ्नै हड्डीहरूको पुल बनाएर भए पनि नयाँ बाटोमा हिँड्न भुल्नु हुँदैन।’ “हड्डीहरूको पुल ” एउटा रूपक हो, र हो एउटा व्याजोक्ति पनि। उत्तराधुनिक लेखनको एउटा वैशिष्ट्य पनि यही हो सायद। त्यसो त वार्णिक ‘किशोर’का सम्पूर्ण पाठहरूमा प्राप्त प्राकृतिक वर्णन स्वयंप्रशस्त छन्; तथापि प्रस्तुत पाठमा हवाईयात्राका क्रममा ‘किशोर’ प्रदत्त प्राकृतिक वर्णन-चित्रण अत्यन्त चित्ताकर्षक प्रतीत हुन्छन्; ‘किशोर’को तीव्र ऐन्द्रिक अनुभूतिजन्य तीक्ष्ण अवलोकनको प्रतापले। नदी र मान्छेको इज्जत विमध्य निर्मित समतुलना अत्यन्त उपयुक्त छ: ‘…मान्छेको इज्जत पनि त्यही नदीजस्तै हो नि। धमिलिन जति बेर लाग्छ सङ्गलिन झन् धेरै बेर लाग्छ।’ नदी त सङ्लिएला; तर मान्छेको इज्जत सङ्लिएपनि कहाँ सङ्लिन्छ र पूर्वावस्थानुरूप!
०४. साङ्ग्रिला सिम्फोनी
- अङ्ग्रेजी उपन्यासकार तथा पटकथाकार जेम्स हिल्टन् (ई. सं. १९०० – १९५४)को उपन्यास ‘लोस्ट हराइजन् (ई. सं. १९३३)’मा वर्णित ‘साङ्ग्रिला’ थिइन् सायद ‘किशोर’की यिनै ‘डोल्पो’। यहाँ, ‘किशोर’ आफ्नो लेखापरीक्षकीय जीवनका कटु अनुभवजन्य निस्सारता विधेयक कुरा गर्छन्; र भन्छन्; ‘लज्जावती आँखाहरू देऊ चट्टानमा, फुट्न थाल्छन् घनघोर पाखण्डहरू। …परिवर्तन नै परिवर्तनको जुलुस मात्र हो रहेछ संसार।’ हो, ‘किशोर’ परिवर्तनको अर्को नाम नै हो संसार; ‘संसृति इति संसार।’ काले काले, यो भनिएको ‘संसार’ प्रस्तुत प्रकरणकारलाइ लागेको हो ‘असार’। हो, ‘किशोर’! तिमी सत्याभिसन्ध हौ यो भन्नु मा कि ‘डोल्पो जति देखिएको छ, त्यति मात्र होइन…’। देखिएको-पुगिएको-बुझिएको ‘डोल्पो’ त केवल र केवल एउटा ‘हिमपर्वताग्र [tip of the iceberg] मात्र हो, रहेछ।’ कति मात्र भन्न सकेका ‘किशोर’ले – ‘डोल्पो भेट्नु मेरो हाट भर्ने सपना होइन, प्रकृति र कृतिबिचको प्रेमको बाह्रखरी लेख्नु हो।’ यही नै हो, सायद, एउटा पर्यटक र यात्री विमध्यस्थित एउटा पार्थक्य। पुनरोक्तिदोष यदि हुँदैन भने पुनरपि भन्छु; ‘‘किशोर’ एउटा पर्यटक होइनन्; हुन् त उनी एउटा यात्री।’ ‘किशोर’को लेखनीमा, यहाँ, ‘अन्धकार’ ‘माटो’ हुन्छ; ‘माटो’ ‘तरूनी’ हुन्छ; र हुन्छ ‘अन्धकारको तरूनी माटो’ एउटा ‘विश्वास’। कहाँबाट प्रस्फुरण हुन्छ यस्तो काव्यिक कला ‘लेखापरीक्षण’का ‘महोदधि’ ‘किशोर’मा – सोध्न मन लाग्छ।
****************************************
३६. खोलाहरू छाम्दै हिँडिरहेको घाम
- जीवन भनेकै एउटा यात्रा त रहेछ – अनेकानेक आरोह-अवरोहहरूको एउटा अनन्त यदि होइन भने एउटा बहुविस्तीर्ण श्रृङ्खला। प्रस्थानकालको प्रोल्लास एउटा थियो। प्रत्यागमनको पीडा एउटा थपिएको छ, यहाँ। मिलनका सुखहरू र बिछोडका दुःखहरू – यीनै सुख-दुःखहरूद्वारा निर्मित अर्को एउटा निर्मिति भनूँ अथवा नियति त रहेछ आखिर यो जीवन। ‘किशोर’ पनि, यहाँ, सम्यक् भन्छन्; ‘मैले उज्यालो खोजिरहेका बेला तिमी डोल्पोेलाई भेटेँ । तिमीसँगको भेटले ब्युँझेका छन् भ्रमका नयाँ पर्दाहरू। मिठो भ्रम नै त हो आखिर जीवन’। एउटा वैलक्षण्य भेटिन्छ, यहाँ, ‘किशोर’मा – आफ्नी किशोरी डोल्पोसँगको मिलनमा पनि खुसी – बिछोडमा पनि उत्तिकै खुसी। ‘किशोर’ ‘कृष्ण’ हुन्। त्यसैले, उनलाई थाहा नहोस् पनि कसरी ‘कृष्ण’को शिक्षा; ‘…समत्वं योग उच्यते’। मिलनमा क्रिस्टोफर् कोलम्बस्को खुसी, बिछोडमा भास्को डी गामाको खुसी। आगमनमा तेञ्जिङ् नोर्गेको उत्साह, प्रत्यागमनमा मार्कोपोलोको ज्योति। यही नै हो सायद एउटा अनुपम प्रेमको दृष्टान्त – एउटा अनासक्त प्रेमीको प्रसाद। कति सुभाषित छन् यहाँ ‘किशोर’; ‘…तिमीलाई भेटेपछि जीवनमा नयाँ टुसाहरू पलाउन थालेका छन् मेरा’। ‘किशोर’! तिमीमा पलाउन थालेका ती “नयाँ टुसाहरूलाई” प्रस्तुत प्रकरणकार भावस्निग्ध स्वागत गर्दछ – भावगम्भीरम् अभिनन्दन गर्दछ। सायद होइन निःशंसय, तिम्री कृशोदरी किशोरी ‘डोल्पो सुन्दरी’ पनि त्यसै गर्दी हुन्। यही विश्वास गरिन्छ, यहाँ। अत्यन्त, भन्दछन् ‘किशोर’; ‘डोल्पो! तिमी र मेरो जिजीविषा उस्तै हुन्। तिमीलाई छोडेर फर्कदा म मिठो घाउ कन्याइरहेछु।’ हो, ‘किशोर’! ‘आफ्ना पदचिन्हहरू छोडेर – स्मृतिहरू लिएर आउने’ एउटा उपक्रम त रहेछ एउटा यात्रा। भनिन्छ, एउटा असल यात्राले तिमीले नसोधेका प्रश्नहरूको उत्तर दिन्छ। त्यसैले त ‘किशोर’! तिमी अत्युत्तम भन्छौ; ‘तिमीलाई भेटेपछि सम्बन्धका सिँढीहरू फराकिलो बनेकाछन्। आखिर जीवनको उद्देश्य सम्बन्धका सिँढीहरूको उचाइ थप्नु नै त रहेछ।’ तर, ती सम्बन्धहरू ‘नष्टाश्वदग्धरथवत्’ न्यायाधारित नहोऊन्। यही भन्छु।
स्वामि दयानन्द सरस्वतीको प्रेरणाले – ‘गुणेषु गुणविष्करणम्’ भावले – यत्पूर्वम् ‘किशोर’कृत नियात्रावली ‘डोल्पो! ओ डोल्पो!!’को प्रभूत प्रशंसा गरियो। अतःपरम्, उनै स्वामिको पे्ररणाले – ‘दोषेषु दोषाविष्करणम्’ भावले – केही बोल्ने प्रयास गरिन्छ। ‘किशोर’को पुस्तकमा परिक्षिप्त केही प्रमादहरू विधेयक चर्चा गर्नुपर्दा – ‘प्रकाशकीय’मा प्रयुक्त एउटा अन्तिम वाक्यलाई अतिरिक्त स्पष्टताको निमित्त पुनर्सङ्गठित गर्नुपर्ने देखिन्छ। भूमिकाकार श्रीयुत खातीको ‘रहस्य, लालित्य र ज्ञानको नवीन त्रिवेणीमा “डोल्पो! ओ डोल्पो!!” नामकृत भूमिका’ विषय-वस्तु प्रतिपादनमा सफल देखिएता पनि शब्दसौकर्यगत प्रमादहरू यत्र-तत्र-सर्वत्र छन्। एउटा विश्वविश्रुत नाइजेरियाली उपन्यासकार तथा कवि चिन्वा अचेबे (ई. सं. १९३० – २०१३)को प्रेरणाले ती प्रमादहरूलाई सार्वजनिक विवृतिमा ल्याउनुभन्दा आफ्नै वैयक्तिक टिप्पणीमा मात्र सीमित गर्नु प्रस्तुत प्रकरणकार श्रेयस्कर सम्झन्छ। नियात्राकार स्वयंको ‘अनुभूतिका चिरस्थायी चित्रहरू’ उपाधियुक्त एउटा यथोचित लेखकीय अभ्यन्तर छिद्रान्वेषी भएर दोषानुसन्धान गर्दापनि उल्लेख्य प्रमादहरू भेटाउन प्रस्तुत प्रकरणकार असफल हुन्छ। र, एउटा समालोचकको यसप्रकारको नैष्फल्य एउटा लेखकको साफल्य हुन्छ। यही भन्छु; र लेखकीयमाथि केही सम्पूरक टिप्पणीहरू संनिवेश गर्न खोज्दछु। ‘जन्मदै नजन्मिई मरिसकेको’ भन्नुभन्दा एउटै शब्दमा ‘अजातप्रेतः’ भनिएको भए अभिव्यक्तिमा मितव्ययिता आउन सक्थ्यो कि? अभिव्यक्तिमा मितव्ययितालाई पनि असल लेखनको एउटा महत्त्वपूर्ण गुण भनिएको छ दण्डि (ईशाको ७औँ – ८औँ शताब्दि)को काव्यादर्श लगायत नैक साहित्यिक-काव्यिक शास्त्रहरूमा । आफ्नो यात्रानुभवलाई एउटा शब्दचित्रमा उतार्ने प्रयास गरेको कुरा गर्छन् ‘किशोर’ आफ्नो लेखकीयमा। शब्दचित्र भन्नु स्वयं एउटा चित्रकला हो; र हो एउटा कविता पनि। एउटा चित्रकला र एउटा कविता विमध्य एउटा आकर्षक सादृश्य हुन्छ भन्छन् – सिमिनाइद (ई. पू. ५६७; ग्रीस) र होरेस (ई. पू. ६५ – ८ इटली)हरू। यता ग्रीसमा सिमिनाइद भन्छन्; ‘एउटा चित्रकला भनेको एउटा मूक कविता हो; र एउटा कविता, एउटा बोल्ने तस्वीर [A painting is dumb poetry; and poetry, a speaking picture.]।’ र, उता इटलीमा होरेस भन्छन्; ‘एउटा कविता जति निकटबाट हेर्यो उति सुन्दरतर देखिन्छ; र एउटा चित्रकला जति सुदूरबाट हेर्यो उति सुन्दरतर देखिन्छ [A poem looks more beautiful the closer it is; and a painting looks more beautiful the farther it is.]।’ ‘किशोर’ आफ्नो लेखकीयमा कृति लेखिसक्दा आफू रित्तिएको कुरा पनि गर्दछन्। यही पोखिनु आफ्नो कृतिमा र रित्तिनु आफैंमा त रहेछ लेख्नुको सर्वानन्द पनि – एउटा असल लेखकले लेख्दैन; बरू ऊ त आफै लेखिन्छ। होइन, ‘किशोर’! “डोल्पो! ओ डोल्पो!!” तिमीले लेखेकै होइनौ; तिमी त आफै लेखिएका हौ – पोखिएका हौ। र त तिमी आफै रित्तिएका हौ। यही कुरा त गरेका हुन् एउटा विश्वविक्रम अर्जेन्टिनी लेखक होहे लुइस् बोर्हेस् (ई. सं. १८९९ – १९८६)ले पनि ‘लेखक मरेपछि पुस्तक बन्छ’ भनेर। ‘पानी पिएर लेख्नेहरू असल लेखक होइनन्’ – यस्तै-यस्तै केही भनेर हरेस खुवाउँछन् होरेस। हो, ‘किशोर’! तिमीले पानी पिएर लेखेका होइनौ “डोल्पो! ओ डोल्पो!!”; लेखेका हौ त तिमीले जीवन पिएर। लेखुञ्जेल मात्र तिम्रो थियो तिम्रो “डोल्पो! ओ डोल्पो!!”; अब त यो हामी सबैको भयो – सार्वजनिक सम्पत्ति भयो। यही भनेका हुन् ख्यातनाम अमेरिकी नव समालोचकद्वय विम्जट् (ई. सं. १९०७ – १९७५) र बियर्ड्ज्ली (ई. सं. १९१५ – १९८५)ले पनि।
‘किशोर’ को “डोल्पो! ओ डोल्पो!!” पढिरहँदा स्मरण भईरहेथ्यो प्रस्तुत प्रकरणकारलाई वाल्ट ह्विट्मन् (ई. सं. १८१९ – १८९२)को कविता ‘ओ क्याप्टेन्! माइ क्याप्टेन्!! (ई. सं. १८६५) पनि। फरक यत्ति हो – ह्विट्मन्को एउटा कविता, ‘किशोर’को एउटा नियात्रा। ह्विट्मन्को अति सङ्क्षिप्त केवल ३६ पङ्क्तिको, ‘किशोर’को बहुविस्तीर्ण ३६ प्रकरणको। ह्विट्मन्को लिङ्कनमाथिको शोककविता, ‘किशोर’को डोल्पोनामस्तोत्र। भन्नेहरू ‘किशोर’लाई नियात्राकार भनून्; अथवा अरू नै केही भनून्। प्रस्तुत प्रकरणकार त उनलाई केवल र केवल एउटा कविमात्र भन्न रूचाउँछ; किनभने कविता उनको अन्तःप्रेरणा हो, नियात्रा उनको शिल्पमात्र। हो, यही कुरा डा. स्यामिऊल जोन्सन् (ई. सं. १७०९ – १७८४)ले पनि भनेका हुन् शेक्सपियर (ई. सं. १५६४ – १६१६)को सन्दर्भमा [Shakespeare is more of a poet than a dramatist, for poetry was his instinct, and drama his skill.]। स्मरण रहोस्, शिल्पभन्दा अन्तःप्रेरणा उच्चतर हुन्छ। पुनरपि, प्रस्तुत प्रकरणकार त ‘किशोर’ लाई केवल र केवल एउटा कविमात्र भन्न रूचाउँछ; किनभने कविता उनको प्रकृति हो, नियात्रा उनको संस्कृतिमात्र। हो, यही कुरा उनै डा.जोन्सन्ले भनेका हुन् शेली (ई. सं. १७९२ – १८२२) र वर्ड्जवर्थ (ई. सं. १७७० – १८५०) विमध्य तुलनात्मक मूल्याङ्कनको सन्दर्भमा [Shelley is a better poet than Wordsworth, for Shelley is a poet by nature, and Wordsworth by culture.]। स्मरण रहोस्, संस्कृतिभन्दा प्रकृति उच्चतर हुन्छ।
‘किशोर’ को “डोल्पो! ओ डोल्पो!!” पढिरहँदा – पढिरहेँ; अथवा उनीसँगै हिँडिरहे – थाहै भएन। थाहा हुँदा – पुस्तकै सकिएछ – पत्तै भएन। ‘एउटा पुस्तकको प्रथमदेखि अन्तिम शब्दसम्मले एउटा पाठकलाई एउटा आनन्दले बाँधिरहनु पर्दछ’ भन्थिन् भर्जिनिया ऊल्फ (ई. सं. १८८२ – १९४१)ले। त्यस्तै भयो – “डोल्पो! ओ डोल्पो!!” ले तानिरह्यो – बाँधिरह्यो पठनकालपर्यन्त। द्विधन्यवाद भन्छ ‘किशोर’लाई, यहाँ, प्रस्तुत प्रकरणकार। एउटा धन्यवाद यस्तो पुष्कल पुस्तक पठननिमित्तम् प्रदान गरेकोमा; र अर्को धन्यवाद स्थानवीरासनी प्रस्तुत प्रकरणकारलाई घरमै बसी-बसी डोल्पो-दर्शन गराईदिएकोमा। गुण्टर ग्रासले ‘किशोर’ को “डोल्पो! ओ डोल्पो!!” पढ्न पाएको भए सायद होइन निःशंसय भन्ने थिए यसलाई ‘पवित्र’ होइन, ‘महापवित्र’। किनभने, ग्रासको लागि त ‘एउटा खराब पुस्तक पनि पुस्तक हो; त्यसैले पवित्र [A bad book is also a book; so it is holy.]।’ साहित्यको नाममा राहित्य लेखिईरहेको, र त्यही लेख्नेहरूले अभ्याकर्ष गरिरहेको वर्तमान मुहुरमा – धेरै काल पछि यस्तो साहित्य पढ्न पाइयो। यो पढिरहँदा एकैसाथ स्मरण भइरहे यता पूर्वबाट पारिजातहरू, शङ्कर लामिछानेहरू, कृष्णचन्द्रसिंह प्रधानहरू, ईश्वर वल्लभहरू, सम-देवकोटा – लेखनाथहरू, पन्त-प्रसाद-निरालाहरू, गोरख पाण्डेहरू, र यहाँ नाम नअटाएका अन्न्यान्य धेरै-धेरै संज्ञाहरू। र, उता पश्चिमबाट पनि स्मृतिपटलमा आइरहे एकैसाथ होरेस-होमेरसहरू, शेक्सपियर-शेलीहरू, काण्ट-केटोहरू, डिकेन्स-डिकिन्सनहरू, भर्जिल-चर्चिलहरू, र यहाँ नाम नअटाएका अन्न्यान्य धेरै-धेरै संज्ञाहरू। काले काले, यस्तो लाग्दछ, विधाभञ्जन गर्दै लेखिएको ‘किशोर’ को “डोल्पो! ओ डोल्पो!!” – के हो? भन्दा पनि के होइन? निबन्ध-प्रबन्ध त यो हो नै – एउटा नियात्रा भनिएकोले। यो त एउटा कविता पनि हो। कथा पनि हो। उपन्यास पनि हो। नाटक पनि हो। सर्वोपरि, ‘किशोर’को यो म्याथ्यू आर्नोल्डले भनेजस्तै ‘जीवनको समालोचना’ हो। जीवन-दर्शन हो। काले काले, यस्तो पनि लाग्दछ; ‘किशोर’ को यो ‘द्रौपदीको अक्षयपात्र’ हो – ग्रीसेली-रोमेलीहरूको ‘कोर्नुकोपिया’ हो। ‘लेख्नु’ भन्नु पनि के रहेछ र आखिर! मात्र ‘सर्वस्य हरसर्वस्व त्वंभवच्छेदतत्परः’ त रहेछ – जसरी नक्तम्-दिवम् विरचितम् भयो प्रस्तुत प्रकरणम्। टोल्सटोयजस्ताले त भन्नुपर्यो ‘हामी सम्पूर्ण गोगलको निचुलबाट निस्कन्छौँ।’ हाम्रो त के कुरा! न कुरा! हामी त सायद निस्कन्छौँ सम्पूर्ण गूगल नामकृत जगद्योनिबाट। प्रस्तुत रचना रचनकालमा पनि अवेक्षण गरिए बहुविध श्रोतहरू। सी. ई. एम्. जोऽड, हारोल्ड ब्लूमप्रभृतिको प्रेरणाले आजभोलि प्रस्तुत प्रकरणकारलाई भन्नुभन्दा अधिकतर लुकाउन मन लाग्न थालेको छ। ‘सृजना गर्नु भनेको लुकाउनु हो [To conceal is to create.]’ भन्ने सिकाएका हुन् उनीहरूले।
अन्त्यमा,
मनुस्मृति भन्छ; ‘सत्यं ब्रूयात् प्रियं ब्रूयात् न ब्रूयात् सत्यमप्रियं।
प्रियं च नानृतं ब्रूयात् एष धर्मः सनातनः।। १३८।।’
शब्दानुवाद:- सत्य बोल, प्रिय बोल, अप्रिय सत्य नबोल।
प्रिय असत्य पनि नबोल, यही सनातन रीति हो।।
भावानुवाद:- कुनै पनि मूल्यमा – सत्य बोल, असत्य नबोल।
ततोनिमित्तम्, यही भन्छु – आजभोलि धेरै लेख्न थालेका छन् ‘किशोर’ले, यत्र-तत्र-सर्वत्र। धेरै नलेखून्। हो, हामीले परिमाणलाई प्राथमिक सम्झदा गुणवत्ताले हामीलाई बिर्सन थाल्दछ। मण्डलकवि त बनौँला हामी धेरै लेखेर; तर हामीभित्रको कवित्व क्षीण हुँदैजान्छ धेरै लेखेर। भन्न त भन्दछन् शास्त्रकारहरू, ‘अभ्यासले प्रतिभामा निखार ल्याउँछ।’ तर, तीनै शास्त्रकारहरू नै होइनन् र! ‘अति सर्वत्र वर्जयेत्’ भन्ने पनि। लेख्ने भए न्यूनातिन्यून पुनः एक पटक लेखून् ‘किशोर’ले अर्को एउटा श्रृङ्खला “डोल्पो! ओ डोल्पो!!”कै। यसो भनिरहँदा, अब किशोरले अरू केही लेख्नै हुँदैन भन्ने अर्थ नलागोस् कदापि। समालोचकीय पाठबाट बहिर्गमित भएर यस्तो भन्ने इच्छा थिएन प्रस्तुत प्रकरणकारलाई पनि। तर, ऊ विवश भएको हो यसो भन्न – मनुस्मृतिप्रदत्त एउटा प्रेरणाले – र, केवल र केवल एउटै सदाशयताले – कि अब ‘किशोर’को लेखन – “डोल्पो! ओ डोल्पो!!”द्वारा उनी आफैंले स्थापित गरेको ‘लेखकीय मानक’ – उनी आफैंद्वारा भञ्जित नहोस् भनेर। “डोल्पो! ओ डोल्पो!!”द्वारा उनी आफैंले स्थापित गरेको ‘लेखकीय स्तर’ उनी आफैद्वारा स्खलित नहोस् भनेर। तिमी आफैंले भनेका हौ – ‘लेखेर-बुझेर-पुगेर कहिल्यै नसकिने रहेछ डोल्पो’। फेरि, तिमी आफैंले भनेजस्तै “डोल्पो! ओ डोल्पो!!” लेखेर तिमी यदि सम्पूर्णतः रित्तिएकै हौ भने, केही समय गुप्तवास गर। पुनः एक पटक भरिने प्रतीक्षा गर। भन्छन् नि आजभोलि – ‘चिसिने अवधि [cooling period]’। यो तिम्रो ‘चिसिने अवधि [cooling period] ’ पनि हुनसक्तछ। चिसिऊ। र, जाऊ डोल्पा नै, अथवा अन्यत्र कतै, एक वर्षमा दुईपटक ६ महिने छुट्टी लिएर; र लेख अर्को एउटा “डोल्पो! ओ डोल्पो!!” अथवा, अन्य कुनै सुपठनीय कृति विषय-वस्तु र काव्यिक कलाका पनि दृष्टिले। यसो हुँदा, लेखक स्वयंको लेखकीय सत्तारूपी दुर्ग अझ सुप्रबलीकृत हुनेथियो; र हामी जस्ता परजीवि पाठक-समालोचकहरू एउटा अर्को र अझ अर्को कलात्मक कृति-पठनवसरबाट लाभान्वित हुनपाउने थियौँ। बस्, यही एउटा अभिप्साले मात्र – बस्, यही एउटा शुभेच्छाले मात्र – त हो, यसो भन्ने दुःसाहस गर्नसकेको। अझ, कसैलाई लाग्ला – के, अथवा केही – लेख्नु-नलेख्नु – विशुद्घ एउटा लेखकीय ईप्सा हो – समालोचकीय प्रेप्सा नै होइन। तर, एउटा प्रखर समालोचकले एउटा साम्प्रतिक असल लेखकको लेखकीय शक्ति र सौन्दर्य रक्षार्थ यो कुरा भन्ने दुःसाहस गर्नैपर्दछ सायद, उही मनुस्मृतिकै प्रेरणाले। होइन भने, भन्नैपर्ने हुन्छ टुलीको बोलीमा, अर्को एउटा कुरा। तर, यहाँ, भनिहाल्ने अतिरिक्त दुःसाहस सम्प्रति गर्दिन। इतिभाव।।
इति सम्वत् २०८१ माघ ०४ गतदिवसे,
भृगुवासरे श्रीसूर्यउत्तरायणे मघानक्षत्रे बवकरणे सौभाग्ययोगे माघ कृष्ण चतुर्थी पुण्यतिथौ शुभम्।
तदनुसार, ई. सं. २०२५, जान्युरी १७
समालोचकको सङ्क्षिप्त परिचयः
वि.सं. २०२४ सालमा प्युठान जिल्लामा सञ्जात तथा विगत त्रिदशकस्तात् त्रिचन्द्र कलेज, त्रि. वि.सँग आबद्ध गिरि राज पोख्रेल मूलतः अङ्ग्रेजी भाषा र साहित्यमा सह प्राध्यापक हुन्। सत्यप्रकाश परिषद, काठमाडौँको प्रकाशन ‘परिमार्जन’मा ‘रोबट् फ्रस्ट र जीवनप्रति उनको दृष्टिकोण (ई. सं. १९९५)’ नामकृत समालोचकीय आलेख प्रकाशनसँगै उनको औपचारिक लेखकीय यात्रा प्रारम्भ भएको हो। उनका प्रकाशित पुस्तकाकार कृतिहरू ‘अ ब्रीफ् इण्ट्रडक्शन् टु इङ्लिश ल्याङ्ग्विज् एण्ड लिट्रेचर् (ई. सं. १९९९)’, ‘इत्यादि (ई. सं. २०१३)’ , तथा ‘अ रीडर्स कमन्टरी अन् रीडिङ् एण्ड राइटिङ् एक्रस् द डिसप्लिञ्ज (ई. सं. २०२४)’ हुन् भने विविध साहित्यिक-प्राज्ञिक प्रकाशनहरूमा उनका विविध रचनाहरू प्रकाशित छन्। प्रधानतः प्रतीच्य विशेशतः अङ्ग्रेजी, अमेरिकी तथा प्राच्य विशेषतः हिन्दु-संस्कृत साहित्यिक-दार्शनिक रचना-कृतिहरूको समालोचनात्मक अध्ययन अध्यापन अनुसन्धान गर्नु उनको विशिष्ट अभिरूचिको अध्याचार हो।
<giriraj24.pokhrel@gmail.com>
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।