(छन्द: मन्दाक्रान्ता)
काला सेता गडगड गरी कुद्दछन् कार राम्रा ।
आहा! कस्ता लयमय बडा देशका राेड हाम्रा ।।
ट्याँ ट्याँ ट्यीँ ट्यीँ गरिकन यहाँ बज्दछन् नित्य बाजा ।
हिंड्दा घुम्दा मन नभरिने राजधानी छ ताजा ।।१
गाडी गुड्दा पछि पछि धुलो घुम्दछन् फन्किएर ।
मान्छे खोक्दै मुखभर छिर्यो भन्दछन् झन्किएर ।।
हिंड्दा हिंड्दै टमटम भयो पेट याे आज हाम्रो ।
हिँड्दा घुम्दा मन नभरिने राजधानी छ राम्रो ।।२
घुम्दै जाँदा नदि बगरमा फैलिने त्यी सुगन्ध ।
यी थुप्राले झनझन थपे वासना मन्द मन्द ।।
आहा! यस्ता कुन शहरमा सिर्सिरे छन् सुवास ।
हिँड्दा घुम्दा मन नभरिने राजधानी छ खास ।।३
पर्देशीले परिसर भरी लाउँछन् माक्स जोडी ।
घुम्छ्न् फिर्छन् निति नियममा दायरा यो नतोडी ।।
यस्ता यस्ता कुन मुलुकमा बन्दछन् संविधान ।
हिँड्दा घुम्दा मन नभरिने राजधानी छ जान ।।४
यी आँखाले हरपल सधैं देख्दछन् तेर्सिएको ।
चाहे होस् त्यो गजुर मठमा त्यो पुरै बाङ्गिएकाे ।।
आँखै राम्रा यस मनुजका हुन् कि यो दृश्य राम्राे ।
हिँड्दा घुम्दा मन नभरिने राजधानी छ हाम्रो ।।५
❈❈❈


