के प्रेमको नाटक गरेर
प्रेमी, प्रेमिकाको
खोक्रो अभिनय गर्छौ
ए… यो समयका युगलहरू!
गुलाफको घाँटी निमोठेर
कसैको जीवनलाई
सर्वनाश गरेर
तिमीहरूको प्रेम के
दिगो हुन्छ भन्ने ठान्दछौ?
कसैको निर्मम हत्याले
तिमीहरूको प्रेमको अङ्कुर पलाउला?
भो नपाल मिथ्या भ्रम
क्षणिक गुलाफको रङले
तिमीहरूको प्रेम रङ्गिन्छ भनी।
सच्चा प्रेम त अजम्बरी फूल झैं हुनु पर्छ
जो पात, बोट सुकेर गएपनि
फूलले अजम्बरी जीवन बाँची रहेको हुन्छ
न, उस्ले प्रेमको बली चढ्नु पर्छ
न, त उस्को सौन्दर्य नै पसलमा बिक्छ
बस्, ऊ बाँची रहन्छ
आफ्नै अस्तित्वमा
हाँसी रहन्छ आफ्नै दीर्घ जीवनमा।
हो… गुलाफको उपहारले
प्रेम साट्नुको बदलामा
अजम्बरी फूलको जीवनको अनुसरण गर
जो अविरल माया बोकेर बाँची रहेको हुन्छ
जस्ले, मुना मदन, लैला मजनू, हीर रांझाको
प्रगाढ़ प्रेम जस्तै आफ्नो प्रेमलाई
सच्चा प्रेममा परिभाषित गरेको हुन्छ
ए… कलियुगका प्रेमीहरू
क्षणिक भावावेशको प्रेमलाई
शिलाजस्तो छातीमा कुंद
न’ कि कोमल गुलाफका पत्रहरूमा
सङ्कुचित गर।
✤✤✤


