निरुद्देश्य जन्मिरहेका छन् बिहान
मौनताको रागमा पिल्सिएर
चाउरिदै गएका छन् साँझहरू!
अकारण बूढो हुँदै गइरहेछ दिन
तुषारो र हिमपातको अथक प्रहारले
घाइते भएका छन् टुहुरा रातहरू
आकाशको छातीबाट खसेका
घाइते बादलहरू
विदीर्ण घामको प्रकाशमा
रोइरहेछन् छटपटीको उपचार नपाएर
समयको झोक्काहरूले हिर्काएर
खुइलिएझैं जतन गरेर राखेका तस्वीरहरू
फिक्का फिक्का हुँदै गइरहेका छन्
सम्झनाका सुगन्ध!
ओढेर उदासीको बर्को
बसिरहेका छन् प्रतीक्षामा निमग्न
एक जोडी आँखा!
हिउँदमा खोला किनारको पत्थरझैं
चिसो र कठोर भएका छन्
मनका स्वप्निल भावहरू
अन्धकारले जुनकिरीलाई निलेजस्तै
एक्लोपनको अजिङ्गरले निलिरहेछ
मिलनका आशाहरू!
के सुनाउँ र तिमीलाई अरु?
एक्लोपनले कोपरेर
सिकिस्तै भएको छु म अचेल।
०००


