निरुद्देश्य जन्मिरहेका छन् बिहान
मौनताको रागमा पिल्सिएर
चाउरिदै गएका छन् साँझहरू!
अकारण बूढो हुँदै गइरहेछ दिन
तुषारो र हिमपातको अथक प्रहारले
घाइते भएका छन् टुहुरा रातहरू
आकाशको छातीबाट खसेका
घाइते बादलहरू
विदीर्ण घामको प्रकाशमा
रोइरहेछन् छटपटीको उपचार नपाएर
समयको झोक्काहरूले हिर्काएर
खुइलिएझैं जतन गरेर राखेका तस्वीरहरू
फिक्का फिक्का हुँदै गइरहेका छन्
सम्झनाका सुगन्ध!
ओढेर उदासीको बर्को
बसिरहेका छन् प्रतीक्षामा निमग्न
एक जोडी आँखा!
हिउँदमा खोला किनारको पत्थरझैं
चिसो र कठोर भएका छन्
मनका स्वप्निल भावहरू
अन्धकारले जुनकिरीलाई निलेजस्तै
एक्लोपनको अजिङ्गरले निलिरहेछ
मिलनका आशाहरू!
के सुनाउँ र तिमीलाई अरु?
एक्लोपनले कोपरेर
सिकिस्तै भएको छु म अचेल।
०००
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।