जीवनाथ र उनकी पत्नी सीता बजार जाँदै थिए।
“ए! बूढा! हेर्नुहोस् त!” सीताले भर्खरै बन्दै गरेको घरतर्फ इसारा गरिन्।
सीताले इङ्गित गरेको दिशातर्फ दृष्टि फ्याँक्दै जीवनाथले भने, “यो जग्गा त हामी पहिले आउँदा खाली थियो। अहिले तीनतले बिल्डिङ तयार भइसकेछ।”
“त्यही त भनेको नि! तपाईं भने अधिकृत भन्छन्! एउटा टुक्रा जग्गा किन्न सकेको हैन। घर त कहिले हो, कहिले! अर्काको घरमा भाडामा बसेरै जिन्दगी बित्ने भयो,” सीताले कटाक्ष गरिन्।
“किनुँला नि जग्गा, पर्ख न। भर्खरै त अधिकृत भइयो” जीवनाथले पत्नीलाई सान्त्वना दिए।
तीनतले भव्य महललाई तलदेखि माथिसम्म हेरर घुटुक्क थुक निल्दै सीताले गुनासो गरिन्, “घरबेटी त झन् कस्तो कचकचे परेछन्! हजुरलाई के थाहा! बत्ती एकछिन बढी बाल्यो भने कचकच, पानी अलिकति बढी चलायो भने झर्को र फर्को! म त आजित भइसकें।”
त्यही बेला एक जना भलाद्मी आइपुगे।
“ओहो! जीवनाथ सर, नमस्ते!”
“ओहो! दीपकजी, नमस्ते नमस्ते!” जीवनाथले औपचारिकता निभाए। सीतालाई पनि दीपकसँग परिचय गराउँदै भने, “वहाँ र म पहिले हुलाकमा नायब सुब्बामा सँगै नियुक्ति भएको।”
दीपकले दुई हात जोड्दै भने, “बधाई छ है सर! अधिकृत हुनुभएछ।”
“धन्यवाद! अनि तपाईं अधिकृत हुनुभो कि भएन नि?”
“कहाँ हुनु नि, सर! …तर नभएकै ठीक भएछ। त्यसपछि म भन्सारमा सरुवा भएँ नि।”
“ए! हो र?”
“हो त सर! अहिले हजुरकै टोलमा घर बनाउन लागेको छु। यो घर मैले नै बनाउन लागेको हो,” दीपकले त्यो बन्दै गरेको तीनतले भव्य घरतर्फ इशारा गर्दै भने।
जीवनाथ र सीताले फेरि एक पटक त्यो भव्य घरलाई तलदेखि माथिसम्म हेरे।
“सरले कहाँ बनाउनुभयो त घर?” दीपकले सोधे।
“कहाँ घर बनाउनु नि, बाबू! अहिलेसम्म एक टुक्रा जग्गा पनि जोड्न सकिएको छैन,” दीपकले मुख खोल्नुअगावै सीताले जवाफ दिइन् अनि पतिलाई खाउँलाझैँ गरी हेरिन्।
“घर तयार भएपछि मेरो घरमै सर्नुहोला है, सर! बरु म भाडाको विचार गरुँला नि,” दीपकका ओठमा व्यङ्ग्य मिश्रित मुस्कान देखियो।
जीवनाथ र सीता भने दीपकको भनाइले लज्जावती झारझैँ ओइलाए।
“ए! भइहाल्छ नि! …हस् त, दीपकजी! अब एउटै टोलमा हुने भइएछ, भेटघाट त भइ नै रहन्छ। अहिले लागौँ है त!” मुख अमिलो पार्दै जीवनाथ र सीता अघि बढे।
धेरैबेरदेखि उनीहरूको कुराकानी सुन्दै गरेको छेवैको दोकानदारले भर्खरै आएको ग्राहकसँग भन्यो, “बुझ्नुभो माइला दाइ! हुलाकको अधिकृतभन्दा त भन्सारका सुब्बा पो पुरुषार्थी हुँदारहेछन्।”
दीपकले दोकानदारतर्फ हेरेर विजयी मुस्कान फ्याँक्यो भने जीवनाथ र सीताले अमिलो मुख लगाएर सुनेको नसुनेझैँ गरी हिँडे।
०००
सूर्यविनायक नगरपालिका-१, विरुवा, भक्तपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।