“किन यस्तो दुस्साहस गरेकी माया?”
“मलाई औंसीका रातहरूले चिथोरे, प्रिय!”
“औंसीका रातहरूभित्र पसेर चारैतिर हेर्दा अन्धकारै अन्धकार देखिन्छ त, माया!”
“हो, म तिनै अन्धकारको लपेटामा परेँ। मेरो अस्मिता मात्र लुटिएन, भौतिक शरीर पनि थिलथिलो भयो, प्रिय!”
“तिमीमाथि भएको यत्रो अन्यायविरुद्ध आवाज उठाइनौ, माया?”
“मैले भरिएका गह र पिल्सिएको मन लिएर कहाँ-कहाँ गइनँ र, प्यारा!”
“कहाँ-कहाँ पुग्यौ, माया?”
“प्रहरी प्रशासन, अदालत, नेताहरू—सबैको ढोका ढकढकाएँ, प्रिय! तर….”
“तर के, माया?”
“मैले कतै जुन भेटिनँ, भेटेँ त केवल औंसीकै अन्धकार मात्र, प्रिय!”
“यसरी हरेस खाएर अलप हुने विचार कसरी आयो, प्यारी?”
“म के गरूँ त, प्यारा? मेरो ठाउँमा तिमी भए के गर्थ्यौ?”
“चहकिलो जुन भेट्न त पूर्णिमासम्म पर्खनै पर्छ, माया!”
“कसरी सम्भव छ म जस्ती अभागिनीका निम्ति, प्यारा?”
त्यसपछि उसका गह छल्किन थाले, उसका पीडाले उसलाई पिल्स्याउन थाले।
“यो गहमा छल्किएको आँसु र भित्रभित्रै पिल्सिएको मासुले पीडाको सार्थक उजागर गर्न सक्दैन, माया!”
“म के गरूँ त! के गरूँ?” भन्दै ऊ पुन: भीरतर्फ लम्किन्छे।
जीवनले उसलाई पाखुरामा समातेर तान्छ। अब जीवन पनि हतोत्साहित भई रुन थाल्छ।
यो रुवाबासी सुनिरहेको समय टक्क अडिएर भन्छ,
“पीडाको सार्थक उजागर त जिउने कलाले गर्छ, नानी हो!”
दुवै समय तर्फ मुखारित हुँदै एउटै प्रश्न गर्छन्,
“कसरी?”
समयले दुवैलाई हौसला दिँदै भन्यो,
“गहमा छल्किएको आँशुलाई सागरको ज्वारभाटा बनाउन सक्नुपर्छ, आफैँभित्र मात्र पिल्सिएको घाउलाई समाजलाई नै पिल्स्याएर पोल्ने ज्वालामुखी बनाउन सक्नुपर्छ। म तिमीहरूको साथमा छु।”
०००
विराटनगर, मोरङ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।