अचानक महिला चिच्याएको आवाजले घरभरि गुन्जायमान हुन्छ। घरका सबै चिच्याइरहेकी महिला भएतिर दौडन्छन्। बजेका बाजाहरू र हो-हल्ला एकटकसँग रोकिन थाल्छन्। केही क्षण घर शान्त हुन्छ। अब केवल सुनिन्छ त महिलाको चित्कार र त्यहाँ उपस्थित सबै कराएको, चिच्याएको आवाज मात्र।
अघि भर्खरसम्म जमेको खुसीको माहोल पलभरमै दुःखमा परिणत हुन्छ। “बस्! यो के गरी? र किन यस्तो गरी?” जस्ता शब्दहरू मात्र गुन्जिन थाल्छन्।
त्यो घरमा सबै इष्टमित्र, आफन्तहरू भेला भएर रमाइलो गरिरहेका थिए, एक्कासि शोकमा परिणत हुन्छ। त्यो अचानक देखिएको एक दृश्यले सबैलाई भावविह्वल बनाउँछ।
यो घटना हो दानाबारी, इलामको। यो घटना हो एउटी २२ वर्षकी युवती ऋतु रिमालको। जसको घरमा भोलि जन्ती आउने वाला थिए उनलाई लिन। तर आज अचानक उनी घरको कोठाभित्र झुन्डिएको अवस्थामा देखिन्छिन्।
उक्त घटनाको खबर दानाबारी प्रहरी चौकी हुँदै जिल्ला प्रहरी चौकीसम्म पुग्छ। चौकीबाट तत्काल प्र. ना. नि. (प्रहरी नायब निरीक्षक) सूर्यकुमार ढकालको नेतृत्वमा प्रहरी टोली आइपुग्छ र घटनास्थल सुरक्षित राख्ने काममा खटिन्छ। केही समय पश्चात् इलाम जिल्लाबाट प्रहरी निरीक्षक रमेश हमालको कमान्डमा SOCO (सिन अफ क्राइम अफिसर) टोली समेत आइपुग्छ।
इन्स्पेक्टर रमेश घरका सदस्यसँग केही सोधपुछ गर्न थाल्छन्। घरकाले “सबै ठिकै भएको तर अचानक यो सब भयो” भन्दै रुन थाल्छन्। इन्स्पेक्टर रमेश “सुरुमा कसले देखेको?” भनेर सोध्छन्। सुरुमा देख्ने मृतककी आमा भएको खुलासा हुन्छ। आमा बेहोस भएकाले सोधपुछ गर्न सम्भव हुँदैन।
कानुनी प्रक्रिया सुरु हुन्छ। सबूत प्रमाण नष्ट नहुने गरी लासलाई तल झारिन्छ। हेर्दा स्पष्ट झुन्डिएको भए पनि प्रहरीले आफ्नो काम निरन्तरता दिन्छ। महिला प्रहरीको सहयोगमा लासका सबै अंगहरूको पनि परीक्षण गरिन्छ।
हेर्दै जाँदा मृतकको बायाँ हातको मुठ्ठी कसिएको हुन्छ, जहाँ एउटा सानो कागजको टुक्रा देखिन्छ। परीक्षण गरिरहेकी महिला प्रहरीले त्यो कागज मुठ्ठीबाट निकाल्छिन्, र इन्स्पेक्टर रमेश त्यो कागज खोलेर हेर्छन्, जहाँ यस्तो लेखिएको हुन्छ—
—
आदरणीय बुबा आमा
म पापी हुँ, म दोषी हुँ, मैले हजुरहरूको इच्छा पूरा गर्न सकिनँ। यो मनलाई दह्रो बनाउन धेरै कोसिस गरेँ तर सकिनँ। एकातिर तपाईहरूको माया, अर्कोतिर बसन्तको माया— मैले कुन रोज्ने निर्णय नै गर्न सकिनँ। न त हजुरहरूको मायालाई लत्याउन सक्थेँ, न त बसन्तलाई धोका दिन नै। न त म तपाईहरूले रोजेको व्यक्तिसँग खुसी हुन नै सक्थेँ। मन एकातिर र शरीर अर्कातिर कसरी हुन सक्छ? तपाईहरू आफैं भन्नु त!
मलाई पनि बाँच्न मन थियो, आमा! तर बसन्त र तपाईहरू सँगै रहेर। तपाईहरू पछिको त्यो माया, स्नेह र अपनत्व मैले अरू कसैमा देखे भने त्यो केवल बसन्त मात्र थियो। म कायर होइन, बाबा! मैले धेरै हिम्मत गरेर यो निर्णय लिएकी हुँ।
यो जुनीमा मात्र नभएर हरेक जुनीमा हजुरकै छोरी भएर जन्मिन पाऊँ। यो चिठी तपाईहरूको हातमा पर्दा सायद मैले यो संसार छाडिसकेकी हुनेछु। आफ्नो ख्याल राख्नु होला। मलाई माफ गर्नुस्। म तपाईहरूले सोचे जस्तो छोरी हुन सकिनँ।
तपाईहरूकै अभागी छोरी
ऋतु
—
इन्स्पेक्टर रमेश पनि चिठी पढेर केही भावुक हुन्छन्। चिठीले मृत्युको कारण स्पष्ट गरिदिएको थियो। लास जाँच मुचुल्काको काम सम्पन्न गरेर लास पोस्टमार्टमका लागि एक प्रहरी कर्मचारी साथमा लगाई मेची अञ्चल अस्पताल, भद्रपुर पठाइन्छ।
इन्स्पेक्टर रमेशले बसन्तको बारेमा केही सोधपुछ गर्छन् तर त्यहाँ कोही पनि उसको बारेमा खुलेर बोल्न चाहँदैनन्। त्यत्तिकैमा त्यही भिडबाट एउटी युवती (जो ऋतुकी साथी हुन्छिन्) “बसन्तलाई चिन्छु” भन्दै अगाडि आउँछिन्, र बसन्त र ऋतुको विगत २ वर्षदेखि प्रेम सम्बन्ध रहेको कुरा खुल्न आउँछ।
इन्स्पेक्टर रमेश “के कारणले यो सब भयो?” भनेर सोध्छन् ती युवतीलाई।
“बुबा आमालाई बसन्त र ऋतुको सम्बन्ध स्वीकृत नभएको कारण यो सब भएको हो” भन्दै रुन थाल्छिन् ती युवती।
इन्स्पेक्टर रमेश अझै थप कुरा बुझ्न चाहन्छन् र फेरि सोध्छन्—
“आखिर किन नमानेका त उनीहरूको सम्बन्धलाई स्वीकार्न उनका बुबा आमाले…?”
युवती हिक्क-हिक्क गर्दै भन्छिन्—
“बसन्त दलित हो सर, त्यही भएर।”
यो जवाफले रमेश केही रिसाउँछन्, तर यस्तो बेला कसलाई रिस पोख्ने? रमेश भित्रभित्रै घुट्छन्। “जातीयताको कारण अझैँ कति यस्ता प्रेमीहरूले ज्यान गुमाउन पर्ने हो?” भन्ने विषयमा रमेश केही चिन्तित हुन्छन्।
पुनः बसन्तको बारेमा अरू सोध्न थाल्छन्। बसन्तको घर बिर्तामोड भएको र एकदम मेहनती र इमानदार भएको ऋतुकी साथी बताउँछिन्।
“के बसन्तलाई यो सब थाहा छ त? कि ऋतुको भोलि बिहे हुँदै छ भन्ने कुरा?”
“थाहा छ।”
यो जवाफले रमेश केही गम्भीर हुन्छन्। कतै बसन्तले पनि यस्तो नगरोस् भन्ने डरले, ऋतुकी साथीलाई बसन्तको घर देखाइदिन अनुरोध गर्छन्। घटनास्थलबाट ऋतुको मोबाइल अनुसन्धानका लागि आफूसँगै राख्छन्।
दाहसंस्कार पश्चात् एक पटक जिल्लासँग समन्वय गरी, ऋतुकी साथीलाई पनि सँगै लिएर बिर्तामोडतर्फ हतारिन्छन्।
बसन्तको घरमा पुग्दा, त्यहाँ पनि स्थानीय र प्रहरीको बाक्लो उपस्थिति देखिन्छ। बसन्त पनि उही समयमा घरमा झुन्डिएको अवस्थामा फेला पर्छ।
उनीहरूको मोबाइल खोलेर हेर्दा, उनीहरूले गरेको च्याट संवादले एकसाथ झुन्डिएको पुष्टि हुन्छ।
बसन्त र ऋतुको मृत्युको खबर नेपालभरि गुन्जिन्छ। देशमा फेरि एकपल्ट जातीय नाराबाजी हुन्छ। ठूलै जमघट हुन्छ। फेसबुक, इन्स्टाग्राम र यूट्युबजस्ता सामाजिक सञ्जालले नयाँ काम पाउँछन्। कोहीले पैसा कमाउँछन्, त कोहीले यो विषयलाई उत्थान गरेकोमा तारिफ कमाउँछन्। उनीहरूको आत्माको चिरशान्तिका लागि दीप प्रज्वलन गरिन्छ। संसदमा यो कुराको उठान हुन्छ। केही समयका लागि उनीहरूको प्रेमले न्याय पाउँछ।
फेरि बिस्तारै समय फेरिन्छ। बसन्त-ऋतुलाई कसैले चिन्दैनन्। दुःख र शोकमा केवल उनीहरूका घरपरिवार मात्र हुन्छन्।
मर्ने त मरेर जान्छन्, तर बाँच्नेलाई कत्ति गाह्रो हुन्छ। छोराछोरीको उज्ज्वल भविष्यको चिन्ता गर्नु त्यो अभिभावकको उत्तरदायित्व हो। तर उनीहरू नै नरहे त्यसको के अर्थ?
अझै कति यस्ता बसन्त-ऋतुजस्ता प्रेमी-प्रेमिकाहरू जात, समाज र गरिबीको कारण मर्नु पर्ने हो?
एक पटक सोच्ने पो हो कि?
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।