हरि र प्रिया वैवाहिक जीवनको तेस्रो वर्षमा थिए।
दुवै स्नातकोत्तर गरेका पढेलेखेका जोडी थिए। उनीहरू बाबु-आमाले गरिदिने परम्परागत मागी विवाहका घोर विरोधी थिए।
प्रियाले भन्थिन्, “अहिलेको जमानामा पनि कसैले बाबु-आमाले खोजिदिएको केटासँग विवाह गर्छ? होइन त, कालु?”
पत्नीबाट ‘कालु’ उपनाम पाएका हरिले श्रीमतीको भनाइमा सही थपे, “हो त, डियर! आफ्नो जीवनसाथी आफैं खोज्ने हो, हामीले जस्तै!”
उनीहरू परस्पर मन पराएर विवाह बन्धनमा बाँधिएका थिए। उनीहरूको प्रेमको प्रतीक टुकुटुकु हिँड्ने एउटी छोरी थिई।
तर ‘पहिलो गाँसमा ढुङ्गा’ भनेझैँ छोरी प्रायः बिरामी पर्थी। त्यसैले उनीहरूको अस्पताल-आवास दौड चलिरहन्थ्यो— कहिले कुन रोग, कहिले कुन!
निकै दिनपछि सकुशल रहेकी छोरी फेरि बिरामी परिन्। अस्पताल लैजान तयारी गरिरहेको पतिलाई कोट्याउँदै प्रियाले भनिन्, “कालु! पल्लो टोलमा एकजना धामी बा बस्छन् रे! त्यहाँ फुक्न लैजाउँ न छोरीलाई!”
हरि सोचमग्न भयो।
झटपट बोल्यो, “हुन्छ! गइहालौँ!”
उनीहरूले चेतना र भौतिक ज्ञान बिर्सिए।
अनि अन्धविश्वासको चश्मा लगाएर छिटोछिटो धामी बस्ने गल्लीतिर लम्किए…
०००
वागमती-११, कर्मैया, सर्लाही


