आस्था आज सबैबाट टाढिएकी छिन्। भनौँ तिनको मोहभङ्ग भएको छ। सबैबाट एक्ली नितान्त एक्ली भएकी छिन्।
पाईलाहरू अघि बढ्दैछन् तर स्वयं तिनलाई थाहा छैन तिनको गन्तव्य कहाँ हो? लक्ष्यहिन यात्री झैँ निरन्तर अगाडि बढ्दैछिन्।
-“एऽऽऽ ! मर्न मन लाग्यो कि क्या हो? आँखा छैन यसरी बीच बाटोबाट हिड्ने हो?” गालीको एक झट्का लाग्छ। ट्याक्सी ड्राईभर घ्याच्च ब्रेक लगाई क्रोधित अनुहार लगाउँदै तिनी तर्फ हेर्छ।
तिनी चुपचाप सडकको छेउ लाग्छिन्। मनमनै भन्छिन् ‘हो मर्न मन लाग्यो, यो स्वार्थै स्वार्थले भरिएको संसारमा म अब बाँच्न चाहन्न।’
तिनी घण्टाघरहुँदै रानीपोखरी आई पुग्छिन्। रानीपोखरीको फलामेबार हातले समाती पोखरीमा एकतमासले टोल्हाउन पुग्छिन्। तिनका अगाडि अतितका क्षणहरू पानीका छाल झै एकपछि अर्को गर्दै आँखा अगाडि छचल्किन्छन्।
❊❊❊
-“हैन तैंले पचास हजार पनि तेरो माइतबाट ल्याउन सक्दिनस्? वहाँ भने जमिन्दारकी छोरी रे। यसो लोग्नेको साह्रो-गाह्रो परेको बेलामा स्वास्नी भएर सहयोग पो गर्नुपर्छ। यो त त्यसै च्यॉठिन्छे वा! लोग्नेको व्यंग्यपूर्ण आग्रहमा असहमति जनाउँदै तिनले भनिन् “मेरो बाबुसँग त्यत्रो पैसा कहाँ हुनु र मैले ल्याउनु। उसै त ऋणमा डुबेको बाबुलाई कसरी पैसाको कुरो गर्नु। तपाईं यत्ति पनि बुझनुहुन्न?” लोग्नेको अगाडि गुनासो पोखिन्।
बिहे भएको २ वर्षमात्र भयो। राम्रो खानदानी, पढे-लेखेको भनेर तिनको बाबुले राम्रैसँग बिहे गरिदिएका थिए। दाइजो पनि राम्रै दिएका थिए। छोरी राम्रो घरमा दिन पाएकोमा बाबु आमा निकै नै खुसी थिए।
तर…. लोग्नेको परिवार साथै लोग्ने पनि “द्रव्यपिशाच” होला भन्ने कुरा सोचिएको पनि थिएन।
सुरु-सुरुमा त सबैले माया गरि टोपलेका थिए। सासू-ससुरा, नन्द, देवर सबै तिनीदेखि प्रशन्न नै देखिन्थे। हुन सक्छ, तिनको दाइजोको भारीले उनीहरू सबैको अस्तित्वलाई थिचिराखेको थियो।
लोग्नेले त तिनलाई यत्ति माया गर्थे कि हर बखत तिनको नामको माला जपिरहन्थे। आस्था! आस्था!! आस्था!!
तिनी अति नै हर्षित थिइन्। बाबु-आमाले खोजी दिएको भए पनि भनेजस्तो लोग्ने पाएकोमा आफूलाई अति नै भाग्यमानी सम्झन्थिन्। फेरि काठमाण्डौ जस्तो ठाउँमा बिहे गरेर आउन पाउनुमा तिनी आफै पनि गौरवान्वित थिइन्। तिनका आमाबाबु जनकपुरमा बस्थे, भनौं जमिन्दार नै थिए जनकपुरको एउटा गाउँको।
बिहेको कुरा तिनकै काकाले चलाएका थिए। जब तिनले काठमाण्डौको केटासँग विहेको कुरा चलेको छ भन्ने कुराको सुइँको पाइन्, तब तिनको खुट्टा भुईमा थिएन। जब तिनको फोटोलाई केटापट्टिबाट मनपराएको छ भन्ने खबर पाइन्, तब तिनी आकाशमा उड्न थालिन्। भावी लोग्नेको प्रतिबिम्ब तिनको दिमागमा प्रतिविम्बित हुन थाल्यो। भर्खरै मात्र आई. ए. पास भएकी थिइन्। पढ्न त तिनलाई मन नलागेको होइन तर पनि बिहेको कुराले तिनको पढाईलाई एकातिर किनारा लगाइदियो। हुन पनि तिनका संगैका सबै साथी-संगीको नौ-दश कक्षा पढ्दा पढ्दै नै बिहे भएको थियो। त्यस कारणले पनि तिनमा विवाहप्रति उत्सुकता पैदा भएको थियो। त्यसमाथि काठमाण्डौको पढे-लेखेको केटा भनेपछि त्यसको विरोध गर्नु पर्ने कुरै थिएन। तर पनि पढाईप्रति तिनी साह्रै उत्स्क थिइन्। पढाईलाई निरन्तरता दिन चाहन्थिन्। तर…..
एकदिन आमाले भन्नु भएको थियो “आस्था तँलाई आज केटा हेर्न आउँछ ।” आमाको यो वाक्यले तिनको दिलोदिमागमा निकै हलचल ल्यायो। के गरुँ के नगरूँ होसै भएन। हत्तपत्त मिल्ने साथीलाई फोन गरिन्। अनि साबुन लगाई-लगाई दश चोटी मुख धोइन् । त्यो दिन तिनलाई साह्रै हतार भएको थियो। के गर्दा आफू राम्री देखिन्छु भनेर निकै विचार गरेकी थिइन्। ऐना अगाडि घण्टौं आफ्नो अनुहार निहालेकी थिइन्।
ठूल्ठूला, मृगका झैँ चंचल आँखा, सुलुत्त परेको नाक, सानो पातलो सुकुमार ओठ, टम्म मिलेको अनारदान झैँ दाँत, लाम्चो अनुहार साँच्चै आफ्नो रूप देखी आफै आश्चर्यचकित भएकी थिइन्। तिनलाई आफू यति गम्री रहेछु भन्ने आभाशसम्म थिएन। त्यो दिन शायद जिन्दगीको पहिलोपल्ट त्यति लामो समयसम्म तिनले आफ्नो अनुहार ऐनामा हेरेकी थिइन्। अनि आफ्नो सौन्दर्यरूपी तलाउमा आफै डुबुल्कि लगाई रहिन्। “साँच्चै म त राम्री पो रहेछु।” मनमनै गमक्क गम्किन्।
अनि छिटो-छिटो अनुहारको सुन्दरतामा अझ रङ्ग भर्न थालिन्। ओठमा लाली, आँखामा गाजल, गालामा क्रिम पाउडर भर्दै गइन्, भर्दै गइन्।
“ओहोऽऽऽ! आस्था! तँ कति राम्री देखिएकी। होश गर है। कहिँ आज नै उडाएर लैजाला काठमाण्डौ। ढोकैबाट चिच्याउँदै जानकीले छक्क पर्दै भनेकी थिइन्। तिनी गर्वले मदमस्त भइन्।
तोकिएको समयमा केटाको आगमन भयो। दुवै पक्षमा कुरा भयो केटी हेर्ने निहुँमा तिनलाई बैठकमा बोलाइयो। तिनले एकचोटी ऐनामा आफ्नो सर्वाङ्ग निरीक्षण गरिन्। कुनै कोणबाट आफूलाई कमी नदेखिएपछि भान्सातिर गइन्। त्यहाँ भाउजुले पहिले नै चिया ट्रेमा सजाएर राखिदिएकी थिइन्। नन्दलाई आँखा सन्काउदै जिस्क्याइन्। तिनी पनि लाजले निहुरिदै ट्रे उठाएर बैठकतिर लागिन्।
बैठकमा सबैजना तिनकै प्रतिक्षामा बसिरहेका थिए। जब तिनी बैठकमा पुगिन्। काकाले हत्तपत्त उठेर परिचय गराई दिए “यिनी मेरी भतिजी “आस्था” अनि यहाँ हुनुहुन्छ “अनिशबाबु”। उहाँ अनिशबाबुको “बुबाज्यू”। तिनले दुवैजनालाई टाउको निहुराई नमस्कार गरिन्। हातमा ट्रे भएकोले हात जोडेर अभिवादन गर्न सकिनन्।
वाऽऽऽ। नाम पनि कति राम्रो “अनिश” तिनी मनमनै गुन्न थालिन्। एक नजर भावी लोग्नेतर्फ फ्याकिन्। ऊ पनि तिनलाई नै हेरिरहेको रहेछ। दुवैको नजर जुध्यो।
तिनी लाजले भुतुक्क भइन्। शिर निहुराई उभिरहिन्। चियाको ट्रे टेबुलमा राखुँ कि नराखखुँ अलमल्ल परिन्।
-“ट्रे टेबुलमा राख छोरी।” बाबुले समस्याको हल गरिदिनु भयो।
-“एकै छिन हामी बाहिर बसौं।” काकाको आग्रहलाई सबैले स्वीकार्दै बाहिर तिर लागे। एकाएक कोठामा निस्तब्धता छायो। तिनी लाजले केही बोल्न नसकी टेबलमा राखेको ट्रेतिर हेरिरहिन् “बस्नुस् न। उसले अगाडिको सोफा देखाउदै भन्यो।
तिनी सङ्कुचित हुँदै छेउमा गएर बसिन्। एकाएक केहि सम्झे झै गरी ट्रेबाट एक प्याला चिया उठाउँदै ऊ तिर बढाइन्।
– “धन्यवाद !” भन्दै तिनको हातबाट चियाको प्याला लिई ऊ पिउन थाल्यो।
-“तपाईको नाम?” चियाको सुर्को तान्दै उसले सोध्यो।
तिनी अचम्म परिन्। एक छिन अगाडि नै काकाले परिचय गराईदिएको कुरा सम्झिन्। एक छिन चुप लागिन्। अनि बिस्तारै मसिनो स्वरमा जवाफ दिईन्-” आस्था शर्मा।”
-“के विषय लिएर पढ्नुभएको?” पुनः एक पटक प्रश्न गर्यो।
– “होम साइन्स।” एकै झट्कामा उत्तर दिइन्।
त्यसपछि एक छिनसम्म कोठामा मौनता छायो। भावी लोग्नेद्वारा तिनको अङ्ग-प्रत्यङ्गको निरीक्षण भईरहेको तिनलाई आभास भयो। कता-कता असजिलो महसुस भयो र विस्तारै मसिनो स्वरमा भनिन् “म जाउँ ?” उसले स्विकृतिवस् टाउको हल्लायो।
तिनी आफ्नो कोठामा हुरिदै आइन्। मुटुको धड्कन तेज भएको थियो। एकछिन अडिइन्। दुवै हात छातीमा राखी आँखा चिम्लिन्। कति राम्रो आहाऽऽऽ। साँच्चै हेरिरहुँ जस्तो हँसिलो अनुहार। मनमनै प्रफुल्ल भईन्।
-“ए कहाँ हराइस् तं?” जानकीको आवाजले तिनी झस्किइन्। लजाउँदै जानकीलाई अङ्गाल्दै केटाको प्रशंसाको पुल बाँध्न थालिन्।
बिहे पनि राम्रैसँग भयो। एउटै छोरी हुनाले प्रशस्त दाइजो पनि दिएका थिए। दाइजो कै कारणले घरमा सबैले तिनलाई माया गरेकै थिए। एक वर्ष त थाहै नपाइकन बित्यो। छोरीको जन्मले तिनले आमा बन्ने सौभाग्य पनि प्राप्त गरिन्। त्यसपछि घरमा बिस्तारै माइतबाट केहि ल्याउन अनुरोध आउन थाल्यो। जब तिनले घर परिवारको अनुरोध पुरा गर्न सकिनन्, तब बिस्तारै बिस्तारै तिनीप्रतिको परिवारको स्नेहमा कमी भाउन थालेको महसुस गरिन्।
एकदिन लोग्नेले ठाडै माइतबाट रकम ल्याउन आग्रह गरे। तिनी बिचलित भइन्। बाबुको विवशता लोग्ने सामु तेर्स्याइन्। त्यहाँदेखि तिनीप्रति परिवारको स्नेहमा तुषारापात भयो। अब बिस्तारै तिनी परिवारमा बोझ बन्दै गइन्। आफ्नो दायित्व निर्वाह गर्दा गर्दै पनि लान्छना लाग्न थाल्यो। स-साना कुरामा पनि दुत्कार्न थाले। सबैबाट तिनी नितान्त एक्लिन पुगिन्।
❊❊❊
-“छोरीले पनि अंश पाउनै पर्छ। छोरी पनि छोरा समान हुन्। छोरासरह छोरीले पनि अंश पाउनै पर्छ, पाउनै पर्छ।”
यो आवाजले तिनको अतितमा भूकम्प जान्छ। तिनी वर्तमानमा आउँछिन्। फर्केर आवाज आएतर्फ हेर्छिन्। एक डफ्फा महिलाको जुलुस हातमा प्ले-कार्ड ओठमा नारा, ठूल्ठूलो स्वरमा नारा घन्कन्छ – “छोरीले पनि अंश पाउनै पर्छ, पाउनै पर्छ।
तिनी फिस्स हाँसो हॉस्छिन् “छोरीलाई अंशऽऽऽ!” एकाएक तिनको मुखबाट दुई शब्द फुत्त निस्कन्छ। यदि मैले पनि अंश पाएको भए त मेरो अंशको लोभले भा पनि त माया गर्थे होला। यसरी त दुत्कार्दैनथे होला मनमनै सोच्छिन्। तर भएको सम्पत्ति त सबै दाजुहरूले रवाफ देखाउँदैमा सिध्याइहाले नी। जमिन्दार रे। भएको जग्गा जमीन सबै बिक्रि गरी रवाफ गरे, अब के को जमिन्दार? दाजुहरूप्रति रोष व्यक्त गरिन्।
त्यही एउटा जीर्ण घर त हो नी। त्यसमा पनि दुई जना दाजुभाइको लुछाचुँडी छ। बाबु बिचरा वृद्धावस्थामा छोराहरूको झगडामा यता न उता हुनुपरेको छ। न छोराहरूमा विवेक छ, न बुहारीहरूमा नै दया। बगरमा फालिएको ढुङ्गा झैँ सबैबाट तिरस्कृत भएका छन्। आमाको मृत्युको कारण पनि यिनीहरू नै हुन्। आमा पनि पीरै-पीरमा डुबेर जानुभयो। रातोदिन अंशबण्डाको लागि झगडा, खैऽऽऽ! छोराले पाल्छ भन्ने कुरा पनि बेकारै रहेछ। दुई छोरा मेरा दुई आँखा भन्ने बाबुको अहिले दुवै आँखामा फुलो परेको छ। यो अंश पाउने कानुन पनि किन बनाएको होला?”
तिनी मनमनै आक्रोशित हुन्छिन्। बाबुको अनुहार झल्झली सम्झिन्छिन्। बाबुले कति दुःख गरेर हुर्काउनु भयो। कति आशा तथा विश्वास थियो, छोराछोरीप्रति। तर खैऽऽऽ के गर्नु? आमाको मृत्युपछि साह्रै नै एक्लिनुभयो। बाबुको अवस्थाप्रति तिनको मनमा करुणा जाग्छ।
आफू पनि त यस्तो घरमा परियो “छोरीको जन्म हारेको कर्म” भनेको साँच्चै रहेछ। तिनी मनमनै कल्पिन थाल्छिन्।
नारा लगाउँदै हिडेको जुलुस बिस्तारै तिनको आँखाबाट ओझेल हुन्छ।
साँच्चै मैले पनि अंश पाएको भए कति माया गर्थे होला परिवारका सबैले। तर फेरि त्यही जीर्ण घरमा दाबी गर्नुपर्थ्यो। दाजुहरूको लागि म त विषै हुन्थे होला। अनि लोग्नेको लालच अझै बढ्दध्यो होला। बाबुको विवशतामा अझ भार थपिन्थ्यो होला।
बाबुले ऋण गरेर भए पनि छोरीको सुख हुन्छ भनेर दिएकै त हो नी। अहिले त्यही ऋणको विषयलाई लिएर दाजु-भाउजू बेला-बेलामा टोकेसो गरिरहनु हुन्छ, बूढोबाबुलाई। त्यही ऋणको कारणले गर्दा पनि माईत जानै मनलाग्दैन। बाबुको त्यो लाचार अनुहार कसरी हेर्नु? वास्तवमा यो अंश भन्ने कानून नै नभई दिएको भए हुन्थ्यो। न छोरालाई न छोरीलाई। राम्रो शिक्षा दिनु आफ्नो खुट्टामा उभिन सक्ने बनाई दिनु भई हाल्यो नि। के को अंश? वृद्ध बाबु-आमाको सेवा शुश्रूषा गर्नु छैन खाली अंश भन्यो, आफू-आफूमा मारकाट गर्यो। साँच्चै मान्छे कस्तो विवेकहीन भएको, मेशिन जस्तो भावनाशुन्य, सिर्फ पैसाको लालचमा चुर्लुम्म डुबेको, नैतिकता भनेको त लेशसम्म बाँकी नभएको।
– “एSSS! जाने हो?”
यो आवाजले तिनको तन्द्रा भङ्ग हुन्छ। एक जना हेर्दै लोफरजस्तो देखिने केटो अगाडि आउँछ। तिनी आश्चर्यचकित हुँदै सोध्छिन्।
– “कहाँ?”
– “जहाँ भन्यो त्यहीं।” व्यंग्यात्मक शैलीमा आँखाले इशारा गर्दै भन्छ। तिनी झसङ्ग झस्किन्छिन्। बल्ल त्यस केटाको अभिप्राय बुझ्छिन्। रीसले थरथर काँप्छिन्। अनुहार रनक्क रन्किन्छ।
-“गधा, लोफर, तैले मलाई के भन्ठान्याछस्?”
-“नजाने भए जान्न भन्न त, के को कर?” बेफिक्रिसँग काँध उचाल्दै त्यो एकातिर लुसुक्क लाग्छ।
तिनको आवाज सुनेर एकैछिन हिँडिरहेका मानिसहरू टक्क अडिई तिनीतर्फ नजर सरसर्ती दौडाउँछन्।
तिनलाई भित्रैदेखि ग्लानी भएर आउँछ। अनि केही सोचे झैँ गर्छिन्। मनमनै अठोट गर्छिन् सरासर पाइला अगाडि बढाउँछिन्।
तिनी रानीपोखरी हुँदै रत्नपार्क आउँछिन्। नाडीमा बाँधेको घडी हेर्छिन्। पाँच बजिसकेछ। हिउँदको महीना भएकोले अलि-अलि अध्याँरो हुन लागिसकेको हुन्छ। रत्नपार्कहुँदै सरासर गुरानो बसपार्क तिर लाग्छिन्।
बसपार्क पुगेपछि गौशाला जाने बसमा चढ्छिन्। बसभित्र त्यति धेरै मानिस बसिसकेका हुँदैनन्। पछाडिको सिट खाली देखी सरासर गई झ्यालतिर बस्छिन् र झ्यालबाट बाहिर हेर्न थाल्छिन्। बस बिस्तारै गुड्न थाल्छ। तिनी झ्याल बाहिर एक तमासले हेरिरहन्छिन्। तिनको आँखा अगाडि बिहानको घटना एकपछि अर्को गर्दै चलचित्रको भाती नाँच्न थाल्छ।
❊❊❊
-“यस्ती अलच्छिनीलाई पनि कहीं घरमा राख्नु हुन्छ? घरको त सर्वनाश भएर जान्छ।” सासू रीसले चुर भई तिनीतर्फ इङ्गित गर्दै छोरालाई भनिरहेकी हुन्छिन्। छोरो पनि आमाकै पक्ष लिई तिनीतर्फ रीसले खनिन थाल्छन्। निहुँ सिर्फ भात डढाएकोमा तिनीतर्फ अत्याचार गर्न सासू अघिसरेकी हुन्छिन्। लोग्ने पनि सासूकै पक्ष लिई तिनलाई खेद्न थाल्छ। ससुरा बाहिर गएको हुनाले तिनीप्रति भएको अत्याचारलाई ढाल बनेर रोक्ने सहानुभुति राख्ने कोही थिएन। ससुराले बेला मौकामा तिनीप्रति सहानुभूति देखाउँथे। न्यायको पक्ष लिन्थे। सासूलाई गाली गर्थे र बुहारी प्रति स्नेह राख्थे।
सासूले आस्थालाई भुत्ल्याउँदै ढोका बाहिर निकालिन्। तिनी पीडाले रुन थाल्छिन्। लोग्नेसँग विनयभावले सहायताको लागि आग्रह गर्छिन्। उल्टै लोग्ने पनि तिनलाई गालामा चड्काउँदै भन्न थाल्छ” जाऽऽऽ! पहिले माईतबाट अंश लिएर आइज।”
आस्थालाई दिनमै अन्धकारको आभास भयो। जसको भरोसामा सारा जिन्दगी बिताउने अठोट लिएकी थिइन्, उसैबाट यो अत्याचार सहन सक्दिनन्। पीडाले मुटू पोल्छ। आँखाबाट बलिन्द्र आँसुको धारा बग्छ। जोसँग सुखमय जिन्दगीको अभिलाषामा तरङ्गित भएकी थिइन्, उसैबाट यो अत्याचार उनीलाई असैह्य हुन्छ। जिन्दगीको नै अन्त्य गर्ने विचार पलाउँछ। सरासर घरबाट निस्किन्छिन्। कसरी आत्महत्या गर्ने? मनमनै सोच्दै पाइला बढाउँछिन् । एक्कासि तिनमा विजुलीको गतिमा विचार पलाउँछ । रानीपोखरीमा फाल हाल्ने। त्यसैले रानीपोखरी आएकी थिईन्। तर वालक छोरीको सम्झना आउनासाथ छोरीको मायाले त्यो विचार त्याग्छिन्। आफ्नो हकको लागि लड्ने प्रेरणा जाग्छ।
❊❊❊
-“लौ गौशाला आयो! गौशाला!!” खलासी बसको ढोका बजाउँदै कराउँछ। यो आवाजले तिनी पुनः वर्तमानमा आउँछिन्। आँखाबाट दुईथोपा आँसु तरक्क चुहिन्छ। हत्त पत्त फरियाको सप्कोले आँसु पुस्छिन्। यताउता हेर्न थाल्छिन्। बस पनि टक्क रोकिन्छ। तिनी सिटबाट बिस्तारै उठ्छिन्। बसका सबै मानिस तिनलाई नै हेरिरहे झैँ लाग्छ। आस्था कसैलाई पनि नहेरी खलासीलाई पैसा दिदै बसबाट ओर्लिन्छिन्। चारैतिर सर्सर्ति नजर दौडाउँछिन्। अन्यौलमा पर्छिन्, कहाँ जाने?
त्यत्तिकैमा एक जना मानिसको नजिक गै सोध्छिन “दाजु ‘माइती नेपाल’ को अफिस कहाँ छ?”
उक्त व्यक्तिले औंलाको इशारा गर्दै देखाइदिन्छ -“माईती नेपालको अफिस ऊ त्यहीं हो।”
“माईती नेपाल” नामक गैर सरकारी संस्थाको बारेमा धेरै कुरा सुनेकी थिइन् आस्थाले। विभिन्न पत्र-पत्रिकामा पनि पढेकी थिइन्। दुःख पाएका, विचल्लीमा परेका महिलाहरू, बेचबिखनमा परेका चेलीबेटीहरू आदिको संरक्षण उद्धार गर्ने संस्था। चेलीबेटीको हकहितको रक्षा गर्ने संस्था – “माईती नेपाल”।
आज उनी र उनीजस्ता उपेक्षित तिरस्कृत र बहिष्कृत महिलाहरूले जाने ठाउँ अर्को थिएन। एउटा आशाको त्यान्द्रो सहारा लिएर उनका पाइला “माईती नेपाल” को कार्यालयतिर बढ्छ। आस्थालाई बल्ल आफ्नो गन्तव्य पहिल्याएको अनुभव हुन्छ। सरासर उक्त व्यक्तिले औंल्याएतर्फ निरन्तर पाईला बढाउँदै जान्छिन्, बढाउँदै जान्छिन्।
०००
( कथाकार हरिश कल्पितको पहिलो कथा सङ्ग्रह “आस्था” बाट शिर्ष कथा )
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।