आकाङ्क्षाले अमेरिकाबाट इमेल पठाइन्, ‘पुजिता, आज म आफ्नो जीवनको अविस्मरणीय घटनालाई तिम्रो सामु उघार्दै छु, धैर्यसाथ पढ्नु है।”
एउटा रोचक घटनाका साथै अमेरिका आएपछि मैले गरेका केही अनुभव र अनुभूति शब्दहरूमा पोख्दै छु। जीवन त बुझ्नै नसकिने र फुकाउनै नसकिने रहस्यको गुजुल्टो रहेछ। कतिखेर हाम्रो जीवन हामीसामु कुन रूपमा प्रस्तुत हुन्छ भन्नै नसकिने रहेछ। आज जीवनको उत्तरार्द्धमा नौलो अनुभूतिमा म रमाइरहेकी छु। मैले अनुभव गरेका अनुभूतिलाई म क्रमबद्ध रूपमा प्रस्तुत गर्छु।
अमेरिका आएपछि म क्यालिफोर्नियामा बहिनीकहाँ बसें। उनी साह्रै व्यस्त हुनाले शनिबार र आईतबार बाहेक म एक्लै दिन बिताउँथें। भन्नु मात्र अमेरिका, यहाँको व्यस्त जीवन देख्दा एक महिनामै मलाई अत्यास लाग्न थाल्यो। अमेरिका एउटा सुन्दर र विकसित देश हो, एकचोटि आउनैपर्ने ठाउँ हो तर हामी जस्तो प्रौढका लागि बस्ने ठाउँचाहिँ होइन रहेछ। केही महिना घुमफिर गर्न मात्र ठीक रहेछ। हामी आफ्नै देशको रहनसहनमा अभ्यस्त भइसकेको हुँदा यहाँको जीवन हामीलाई त्यति रुचिकर लाग्दो रहेनछ। दुई महिना घुमफिर गरी यहाँको जीवनशैलीलाई नजिकबाट अनुभव गरी बिताइयो। एक महिना जसरी भए पनि बितिहाल्छ भनी काठमाडौं फर्किने दिन गन्दै थिएँ, एक दिन अचानक फोनको घण्टी बज्यो।
अनायास ब्राइनको स्वर फोनको माध्यमबाट कानमा गुन्जिँदा म हतप्रभ भएँ।
‘मलाई चिन्यौ? म ब्राइन’। ब्राइनले हर्षमिश्रित स्वरमा भने, ‘वेलकम टू अमेरिका।
ब्राइनलाई मैले बिर्सिसकेकी रहेछु। चालीस वर्षपछि मैले उनको स्वर सुन्दै थिएँ।
“तिमी अमेरिका आएको थाहा पाई मेरो हर्षको सीमा नै रहेन। अब केही दिन न्युयोर्क म कहाँ आउनुपर्छ है। मेरा आँखा तिमीलाई हेर्न लालायित छन्। भन कहिले आउँछ्यौ ? म लिन आउनेछु।’
ब्राइनलाई मैले चालीस वर्षअगाडि काठमाडौंमा भेटेकी थिएँ। उनलाई भेट्दा म भर्खरकी किशोरी थिएँ। उनी पिसकोर मार्फत काठमाडौंमा भित्रिएका थिए। मेरो दाइसित चिनापर्ची भई उनीसित उठबस भएका कारण ब्राइन हाम्रो घरमा बराबर आइरहन्थे। हाम्रो परिवारले उनलाई आफ्नो झैँ व्यवहार गर्थ्यो। बुबाआमाले पुत्रवत् माया गर्नुहुन्थ्यो। म पनि उनको नजिक पुगेकी थिएँ। दाइ र म ब्राइनसित क्यारिम खेल्थ्यौँ। कहिलेकाहीँ घुमफिर गर्थ्यौं। उनको धेरैजसो वास हाम्रै घरमा हुन्थ्यो।
“किन नबोलेकी?” ब्राइनले यसो भन्दा म अतीतबाट वर्तमानमा ओर्ले।
‘तिमीले म अमेरिका आएको कसरी थाहा पायौ?
‘तिम्री बहिनीले इमेल गरेर बताइन्,’ उनले भने।
ब्राइनले फोनमा हालखबर सोध्दै थिए, म भने चालीस वर्षअघिको घटनालाई मनमनै सम्झिँदै थिएँ।
‘तिमीले मेरो जवाफ दिइनौ? मलाई आतिथ्य सत्कार गर्ने अवसर दिन्नौ? उनले अनुनय मुछिएको स्वरमा भन्दै थिए।
‘ब्राइन मेरो काठमाडौं फर्किने दिन नजिक आइसक्यो। फेरि मेरो स्वास्थ्य पनि ठीक छैन। त्यसैले सायद तिम्रो अनुरोधलाई म स्विकार्न सक्दिन होला’ तुरुन्तै निर्णय लिने स्थितिमा म थिइनँ। सकेसम्म न्युयोर्क उनीकहाँ बस्न म चाहन्नथें किनभने चालीस वर्षअगाडिको घटनाले म उनीप्रति सशङ्कित थिएँ, मैले ब्राइनसामु आफूलाई सहज स्थितिमा पाउन सक्दिन होला। चालीस वर्षअगाडिको घटना झिलिक्क झुल्कियो आँखासामु, चलचित्रझैँ मनमस्तिष्कलाई खलबलाउँदै।
एकाएक रातको एघार बजे जोडसित मूलढोका ढकढकाउनाले हामी सबैको ध्यान आकर्षित भयो। म सुत्ने तरखरमा थिएँ भने बुबामुमा र दाजु मेरो बिहेका लागि सरसल्लाह गरिरहेका थिए। दाजुले ढोका खोलिदिए। त्यति राति ढोका ढकढक्याउने अरू कोही नभएर ब्राइन नै थिए। उनी केही महिनाअघि सुदूरपश्चिमाञ्चलको महेन्द्रनगरमा एक सरकारी स्कुलमा अङ्ग्रेजी पढाउन खटिएका थिए।
अचानक बिनाखबर एकाएक ब्राइनलाई राति घरमा आएको देखी सब विस्मित भए। उनी साह्रै हतास र उदास देखिन्थे । बुबामुमाको छेउमा गई अभिवादन गर्दै उनले रुन्चे स्वरमा भनेछन्, ‘आकाङ्क्षाको बिहेको खबर सुन्नासाथ रातारात म यहाँ आइपुगें। आकाङ्क्षाको हात मेरो हातमा राखिदिनुहोस् नत्र म जिउँदै मर्नेछु ।”
‘यो के कुरा गर्दै छौ ब्राइन ? आकाङ्क्षाको बिहे उसकै स्वीकृतिले तय भइसक्यो। अब अर्को महिना बिहे हुँदै छ, सबै तयारी भइसक्यो, बुबाले केही नमीठो मानी भन्नुभयो।
‘ममाथि दया गर्नुहोस्। म आकाङ्क्षालाई हृदयले चाहन्छु। उनीबिनाको जिन्दगी म जिउन सक्दिनँ।’ दुवै नयनबाट अश्रुधार बहाएर उनी बुबाको खुट्टा समाएर घुँक्कघुँक्क रोएछन्।
उनको यस अप्रत्याशित व्यवहारले सबै हडबडाएछन्। किंकर्तव्यविमूढ जस्ता भएछन्। पछि बुबाले उनलाई सोधेछन्, ‘के आकाङ्क्षाले पनि तिमीलाई प्रेम गर्छिन्। तिमीहरुबीच यसबारे कुराकानी भएको छ?
‘मेरो बुझाइमा उनले पनि मलाई प्रेम गर्छिन्। उनले मुख खोल्न नसकेर विवाहको स्वीकृति दिएकी हुनुपर्छ।
ब्राइनले यसो भनेपछि दाजुले मलाई डाकेर बुबाको कोठामा ब्राइनको सामु उभ्याए।
ब्राइनलाई अस्तव्यस्त अवस्थामा देखेर म केही आत्तिएँ। त्यहाँको स्थितिबाट अनभिज्ञ थिएँ म।
मलाई देख्नासाथ मेरो हात समाएर ब्राइन धुरुधुरु रुन थाल्यो। केही नबुझी मैले दाजुको अनुहार ताकें।
‘आकाङ्क्षा, तिमीलाई थाहा छैन, म तिमीलाई असाध्य मन पराउँछु, तिमीलाई प्रेम गर्छु भन्ने कुरा। मेरो प्रेमलाई लत्याएर कसरी बिहे गर्न राजी भयौ तिमी?’ ब्राइनको कुरा सुनी म अक्क न बक्क भएँ। आफूले कहिल्यै नचिताएको कुरा उनको मुखबाट सुनी रोऊँ कि हाँसु झैँ स्थिति भयो मेरो। म निस्तब्ध उभिरहें, मेरो बाक्य नै फुटेन। के गरूँ, कसो गरुँ झैँ बनी केवल म टोलाइरहें।
“बोल, किन त्यसरी उभिरहेकी? ब्राइनले भनेको कुरा के सत्य हो? बुबाले आग्नेय दृष्टिले हेर्दै भन्नुभएपछि म झस्किएँ। मैले बोल्नैपर्ने भयो।
‘के कुरा गर्दै छौ ब्राइन? मैले तिमीलाई कहिल्यै मन पराइनँ। तिमी त मेरो मिल्ने साथी मात्रै हौ, मैले अस्वीकार गर्दै भनें।
‘तिमी झुट बोल्दै छौ, तिमी मलाई प्रेम गर्थ्यो, ब्राइनले आश्रूपूर्ण व्यथित नजर म तिर फ्याँक्दै भने।
‘म सत्य बोल्दै छु। तिमी भ्रममा रहेछौ। मैले तिमीलाई न त शब्दले, न त व्यवहारले नै प्रेमको स्वीकारोक्ति दिएकी छु र? म राजीखुसी बिहे गर्न लागिरहेकी छु। त्यसैले बेकारको कुरा नगर।”
मैले त्यसो भनेपछि मेरो दुवै खुट्टा च्याप्प समाएर उनले रुन्चे स्वरमा भने, ‘ठीक छ म भ्रममै सही। सत्य, म तिमीलाई अथाह प्रेम गर्छु। सबैको सामु म तिमीसित प्रेमको भिख माग्छु। जिन्दगीभर म तिम्रो दास भएर रहनेछु। मेरो प्रेमलाई स्वीकार गर।
‘मेरा बुबामुमाको सामु तिमीले मलाई लज्जित गर्दै छौ। प्रेमको नाटक बन्द गर। म तिमीलाई प्रेम गर्दिनँ। बुबाआमाले रोजेको केटैसित बिहे गर्छु। तसर्थ मेरो बिहेमा अड्को नथाप,’ यति भन्दै उनका दुवै हात पन्छाएर म आफ्नो कोठातिर लागें।
मेरो बुबा, मुमा र दाजु मूकदर्शक बनी हामी दुईबीच भइरहेको वार्तालाप सुनिरहेका थिए। म कोठाबाट बाहिरिएपछि उनी भुइँमा थुचुक्क बसेर क्वॉरक्वाँर्ती रोएछन्। सबैले उनलाई सम्झाएछन्।
‘तिमीले मात्र एक्लो प्रेम गरेर हुँदैन, आकाङ्क्षाले तिमीलाई प्रेम गर्दिनन् भन्ने कुरा सुनिहाल्यौ। फेरि बिहे छिनेपछि अब केही गर्न सकिँदैन।’ दाजुले यसो भनेपछि उनी केही संयमित भएछन्। एक शब्द नबोली सबलाई अश्रुपूर्ण नजरले हेरी सुरुसुरु घरबाट निस्केछन्। सबैले उनको बाटो रोके तर उनी रोकिएनन्।
‘आकाङ्क्षा, के तिमी अझै मसित रिसाएकी छ्यौ ? मलाई भेट्न चाहन्नौ?’ उनको प्रश्नले म वर्तमानमा उभिएँ।
‘ठिकै छ, म भरे श्रीमान् सित अनुमति माग्छु। उनले स्वीकृति दिएमा अवश्य आउनेछु। भोलि म तिमीलाई खबर गर्नेछु,’ उनको पिछा छुटाउँदै मैले भनें।
साँच्चै भन्ने हो भने म उनलाई भेट्न चाहन्नथे। मलाई बहिनीदेखि रिस उठ्यो, बिनासित्ति ब्राइनलाई किन खबर गरेकी होला भनी। मैले किशोरावस्थामा उनको प्रेम निवेदनलाई लत्याएर उनलाई गहिरो चोट दिएकी थिएँ। कहीं त्यही चोटको बदला लिन उनले मलाई आफूकहाँ बोलाएका त होइनन्? मनमा लुकेको शङ्काले मेरो मनमा दुर्गन्ध फैलाउँदै मेरो सोचाइलाई दूषित पार्न थाल्यो। म सशङ्कित थिएँ, भयभित थिएँ ब्राइनसित।
मन नलागी-नलागी मैले फोनबाट श्रीमान्को राय लिएँ। श्रीमान्ले मलाई ब्राइनको आतिथ्य ग्रहण गर्ने सल्लाह दिए। बहिनी मायाले पनि ब्राइनको अनुरोधलाई स्विकार्ने राय व्यक्त गरिन्।
चालीस वर्षअगाडिको कुरालाई मनबाट सहजै पन्छाउन कहाँ सकिन्छ र? मन त्यसै भरङ्ग भईरह्यो।
‘ब्राइन प्रौढ उमेरमा कस्तो देखिए होलान्? उनलाई हेर्ने उत्सुकता पलाएर आयो। मलाई यति लामो समयको अन्तरालमा देख्दा उनले कस्तो प्रतिक्रिया जनाउने होलान्।
मान्छेका विविध रूप हुन्छ। उनी मेरो सामु कुन रूपमा प्रस्तुत हुने होलान्, मनमा अनेक जिज्ञासाहरू सलबलाउन थाले। श्रीमान् र बहिनीको सल्लाह बमोजिम अन्तिम पन्ध्र दिन म ब्राइनको आतिथ्य ग्रहण गर्न न्युयोर्क जाने तय भयो। त्यहीँबाट वासिङगटन हुँदै काठमाडौं फर्किने व्यवस्था ब्राइनले मिलाए।
न्युयोर्कको एयरपोर्टमा ब्राइन सपत्नी मलाई लिन आएका थिए। समयको लामो अन्तरालपछि एक-अर्कालाई देख्दा हामी दुवैलाई सुखद अनुभव भयो। हामी एक-अर्कालाई प्रौढ अवस्थामा देखेर मनमनै मुस्कुरायौँ।
‘तिमी त कति फरक देखिएछौ?” उनले हात मिलाएर मुस्कुराउँदै भने।
‘तिमी पनि त प्रौढ देखियौ नि? मैले पनि हाँस्दै भने।
उनी मसित कुन रूपमा प्रस्तुत हुने हुन् भनी मनमनै सशङ्कित थिएँ तर उनको स्वाभाविक व्यवहारले म आश्वस्त भएँ।
न्युयोर्कको सनी साइडमा उनको चिटिक्क परेको सुन्दर घर रहेछ। त्यहाँ पुगेपछि मैले सन्तोषको सास फेरे। घरको अगाडि हरियो चौर थियो। चौरमा केही कुर्सीहरू थिए, सानो सुन्दर बगैंचा थियो, घरको पछाडि।
उनीसित केही घण्टाको कुराकानी र उनको सद्व्यवहारले मेरो मनभित्र लुकिरहेको शङ्का धुवाँ भई क्षितिजपारि उडेर विलीन भयो। उनी न्युयोर्कको ख्यातिप्राप्त विश्वविद्यालयमा प्रोफेसर रहेछन्। उनकी पत्नी डायना पनि विश्वविद्यालयमै पढाउँदी रहिछिन्। दुवै शिक्षित, बौद्धिक र एउटै पेसाका रहेछन्। दुवैले मेरो स्वागतार्थ पन्ध्र दिनको बिदा लिएका रहेछन्।
उनी र उनकी पत्नी डायनाले मेरो साह्रै हेरविचार गर्न थाले। खाना पकाउँदा मैले के खान मन पराउँछु भनी सोधेर पकाउँथे। दुवैले कहिले एकैसाथ कहिले एक्लै न्युयोर्कको विभिन्न दर्शनार्थ स्थलहरू र ऐतिहासिक स्थानहरू देखाउन लगे। महँगा होटेलमा लन्च र डिनर खुवाउन लगे। मैले नाइग्राफल हेर्ने इच्छा व्यक्त गर्दा मलाई नाइग्राफल देखाउन लगे। विश्वकै सातौँ आश्चर्यमध्ये एक नाइग्राफल अवलोकन गर्न पाउँदा म साह्रै हर्षित भएँ।
नाइग्राफलको मनमोहक दृश्यले रोमाञ्चित भई साँझ होटेल फर्केपछि हामी कफी पिउँदै थियौं, ब्राइनले आफ्नी पत्नी डायनातर्फ हेर्दै भने, ‘थाहा छ डायना, मैले तिमीलाई किन मनपराएँ र बिहे गरेँ? तिमीमा मैले आकाङ्क्षाको झझल्को पाएर नै तिमीलाई आफ्नी पत्नी बनाएको हुँ। तिम्रो रूपरङ, बोलीचालीको ढङ्ङ्ग र निष्फिक्रीपना सबै आकाङ्क्षासित मिल्छ।’
ब्राइनका कुरा सुनेर मैले सकसकाएर डायनाका अनुहारमा चिहाएँ। उनले मुस्कुराएर मलाई नै हेरिरहेकी थिइन्।
अस्तिको दिन बिहान उठ्दा झलमल्ल घाम झुल्किसकेको रहेछ। कोठाबाट निस्किनासाथ दुवै दम्पतीले सेतो गुलाफको बुकेले मेरो अभिवादन गर्दै ‘ह्यापी बर्थ डे टू यू, मेनी मेनी ह्यापी रिर्टन अफ द डे’ भनेर मसित हात मिलाए।
‘के आज मे १९ हो र? मैले आश्चर्य भएर सोधे।
‘हो त नि, मैले तिम्रो जन्मदिन अझै भुलेको छैन।’ ब्राइनले भनेको सुन्दा म विस्मित भई विगतमा विचरण गर्न पुगे।
काठमाडौं छँदा ब्राइनले मलाई सधैं सेतो गुलाफको बुकेले शुभकामना दिन्थे। उनले भन्थे, ‘सेतो गुलाफ पवित्रताको प्रतीक हो।’
आज पनि मेरो हातमा सेतो गुलाफको बुके मगमगाइरहेको थियो। भर्खरै बगैंचाबाट टिपेर ताजा फक्रेका गुलाफले मलाई अपार खुसी प्रदान गरिरहेको थियो।
‘थ्याङ्क यू, सो मच! परदेशमा आएर मैले आफ्नो जन्मदिन नै भुलेछु। खुसीले गद्गद हुँदै मैले दुवैलाई धन्यवाद अर्पण गरेँ। त्यसो त विवाहोपरान्त मैले जन्मदिन मनाएकै छैन। मेरो श्रीमान्लाई त मेरो जन्मदिन कुन दिन पर्छ भन्ने समेत थाहा छैन। उनले कहिल्यै सोधेनन्, मैले कहिल्यै भनिनँ।
‘आज तिम्रो जन्मदिन मनाउन हामी रात्रि भोज गर्न बाहिर जान्छौँ,’ डायनाले भनिन्।
‘तिम्रो जन्मदिन मनाउन हामीलाई सुअवसर मिलेको छ,’ ब्राइनले अनुहारभरि खुसी छर्दै भने।
राति हामी एउटा फाइभ स्टार होटेलको भव्य रेस्टुरेन्टमा जन्मदिन मनाउन गयौं। त्यहाँ टेबलमा केक सजाएर राखेको रहेछ । केकमा मैनबत्ती बाली मैले मैनबत्ती निभाउँदा त्यस रेस्टुरेन्टमा खाना खाइरहेका सबैले ताली बजाए र ‘ह्यापी बर्ड डे टू यू’ एकै साथ गाए। जीवनमा पहिलोपल्ट त्यसरी जन्मदिन मनाउन पाएकोमा मैले हर्षले आँसु बगाएँ। मेरो मन खुसीले गद्गद भयो।
ब्राइनदम्पतीले मेरो आतिथ्य हरतरहले गरेको देखी म मनमनै प्रसन्न भएँ। विशेष गरी ब्राइनको म प्रतिको स्नेह र मायाले म मनमनै पग्लिएँ। ‘कति वास्ता राख्छन् उनी मेरो। मेरो सोचभन्दा बाहिरको कुरा थियो, उनको म प्रतिको सद्व्यवहार र प्रेमको प्रस्तुति।”
एक हप्ता खुसी र रमाइलोसाथ बित्यो। दुवैले मेरो अत्यन्त सेवा गरे, मनोरञ्जन गरे र सत्कार गरे। त्यस्तो सत्कार त अमेरिकामा कसैले कसैलाई गर्दैन होला।
अब हिजोको कुरा गरूँ है।
हिजो ब्राइन र म टाढाको एउटा हिन्दू मन्दिरमा दर्शन गर्न गयौं। मेरो इच्छानुसार देवीको मन्दिरमा उनले मलाई दशनार्थ लग्दै थिए। डायना घरमा खाना पकाउन बसिन्।
हामीबीच एक हप्ताको बसाइमा औपचारिक कुराबाहेक खासै त्यस्तो केही कुरा भएको थिएन। भनुं, मौकै मिलेको थिएन। मन्दिरबाट फर्किंदा साँझ परिसकेको थियो। फाटफुट वर्षासहित मेघ गर्जन थाल्यो। वातावरणमा एक प्रकारको सुगन्ध फैलिएको थियो। गाडी हाइवेमा १२० किमिको रफ्तारमा दौडिरहेको थियो । हाइवेको दुवैतिर रातै भएर गुलमोहर लटरम्म फुलिरहेका थिए। मेरा आँखा सफा, चौडा सडकको दायाँबायाँ रूखमा फुलेका फूलमा अल्झिएका थिए।
‘आँसु, के तिमी वैवाहिक जीवनमा खुसी छौ?
‘म एकदमै खुसी छु।
भेरी गुड, तिम्रो कुरा सुनेर मलाई साह्रै आनन्द लाग्यो। कहिलेकाहीँ मलाई तिम्रो चिन्ता लाग्छ। तिमी जीवनमा खुसी छौ कि छैन्यौ भन्ने पिर पनि लाग्छ,’ उनले अनुहारभरि प्रसन्नता छरेर भने। म मौन थिएँ। उनी आफ्नै सुरमा गाडी हाँकिरहेका थिए।
‘फेरि उनले गाडी हाँक्दै मतिर दृष्टिपात गरी भने, ‘आँसु, मैले तिमीलाई भुलेको छैन।
आफ्नो हृदयको एक कुनालाई हातले छोएर उनले भावुक बनी आफ्नो कुरा जारी राखे, ‘अझै तिमी मेरो हृदयमा विराजमान छौ। जीवनका हरेक सुख, दुःख र अप्ठ्यारा समयमा मैले तिमीलाई सम्झेको छु, तिमीसित बिताएका यी दिन मेरो जीवनको सबैभन्दा रमाइलो र अविस्मरणीय रहनेछ। यस्तो महत्त्वपूर्ण सुखद समय बिताउने सुअवसर दिएकोमा म तिमीप्रति सदा आभारी छु।”
यसो भन्दै उनले आँखाभरि स्नेह, माया र समर्पण छचल्काएर मलाई हेरे। केही बेर मेरो अनुहारमा दृष्टि अड्याएर उनले भने, ‘हो, आँसु, म तिमीलाई अझै अथाह प्रेम गर्छु।”
ब्राइनको यस अभिव्यक्तिले मेरो मनभरि मायाको सागर उर्लेर आयो, उनको कुरा सुने तर म मौन रहें। केही बोल्न चाहिनँ।”
घर आएपछि उनकी पत्नी डायनाले रात्रिको डिनर तयार पारिरहेकी रहिछिन्। कफी पिइसकेपछि ब्राइनले मेरो हातको चिकेनकरी खाने इच्छा व्यक्त गरे, नेपाली स्टाइलको मसलेदार। उनले अनुरोध गर्दै भने, ‘आँसु, तिमीले काठमाडौंमा पकाएको चिकनकरीको स्वाद अझै मेरो जिब्रोमा झुन्डिएको छ। तिमीलाई दुःख हुँदैन भने आज मेरा लागि चिकनकरी बनाइदेऊ है।’ उनले मलाई त्यति साह्रो सत्कार गरे, माया प्रर्दशन गरेर हरतरहले सेवा गरे भने जाबो चिकनकरी बनाउन मलाई केको दुःख हुन्थ्यो, म सहर्ष चिकनकरी बनाउन किचनमा जुटें। डायनाले आवश्यक मसला र सामान जुटाइदिइन्। मैले किचन सम्हालेपछि डायना ड्रइङ रुममा गई टेलिभिजनमा न्युज हेर्न थालिन्।
‘किन एप्रोन नलगाएकी? यसो भन्दै किचनका भित्तामा झुन्ड्याइएको एप्रोन आफैले लगाइदिए। एप्रोनको तुनालाई कम्मरमा बाँधिसकेपछि उनले मेरो ढाड बिस्तारै सुमसुम्याए।
उनको कोमल स्पर्शले म अभिभूत भएँ। शरीरका सारा तन्तुहरूमा आनन्दको सञ्चार भयो। मेरो हृदयका साजहरूले समधुर सङ्गीतको धुन छेड्न थाले। वातावरण नै सङ्गीतमय तथा उल्लासमय भए झैँ अनुभूति भयो मलाई। मासु चलाउन व्यस्त मेरो दाहिने हात टक्क अडियो। हृदयको धड्कन एकाएक तीव्र भयो। मैले फर्केर पछाडि उभिएर मलाई सुमसुम्याइरहेका ब्राइनका आँखामा चिहाएँ। उनका आँखामा प्रसन्नताका छालहरू तँछाडमछाड गरी उर्लिरहेको देखें मैले। उनका नीला आँखाको गहिराइभित्र म केही बेर लठ्ठिए झैँ भएँ। निर्निमेष हेरिरहें।
एक्कासि उनले मलाई अँगालोमा बाँधेर मेरो केश सुमसुम्याए। मैले कुनै विरोध गरिनँ। पखेटा पलाएझै उनको अँगालोमा बेरिएर अन्तरिक्षमा उडान भर्न थालें म। त्यति बेला मैले संसारलाई नै बिर्से, सांसारिक प्रपञ्चनाबाट टाढा म अर्कै दुनियामा पुगें, जहाँ मात्र उनी थिए अनि म थिएँ। आफू एक प्रौढ उमेरको विवाहित महिला हुँ भन्ने कुरा पनि भुलें।
कहिल्यै अनुभव नगरेको आनन्दको अनुभूति भयो त्यतिखेर मलाई। केही बेर अँगालोबाट म फुत्किएँ र ढोकातर्फ चोर दृष्टिले हेरें, कहीँ डायनाले त हेरिरहेकी छैनन्, हाम्रा क्रियाकलापहरू। ढोकामा कोही नदेखेपछि मन आश्वस्त भयो।
‘आँसु, जीवनमा कुनै बेला मेरो आवश्यकता महसुस भएमा कुनै आपद्-विपद् या एक्लोपनाको अनुभूति भएमा मलाई अवश्य सम्झिनु। तिमी मेरो पहिलो प्रेम हौ। पहिलोपल्ट जीवनमा मैले तिमीबाट नै प्रेमको अनुभूति गरेको थिएँ। तिमीसित मेरो फेरि भेट नहोला तर मर्ने समयमा पनि मैले तिमीलाई सम्झेर मर्नेछु। उनको यस अभिव्यक्तिले मेरा दुवै नयन रसाए।
समयले राम्रो प्रेमकथा बुन्यो। त्यस प्रेमकथाको नायक ब्राइन थियो भने नायिका म। सबै कुरा समयकै रहेछ। अमेरिका जाँदा मेरो जीवनमा प्रेमको पालुवा पलाउनेछ भन्ने सपनामा चिताएकी थिइनँ। तर म खुसी छु, एक जना व्यक्ति जसले मलाई हृदयले चाहन्छ र चोखो माया गर्छ, टाढै सही मेरो जीवनमा गाँसिन आएको छ।
अँ त, एउटा कुरा भन्न बिर्सेछु मैले। ब्राइनले जन्मदिनमा दिएको सेतो फक्रेको गुलाफलाई मैले कोठामा सजाएकी छु। किन-किन कोठामा ओहोरदोहोर गर्दा ती गुलाफले ओठ खोलेर मलाई केही भन्न खोजे जस्तो लाग्छ। आँखाले मलाई हेरेर मुस्कराए झैँ लाग्छ। पवित्र प्रेमको प्रतीकस्वरूप ब्राइनले उपहार दिएका ती गुलाफका फूलहरू कहिल्यै नओइलियोस झैँ लाग्छ। कतिपल्ट मैले अनजान मै ती फूललाई सुमसुम्याएकी छु, ओठले छोएकी छु। सेतो गुलाफ अब मेरो जीवनको प्रेमको प्रतीक साबित भएको छ। सपनामा सेतो गुलाफ लटरम्म फुलेकै देख्छु सधैँ म।
मान्छेको जीवनमा घट्ने अनेकौं घटनाहरूलाई लिपिबद्ध गर्ने हो भने प्रत्येक मान्छेको जीवनमा उपन्यासको अंश हुन्छ भनेर मैले कतै पढेकी थिएँ, म पनि उपन्यासको अंश बन्न पुगेछु हगि?
‘कस्तो लाग्यो त मेरो प्रेमकहानी? आकाङ्क्षाले मलाई प्रश्न गरेर इमेल टुङ्ग्याएकी थिइन्।
अति नै राम्रो, अद्वितीय लाग्यो। तिम्रो कहानी पढ्दा मलाई कुनै उत्कृष्ट प्रेमकहानी पढे झैँ लाग्यो। ‘लौ बधाई छ, साथी तिमीलाई।’ उत्निखेर इमेल गरेर आकाङ्क्षाको प्रश्नको जवाफ नदिइरहनै सकिनँ।
सम्झनाका विविध स्वरूपमा जीवन एउटा साहित्यिक कृति नै हो भनी एउटा साहित्यिक मित्रले मेरो डायरीको पानामा लेखेका थिए, सत्य नै रहेछ।
०००
( बरिष्ट आख्यानकार पद्मावती सिंहको ‘एक झुल्को घाम’ कथा सङ्ग्रहबाट “कथा: सेतो गुलाफ” )
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।