किशोर पहाडी ( वि.सं. २०१३ – ) विशेषत: एक साहित्यकार हुन् । पहाडी लेखनका साथै अभिनय र निर्देशनमा पनि सक्रिय छन् । उनका कथाहरू लोकप्रिय छन् । तर कविता, यात्रा संस्मरणतिर पनि उनको विशेष पकड छ ।
उनैको वि. सं. २०४५ मा प्रकाशित कथा सङ्ग्रह “विशुदाइ”बाट शीर्षक कथा यहाँ प्रस्तुत गरिएको छ ।
कथा यहाँबाट सुरु हुन्छ…..
कसैले ढोका ढकढकाएजस्तो लाग्छ । ढोका खोलिदिएको जस्तो लाग्छ मैले । ढोकाबाहिर पर्तिमा आँखाभरि आँसु लिएर भन्दै गरेकी जस्तो लाग्छ, “अङ्कल, मम्मी रुँदै हुनुहुन्छ।”
तर जस्तो कि- वास्तवमा ढोका सुनसान छ । …. कोठामा म एक्लै छु । यसरी नै त्यो दिन पनि म आफ्नो कोठामा नितान्त एक्लो थिएँ ।
यो तीन वर्षअघिको कुरा हो ।
साँझ परेको थियो । आफ्नो कोठाको ढोका ड्याम्मडुम्म लगाई म एउटा चिठी लेख्दैथेँ ।
त्यतिखेर म बाँसबारीको ठूलो घरमा डेरा गरी बस्दथेँ र वरपर कोको बस्छन् मलाई त्यसको स्यानो जानकारी पनि थिएन । किनभने जेलअधिकृत भएको दिनदेखि मैले आफूलाई अत्यन्त व्यस्त पाएको थिएँ । कहिले कता, कहिले कता अधिराज्यभरका जेलहरू घुमी हिँड्नुपर्थ्यो । फलतः घरमा चिठी पठाउने समय मिलाउन पनि मलाई धौधौ पर्थ्यो । त्यो दिन बल्लतल्ल फुर्सद मिलाएर बालाई चिठी लेख्न म व्यस्त भएको थिएँ । चिठीको बीच भागतिर अब चिठीलाई कुन मोड दिने बिचार्दै थिएँ । एक्कासि कसैले ढोका ढकढक गऱ्यो । मैले आफ्नो मनको भ्रम ठानी चुपचाप बिचार्दै रहेँ । तर एकैछिनपछि ढोका फेरि ढकढकियो । आफ्नो विचार र कलम दुइटै बन्द गरी ढोका खोल्न जान बाध्य भएँ। ढोका खोलें ।
बाहिर एक कलिली बच्ची आँखाबाट आँसुका ढिका बगाउँदै उभिइराखेकी थिई । मैले त्यो बच्चीलाई पटक्कै चिनेको थिइनँ र यसरी अपरिचित बच्ची आफ्नो ढोकामा आँसु बगाउँदै उभिएकी देख्दा मलाई अचम्म लाग्नु स्वाभाविक थियो । अचम्म मानेर मैले केही सोध्नुअघि नै बच्ची घुँक्कघुँक्क गर्न थाली, “अङ्कल ! अङ्कल !”
उसले रुँदै भनी, “अङ्कल, मम्मी रुँदै हुनुहुन्छ ।”
को अङ्कल ? को मम्मी ? मैले बुझ्न सकिनँ । व्यर्थैमा यसरी बाधा पर्न गएकोले मलाई अलिअलि रिस उठेर आउन थालिसकेको थियो । चिढिएको स्वरमा सोधेँ, “तिमी को ?”
“पर्तिमा, अङ्कल ! मेरो नाम पर्तिमा हो ।” उसले अलिकति हाँस्ने प्रयत्न गरी, तर आँसुले गर्दा सकिन ।
“तिमीलाई म चिन्दिनँ त ।” मैले ढोका लगाउन आँट्दै भनें ।
“म पनि तपाईंलाई कहाँ चिन्छु र, अङ्कल ?”
अब भने मलाई त्यो बच्ची अलि रहस्यमयी जस्ती लाग्यो । त्यसैले ढोका लगाइन ।
“त्यसो भए किन यहाँ रुन आएकी त ?”
“कोठामा मम्मी रुँदै हुनुहुन्छ ।”
“कहाँ कोठामा ? तिम्रो घर कहाँ हो ?”
“हामी छेउकै कोठामा डेरा गरी बस्छौँ, अङ्कल …. मेरो मम्मी कोठामा रुँदै हुनुहुन्छ ।”
“किन रोएकी तिम्री मम्मी ?”
ऊ केही जवाफ दिन्न ।
“तिम्रो ड्याडी हुनुहुन्न ?”
“हुनुहुन्छ । उहाँ अर्को कोठामा हुनुहुन्छ ।”
“त्यसो भए के तिम्रो ड्याडीले मम्मीलाई कुट्नुभयो ? तिम्रो मम्मी र ड्याडीको झगडा भएको होला । हो ?”
“होइन, अङ्कल ! त्यसो भएको भए त किन तपाईंकहाँ आइरहनुपर्थ्यो र ? हिँड्नुस् न हेर्न जाऊँ ।”
“के हेर्न जाने ? तिम्री आमा रोएको हेर्न जाने ?” म फेरि चिढिएँ, “मकहाँ कराउन नआऊ । म यहाँ काम गर्दैछु ।”
मैले यति ‘भनेपछि पर्तिमा सुरुक्क गएकी भए र त्यो परिवारसँग मेरो परिचय नगराइदिएकी भए सम्भवतः म यो कथा लेख्दिनथें । तर जस्तो कि- पर्तिमाको हठ विचारले गर्दा त्यो परिवारसँग त्यो दिन मेरो परिचय भयो र त्यति नमीठा घटनाहरू मैले देख्न पऱ्यो ।
पर्तिमाले धर्नै कसेपछि बाध्य भई मैले त्यो दिन ऊसित उसकी आमा रोएको हेर्न जानुपऱ्यो । उसले “छेउकै कोठा” भनेकी भए तापनि उनीहरू त्यो लङमा मेरो कोठाभन्दा चार कोठापरको कोठामा बस्दा रहेछन् ।
पर्तिमाले त्यो कोठाको ढोका खोली । भित्र एक स्वास्नीमान्छे अस्तव्यस्त अवस्थामा ओछ्यानमाथि घोप्टो परेर हुँक्कहुँक्क गर्दै रोइरहेकी थिई । सोचें, सायद ऊ नै पर्तिमाकी मम्मी हो । कपाल छररर छरिएर जीउ ढाकिएको, लगाएको धोती पेटीकोट माथि घुँडासम्म उठेको, कोठाको सामान पनि त्यस्तै नै अस्तव्यस्त, भुइँमा सत्रन्जा । सत्रन्जामाथि किताबहरू छरिएका, एस्ट्रे, एस्ट्रेबाहिर मिल्काइएका चुरोटका ठुटाहरू; एउटा गिलास ढलेको, गिलासको पानीले सत्रन्जा भिजेको, त्यो पानीको वरिपरि झ्वाम्म झिँगा भन्किएको; सानो सुकुल, सुकुलमाथि पातलो ओछ्यान, ओछ्यानमाथि एउटा तन्ना, तकिया, दोलाई सबै मैला, सबै फोहोर । लुगाहरू भित्तामा मैलै रूपमा झुन्डिराखेका । कोठाको प्रत्येक चीजबाट दरिद्रताको एउटा नमीठो गन्ध आइरहेको थियो । फोहोरैफोहोरले कोठा डम्म ढाकिएको थियो । त्यो कोठामा सफा या राम्रा कुरा केही थिए भनूँ भने भित्तामा झुन्ड्याइएका केही चित्रहरू थिए । ती चित्रहरूले नै त्यो कोठालाई विशेष ओज प्रदान गरेका थिए । ती ओजदार चित्रहरूले कुनै कलाकारको विशिष्ट प्रतिभालाई प्रस्ट्याइराखेका थिए । त्यति दरिद्र कोठामा यस्ता सुन्दरसुन्दर चित्रहरू कताबाट आए ? आफैंसित प्रश्न गरें । पर्तिमाजस्तै त्यो कोठा पनि मलाई रहस्यमय लाग्यो ।
“मम्मी !” पर्तिमाले बोलाई ।
ओछ्यानमाथिकी स्वास्नीमान्छे अलिकति चलमलाई ।
“मम्मी, हेर्नोस् त अङ्कल आउनुभएको छ ।”
अब भने त्यो स्वास्नीमान्छे प्रशस्त चलमलाई । घोप्टो परेको पऱ्यै हातलाई आँखामा लगेर मिची । सम्भवतः आँसु पुछी । कपाल सम्म्याई र मतिर फर्की ।
त्यतिन्जेलसम्म पनि म ढोकाको सङ्घारबाट भित्र पसेको थिइनँ, सङ्घारबाहिरै टक्क उभिएको थिएँ । पर्तिमाले मेरो हात समातेर तानी र भनी, “आउनोस् न अङ्कल, भित्र आउनोस् ।”
अनि मैले पर्तिमाकी मम्मीमाथि एउटा गहिरो दृष्टि फ्याँकें। उसको अनुहारमा दुःखको छाया सलबलाइराखेको थियो । निधार, गाला, ओठ सबै पसिनाले लपक्क भिजेका थिए । कतिसम्म हुन सक्छ भने त्यो पसिनामा आँखाबाट बरबर्ती झरिरहेको आँसु पनि मिसिएको होस् ।
उसले एकछिन मलाई हेरी । अनि टाउको झुकाई ।
म अब के गरूँ, के भनूँको मनस्थितिमा उभिएको थिएँ । कुनै पनि यस्तो बेलामा कुनै पनि मान्छेले यस्तै स्थितिको सामना गर्नुपर्छ । मेरो त्यस्तो स्थितिलाई पर्तिमाले अलिकति खुकुलो पारिदिई, “मम्मी, उहाँ अङ्कल हाम्रो कोठासँगैको कोठामा डेरा गरी बस्नुभएको छ ।”
“आउनोस् न, बस्नोस् ।” पर्तिमाकी मम्मी औपचारिकतातिर लम्की । अनि अनुहारबाट आँसु, पसिना दुवै पुछी ।
म कोठाभित्र परसम्मै छिरें र उसले देखाएको सुकुलमा बस्ने उपक्रमतिर लागेँ । तर बस्न सकिनँ । किनभने सुकुलमा नीलो मसी पोखिएको मैले प्रस्ट देखेँ ।
पर्तिमा चलाक थिई, उसले स्थिति पहिल्याइहाली, “अङ्कल, यता बस्नोस् न ।”
उसले भनेको ठाउँ अलिकति सफा थियो । त्यसमै बसेँ ।
निकैबेरसम्म कुरो हुन सकेन ।
म आइपुग्नासाथ पर्तिमाकी मम्मीको रुवाइ रोकिनाले मलाई आश्चर्यमा पारिराखेको थियो । वयस्कहरूको रुवाइ कहिले पनि त्यसरी ठप्पै रोकिदैन ।
“तपाईं अघि किन रोइरहनुभएको थियो ?” सम्भवतः मैले एउटा बेकारको प्रश्न गरेँ । अथवा यो पनि हुन सक्छ त्यो प्रश्न गरेर मैले उसको घाउ कोट्टयाएँ ।
उसले फेरि आँखाभरि आँसु पारी । तर म चुप रहिनँ । फेरि त्यही प्रश्न दोहोऱ्याएँ । उसले डबडबाउँदो आँखा लिएर मतिर पुलुक्क हेरी । भनी, “तपाईं यी कलाकृतिहरू देख्दै हुनुहुन्छ ?”
मैले उसले सङ्केत गरेका भित्ताका चित्रहरू तिर एकचोटि आँखा लगाएँ र स्वीकृतिसूचक टाउको हल्लाएँ ।
“कस्ता छन् यी कलाकृतिहरू ?” कुराकानीको विषय किन मोडिएको, बुझ्न सकिएन ।
जवाफ दिएँ, “राम्रो ! राम्रा छन् यी चित्रहरू ।”
“यति भनेर पन्छिन पाउनुहुन्न । हेर्नोस्, राम्ररी हेर्नोस् । उः त्यसको शीर्षक हो- नदी फूललाई मार्दै बग्छ । अब चित्र हेरेर बुझ्नोस् त । कसरी प्रस्ट्याएका छन् चित्रकारले त्यो भाव त्यस चित्रमा ।”
र मैले त्यो चित्रलाई राम्ररी नियालेर हेरेँ । चित्र दृश्यचित्र थिएन, अमूर्त चित्र थियो । फलतः मैले त्यो चित्र बुझ्न मस्तिष्कलाई निकैबेर खेलाउन पऱ्यो । अनि बुझेपछि यस्तरी प्रभावित भएँ कि मुखबाट झट्ट निक्लिहाल्यो, “एक्सेलेन्ट ! अत्यन्त सुन्दर । को हुन् हँ यसका चित्रकार ?”
यसको जबाफमा पर्तिमाकी मम्मीले कोठामा अरू चित्रका शीर्षकहरू पनि क्रमशः भन्दै गइन् र बुझाउँदै पनि गइन्, “जाडोको रातमा एक अस्थिपञ्जर, जीवन: मुटुको घाउ, … आदि ।”
जतिजति ती चित्रहरू हेर्दै जान्थेँ र बुझ्दै जान्थेँ, उति मलाई त्यो चित्रकारसँग भेट्ने उत्सुकताले सताउन थाल्यो । एक कलाप्रेमीको नाताले मलाई त्यसो हुनु स्वाभाविक थियो ।
पाँचौं चित्र बुझेपछि म खपिनसक्नु उत्सुक भएँ । अरू चित्र हेर्नेतर्फ ध्यानै गएन । जुरुक्क उठेँ र भनेँ, “म यसको चित्रकारलाई भेट्न चाहन्छु ।”
“होइन, अरू चित्रहरू पनि हेर्नोस् न ।” पर्तिमाकी मम्मीले छोड्न मानिन । “तपाई नै हुनुहुन्छ चित्रकार कि के हो ?” ममा एउटा आशङ्का जन्मिसकेथ्यो ।
तर पर्तिमाले मेरो हात समाई र भनी, ‘चित्रकार भेटाउन म लैजान्छु । मम्मी रोइरहनुभएको त्यही चित्रकारले गर्दा हो, अङ्कल ।”
पर्तिमाले मलाई तानी र डोऱ्याएर कोठादेखिको भित्र सानो कोठामा लगी ।
यस कोठामा दाह्री, कपाल झ्याम्म पालेको एक जना दुब्लो-पातलो मान्छे रहेछ । त्यो मान्छे एउटा स्टूलमा थचक्क बसेको थियो । उसको अघिल्तिर एउटा ठूलो क्यानभास थियो, वरपर रङका ट्युबहरू, इजेल । …. ऊ पानी रङमा चित्र कोर्दै थियो ।
“उहाँ मेरो ड्याडी ।” पर्तिमाले चिनाइदिई, “ड्याडी, उहाँ अङ्कल । हाम्रो कोठासँगैको कोठामा बस्नुभएको छ ।”
दाह्रीवाल चित्रकारले फनक्क मुन्टो बटारेर मतिर हेऱ्यो । म ऊनजिकै गएँ । ऊ मुसुक्क मुस्कायो । लाग्यो, कलाकारहरू निकै नरम हुन्छन् । किनभने अघि यस्तै आफ्नो चिठी लेख्नमा बाधा पर्न जाँदा म रिसाएको थिएँ र अहिले चित्र कोर्नमा व्यस्त कलाकार भने बाधा पर्दा पनि मुस्काउँदैछ ।
“नमस्कार !” मैले दुवै हात जोरें ।
उसले पनि दुई हात जोऱ्यो। यतिखेरै मेले देखेँ, उसको औंलाबाट तपतप रगत खस्दैछ ।
“तपाईंको औंलामा घाउ भएछ ।” मैले भनेँ ।
जवाफमा ऊ केवल फिस्स हाँस्यो ।
बरु पर्तिमा बोली, “त्यसैले त मम्मी रोइरहनुभएको नि अङ्कल !”
“त्यो रुन्ची हरदम रोइ नै राख्छे ।” कलाकारको आँखामा माया पलायो, “आफ्नो कलामा रियलिटी दिन मैले आफ्नो रगत क्यानभासमा पोतेको र ऊ भने भन्छे– कमजोर होइन्छ । कसलाई फिक्री छ कमजोरीको ? हेर्नोस् त, आज रातो रङ नै छैन । सिद्धिराखेको रहेछ । चित्रमा रगत देखाउनु थियो र म आफ्नो बूढी औंलालाई काटेर त्यसमा रगत पोत्दैछु । अलिकति पातलो हुन्छ, रङजस्तो बाक्लो हुँदैन । त्यसैले अलि बढी रगत खर्च गर्नुपरिरहेछ मैले । रगत पातलो नदेखियोस् भनेर बडो सावधानीसाथ म रगत पोत्दैछु । जे होस्, रियलिटी त देखिन्छ कि ?”
म उसको कुरा सुनेकोसुनेकै थिएँ । ट्वालट्वालती उसैलाई हेरिरहेको थिएँ । साँचोमा भन्ने हो भने त्यो कलाकारमाथि मेरो श्रद्धा जाग्यो ।
भनेँ, “कोही कलाकार पनि यसरी चित्रमा रगत पोत्दैनन् । यो त तपाईंको भावनात्मक कार्य हो । … रातो रङ सिद्धिएको भए किन्दा हुने थियो नि !”
यसको जबाफमा उसको ओठमा मसिनो निरीह मुस्कान उम्र्यो, “मेरो कोठाको अवस्थाबाट तपाईं मेरो आर्थिक अवस्थाको अनुमान लगाउन सक्नुहुन्न…?”
उसको त्यो मुस्कान यति मार्मिक थियो कि त्यो दिनभरि त्यसले मेरो मनलाई चररर कराँतीले चिरेझैँ दुखाइरह्यो । …
यी सब तीन वर्षअघिका कुरा हुन् । तीन वर्षपछि आज यस्तो रूपमा त्यो कलाकारसित भेट होला भन्ने सपनामा पनि चिताएको थिइनँ ।
भैगो, आजको त्यो कुरोलाई अहिले छोडिदिऊँ ।
उपरोक्त परिचयपछि त्यस परिवारसँग घनिष्ठता बस्दै गयो । त्यो कलाकार, जसलाई मैले त्यसपश्चात् ‘विश्वेश्वर गिरी’ को रूपमा चिने र जसलाई मैले ‘विशुदाइ’ नामबाट सम्बोधन गर्न थालेँ, लाई मैले आफूलाई एक कथाकारको रूपमा परिचय दिएपछि उनले एक दिन मलाई भने, “… तपाईंहरूलाई के छ, एउटा कलम र अलिकति कागत भए कथा लेखिहालिन्छ । तर चित्रकारले भने यति सजिलैसित चित्र कोर्न सक्दैनन् । त्यसको निम्ति क्यानभास, पेपर, इजेल, रङका ट्युबहरू, ब्रस – केके चाहिन्छ चाहिन्छ । र कुल रूपमा यी सबको निम्ति पैसा चाहिन्छ । त्यसै चित्रकला भनेको त धनी व्यक्तिहरूको ‘हबी’ को रूपमा हुनुपर्ने । किन यस गरिबमा यस्तो सोख पैदा भयो, हरे !”
“यो सोख होइन, विशुदाइ प्रतिभा हो। धन हुँदैमा प्रतिभा हुँदैन । प्रतिभा हुँदैमा धन हुँदैन ।” मैले भनेँ ।
त्यसपछि खल्तीबाट एक सेट रङका ट्युबहरू झिकेर उनको अगाडि तेर्स्याएको थिएँ । उनको आँखा त्यतिखेर खुसीले धप्प बलेको थियो। उनी चिच्च्याएका थिए, “मेरो लागि ? …”
“हो ।” उनको खुसी देखेर म उनीभन्दा दोब्बर खुसी भएँ ।
“म तपाईंलाई कति धन्यवाद दिऊँ ? ओहो ! आज पनि औंलो काटेर रगतलाई रङको रूप दिने पक्षमा थिएँ । तर म पर्तिमाकी आमाको आँखाको अगाडि दोधारमा थिएँ । अब म यिनै रङले काम लिन सक्छु । के गर्नु ? त्यो रुन्चीलाई मैले जीवनभर कहिल्यै सुखमा राख्न सकिनँ । कलालाई माया गरेर उसले मसँगै आफ्नो जीवन बिगारी ।”
यतिखेरै कोठामा पर्तिमा पसी र मतिर हेरेर मुसुक्क मुस्काई । उसको अनुहारभरि पसिना उब्जेको थियो । कतैबाट दगुरेर आएजस्तो देखिन्थी ऊ ।
“के भो छोरी, बेच्यौ ?” विशुदाइले आशापूर्ण दृष्टि लिएर पर्तिमालाई हेरे।
“एउटा विक्यो, ड्याडी ! पन्चानब्बे रुपैयाँमा ।”
“कुनचाहिँ ?”
“नदी फूललाई … ….”
मैले कुरो करिबकरिब बुझिसकेको थिएँ । जुरुक्क उठेँ र विशुदाइलाई हेरेँ, “यो के गर्नुभो तपाईले, विशुदाइ ?”
“मैले ?” ठट्यौली पाराले हाँस्दै विशुदाइले भने, “… मैले आफ्ना चित्रहरू सडकमा बेच्न पठाएँ । तीमध्ये ‘नदी फूललाई मार्दै बग्छ’ पन्चानब्बे रुपैयाँमा बेच्न सकियो । … त्यो, कल्पनाले किनेकी होली । होइन छोरी ?”
“हो, ड्याडी । कल्पना दिदीले किन्नुभयो ।”
“को कल्पना, विशुदाइ ?” मैले सोधेँ ।
“छे मेरी एक प्रशंसिका – कल्पना कुँवर । ऊ मलाई राम्ररी चिन्छे । धेरैजसो भेट भइरहन्छ हाम्रो । अलि धनी छे कि, अनि मेरा चित्रहरू धेरैजसो ऊ नै किन्छे ।…”
“खूब ठूलो काम गर्नभयो विशुदाइ तपाईंले ।” स्नेह व्यङ्गय प्रयोग गरेँ मैले, “त्यति सुन्दर चित्र यति थोरै मोलमा बेच्नुभयो । पन्चानब्बे रुपैयाँले तपाईंको रङ र कागतको पैसासम्म उठ्दैन । खूब ठूलो काम गर्नुभयो तपाईंले, विशुदाइ । खूब ठूलो काम गर्नुभयो ।”
“नखाई बाँच्न सकिन्न, भाइ ! कथाकार हुनाले तपाईंलाई पनि यो कुरो थाहा भएको हुनुपर्छ । नखाई बाँच्न सकिन्न र खानलाई पैसा चाहिन्छ । चित्र कोर्न पनि त पैसै चाहियो ।”
“विशुदाइ, तपाईं चित्र कोर्न छोडेर जागिर खानोस् न । रङ, कागत किन्न छोडेर चामल, दाल किन्नोस् न ।” मैले देब्रे आँखा मिच्दै भनेँ ।
“भाइ, तपाईं मलाई मर्न आग्रह गर्दै हुनुहुन्छ ? चित्र कोर्न छोड्नुको अर्थ हो विश्वेश्वर गिरी मर्नु । …”
मेरो आँखामा आँसु टलपलटलपल गर्न थाल्यो ।
“बाबू, चिया लिनोस् ।” कोठाभित्र भाउज्यू पसिन् । उनको हातमा दुई गिलास चिया थियो ।
मेरो ध्यान बल्ल पर्तिमातिर गयो । ऊ कतिखेर हो, कोठाबाट बाहिर निस्किसकेकी रहिछ ।
“अनि भाउज्यू, तपाईंलाई खोइ त ?”
“मैले खाइससकें ।” भाउज्यूले यसो भनेकी भए तापनि मैले पत्याइनँ ।
“फटाही ! खाइसकें भन्छे ।” विशुदाइको अनुहारमा निकै माया पल्हायो, “जा अर्को दुइटा गिलास पनि ले । छोरीलाई पनि बोला ।”
भाउज्यूले अनकनाएर लाज मानेजस्तो गरी मतिर हेरिन् ।
“जा भनेको, लेरा ।”
“जानोस् भाउज्यू, लेराउनोस् ।”
…त्यो दिन हामीले दूध र चिनी नराखेको कालो चिया आधाआधा पारेर खायौँ र पनि मलाई त्यो दिन बाक्लो कफी खाएझैँ आनन्द लाग्यो । कति मिलनसार परिवार- स्नेहविह्वल भएँ म ।
“भोलि म यहाँबाट जाँदैछु, दाइ !” मैले चिया पिउँदै भनेँ ।
“कहाँ जाँदै हुनुहुन्छ ?”
“विराटनगर । म भोलि विराटनगर सरुवा भएर जाँदैछु । एक-दुई महिना नभई फर्कन पाउन्नँ होला काठमाडौं ।”
भन्नलाई एक-दुई महिना भनेको भए तापनि अधिक व्यस्तताको कारण तीन वर्ष नभई म फेरि काठमाडौं आउन पाइनँ। मैले फुइँ लगाएको होइन- त्यो तीन वर्षभित्र म एकदमै व्यस्त भएँ र आफू, आफ्नै निम्ति सोच्ने समय मिल्न पनि मुस्किल पऱ्यो मलाई । घरमा चिठी पठाउन फुर्सद नमिलेको बेलामा विशुदाइलाई चिठी पठाउने मौका नपाउनु स्वाभाविक थियो । तर पनि एक-दुई पटक मैले विशुदाइको ठेगानामा हुलाकबाट दुई-चार सय रुपैयाँ पठाइदिएको थिएँ । मलाई यसो भन्न लाज लाग्दैन कि मलाई आफ्नो घरपरिवारको भन्दा बढी विशुदाइको परिवारको चिन्ता हुने गर्थ्यो ।
र, अस्ति सोमवार विराटनगरबाट म पुनः काठमाडौं फिर्ती सरुवा भएँ । होटेलमा सामान राख्नासाथ म सोझै हान्निएर आफ्नो पुरानो डेरामा गएँ र विशुदाइको कोठासम्म पुगेँ । ढोका ढकढकाएँ ।
यो, ढोका ढकढकाउन्जेलसम्मको लघु क्षणभित्र मैले धेरै कुरा सोचिसकेथें, … कति खुसी हुनेछु म – विशुदाइ, भाउज्यू, पर्तिमासँग भेट्दा । उनीहरू पनि त कति खुसी हुनेछन् होला ।…’
एक जना अपरिचित आइमाईले ढोका खोली ।
“कसलाई खोज्नुभयो ?”
“विशुदाइ हुनुहुन्न ?”
“को विशुदाइ ?”
“विश्वेश्वर गिरी । चित्रकार छन् नि एक जना ।”
विश्वेश्वर गिरी ? … यो नाम भएको कोही पनि यो कोठामा बस्दैन ।”
यहाँनेर म दङ खाएँ, मेरो सम्पूर्ण उत्साह सेलायो, “हामीले यो कोठा डेरामा लिएको एक वर्ष हुन आँट्यो । त्यसअघि भएको भएचाहिँ थाहा छैन । बरु घरपतिलाई थाहा होला कि ?”
तर मैले अस्ति घरपतिलाई भेट्नु हुँदैनथ्यो । सुरुक्क फर्कन पर्थ्यो म । अथवा यस्तो पनि कि अहिले म यस्तो सोच्दैछु- यहीँनेर कथालाई टुङ्गयाइदिऊँ । तर यस्तो बेइमानी काम गर्ने साहस कसरी गरूँ म ? त्यसैले बाध्यतावश कथा पूरा लेख्दैछु ।
घरपति माथिल्लो तलामा बस्थे । गएर भेटेँ । मलाई बिर्सेका रहेनछन् । भेटेकोमा धेरै खुसी भए । उनीसँग मैले विशुदाइको बारेमा सोधेपछि उनले भने, “ए ! विश्वेश्वर गिरी ? उसको त धेरै नराम्रो घटना घट्यो, हजुर ! उसका चित्रहरू मन पराउने एक जना ठिटी थिई नि, के रे नाम त्यसको ?… कल्पना । अँ, त्यो कल्पना भन्ने ठिटी यहाँ कहिलेकाहीँ आइरहन्थी त्यल्ले त विश्वेश्वरलाई कुन बेला न कुन बेला फसाइसकेकी रहिछ । एक दिन, तपाईंले यहाँबाट छोडेर गएको एक वर्षजति पछि विश्वेश्वर अचानक यहाँबाट हरायो र सुनियो ऊ त्यही ठिटीसित घरजम गरी बसेको छ रे । उसकी दुलही र छोरी पर्तिमा भने यहीँ तलको कोठामा नै बस्ने गर्थे । दुई-चार दिनपछि उसकी दुलही उसकोमा रुन-कराउन गएकी थिई क्यार । सायद विश्वेश्वरले उसलाई वास्ता गरेन या दुत्कारेर पठाइदियो । त्यही रात, उसकी दुलहीले यही तलको कोठामा पहिले आफ्नी कलिली छोरीलाई मारी र अनि आफैं पनि आत्महत्या गरी मरी ।”
म झसङ्ग भएर तर्से । जुरुक्क उठेँ । (हे भगवान् ! मलाई यो कथा पूरा लेख्न शक्ति देऊ ।)
घरपतिको आँखा रसाएर आएको मैले प्रस्टै देखेँ, “आमाचाहिँले मार्नुअघिको दिन मात्र पर्तिमा यहाँ माथि कोठामा आएकी थिई । कुरैकुरामा भनेकी थिई, ‘ड्याडीले हामीलाई धोका दिनुभएर के त ? म पछि गएर ड्याडीभन्दा पनि ठूलो कलाकार बन्छु । कथा लेख्ने अङ्कल हुनुहुन्छ नि, त्यही तल कोठामा डेरा गरी बस्नुहुन्थ्यो, उहाँलाई देखाउँछु म आफूले बनाएका चित्रहरू…’ कठैवरा । उसलाई आफू मारिनुपर्ने कुरा के थाहा र ? … तर अँ, एउटा कुरा – त्यसको छ महिना-जति पछि विश्वेश्वर यहाँ आएर आफ्नी स्वास्नी र छोरीको बारेमा सोधेको थियो । त्यसरी मरेको कुरो थाहा पाएपछि एक पटक जोडसित चिच्च्याएर रोएको थियो । त्यही दिन थाहा पाइयो – उसलाई कल्पना भन्ने त्यो धनी केटीले घरबाट निकालिदिई रे ।…”
“किन निकालिछ ?”
“थाहा छैन, हजुर ! … आफ्नो मन्सुबा पूरा गरिसकेकीले होला नि ।”
“अनि अचेल विशुदाइ कहाँ छन् नि ?”
“अचेल ऊ फूटपाथमा देवीदेउताका चित्रहरू बनाई जीविका टार्छ रे ।”
अनि, आज साँच्चीकै विशुदाइलाई मैले घरपतिले भनेकै अवस्थामा भेट्टाएँ । वीर अस्पतालको ठ्याम्मै अगाडि एउटा दाह्री, जुँघा, कपालले झ्याम्म छोपेको, कालोकालो वर्णको, मधिसेजस्तो देखिने कलाकार फूटपाथमा गणेश भगवान्को अत्यन्त सुन्दर चित्र रङ्गीबिरङ्गी चकहरूले कोरिरहेको थियो, त्यो चित्रको छेउतिर “कृपया मद्दत गर्नोस् !” भनी लेखिएको थियो र उनी नै मेरा विशुदाइ थिए । उनले बनाएको चित्रमा मान्छेहरू पाँच-दस पैसा चढाउँथे । मैले उनलाई निकैबेरसम्म हेरिरहेँ । अनि नजिकै गएर बोलाएँ, “विशुदाइ !”
उनले जबाफ दिनु त परै जाओस् मतिर हेर्दा पनि हेरेनन् ।
“विशुदाइ !” मैले उनको काँधमा हात राख्दै भनेँ ।
उनले पुलुक्क मलाई हेरे तर चिनेजस्तो किसिमको कुनै पनि भाव उनको अनुहारमा आएन ।
“को विशुदाइ ? मेरो नाम विशुदाइ होइन ।”
“म, मलाई चिन्नुभएन ? म तपाईंको कथाकार भाइ के त ।”
“म चिन्दिनँ ।… कसैलाई पनि चिन्दिनँ ।… म आफूलाई पनि चिन्दिनँ ।…”
यस्तै केके भने उनले । सम्भवतः उनको मस्तिष्क ठीक ठाउँमा थिएन । त्यहाँ बस्नु उचित ठानिनँ मैले । त्यसैले खल्तीबाट दस रुपैयाँको नोट निकालेर उनले बनाएको गणेशको चित्रमा चढाइदिएँ र फटाफट …
यो कथालाई ठीक यति, यस्तै अधुरो अवस्थामा मैले आज घरको पुरानो कागतपत्र खोज्दै गर्दा भेटेको हुँ । कहिले लेखेको हुँ यो कथा- त्यो मलाई निश्चित थाहा छैन । सायद डेढ वर्ष भइसक्यो यो कथा लेखेको ।
एउटा कुरा – यो कथा लेखिसकेपछि मैले विशुदाइसित सम्बन्ध राख्न धेरै प्रयत्न गरेँ । तर त्यस दिनपछि उनलाई मैले फूटपाथमा कतै पनि भेटिनँ । त्यसैले हाम्रो सम्बन्ध भाँचिएकोभाँचिएकै भयो । अहिलेसम्म विशुदाइ जीवित छन् या मरिसके – सायद कसैलाई थाहा छैन । मलाई पनि थाहा छैन ।
०००
[ यो कथा पहिलो पल्ट वि. सं. २०३७ सालमा ‘मधुपर्क’को कथा विशेषाङ्कमा प्रकाशित भएको हो ]
– संयोजक: हरिश कल्पित
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।