जब म गाउँमा हुन्थे
सबैजना आफ्ना थिए र प्रिय थिए
शहर आएपछि आफन्त हराए
गाउँमा
परका मान्छे पनि प्यारा लाग्थे
शहर आएपछि –
पल्लो कोठाको मान्छेले पनि चिन्दैन
जबकि, एकै फ्ल्याटमा बसेको दुई वर्ष भो
खुसी हराएको यो उदासी, मुहार छोपेर
खै के बसूँ यो बासी शहरमा?
गाउँमा हुँदा –
घाम, जून, आकाश,
बतास, पहाड र खोलासँग खेलिन्थ्यो
जुन दिनदेखि सहर आइयो
उसै दिनदेखि
यान्त्रिक भएको छ जिन्दगी।
जब हजूरबा र बा गाउँमै रमाए
आमा र हजुरआमा पहाडमै रमाए
मलाई चाहिँ
यो दरिद्र शहरमा किन पठाए?
जब गाउँमा थिए
रुखबिरुवासँग गफ गरिन्थ्यो
नदीकिरा दुवाली खेलिन्थ्यो
फूल, पात र वनसँग साउती गरिन्थ्यो
शहर आफैँ त भोको छ
अनिन्द्रामा बाँचेको छ,
मलाई के दिन्छ निन्द्रा र खुशी
शहर पसेदेखि बतास हिँड्न छोड्यो
फूल हाँस्न छोड्यो, घाम बोल्न छोड्यो
खै, कता गयो उडेर जिन्दगीको सुवास?
खै, कहाँ बन्धकी पर्यो मेरो पहाडी माया?
जुन दिनदेखि शहर पसे –
एउटा बासी जिन्दगी बाँच्न थाले
इमान्दारीताको दियो निभेको
एउटा अन्धकार भूतघर हो शहर ,
जहाँ मान्छेका सपनाहरूमा दिउँसै छुरी धसिन्छ।
जब गाउँमा थिए –
खुसीको इन्द्रकमल फुल्थ्यो आँखामा
कतै थाकेका बेला
जस्ले पनि एक मुठ्ठी मकै, भटमास र महि खुवाउँथे
सत्यनारायणको प्रसाद खाएर पनि पेट पालिन्थ्यो
आज सहर आफैँ महङ्गीसँग रोइरहेको छ
अरूलाई के ख्वाओस् बिचरा
नसोच साथी!
शहरले रहर पूरा गर्छ भनेर,
शहरले लिन्छ मात्रै
दिन जान्दैन!!
०००
काठमाडौं
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।