जब म गाउँमा हुन्थे
सबैजना आफ्ना थिए र प्रिय थिए
शहर आएपछि आफन्त हराए
गाउँमा
परका मान्छे पनि प्यारा लाग्थे
शहर आएपछि –
पल्लो कोठाको मान्छेले पनि चिन्दैन
जबकि, एकै फ्ल्याटमा बसेको दुई वर्ष भो
खुसी हराएको यो उदासी, मुहार छोपेर
खै के बसूँ यो बासी शहरमा?
गाउँमा हुँदा –
घाम, जून, आकाश,
बतास, पहाड र खोलासँग खेलिन्थ्यो
जुन दिनदेखि सहर आइयो
उसै दिनदेखि
यान्त्रिक भएको छ जिन्दगी।
जब हजूरबा र बा गाउँमै रमाए
आमा र हजुरआमा पहाडमै रमाए
मलाई चाहिँ
यो दरिद्र शहरमा किन पठाए?
जब गाउँमा थिए
रुखबिरुवासँग गफ गरिन्थ्यो
नदीकिरा दुवाली खेलिन्थ्यो
फूल, पात र वनसँग साउती गरिन्थ्यो
शहर आफैँ त भोको छ
अनिन्द्रामा बाँचेको छ,
मलाई के दिन्छ निन्द्रा र खुशी
शहर पसेदेखि बतास हिँड्न छोड्यो
फूल हाँस्न छोड्यो, घाम बोल्न छोड्यो
खै, कता गयो उडेर जिन्दगीको सुवास?
खै, कहाँ बन्धकी पर्यो मेरो पहाडी माया?
जुन दिनदेखि शहर पसे –
एउटा बासी जिन्दगी बाँच्न थाले
इमान्दारीताको दियो निभेको
एउटा अन्धकार भूतघर हो शहर ,
जहाँ मान्छेका सपनाहरूमा दिउँसै छुरी धसिन्छ।
जब गाउँमा थिए –
खुसीको इन्द्रकमल फुल्थ्यो आँखामा
कतै थाकेका बेला
जस्ले पनि एक मुठ्ठी मकै, भटमास र महि खुवाउँथे
सत्यनारायणको प्रसाद खाएर पनि पेट पालिन्थ्यो
आज सहर आफैँ महङ्गीसँग रोइरहेको छ
अरूलाई के ख्वाओस् बिचरा
नसोच साथी!
शहरले रहर पूरा गर्छ भनेर,
शहरले लिन्छ मात्रै
दिन जान्दैन!!
०००
काठमाडौं


