लाग्थ्यो
जिन्दगी आहा! कति रमाइलो
बिहानीको झुल्के घामजस्तो
पूर्णिमाको जुनजस्तो
लाग्थ्यो
जिन्दगी बगैँचामा फुलेको फूलजस्तो
सोच्थेँ – सिँगार्छु अब जिन्दगीलाई
रहरका इन्द्रेणी रङ्गहरूले
जब जिम्मेवारी थपिँदै गए ममाथि
ती रहरहरूलाई कच्याककुचुक पारेर
थन्काइ दिएँ पुरानो अल्मारीमा
र, बनेँ समयको ड्राइभर
ओसार्न थालेँ अनन्त यात्रीहरू
विसौनी कहिल्यै नआउने यात्रामा
ओसारिरहेँ यात्रीहरू
बनाएर आफ्नै छातीलाई मूल सडक
यात्रामा कहिले डुबेँ वेदनाको तलाउमा
कहिले ठोक्किएँ अभावको अक्करे भीरमा
ठडिएँ कहिले अवरोधका पहाड नाकै अगाडि
छिचोल्दै गएँ, पेलेर आफ्नै खुशीहरू
खै,
यात्राको कुन घुम्तीमा पो छुटे सपनाहरू?
दौडिँदा-दौडिँदै पत्तै नपाई
जिन्दगीको नक्शाबाट
थुप्रै-थुप्रै मेटिएछन् उमेरका रङ्गहरू
खाली दौडिएँ मात्रै
र दौडिरहनुलाई नै उपलब्धि ठानेँ
अझ, धर्म–कर्म सप्पै यसैलाई मानेँ
आजभोलि पो सुदूर जिन्दगीलाई फर्केर हेर्छु
कसम होला
मैले त न आफूलाई चिनेँ
न त आफूलाई किनेँ
०००
भोजपुर


