हिँड्दा हिँड्दै बाटोमा एकदिन
आँखा–आँखाको बातचीत भयो
मानौं वर्षौं–वर्षको चिनजानजस्तो
यही भेटमै पुरै कुरा गरौंजस्तो
म विस्तारै मुस्कुराएँ
लाजले धर्तीतिर हेरिन् ऊनी
त्यो लजालु मुहार उठाउनभन्दा
खै किन, अगाडि बढेनन् यी पाइला
वर्तमानमा नियमित भएको छ
नयन–नयनको वार्तालाप
सँगै थपिएको छ
दुबैको दन्तलहरको मुस्कान
हामीलाई
निकै पटक बसन्तले स्वागत गर्न खोज्यो
सूर्यले एकताको लागि ऊर्जा दिइरह्यो
पवनले निरन्तर जिस्क्याइरह्यो
तर पनि सडकको दुई किनारामै रह्यौं हामी
एकाएक एकदिन
सडकबाट आँखाको ज्योति
चाँदीको मीठो मुस्कान हराएपछि
म खोज्दैछु अहिले
आँखाको भाकामा
मुस्कानसहितको एकताको अवरोधहरू
“मौकामा चौका हान्ने” नेपाली उखानका विपरीत
समय पनि चल्दो रहेनछ
मन, मुटु र मस्तिष्कले आफैंलाई दोषी करार गरेपछि
प्रत्यक्षदर्शी समयले भन्यो:–
“मनुष्य, दोबाटोमा निर्णय नगरेपछि
जिन्दगीको यात्रामा
पछुताउनुको विकल्प रहँदैन।”
०००
भक्तपुर


