—०१
( छन्द :- शार्दूलविक्रीडित )
शीर्षक :- भान्से बनेको दिन
खै के खै नुन तेल देख्दिनँ कतै बल्दैन आगो पनि
हेरूँ चामल खै भनूँ यति भने झाेक्केर बाेल्छिन् उनी ।
आएँ खै कसरी पकाउन भनी जान्ने बने झैँ किन
साह्रै कष्ट हुने रहेछ बुझियाे भान्से बनेकाे दिन ।।
तिम्राे काम छ के भनेर घरमा ,थर्काउँदा मै कति
बेस्वादै नमिठो खनेर प्रियमा, घुर्क्याउँदा दुर्गति ।
आजै पो म पसेँ पकाउछु भनी अल्छी बनूँ के किन
साह्रै कष्ट हुने रहेछ बुझियो भान्से बनेको दिन ।।
भाँडो खै? पनियो कता छ ढकनी, सोध्दै थिएँ मै पनि
बाठो छौ रमिता ल खोज नभनी, भन्छे बरै लौ उनी ।
भाग्यो है ममता जवाफ दिन नै, जाग्दै भएकी किन
साह्रै कष्ट हुने रहेछ बुझियो भान्से बनेको दिन ।।
उत्साही मनले पसेछु पहिले, याे काल थालेँ रुँन
खुट्याई कुन लौ भुलेछु अहिले, राख्नै भुलेको नुन ।
तेर्स्याई जति नै बनेर अकडा,खाने र बस्ने दि
साह्रै कष्ट हुने रहेछ बुझियो भान्से बनेको दिन ।।
बन्नेछौ उसमा सुधार पलमा भान्से सगैँ गाथमा
खानेछौ रसमा उदार दिलमा मीठो मुखै साथमा।
मायाले सज है रचेर घरमा मेट्दै सबै दुर्जन
साह्रै कष्ट हुने रहेछ बुझियो भान्से बनेको दिन।
०००
—०२
शीर्षक :- फर्क
छन्द :- उपजाति
आऊ युवा हो सब फर्क देश
हिमाल पाखा सब खर्क लेक ।
बोलाउँदैछन् किन यी पहाड
सम्झी तराई अझ रुन्छ फाँट ।।
फुल्नेछ लाली ढकमक्क लेक
बनेर माली रच है अनेक ।
चट्टान फोर्दै पहरा फुटाऊ
यहीँ गरामा पसिना छुटाऊ ।।
सक्छौ फुलाएर सुगन्ध छर्न
हिमाल अग्ला चुचुरो उचाल्न ।
ती जीव पंक्षी सहसा बचाऊ
पहाड बस्ती हरियो बनाऊ ।।
लिलाम गर्दै पसिना जवानी
नेपाल सारा घरको कहानी ।
आनन्द छुट्टै परिवार साथ
वियोग बन्दैछ यहाँ समाज ।।
सन्तोष च्याँप्दै पहरा रसाऊ
बिचार फेर्दै जननी हँसाऊ ।
स्वरोजगारी अब मन्त्र खोज
फर्केर आऊ परको नसोच।
०००
गैँडाकोट१४ नवलपुर


