Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: मौनताभित्र | सुशीला शर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: संयोग | शर्मिला कार्की ‘शरु’ | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: दिग्भ्रमित रात | साजन विश्वकर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: मृत जेन्जीको घोषणा | असल चरित्र | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: समयको पिँजडा | मनीष गैरे | हाम्रो कथाघर

अशोज २८, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » लघुकथामा एक प्रयोग नन्दलाल आचार्यका साथमा – अंक १०

लघुकथामा एक प्रयोग नन्दलाल आचार्यका साथमा – अंक १०

लघुकथा स्तम्भ - लघुकथामा एक प्रयोग
नन्दलाल आचार्यनन्दलाल आचार्यचैत्र १०, २०८१229 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

लघुकथा क्रम:
१. लघुकथा: दृष्टिपथ ➠ लता के. सी.
२. लघुकथा: सङ्कट ➠ सत्यजीत
३. लघुकथा: चरित्र ➠ छविलाल खड्का

१. लघुकथा: दृष्टिपथ
✒ लता के. सी.

“रमा, एक कप चिया देऊ न!” पत्रिका पढिरहेका उनका श्रीमानले आँखै नउठाई फर्माए।
उनी मोबाइलमा केही पढिरहेकी थिइन्। उनलाई हतारो र चटारो थियो। देशका चर्चित अन्तर्वार्ताकारले लघुकथासम्बन्धी अन्तरवार्ताका लागि केही प्रश्नहरू लेखेर पठाएका रहेछन्। उत्तर लेख्ने क्रममा श्रीमानको कुरा नसुनेझैँ एकोहोरो लेखिरहिन्।

श्रीमान फतफताउन थाले, “पोथी बासे घर बिग्रिन्छ भन्थे, बुढापाकाले! घर व्यवहार भुलेर एकोहोरो लघुकथामा लागेर के पो गर्छु भन्ने सुर होला?”

उनले असन्तोष भावले श्रीमानतिर हेर्दै भनिन्, “हातखुट्टा भएका मान्छेले एक कप चिया पकाएर खान सक्नुहुन्न र मलाई घोचपेच गरिराखेको?”

बुढीका कुरा सुनेर रन्थनिँदै उनले भने, “मैले पकाएर खाने भए यो घरमा तेरो के काम? कहिले भात डढाएको छ, कहिले तरकारी! लघुकथा भनेपछि यसको सुर पनि कता जान्छ कुन्नि? केके न गरेको भन्ठान्दी हो!”

उनले पनि झोँकै झोँकमा जवाफ फर्काइन्, “जीवनमा सबैले आआफ्नो रुचिको काम गर्छन्। मैले पनि त्यही गरेर के बिराएँ?”

श्रीमानले झर्किंदै भने, “घरकी मूलीलाई घरको पो चिन्ता हुनुपर्छ, अनि पो घर स्वर्ग बन्छ।”

“मूर्खसँग दैव डराउनुपर्छ,” भन्ने सोचेर उनले काम रोकिन्। जसै चिया उम्लिदै थियो, उनका मनमा विगतका ज्वारभाटाहरू उम्लिदै थिए। लेखनमा तगारो, हिँडाइमा तगारो! मन अमिलो भयो, तर पनि चिया मीठो पकाएर दिइन्।

चिया पिउनुको सट्टा श्रीमान जुरुक्क उठे र उनलाई अँगालोमा बाँधेर भने, “मैले मेरी श्रीमतीलाई चिनिनछु। हार्दिक बधाई छ, बुढी!”

उनी तीन छक्क परेर श्रीमान महोदयको अनुहार पढ्न थालिन्।
उनले पत्रिकामा छापिएको एउटा समाचार देखाए।

समाचारपत्रमा उनको फोटोसहित लेखिएको थियो—
“लघुकथाको सर्वोत्कृष्ट सम्मान, रमा कार्कीलाई प्रदान गरिने!”
०००
तीनकुने, काठमाडौँ
❀❀❀

—

{ लघुसमीक्षा }
➧ लताको लघुकथा ‘दृष्टिपथ’ मा एक दृष्टि
✒ नन्दलाल आचार्य

लघुकथाकार लता के. सी. को लघुकथा दृष्टिपथ एउटा पारिवारिक वातावरणमा आधारित कथा हो, जसले नेपाली समाजमा महिलाको सृजनशीलता र पारिवारिक भूमिकाबीचको द्वन्द्वलाई उधिनेको छ। कथाले सरल र सङ्क्षिप्त संवादका माध्यमबाट मुख्य पात्र रमाले लेखन यात्रामा भोग्नुपरेका बाधा, उनका श्रीमानको सोचाइ र अन्ततः आएको परिवर्तनलाई उजागर गर्छ।

१. कथाको संरचना र प्रस्तुति

कथा पारिवारिक जीवनबाट सुरु हुन्छ, जहाँ रमाका श्रीमान् अखबार पढिरहेका छन् र उनले रमालाई चिया बनाउन आदेश दिन्छन्। तर, रमाले लेखन कार्यमा आफूलाई व्यस्त राखेको देखाउँछिन्। कथा अगाडि बढ्दै जाँदा श्रीमानको विचार प्रस्ट हुन्छ। उनी श्रीमतीको सृजनात्मक कामलाई महत्त्व दिँदैनन्।
“पोथी बासे घर बिग्रिन्छ” भन्ने भनाइले समाजमा व्याप्त पितृसत्तात्मक सोच झल्काउँछ। श्रीमानको दृष्टिकोणले रचनात्मक महिलामाथि लगाइने निराधार आरोपलाई प्रतिनिधित्व गर्छ।

तर, रमाको आत्मविश्वास झल्कने संवाद—
“हातखुट्टा भएका मान्छेले एक कप चिया पकाएर खान सक्नुहुन्न र?”
कथाको महत्त्वपूर्ण मोड हो। यसले महिलाको परम्परागत भूमिकालाई चुनौती दिने उसको स्वभाव देखाउँछ। यहाँ रमाले लेखनलाई आफ्नो व्यक्तिगत पहिचानका रूपमा ग्रहण गरेकी छन्, जसले महिलाको आत्मनिर्भरता र सृजनशीलताको प्रतिनिधित्व गर्छ।

लघुकथाको अन्त्यले नाटकीय मोड लिन्छ। श्रीमानको सोच अचानक बदलिन्छ, जब पत्रिकामा रमाले ‘लघुकथाको सर्वोत्कृष्ट सम्मान’ पाएको समाचार देख्छन्। उनको व्यवहारमा आएको परिवर्तन—पहिले हेला गर्ने, तर पछि अँगालो हालेर बधाई दिने—नेपाली समाजमा ‘मान्यता’ पाउनुको महत्त्व देखाउँछ। जबसम्म कुनै उपलब्धि देखिँदैन, महिलाको श्रम र योगदानलाई प्रायः बेवास्ता गरिन्छ यस समाजमा।

२. मुख्य विचार र सामाजिक यथार्थ

क) पितृसत्तात्मक सोचको पर्दाफास –
श्रीमानको व्यवहार समाजको ठूलो हिस्सामा विद्यमान महिला विरोधी मानसिकताको प्रतिबिम्ब हो। श्रीमतीलाई घरधन्दाको घेराभित्र सीमित राख्न खोज्नु, उसको सृजनात्मकता प्रति उपेक्षा गर्नु, अनि ‘महिला सफल भएपछि मात्र स्वीकार गर्ने’ प्रवृत्ति कथाको मूल विषय हो।

ख) महिला आत्मनिर्भरता र आत्मविश्वास –
रमाले आफ्नो इच्छाअनुसार लेखनमा लाग्ने दृढता देखाउँछिन्। उनले श्रीमानको असहयोगका बावजुद आफ्नो यात्रा रोकेकी छैनन्। यो सन्देश विशेष गरी सृजनात्मक क्षेत्रमा लागेका महिलाहरूका लागि प्रेरणादायी हुन सक्छ।

ग) समाजमा मान्यता प्राप्त गर्ने द्वन्द्व –
रमाको श्रीमानको चरित्रले देखाउँछ कि महिला प्रतिभालाई परिवारभित्रै स्वीकृति पाउन समय लाग्छ। जबसम्म उपलब्धिको प्रमाण देखिँदैन, उसको योगदानलाई बेवास्ता गरिन्छ। यो यथार्थ समाजका धेरै महिलाले भोगिरहेको स्थिति हो।

३. भाषाशैली र प्रभाव

कथामा प्रयोग भएका संवाद सरल, तर प्रभावशाली छन्। संवादहरू मार्मिक छन्, जसले पात्रहरूको स्वभाव प्रस्ट पार्छ। रमाको आत्मनिर्भरता झल्काउने संवादहरू सशक्त छन्, जबकि श्रीमानको संवाद महिलाको रचनात्मकतालाई बेवास्ता गर्ने मानसिकता दर्शाउँछ।

कथाको अन्त्य खुला व्यङ्ग्यात्मक रूपमा सकिन्छ। रमाको श्रीमानको सोचाइमा आएको परिवर्तन यति छिट्टै आएको छ कि यसले उसको वास्तविक स्वीकृति हो कि बाह्य मान्यताको प्रभाव मात्र हो भन्ने प्रश्न उब्जाउँछ। यदि रमाले सम्मान नपाएको भए, के उनको श्रीमानले उनलाई त्यही सम्मान दिने थिए?

४. निष्कर्ष

लघुकथा दृष्टिपथ नेपाली समाजमा महिला सृजनशीलताको स्वीकृति, पितृसत्तात्मक सोचाइ, र महिला संघर्षको यथार्थपरक चित्रण हो। कथाले समाजमा महिलाले कसरी आफ्नै परिवारभित्रै पनि पहिचानका लागि संघर्ष गर्नुपर्छ भन्ने देखाउँछ। कथा छोटो भए पनि यसले गहिरो सामाजिक सन्देश दिन सफल भएको छ। अन्त्य अलि बढी खुला राख्न सकिने भए पनि यसले नारी सशक्तीकरणको पक्षमा प्रभावशाली विचार प्रवाह गर्छ।
❀❀❀

—

उत्तर लघुकथा: अनुहार
✒ नन्दलाल आचार्य

“कति वर्ष लाग्छ र आफ्नै श्रीमती चिन्न?” रमाले श्रीमान्को अनुहार नियालिन्।
उनको आँखामा गर्व थियो, तर परेलाभित्र कतै पछुतो लुकेको थियो। निधारमा तनावका हल्का रेखाहरू थिए, ओठ मुस्कुराएका थिए, तर त्यो मुस्कान आत्मस्वीकृतिको झिनो झिल्को मात्र थियो।

“बधाई छ!” श्रीमानले भनिहाले, “तर घरको कामलाई पनि…”

रमाले गहिरो नजरले हेरिन्, “जब उज्यालोले छायालाई पन्छाउँछ, अनुहार प्रस्ट देखिन्छ।”

श्रीमान झसङ्ग भए। उनले सम्झिए— रमाका लेखाइका रातहरू, उनको असहयोग, झर्को र आलोचनाहरू। आज त्यही लेखाइले सम्मान दिलायो।

उनले चिया उठाएर एक घुट्की लिए। रमाले मुस्कुराउँदै भनिन्, “यो चियाजस्तै, सङ्घर्ष पनि विस्तारै मीठो हुन्छ, हैन र?”
❀❀❀

—

२. लघुकथा: सङ्कट
✒ सत्यजीत

“बचाऊ! अपहरण गर्दैछन्!”
युवतीको चिच्याहट सुनियो।

सुनसान सडक। साँझको निस्पट अँध्यारो। एक्कासि कराउने आवाजले माहोल तरंगित।

मानिसहरूको भीड जम्न थाल्यो। दुईजना युवकले जबर्जस्ती कारमा हाल्न खोज्दै थिए।

“छोड्देऊ! प्रहरीलाई खबर गर!” — एकजना वृद्ध ठूलो स्वरमा चिच्याए।

एक्कासि प्रहरीको साइरन सुनियो। युवकहरू छाडेर भागे।

प्रहरीले युवतीलाई सोध्यो, “के भयो?”

युवतीले निर्धक्कसाथ भनी, “मेरा आफ्नै दाजुभाइ हुन्। घर जाऊँ भनेर जबर्जस्ती गरे। म प्रेमीको साथ भाग्न चाहन्थें।”

भीड स्तब्ध। वृद्धले लामो सास फेरे।

“कसको रक्षा गर्ने? प्रेमको कि परम्पराको?” — उनी मनमनै सोच्न थाले।
०००
ललितपुर
❀❀❀

—

{लघुसमीक्षा}
➧ सत्यजीतको लघुकथा ‘सङ्कट’ मा एक दृष्टि
✒ नन्दलाल आचार्य

सत्यजीतको लघुकथा सङ्कट छोटो तर प्रभावशाली कथात्मक संरचनामा प्रस्तुत भएको छ। कथाले नाटकीय मोडको माध्यमबाट पाठकलाई चकित पार्ने शैली अपनाएको छ, जसले यो लघुकथालाई थप प्रभावशाली बनाएको छ।

१. शिल्प र शैली

कथाको प्रारम्भ “बचाऊ! अपहरण गर्दैछन्!” भन्ने नाटकीय संवादबाट हुन्छ। यसले तुरुन्तै पाठकलाई कथाभित्र तान्छ। संवादमूलक शैली, सङ्क्षिप्त वर्णन, र एकपछि अर्को द्रुत गतिमा आउने घटनाहरूले कथालाई सङ्क्षिप्त भए तापनि निकै जीवन्त बनाएको छ।

लेखकले वर्णनभन्दा क्रियाकलापलाई प्राथमिकता दिएका छन्, जसले कथा पढ्दा तत्कालीन माहोलको स्पष्ट आभास दिन्छ। “सुनसान सडक। साँझको निस्पट अँध्यारो।” जस्ता छोटा वाक्यहरूले दृश्यात्मक प्रभाव सिर्जना गर्छन्।

२. थीम र द्वन्द्व

कथामा संस्कृति र प्रेमबीचको टकराव प्रमुख द्वन्द्वका रूपमा देखिन्छ। प्रेमका कारण घर छोड्न चाहने युवती र उनलाई रोक्न खोज्ने दाजुभाइको सङ्घर्षले परम्परागत सोच र व्यक्तिगत स्वतन्त्रताको द्वन्द्वलाई उजागर गर्छ।

तर, यहाँ मुख्य रूपमा समाजको भूमिका र निर्णय गर्ने असमञ्जसतालाई देखाइएको छ। वृद्ध पात्रको अन्तिम विचार — “कसको रक्षा गर्ने? प्रेमको कि परम्पराको?” — कथाको सार हो। यसले नेपाली समाजमा विद्यमान मानसिकतासँग पाठकलाई साक्षात्कार गराउँछ।

३. चरित्र चित्रण

क) युवती — ऊ स्वतन्त्रता चाहन्छे, प्रेमको पक्षमा उभिन्छे। ऊ निर्धक्क प्रहरीलाई वास्तविकता बताउँछे, जसले उसको आत्मविश्वास झल्काउँछ।
ख) युवकहरू — उनीहरूको नियत नकारात्मक हो कि उनीहरू दाजुभाइ मात्र हुन् भन्ने अन्योलपूर्ण हुन्छ।
ग) वृद्ध व्यक्ति — समाजको प्रतिनिधि पात्रका रूपमा प्रस्तुत छन्, जसले परम्परा र प्रेमबीचको द्वन्द्वलाई मनमा लिएर प्रश्न गर्छन्।

४. कथाको बलियो पक्ष

क) संवादप्रधान कथा — सस्पेन्स सिर्जना गर्न र गतिशीलता ल्याउन संवादहरू प्रभावशाली छन्।
ख) मनोवैज्ञानिक प्रभाव — अन्त्यले पाठकलाई सोच्न बाध्य पार्छ।
ग) छोटो तर प्रभावशाली संरचना — कम शब्दमा गहिरो विषय उठान गरिएको छ।

५. सुधार गर्न सकिने पक्षहरू

युवतीको चरित्रमा अलिकति पृष्ठभूमि थपिएको भए, पाठकलाई उसको अवस्थासँग अझ बढी सम्बन्ध स्थापित गर्न सजिलो हुन्थ्यो।

वृद्ध पात्रको अन्तिम द्विविधामा थोरै विस्तार भएको भए, कथाले अझ बढी भावनात्मक र मनोवैज्ञानिक असर पार्न सक्थ्यो।

६. निष्कर्ष

लघुकथाले समाजमा विद्यमान यथार्थता उजागर गर्ने काम गरेको छ। परम्परा, कर्तव्य, र प्रेमबीचको द्वन्द्वलाई सरल तर गहिरो तरिकाले प्रस्तुत गर्ने सफल प्रयास हो। अन्त्यमा उठाइएको प्रश्न पाठकको मनमा खुला तरिकाले छोडिएको छ, जसले कथालाई अझ प्रभावशाली बनाउँछ।

सारमा, सङ्कट लघुकथा कम शब्दमा ठूलो प्रभाव पार्ने उत्कृष्ट उदाहरण हो।
❀❀❀

—

उत्तर लघुकथा: छायाँ
✒ नन्दलाल आचार्य

“साँच्चै भन्नू, के तिमी सुरक्षित थियौ?”

वृद्धको आवाज कठोर थियो। भीड छरपस्ट भयो, केही बेरमै सडक शून्य बन्यो।

“सुरक्षित? प्रेममा?” युवती हाँसिन्, “जबर्जस्ती घर लैजाँदा सुरक्षित भइन्थ्यो त?”

वृद्धले गहिरो नजरले हेरे, “तर समाजलाई?”

युवतीले सडकको छायाँतिर हेर्दै भनिन्, “समाजलाई अँध्यारोले मात्र थिचेको छ। म त्यसको उज्यालो खोज्दै छु।”

वृद्ध मौन रहे। उनले आफ्नी छोरी सम्झे — जसले प्रेम त्यागी परम्परालाई रोजेकी थिई। तर, खुसी कहिल्यै देखिएन उनको आँखामा।

सडकको बत्ती झिलिमिली चम्कियो। युवती ढुक्क हुँदै अघि बढिन्। वृद्ध हेर्दै रहे।

एक छायाँ मनभरि बिझिरह्यो — “तर, छायाँले कहिल्यै उज्यालो भेट्न सक्छ र?”
❀❀❀

—

३. लघुकथा: चरित्र
✒ छविलाल खड्का

ऊ राजधानीको सुकुम्बासी हो।

सार्वजनिक जग्गा अतिक्रमण हटाउने सूचना जारी गर्‍यो, महानगरले।
उसले महानगरको कदम विरुद्ध मोर्चाबन्दी गर्‍यो। सबै सुकुम्बासीलाई गोलबन्द गर्‍यो। “गाँस, बास र कपास” जस्ता मौलिक अधिकारका बारेमा पण्डित्याइँ छाँट्यो। सबैले “हो मा हो” थपे।

सुकुम्बासीहरुमध्ये एकले भन्यो—
“हामी कहाँ तुँडीखेलमा बसेका छौं र? खोला किनारामा पनि बस्न नपाउनु!”

महानगरले सूचना अनुसार सार्वजनिक जग्गा खाली गर्न टोली पठायो।
उनीहरूले अवरोध गरे। झडप भयो। स्थिति तनावग्रस्त बन्यो।

मध्यस्थताको रोहवरमा विवरण टिपियो।
उनीहरूले पालैपालो विवरण टिपाए। विवरणको सार यस्तो थियो—
“हामी सुकुम्बासी हौं। हामीसँग साँझ खायौं भने बिहान के खाने, बिहान खायौं भने साँझ के खाने? भन्ने पीडाले थिचेको छ। यसैमा उठिबास! यो कस्तो न्याय हो?”

छलफल सकिएन। भेला स्थगित भयो।

साँझ हाँडी घोप्टे पानी पर्‍यो। धनजनको निकै क्षति भयो। जनजीवन अस्तव्यस्त बन्यो।
सुकुम्बासीहरू महानगरमा डेलिगेशन गए।

सुकुम्बासीका नेताले आफ्नै क्षतिको विवरण टिपायो—
“सुनचाँदीका गहना र नगदसहित खाद्यान्न तथा लत्ताकपडा सबै बाढीले बगायो।”

०००
कोहलपुर
❀❀❀

—

{ लघुसमीक्षा }
➧ छविलालको लघुकथा ‘चरित्र’ मा एक दृष्टि
✒ नन्दलाल आचार्य

छविलाल खड्काद्वारा लिखित लघुकथा ‘चरित्र’ सामाजिक, आर्थिक तथा नैतिक प्रश्नहरूको सेरोफेरोमा घुमेको छ। कथाले नेपालको शहरीकरण, सुकुम्बासी समस्या, राज्यसत्ता र निमुखा वर्गबीचको द्वन्द्वलाई व्यङ्ग्यात्मक तर तीखो रूपमा प्रस्तुत गरेको छ।

१. विषयवस्तु र सन्देश

कथाको मूल विषय सुकुम्बासी समस्या हो, जुन नेपालको शहरी क्षेत्रमा ठूलो विवादको रूपमा देखापर्ने गरेको छ। राजधानीको सार्वजनिक जमिनमा बसेका सुकुम्बासीहरूलाई हटाउन महानगरपालिकाले सूचना जारी गर्छ।

यसको विरोधमा सुकुम्बासीहरू “गाँस, बास, कपास” को नारा लिएर एकजुट हुन्छन्। उनीहरूको माग सरल छ— जीविकोपार्जनको अवसर नपाएका जनतालाई आश्रय दिनुपर्छ।

तर, कथाले घटनाको ट्विस्टमार्फत सुकुम्बासीहरू स्वयंले प्रस्तुत गर्ने ‘विपन्नता’ को कथ्यलाई प्रश्नचिह्न लगाउँछ। बाढीपछि उनीहरूले “सुनचाँदीका गहना र नगद” गुमाएको रिपोर्ट दिन्छन्, जसले पाठकलाई सोच्न बाध्य बनाउँछ—
के सबै सुकुम्बासी साँच्चै विपन्न छन्? कि केही व्यक्तिहरू यसलाई राजनीतिक अस्त्र र फाइदाको माध्यम बनाइरहेका छन्?

२. चरित्र निर्माण

कथामा मुख्य पात्र “ऊ” सुकुम्बासी समुदायको नेता वा अगुवा हो। उसले राज्यसत्ताको नीतिको विरोध गर्छ, सुकुम्बासीहरूको तर्फबाट आवाज उठाउँछ। ऊ ‘गाँस, बास, कपास’ जस्ता आधारभूत अधिकारको वकालत गर्छ।

तर, कथा अन्त्यतिर आएर उसको वास्तविकता खुल्छ— ऊ साधारण सुकुम्बासी नभई स्वार्थी, मौकापरस्त र प्रपञ्चबाज व्यक्ति हो।

सुकुम्बासी समूहका अन्य सदस्यहरू सामूहिक रूपमा देखिए तापनि पृष्ठभूमिमा रहने पात्रहरू हुन्। तिनीहरूले महानगरको कदमलाई अन्याय ठान्छन्, तर तिनकै नेताले अन्ततः पृष्ठभूमिमा स्वार्थ लुकेको देखाउँछ।

३. भाषा र शैली

कथाको भाषा सरल, तर व्यङ्ग्यात्मक छ। संवादहरू छोटा छन्, जसले यथार्थपरक प्रभाव पार्छ।

विशेष गरी “हामी कहाँ तुँडीखेलमा बसेका छौं र?” भन्ने संवादमा सामाजिक विडम्बना झल्किएको छ। टुँडीखेल— जुन सरकारद्वारा सुरक्षित क्षेत्र हो, त्यससँग आफूहरूलाई तुलना गरेर सुकुम्बासीहरूले आफ्नो पीडा देखाउन खोज्छन्।

कथाले व्यङ्ग्यात्मक प्रस्तुति अपनाएको छ, जुन अन्त्यमा स्पष्ट हुन्छ। “सुनचाँदीका गहना र नगद” बाढीले बगाएको कथनले पाठकलाई अचम्मित मात्र गर्दैन, कथ्यमा रहेका गम्भीर विसङ्गतिहरूलाई उजागर गर्छ।

४. शैलीगत विश्लेषण

कथाको सुरुवात गम्भीर र यथार्थपरक छ।
राज्यसत्ताको दमनकारी व्यवहार र गरिब जनताको सङ्घर्ष प्रमुख विषयझैं लाग्छ। तर, अन्त्यमा कथा सस्पेन्स खुल्ने जस्तो गरी समाप्त हुन्छ, जसले कथा व्यङ्ग्यात्मक मोड लिन्छ।

क) संवादप्रधान शैली –
कथामा ठूला विवरणहरू छैनन्, तर संवादमार्फत सन्देश दिन खोजिएको छ।

ख) विसङ्गति-प्रधान व्यङ्ग्य –
कथा सुकुम्बासीहरूको वास्तविक समस्याबाट सुरु भए पनि अन्त्यमा उनीहरूको कथनमै रहेको विसङ्गति उजागर गर्छ।

ग) सङ्केतात्मकता –
कथाले “सुनचाँदीका गहना” भन्ने प्रसङ्गमार्फत नेपालका केही सुकुम्बासी आन्दोलनहरूमा हुने आर्थिक राजनीति र भ्रष्टाचार माथि सङ्केत गर्छ।

५. लघुकथाको प्रभावकारिता

कथा छोटो छ, तर गहिरो सन्देश बोकेको छ।
यसको कथ्य, चरित्र र व्यङ्ग्य निकै प्रभावशाली छन्। विशेष गरी, अन्त्यले पाठकलाई सोच्न बाध्य पार्छ।

तर, कथामा केही पक्ष थप बलियो बनाउन सकिन्थ्यो—

“ऊ” पात्रको मनोदशा वा पृष्ठभूमि अलि बढी स्पष्ट पार्न सकिन्थ्यो।

सुकुम्बासी समुदायकै केही वास्तविक दुःखहरू थपिएमा कथाको प्रभाव झन् बलियो हुन्थ्यो।

६. निष्कर्ष

छविलाल खड्काको “चरित्र” केवल सुकुम्बासी समस्यामाथि मात्र होइन, नेपालको सामाजिक-राजनीतिक संरचनामा व्याप्त स्वार्थ, प्रपञ्च, र भित्री विसङ्गतिहरू उजागर गर्ने सशक्त कथा हो।

यो कथा पाठकलाई गम्भीर रूपमा सोच्न बाध्य पार्छ—
के सुकुम्बासी समस्या साँच्चिकै सामाजिक अन्यायको परिणाम मात्र हो, कि कतिपयले यसलाई राजनीतिक अस्त्रका रूपमा प्रयोग गरिरहेका छन्?

यसको व्यङ्ग्यात्मक प्रस्तुति, सङ्क्षिप्त तर गहकिलो संरचना, र अप्रत्याशित मोडले कथा अत्यन्तै प्रभावशाली बनेको छ।
❀❀❀

—

उत्तर लघुकथा: पश्चात्ताप
✒ नन्दलाल आचार्य

“सुकुम्बासीको नेता तपाईं नै हुनुहुन्छ?”

“हो, म नै।”

“सुन, चाँदी, नगद! अनि तपाईं सुकुम्बासी?”

महानगरका प्रतिनिधिको प्रश्नले सुकुम्बासी नेता असिनपसिन भयो। भीडका आँखा उसैलाई घुरिरहेका थिए। सुकुम्बासीहरूको अनुहारमा अचम्मको भाव देखियो।

“हो, मैले ढाँटेको थिएँ। म सुकुम्बासी होइन।”

ऊ घुँडा टेक्दै थरथर काँप्यो—
“सार्वजनिक जग्गा मकैबारी ठानेर जोतें, झुटका बिरुवा रोपें, लोभका मुढा उठाएँ।”

भीड स्तब्ध भयो। कसैले मुख खोल्न सकेन।

छेउमै उभिएकी एउटी वृद्धाले अगाडि बढेर भनिन्—
“तँ त हाम्रा पीडाको मलामी बनेको रहेछस!”

ऊ निःशब्द भयो। आकासको कुहिरोजस्तै भासिँदै गयो।

महानगरका प्रतिनिधिले फाइल उल्टाउँदै भने—
“झुटको गाँठो खुल्नै पर्छ, चाहे ढिलो होस् या छिटो!”

०००
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल।
❀❀❀

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नन्दलाल आचार्य लघुकथामा एक प्रयोग

यो पनि पढ्नुहोस्...

लघुकथामा एक प्रयोग | अङ्क २२ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क २१ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा अङ्क: १६ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क २० | नन्दलाल आचार्य | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क – १९ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: १५ | किशन पाैडेल | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

कथा: मरणासन्न | रासा | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा अङ्क: १६ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क २० | नन्दलाल आचार्य | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भर्खरै

कविता: मौनताभित्र | सुशीला शर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: संयोग | शर्मिला कार्की ‘शरु’ | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: दिग्भ्रमित रात | साजन विश्वकर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: मृत जेन्जीको घोषणा | असल चरित्र | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: समयको पिँजडा | मनीष गैरे | हाम्रो कथाघर

अशोज २८, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.