सुप्रभादेवी जोडदार आवाजमा भाषण गर्दै थिइन्। सबैजना तिनको भाषणमा मन्त्रमुग्ध भएर सुनिरहेका थिए। अन्तमा तिनले भाषणको अन्त गर्दै भनिन्—
“यसर्थ, म के भन्न चाहन्छु भने छोरी पनि छोरा समान हुन्। यदि छोरोको पैतृक सम्पत्तिमा कानूनी हक लाग्छ भने, छोरीको पनि अवश्य लाग्नुपर्छ। किनभने छोरा-छोरी एकै बाबु-आमाका सन्तान हुन्। कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन। त्यसैले छोरी पनि छोरा सरह समान अंशकी हकदार हुन्। छोरीले पनि छोरा सरह अंश पाउनै पर्छ! पाउनै पर्छ!!”
तालीको गड्गडाहटले सभा गुञ्जायमान भयो। सबैले तिनको भाषणलाई मन्त्रमुग्ध कण्ठले प्रशंसा गरे। तिनी हर्षले विभोर भइन्। चारैतिर नजर सरसर्ती दौडाइन्। सबैजना तिनलाई नै प्रशंसायुक्त नजरले हेरिरहेका थिए। तिनी गर्वले मदमस्त भइन्। तीन जना जवान छोराहरूको अनुहार सम्झेर मनमनै प्रफुल्ल भइन्। सभा (गोष्ठी) सकियो, सबै आ-आफ्नो घरतर्फ लागे।
सुप्रभादेवी पनि हतारिँदै घरतर्फ पाइला बढाउँछिन्। नाडीमा बाँधिएको घडी हेर्छिन्—
“ओहो! ६ बजिसकेछ। हत्तेरिका! धेरै ढिला पो भइयो।”
मनमनै गुन्छिन्। छिटो-छिटो पाइला बढाउँछिन्।
“हैन, तिमीलाई भाषण गर्न पाएपछि सबै कुरा भुल्छौ कि क्या हो?” योगनाथ अलि रिसाएको अभिनय गर्दै भन्छन्।
सुप्रभादेवी लोग्नेको व्यंग्यप्रति वेवास्ता गर्दै भन्छिन्, “पण्डित आइसक्यो?”
“हजुरलाई भेट्न एक घण्टा अघिदेखि नै प्रतीक्षा गरेर बसिरहनु भएको छ। आखिर नेताजीलाई भेट्न पनि कहीँ सजिलो हुन्छ र?”
सुप्रभादेवी लोग्नेको तिखो व्यंग्यवाणको प्रतिक्रिया स्वरूप अहंकारपूर्ण स्वरमा हुंकार छोडी बैठकतर्फ सरासर पस्छिन्। लोग्ने अचम्म पर्दै हेरिरहन्छ।
“नमस्कार, हजुर!” अलि बूढी-बूढो, ख्याउटे मान्छे काउचबाट उठेर अभिवादन गर्छ।
“नमस्कार! नमस्कार! बस!” गर्वले मदमस्त हुँदै सुप्रभादेवी भन्छिन्।
“हस्, हजुर!” भन्दै उक्त व्यक्ति काउचमा थचक्क बस्छ।
“खै, फोटो ल्यायौ त, पण्डित?” सुप्रभादेवी आफू पनि काउचमा थचक्क बस्दै भन्छिन्।
पण्डित झोलाबाट फोटो निकाल्दै भन्छ, “ल्याएँ, हजुर! सुयेशबाबुलाई साह्रै सुहाउँछ।” फोटो सुप्रभादेवीतर्फ तेर्साउँछ। तिनी पनि पण्डितबाट फोटो हातमा लिन्छिन् र निरीक्षण गर्न थाल्छिन्।
“अँ, राम्री रहिछ! कतिको हुने खाने छिन्? मेरो मतलब! हेर, पण्डित, मोही माग्नु, ढुंग्रो लुकाउनु जस्तो कुरो के लुकाउनु! यिनको बाबुले कति दिन सक्छन् त?”
प्रश्नवाचक दृष्टि पण्डिततर्फ फ्याँक्छिन्। पण्डित एकछिन त अक्मकिन्छ। फेरि आफैंलाई सम्हाल्दै भन्छ, “हुने खाने नै छ, हजुर। दाइजोको त हजुरले चिन्तै लिनु पर्दैन। प्रशस्तै दिन्छन्। फेरि एउटै छोरी!” अलि जोड दिँदै भन्छ।
“ल! पण्डित, कस्तो कुरा गर्छौ तिमी! दाइजो जावो त जसले पनि दिन्छन् नि छोरीलाई! के ठूलो कुरो भो र भन्या?” लामो लेघ्रो तान्छिन्। फेरि हातमा रहेको युवतीको फोटोतर्फ औँल्याउँदै भन्छिन्, “मेरो मतलब, अंश कति दिन सक्छन् यिनका बाबु-आमाले? कति दाजुभाइ छन् यिनको? कुरै बुझ्दैनौ, पण्डित, तिमी पनि!” अलि झर्किन्छिन्।
“हजुर, तीन दाजुभाइमात्र हो।” पण्डित अन्कनाइ-अन्कनाइ जवाफ दिन्छ।
सुप्रभादेवी तस्वीर फ्याट्ट भुइँमा फ्याँक्दै भन्छिन्, “त्यसो भए यिनी मेरो छोरोका लागि योग्य रहेनछिन्। मेरो छोरोका लागि त यी दाजुभाइ धेरै भएको घरको केटी नै हुँदैन, बुझ्यौ पण्डित!” ठूला-ठूला आँखा नचाउँछिन्।
विचरा पण्डित निराश हुन्छ। केटी मिलाइ दिएर विवाह गराउन पाएमा आफूले गहकिलो उपहार पाउने लोभमा डुबेका पण्डितको अनुहारको रङ परिवर्तन भई मलिन देखिन्छ। के गर्ने, के नगर्ने द्विविधामा पर्छ। र, अगाडि भित्तामा टाँसिएको सुप्रभादेवीको ओजस्वीपूर्ण व्यक्तित्वले भरिएको ठूलो तस्वीरमा एकसुरले हेर्न थाल्छ।
“के भयो, पण्डित?”
यो सोधाइले पण्डित झसङ्ग झस्कन्छ। हत्तपत्त झोलाभित्र केही खोजेझैँ हेर्न थाल्छ। एकैछिनमा फेरि अर्की युवतीको फोटो निकाल्छ। एकछिन आफैं हेर्छ। अनि, अलि संकोचले उक्त फोटो सुप्रभादेवीतर्फ तेर्स्याउँछ।
सुप्रभादेवी उसको हातबाट फोटो लिन्छिन्। एकछिन फोटोमा नजर गाड्छिन्।
“यी त डेढी रहिछिन् नि?” प्रश्नवाचक नजर पण्डिततर्फ फ्याँक्छिन्।
“हो, हजुर। केटी अलिक डेढी छिन्। तर…” पण्डित अलि हिच्किचाएजस्तै गर्छ, “हजुर, प्रशस्त सम्पत्तिवालकी छोरी! फेरि यिनको दाजुभाइको नाममा सिर्फ एउटा भाइ छन्। यिनीबाट चाहिँ हजुरलाई दाइजो संगसंगै अंश पनि पाइन्छ।”
सुप्रभादेवीको अनुहार निहाल्न पुग्छ। उनी एकछिन घोरिन्छिन् अनि लोभी नजरले पण्डिततर्फ हेर्छिन्। केही सोचेजस्तो गर्छिन्।
पण्डितलाई उकुसमुकुस हुन्छ। काम बन्ला कि नबन्ला भन्ने पीरले सताउँछ। सुप्रभादेवीको अनुहारको भाव पढ्ने चेष्टा गर्दै सोध्छ, “के भो, हजुर? यो पनि मन परेन कि?”
सुप्रभादेवी झस्किन्छिन्। फेरि फोटोलाई गहिरिएर निहाल्छिन्।
“ल! ल! पण्डित, धेरै के हेर्नु! सुयेशको लागि यही ठीक छ।” फेरि पण्डिततर्फ हेर्दै सोध्छिन्, “हुन्न र? भन्या?”
पण्डित अक्कमक्क पर्छ।
“अलिक डेढी रहिछिन्। तर… गजबकी राम्री रहिछिन्। लक्षणकी होली जस्ती छिन्। कसो ए, पण्डित? ल! ल! यही ठीक छ, कुरा चलाऊ!” आदेश दिन्छिन्।
पण्डित मख्ख पर्छ, काम बनेकोमा। फेरि केही हच्किएझैँ गरी भन्छ, “मलाई पनि हजुरबाट केही निगाह…”
पण्डितको कुरा बीचमै काट्दै सुप्रभादेवी हल्का व्यंग्यमिश्रित मुस्कान छोड्छिन्, “ल! ल! पण्डित, तिमी पनि कस्तो लोभी भा’को? पहिले काम त बनाऊ, अनि भै हाल्छ नि! वाहुनहरू लोभी हुन्छन् भन्या साँच्चिकै रहेछ!” काउचबाट सुस्तरी उठ्छिन्।
पण्डित पनि संकोचवश, “हस्, हजुर,” भन्दै झोलामा फोटोहरू राखी काउचबाट विस्तारै उठ्छ।
“लौ, आज पनि ढिला भयो। हत्तेरिका! के गर्नु, जहाँ पनि म नगई हुँदैन।” घडी हेर्छिन्। “ओहो! ६ बजिसकेछ। के गर्नु, यो अंशसम्बन्धी विधेयक पारित (पास) नहुन्जेलसम्म त साह्रै खट्नु पर्छ बा! यी पुरुषवर्गले पनि साह्रै पेलेका छन् हामी महिलाहरूलाई। ऐन-कानून त बनोस् न, अनि जान्या छौँ। वास्तवमा, हामीहरू आफैँ कमजोर भएर न हो, यिनीहरूले पेलेका। शारीरिक रूपमा पुरुष बलियो छ भने हामी महिला पनि मानसिक रूपमा उनीहरूभन्दा दोब्बर बलिया छौँ क्यारे।”
“हैन! सुप्रभादेवीज्यू, कहाँ हराउनु भयो तपाईं? अब भाषण गर्ने तपाईंको पालो आयो।”
तिनी झसङ्ग झस्किन्छिन्। नजिकै रमादेवी मुस्कुराइरहेकी हुन्छिन्।
“हैन, मलाई आज अलि हतार छ, रमादेवीज्यू।”
“ठीकै छ नि, दुई शब्द त बोली दिनुहोस्। तपाईंले नबोलेको खण्डमा यो सभा नै खल्लो भइहाल्छ नी!” मुस्कुराउँदै भन्छिन्।
सुप्रभादेवी बिस्तारै मेचबाट उठ्छिन्। सरासर मञ्चतिर पाइला बढाउँछिन्।
“अब आउँदै हुनुहुन्छ, महिला हकहित संरक्षणका अध्यक्षज्यू श्रीमती सुप्रभादेवी!”
तालीको गड्गडाहटले सभा भवन गुञ्जायमान हुन्छ। तिनी गर्वित भावले चारैतिर नजर दौडाउँछिन्। अनि माइक हातमा लिई धाराप्रवाह बोल्न थाल्छिन्। चारैतिर सन्नाटा छ—सिर्फ तिनकै आवाजले मात्र सभास्थल थर्किन्छ।
सबैजना मन्त्रमुग्ध भई सुनिरहन्छन्। अन्त्यमा, आफूलाई आज निकै हतार परेकोले क्षमा माग्दै भन्छिन्—
“महिलाहरूको उन्नतिपथमा जहिले पनि पुरुषवर्गले तगारो राख्दै आएका छन्। तर हामी आज एक्काइसौँ शताब्दीका महिलाहरू पुरुषभन्दा कुनै पनि कुरामा कम छैनौं। अझ भनौं भने, पुरुषवर्गभन्दा हामीहरू धेरै कुरामा अगाडि छौँ। त्यसैले छोरा-छोरीमा भेदभाव नराखी समान अधिकार पाउनु पर्छ। जसरी छोरोले पैतृक सम्पत्तिबाट अंश पाउँछ, उसैगरी छोरीले पनि पाउनु पर्छ। अनि मात्र छोरी-चेलीको उद्धार हुन्छ। तब मात्र महिलाहरूले सुख-शान्तिले सास फेर्न सक्छन्। हामी छोरी-चेलीको हक-अधिकार दिलाएरै छाड्छौँ! छोरीले पनि अंश पाउनै पर्छ! पाउनै पर्छ!!”
तालीको गड्गडाहटले सभास्थल थर्किन्छ। सुप्रभादेवी मनमनै प्रफुल्ल हुन्छिन्। विस्तारै मञ्चबाट बिदावारी भई बाहिर निस्किन्छिन्। हतार-हतारमा ट्याक्सी रोक्छिन्। हतारिँदै ट्याक्सीभित्र चढ्छिन्।
“बानेश्वर जाऊँ।”
ट्याक्सी सरर … अगाडि बढ्छ। पुनः घडी हेर्छिन्—
“ओह! सात बजिसकेछ!”
हत्तेरिका! धेरै ढिलो पो भयो। झन् आज केटी हेर्न जाने कुरा मिलाइएको थियो। ६ बजेको समय दिएका थियौँ, तर यहाँ सात बजिसक्यो! लोग्ने र छोराहरू मेरै बाटो पर्खिरहेका होलान्।
मनमनै पछुताउँछिन्।
“के गर्ने! बोल्न थाल्यो भने समय गएको पत्तै पाइँदैन रहेछ। साह्रै गाह्रो रहेछ, समाजसेवा गर्न पनि! आफ्नो काम लथालिङ्ग पारेर पनि गर्नु परेको छ। के गर्ने, त्यसै सजिलो छ र, समाजसेवी बन्न? तर पनि कोही कुरै बुझ्दैनन्, के गर्ने?”
तर, सुयेशलाई केटी हेर्न जाने बारे थाहा छ कि छैन? केही कुरा गर्न पाइएकै छैन। सुजन र सुदीपलाई त मैले हिजो नै भनेकी थिएँ। खै! तिनीहरूले दाजुलाई भने कि भनेनन्?
अहिले बिहे गर्दिन रे!” पण्डितले भन्थ्यो। विचरा, पण्डितलाई खुवै झपारेछ! कस्तो रातो मुख लाउँदै मलाई भन्थ्यो!
त्यस्तै त हो नि, आजकलका केटाहरू! मुखले “बिहे गर्दिन” भन्छन्, तर मनमनै भने “कहिले बिहे होला?” भनेर कल्पना गरिरहन्छन्।
हैन, त्यस्तो अंशै दिने केटी पनि गुमाउनु हुन्छ भन्या! यी आजकलका अल्लारे ठिटाहरूलाई के थाहा यस्ता कुरा? यिनीहरूले जिन्दगीको बारेमा केही बुझेकै छैनन्।
“आ! जेसुकै होस्, त्यही केटी बिहे गर्नुपर्छ। बरु, घर-जग्गा के-के दिन्छ, पहिले नै पण्डितमार्फत बुझ्नु पर्छ।”
त्यसले “बिहे गर्दिन” भनेर सुख पाउँछ र भन्या! मेरो अगाडि केही बोल्ने हैन! खाली बाबुको अगाडि गयो, खुसुखुसु कुरा गर्यो! बाबु पनि त्यस्तै छ, राजा हरिश्चन्द्रको छोरा बन्न लायकको! अहिलेको जमानामा पनि त्यस्तो सिधासाधा भएर काम चल्छ र?”
मनमनै आक्रोश व्यक्त गर्छिन्।
“लौ! हजुर, बानेश्वर आइपुग्यो।”
यो आवाजले तिनको तन्द्रा भङ्ग हुन्छ। आफूलाई समाल्दै भन्छिन्—
“ऊ, त्यो रातो घर अगाडि रोक्नु!”
हातले इशारा गर्दै देखाउँछिन्। ट्याक्सी निश्चित ठाउँमा पुगेर रोकिन्छ। तिनी ड्राइभरलाई पैसा दिई हत्तारिँदै ओर्लिन्छिन्। सरासर घरभित्र पस्छिन्। बैठकमा सबैजना गललल्ल हाँसिरहेको आवाज सुन्छिन्। तिनी आवाज आएकोतर्फ तानिँदै जान्छिन्।
“तेरो मम्मीले देखी भने मुर्छा पर्छे! हा! हा!! हा!!!” गरेर हाँस्दै योगनाथ भनिरहेका हुन्छन्। तिनी अचम्म पर्छिन्। मन एकतमासले धड्किन्छ।
बैठकको ढोका बिस्तारै खोल्छिन्। चारैतिर नजर दौडाउँछिन्। काउचमा योगनाथ र छोराहरू—क्रमैसँग सुजन, सुदिप, र सुयेश—सँगै एउटी अपरिचित युवती देख्छिन्।
तिनी आएको योगनाथले थाहा पाउँछन् र पुलुक्क हेर्दै भन्छन्, “ओहो! सुप्रभा कति ढिलो गरेकी।” मुस्कुराउँदै भन्छन्, “आउ तिमीलाई एउटा सरप्राइज दिन्छु।”
काउचबाट उठ्दै सुप्रभादेवीतर्फ लम्कन्छन् र सुप्रभादेवीको हात समाउँदै डोऱ्याउँछन्। तिनी यन्त्रवत् अगाडि बढ्छिन्। छोराहरू तिनलाई हेरी मुस्कुराइरहेका हुन्छन्।
“ईला, यिनी सुप्रभादेवी, मेरी धर्मपत्नी,” जिस्किँदै भन्छन् योगनाथ।
ईला जुरुक्क उठ्छिन्। अगाडि आई सुप्रभादेवीको खुट्टामा निहुरेर ढोग्न पुग्छिन्। सुप्रभादेवी आश्चर्यचकित हुँदै भन्छिन्, “यिनी को हुन्?”
“हजुरकी बुहारी।” सुयेश आमा नजिक गई भन्छ।
“ईला र म एक आपसमा प्रेम गर्छौं। हजुरले मेरो बिहेको बारेमा चिन्ता लिइबक्सनु पर्दैन भनेर मैले अस्ति नै भनेको थिएँ। ड्याडीलाई सबै थाहा छ। हामीहरूले आज नै गएर कोर्ट म्यारिज गरेका हौं। हामीलाई आशिर्वाद दिनुहोस्, मम्मी!”
हात जोड्दै, सबै कुरा एकै सासमा भन्छ।
सुयेशको कुराले सुप्रभादेवीको मनमा भुइँचालो जान्छ। त्यो आवाजले उनको कानमा तातो फलाम पगालेर खन्याएको भान हुन्छ। रीसले थरथर काम्छिन्। सोच्ने क्षमता हराएर जान्छ। मुखमण्डलमा देखिएको आश्चर्यको भाव हराएर एकाएक क्रोधका रेखाहरू कोरिँदै जान्छन्।
“अंश के ल्यायौ त?”
“मम्मी, हामी एक-अर्का बिना बाँच्न सक्दैनौं। एक-अर्कालाई माया गर्छौं। यिनी पढेलेखेकी छिन्, जागिरे छिन्, आफ्नो खुट्टामा उभिन सक्छिन्। मलाई यिनको सम्पत्ति, अंशको लोभ छैन। अझ, यिनको त काठमाडौंमा घर पनि छैन। केको अंश ल्याउनु?”
सुयेश आवेशमा आउँछ।
सुप्रभादेवी रीसले आगो हुन्छिन्। छोरोको जवाफले उनको रीसलाई आगोमा घिऊ थपेझैं बल्झाउँछ। छोरालाई एकातर्फ धकेल्दै, बुहारीको हात समात्दै ढोकातिर तान्दै भन्छिन्, “यस्ता अंश नहुनेले त बिहा नै नगर्नु नी! अर्काको छोरालाई फसाउन तँलाई लाज लाग्दैन?”
ईला डरले रुन थाल्छिन्।
सुप्रभादेवीले घोक्र्याउँदै ईलालाई ढोका बाहिर पुर्याउँछिन् र घचेट्दै बाहिर निकाली ढोका बन्द गर्छिन्।
यो अप्रत्यासित घटनाले योगनाथ जिल्ल पर्छन्। सुजन र सुदीप ट्वाल्ल पर्छन्। सुयेशलाई असह्य हुन्छ। आमाले यस्तो गर्छिन् भन्ने त सपनामा पनि सोचेको थिएन। सहन सक्दैन।
सरासर गई आमाले लगाएको ढोका खोल्दै ईलालाई अंगाल्छ।
ईला पनि “सुँक्क! सुँक्क!!” गर्दै सुयेशको छातीमा मुन्टो लुकाएर सुक्सुकाउँछिन्।
सुयेश आमातर्फ आग्नेय नजरले हेर्दै भन्छ,
“वा! मम्मी, वा!! आज तपाईंको असली रूप देखें। के यही हो तपाईंको समाज सेवा? यही हो महिलाको हक हितको संरक्षण?”
व्यंग्यात्मक हाँसो हाँस्दै थप्छ,
“यही हो महिलाको मान-सम्मान? राम्रैसँग चेलीबेटीको उद्धार गर्नुहुँदोरहेछ, छोरीले अंश नपाएपछि हैन? यही कारण त हो, तपाईंहरू जस्तो समाजसेवी छोरीलाई अंश खोज्ने! जाउँ, हिँड! यस्तो मसानजस्तो घरमा मुर्दा भएर नबसौं!”
स्वास्नीको हात समात्दै, सुयेश क्रोधित हुँदै सरासर अगाडि बढ्छ।
सुप्रभादेवी हतप्रभ हुन्छिन्। केही नबोली छोराबुहारी गएकोतर्फ हेरिरहन्छिन्।
“सुप्रभा! रोक छोरालाई, तिनीहरू घर छोडेर जाँदैछन्!”
योगनाथ हडबडाउँदै स्वास्नीलाई झक्झकाउँछन्।
तिनी झसङ्ग हुन्छिन्। आँखाभरि आँसु टम्म भरिन्छ। ग्लानीले मुटु पोल्छ। आफूले गरेको कार्यप्रति पछुताउँछिन्। छोराको मायाले बिह्विल बनाउँछ।
एक्कासि तिनी चिच्याउँछिन्, “सुयेश! पर्ख! पर्ख बाबु!!”
दौडँदै छोराबुहारीको अगाडि पुग्छिन् र रोक्दै फेरि भन्छिन्, “नजा बाबु! हामीलाई छोडेर नजा! मलाई माफ गर, बाबु! माफ गर!!”
सुक्सुकाउँछिन्।
ईला अगाडि बढेर सासूको गोडा ढोग्छिन्। सुप्रभादेवी तिनलाई स्नेहसाथ अँगाल्छिन्। सुयेश प्रफुल्ल हुँदै आमालाई अँगाल्छन्।
“जाउँ, हिँड भित्र।”
दुवै छोराबुहारीलाई अँगाल्दै सुप्रभादेवी अघि बढ्छिन्।
योगनाथ मुस्कुराउँछन्।
दुवै छोराहरू हर्षले विभोर भई ताली बजाउँछन्।
✤✤✤✤✤
( “आस्था” -(२०५७) कथा सङ्ग्रहमा सङ्ग्रहित कथा )
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।