लेकको बतासलाई धकेल्दै, छारो उडाउँदै पाहुनाहरू चढेको मोटर आइपुग्यो। विद्यालय प्राङ्गणमुनि घ्याच्च रोकेर केही विशिष्ट व्यक्ति ओर्लिए। हेडमास्टर स्वागतार्थ हातमा माला बोकेर खुड्किलोमा अगिनैदेखि उभिएका थिए। दुई युवकले एउटा गह्रौँ बोरा सकिनसकी बोकेर प्राङ्गणमाझ पुर्याए।
धुला, मैला, झुत्रा-झुत्री, फोहोरी, सिँगाने आदि व्यक्तित्व बोकेका केटाकेटीहरू एकाएक हौसिए। के-के न खान पाइएला झैँ भोकाएका भेडाजस्तै चटारिन थाले।
हारलागेर उभिएका विद्यार्थीहरूलाई एक-एक गरी नियाल्दै विद्यालय सञ्चालक समिति सदस्य दातारामले कापीमा खुरुरु केही टिपे।
अघिल्तिरबाट हेडमास्टरद्वारा नाम बोलाइयो।
नामभन्दा अधिक ध्यान थर उच्चारण गर्दा दिइयो।
“आईते राई, गुराँस गुरुङ, दिलबहादुर नेपाली,” क्रमशः बोलाउँदै हातमा ३/३ थान कापी र कलम थमाइयो।
उपहार पाउने केटाकेटीहरू सात हात उफ्रिँदै आ-आफ्ना घरतिर लागे।
उपहार नपाउनेमा रेवती घिमिरे थियो।
उसलाई पाउनेहरूले किन पाए भन्ने पनि थाहा भएन, आफूले किन पाइन भन्ने पनि थाहा भएन।
ऊ दुःखी हुँदै झमक्क साँझ परेपछि घर पुग्यो।
आँगनमा बा’ सामु विद्यालयमा भएको बेलीबिस्तार लगायो।
बा’ ले भने,
“तँ गरिब पनि हैनस्, जेहेन्दार पनि छैनस्, दलित आदिवासी त झन् हुँदै हैनस्। अनि कसरी पाइन्छ त सरकारले बाँडेको उपहार?”
पर छाप्रोबाट आमा चिच्याएको आवाज आयो,
“यी बाउछोरा कहाँ गए, खोले सेलाई सक्यो!”
०००
बनेपा–१, हाल जापान


