मसँगै उठ्ने मेरो घाम छ
सँगै निदाउने एक रात छ।
हेरेर मलाई नथाक्ने
म हेरी नथाक्ने,
जुनताराहरू छन्।
म छु, मसँगै हाँस्ने
एउटा साथी म छ
मसँगै रुन।
बाँचिरहेछु शान्त्वनाका
यस्ता कुनाहरू चिनेर।
लगाएको छैन निषेधको पर्खाल,
छहारीको शीतलले।
गर्दैन कञ्जुस्याइँ सिरानी बन्न
गोरेटोको छातीले।
निश्चिन्त अङ्कमाल गरी
सँगै रुझाउँछ झरीले।
अभावलाई यसरी सम्झाउँछु
अत्तालिन्छ कि भनेर।
कद खुम्चिन्छ सगरमाथाको
मैले “मेरो पनि हो” भन्दा?
झन्डा झुक्छ मैले बोक्दा?
गुराँस सुक्छ मैले सिउरिँदा?
देश पनि दुख्छ परेलीमा सजाउँदा?
नत्र, खुसीको रङ किन कालो देखिन्छ
म हाँस्दा?
रोकेकी छु घृणाको तीर
सहनशीलताको कवचले।
अघाउनुपर्छ भोक खाएर
आँसुको सित्तनसँग।
कठ्याङ्ग्रिँदो समयमा
नियतिको रापले जलाउँछ।
नसक्दा बुझाउन मनको मन
खुब दुख्दो रहेछ मन।
मलमजस्तो न विगत छ
न वर्तमान, न भविष्य नै।
चिहानको भागमा परेको
फूल हुँ
भयो, रुन जान्दिन गुनासोसँग।
आखिर, अब
ओइलाउने पर्खाइ न हो जिन्दगी!


