मसँगै उठ्ने मेरो घाम छ
सँगै निदाउने एक रात छ।
हेरेर मलाई नथाक्ने
म हेरी नथाक्ने,
जुनताराहरू छन्।
म छु, मसँगै हाँस्ने
एउटा साथी म छ
मसँगै रुन।
बाँचिरहेछु शान्त्वनाका
यस्ता कुनाहरू चिनेर।
लगाएको छैन निषेधको पर्खाल,
छहारीको शीतलले।
गर्दैन कञ्जुस्याइँ सिरानी बन्न
गोरेटोको छातीले।
निश्चिन्त अङ्कमाल गरी
सँगै रुझाउँछ झरीले।
अभावलाई यसरी सम्झाउँछु
अत्तालिन्छ कि भनेर।
कद खुम्चिन्छ सगरमाथाको
मैले “मेरो पनि हो” भन्दा?
झन्डा झुक्छ मैले बोक्दा?
गुराँस सुक्छ मैले सिउरिँदा?
देश पनि दुख्छ परेलीमा सजाउँदा?
नत्र, खुसीको रङ किन कालो देखिन्छ
म हाँस्दा?
रोकेकी छु घृणाको तीर
सहनशीलताको कवचले।
अघाउनुपर्छ भोक खाएर
आँसुको सित्तनसँग।
कठ्याङ्ग्रिँदो समयमा
नियतिको रापले जलाउँछ।
नसक्दा बुझाउन मनको मन
खुब दुख्दो रहेछ मन।
मलमजस्तो न विगत छ
न वर्तमान, न भविष्य नै।
चिहानको भागमा परेको
फूल हुँ
भयो, रुन जान्दिन गुनासोसँग।
आखिर, अब
ओइलाउने पर्खाइ न हो जिन्दगी!
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।