म कामी हुँ, हातमा हथौडा
पसिनाले भिजेको मेरो कपडा।
फलामलाई पगालेर आकार दिन्छु
तिमीले चलाउने हतियार बनाउँछु।
तर किन मलाई तिमी टाढा गर्छौ?
मेरो छायाँलाई किन अपवित्र ठान्छौ?
छुन नहुने कसले भनिदियो?
मान्छे-मान्छेबीच किन भेद गरिदियो?
मेरो हातले बनाएको ढोका तिमी खोल्छौ
मेरै हातले बनाएको हलोले खेत जोत्छौ।
मेरै हातले बनाएको खुकुरीले साहस देखाउँछौ
तर मलाई नै किन पराया बनाउँछौ?
म पनि मानिस, तिमी जस्तै हुँ
सपना बोकेको उज्यालो बिहान हुँ।
मुटु छ मेरो पनि, तातो रगत बग्छ
मेरो हाँसो र आँसु तिमीजस्तै देखिन्छ।
छुवाछुत नगर, म तिम्रै साथी हुँ
हामी सबै एउटै माटोका बीउ हौँ।
प्रेमले नै समाज बन्छ
मानवता नै असली धन हो।
अब हथौडा चलाउँछु चेतनाका निम्ति,
अब फलाम मात्र होइन, कुसंस्कार पनि पगाल्छु।
तिमी पनि बदलिनू, सोचलाई खुला गरी
मान्छे-मान्छे एउटै हो, दूरी मेटाइदेऊ!
०००
जगन्नाथ -१, बाजुरा


