मेरो देश अनि मेरो देशका जनता,
तन्त्रमै फसिरहेछन्, तन्त्रकै लागि मरिरहेछन्।
कहिले यो तन्त्र, कहिले त्यो तन्त्रको नाममा,
भोलिको सुन्दर बिहानीका लागि
बगाइरहेछन् रगत।
सडकमै अस्ताइरहेछ अल्लाहरे जीवन,
अनि शरीरले सहरा खोज्ने उमेरमा
आमाहरूको कोख रित्तिरहेछ।
यहाँ शासक उही हो
फरक छ केवल नकाब,
नकाब लगाई नटीझैँ उत्रिन्छ रङ्गमञ्चमा,
होमिन्छ जनता।
मर्दैनन् शासक इतिहासमा पनि
केवल आम जनता बाहेक,
नत नेतृत्वकारी नै—
दुःख उही हो, केवल भोगाइ फरक,
मर्ने उही, समय मात्र फरक।
बराहपोखरी, खोटाङ


