समय उस्तै छ!
हुने बिहान — पर्ने साँझ!
आकाशभरी उदाउने तारा,
पूर्णिमाको रात, दुनियाँलाई मधुर किरण बाँड्ने इन्दु,
बिहानलाई सुमसुम्याउँदै हुर्किने अरुण,
दिनलाई प्रचण्ड बनाउने घाम —
सबै उस्तै, उस्तै छन्।
मेरो जुनिले
फाटाएर फालेका क्यालेन्डरका पानाहरू
सङ्कलन गरेर राखेको भए —
आशाका पर्खालहरू,
अर्धपक्का सपनाका महलहरू —
म भन्दा दशक–दशक, मिटर–मिटर अग्ला बन्थे होलान्।
गरिनँ मैले सङ्कलन,
बन्दिएनन् ती पर्खालहरू।
भाव र संवेदना बोकेर,
अक्सिजनले भरिएको बेलुनजस्तै
एउटा जोरा पुराना फोक्सो —
पौने दुई मिटर अग्लो,
सास, आश, मन भएको
जिउँदो हाडमासुको पिण्ड —
देउरालीमा उठाइएको,
पुरानो हुँदै गएको
जिउँदो ढुंगे देउरालीजस्तै —
“मान्छे हो” रे म!
मलाई त थाहा छैन,
तर भन्नेहरू भन्छन्।
भोगिसकेको समय — उस्तै!
भोग्दै गरेको समय — उस्तै!
भोग्नुपर्ने समय पनि — उस्तै नै होला जस्तो लाग्छ!
तर म…?
र मैले बाँच्नुपर्ने जुनि…
न समयजस्तो छ!
न साथजस्तो छ!
न मिठो सम्बन्धजस्तो छ।
समयको डढेलोले जलाएको,
फुङ उडेको,
धमिलो — किरमिर-किरमिर पुरानो उदास क्यानभासको,
डेट एक्सपायर भएको,
रंग उडेको —
केवल, केवल एक खाली चित्र —
मानव चित्र…!


