एकपल्ट मात्र पनि “म थाकें” भन्ने
छुट नपाउने ब्रत हुन्, आमा!
“आमा” शब्द उच्चारण गर्दा
कठिन शब्दहरू कोमल बन्छन्,
कठोर मनहरू पनि गल्न थाल्छन्,
किनभने “आमा” सिर्फ शब्द होइन,
संसारकै सबैभन्दा पुरानो प्रार्थना हो।
उनी बिहानभन्दा पहिले उठ्छिन्,
रातभन्दा पछि सुत्छिन्,
तर बीचको समय कहिल्यै उनीसँग हुँदैन।
सबैका लागि समय छुट्याउने उनिसँग,
आफ्नै लागि समय हुँदैन।
उनको चुलो
घरको देवता हो।
त्यहाँ न पूजा हुन्छ,
न फूल चढाइन्छ;
त्यहाँ बल्छ त आमाको थकान,
उनको निन्द्रा, उनको मौनता।
उनको चुलो भोकभन्दा अघि बल्छ,
उनले खाएको चिया जहिल्यै चिसो हुन्छ।
जुन कोठा हरेक बिहान उज्यालिन्छ,
त्यहाँको सबैभन्दा अँध्यारो कुना
सायद आमाको मुटु हो।
उनी हाम्रो पहिलो निद्रा हुन्,
पहिलो डर हटाउने स्पर्श हुन्,
पहिलो “नआत्त” भन्ने स्वर हुन्।
तर हामी उनलाई धेरै पछिसम्म सम्झिँदैनौँ,
जबसम्म जीवनले आफैं हाम्रो काँधमा
सन्तानको भार हाल्दैन।
जीवनको अन्त्यमा,
जब हामी आफ्ना सबै अक्षर चिन्दै जान्छौँ,
हामी एकदिन मात्र बुझ्छौँ—
संसारको सबैभन्दा गहिरो कविता
हामीले बाल्यकालमै सुनिसकेका थियौँ,
जब हामी आमालाई “आमा” भन्थ्यौँ!
सूर्यविनायक -९, भक्तपुर


