“नयाँ वर्षमा नयाँ योजनाको सुरुवात गरौँ,” सिर्जनशील प्रगतिशील युवा क्लबका एक सदस्यले प्रस्ताव गरे।
“ह्वाइ नट? हामी जस्तो सिर्जनशील युवाले नयाँ वर्षमा त नयाँ कामको थालनी गर्नै पर्छ नि,” अर्काले थपे।
“के काम सुरु गर्ने त?” तेस्रोले प्रश्न तेर्साए।
“यस्तो नयाँ योजना बनाउने काम एक-दुई जना मात्र बसेर हुँदैन। सबैजना एकै ठाउँमा बसेर प्लान गरौँ न,” चौथोले थपे।
“कहाँ जम्मा हुने त?” पहिलोले दोहोर्याए।
“उही हामी सधैं भेट हुने गरेको रक एन्ड रोल रेष्ट्रो एन्ड बार छँदैछ नि,” चौथोले आफ्नो भनाइ दोहोर्याए।
खबर गरेअनुसार दर्जनभन्दा बढी युवा साँझ पर्दानपर्दै टेबलको वरिपरि उपस्थित भए।
“के गर्ने त नयाँ वर्षमा नयाँ योजना?” एउटाले फेरि नयाँ योजनाको कुरा सुरु गरे।
“ह्या, रेष्टुराँ आएपछि पहिले अर्डर गरौँ न यार, हामी युवा अलि सभ्य हुनुपर्छ के, कम्तिमा रेष्टुराँको नियम र ग्राहकको आचारसंहिता पनि त पालना गर्नु पर्छ नि। हाम्रा योजनाका कुरा त छँदैछ नि,” क्लबका अध्यक्षले भने।
अध्यक्षको ह्वी पछि सबैको ध्यान खानपानतिर गयो। मेनु हेरेर खानपान अर्डर गरियो।
अर्डर गरेकामध्ये बियरका सिसी सबैभन्दा पहिले टेबलमा आइपुगे।
एकले बोतल खोल्दै ग्लासमा हाल्न थाले।
सबैले एकैपटक गिलास उठाएर एकै स्वरमा भने– “चियर्स! ह्याप्पी न्यू इयर!”
एक सुर्का लिँदानलिँदै टेबलमा स्न्याक्सका प्लेटहरू तेर्सिए।
केही बेरमा युवाको शरीरमा नसाले राज गर्न थाल्यो।
नसा लाग्न बाँकी केही युवाले फेरि भने– “अब नयाँ योजनाका कुरा पनि सुरु गरौँ न।”
“ह्या, यस्तो मूडमा के नयाँ प्लान यार। आज इन्ज्वय, भोलि प्लान,” क्लबका उपाध्यक्षले भने।
नसा चढेका युवाहरू गलल्ल हाँसे।
युवाको रसपानसहितको खानपान सकिँदा रातको दस बजेको थियो।
उनीहरू सडकमा हल्लिँदै घरतिर लागे।
सिर्जनशील क्लबका युवाहरूको नयाँ योजना फेरि अर्को नयाँ वर्षको प्रतिक्षामा रह्यो।


