❛❛
धमिलो जूनझैँ ओइलिएको छाती बोकेर
अकिञ्चन धड्कनहरूको घाउ दबाउँदै
घरको चुल्हो निभ्न नदिने उसका हातहरू
अझै सम्हाल्छन् खरानीभित्रको भुङ्ग्रो –
बिहान सबेरै चुल्हो बाल्न काम लाग्छ भनेर।
छानामुनि वर्षाको तप्केनी चुहेझैँ
दुखाइ चुहिन्छ अक्सर,
मुस्कानले छोप्छे, ऊ पोखिन नदिई –
सिन्दूरको रातो उज्यालोझैँ देखिन्छे सधैँ,
छातीभित्र कालो बादलझैँ
पीडा मडारिए पनि।
बिरानो बन्दै गएको छ उसको आफ्नै मुटु,
अर्काको सुखमा सान्त्वना खोज्दै
दबाउँछे आफूलाई
चुलोचौको र बटुलोको घेराभित्र सीमित गरेर।
बितेका रहरहरूको खरानी मात्र
बाँकी रहन्छ उसको लागि –
त्यो पनि नियतिमाथि
क्रूर चक्रवात नचलुन्जेल।
न टेकेर कराउन पाउँछे एक पाइला धर्ती,
न घाटीभरि चिच्याएर बोल्न सक्छे
खपेको पीर।
बरु लाचार बन्दै
बिस्तारै ओइलिन्छे लाटी फूलझैँ –
धर्तीमै माटोमा मिसिने मन लिएर।
चिरफार गरौँ भने डर लाग्छ उसलाई –
कहीँ मुटु नै पो खस्ला कि
भाग्यको छिँडीभित्र।
आफ्नै दुखिरहने मुटुको शल्यक्रिया गर्न
न समय छ ऊसँग, न त प्रविधि नै –
न डाक्टर भेटिन्छ उसको लागि,
न त कुनै संजीवनी।
लुला गोडाको भर लिएर
उभिन्छे जिम्मेवारीको रंगमञ्चमा सधैँ।
दूधझैँ भकभक उम्लिन्छे मनभित्र,
तर लाभाजस्तै कहिल्यै बन्न सक्दिन ऊ – किन हो?
सपनाहरूको खरानी बटुल्दै
एक सर्को लामो श्वास भर्छे
बिछिप्त फोक्सोभित्र,
र सोच्छे – आफ्ना सन्तानको भविष्य,
र सोच्छे – परिवार र आफन्तको मर्यादा,
र सोच्छे – कर्तव्य, दायित्व र जिम्मेवारी।
सुन्नुभो, महोदय…?
महोदय, सुन्नु त भो नि…?
यो एक सहनशीलताले भरिपूर्ण –
नारी मुटुको शल्यक्रियाको रिपोर्ट हो।
तेह्रथुम


