सन्ध्याको मन शून्य थियो। ऊ ऐनासामु उभिएकी थिई, तर ऐनाले देखाएको अनुहार ऊ आफैँले चिन्न सक्दिनथी। त्यो अनुहारमा कुनै चमक थिएन, आँखाहरू थकित देखिन्थे र ओठमा हाँसो हराएको थियो।
एक समय यस्तो पनि थियो, जब सन्ध्या जीवनका हरेक रंगमा रमाउँथी। ऊ नाच्थी, गीत गाउँथी, ऐनासँग कुरा गर्थी। तर अहिले ऊ केवल अस्तित्वको खोल ओढेर बाँची रहेकी थिई।
जीवनभर उसले धेरै सपना देखेकी थिई। उसले सोचेकी थिई— उसले प्रेम पाउनेछ, सम्मान पाउनेछ, स्वतन्त्र भएर बाँच्नेछ। तर ऊ गलत साबित भइ। पुरुषप्रधान समाजको कठपुतली बन्न विवश भइ।
उसले पहिलो चोट आफ्नै घरमा खाइ। बाबुले उसलाई शिक्षा होइन, बन्धन दिए। ऊ पढ्न चाहन्थी, संसार देख्न चाहन्थी, तर समाजले उसलाई चुलो–चौकोमा सीमित गरिदियो। बाबुका ती शब्दहरू आज पनि उसका कानमा घन्किरहन्थे— “छोरी मान्छे धेरै नपढ, घर–गृहस्थी नै सम्हाल्नुपर्छ।”
जब ऊ पहिलोपटक प्रेममा परेकी थिई, उसले सोचेकी थिई— अब ऊ स्वतन्त्र हुनेछे। तर जसलाई प्रेम गरी, उसैले समाजको डरले साथ छाड्यो। “म तिमीलाई जीवनभर साथ दिनेछु” भन्ने त्यो मानिस अन्ततः टाढा भइदियो।
त्यसपछि ऊ झन् मौन बनि। विवाहपछि उसले सोचि— अब जीवन फेरिएला। तर श्रीमान् मायालु होइन, जेलर बन्यो। सन्ध्या आफ्नै घरमा थुनिएकी कैदीजस्तै बनि— हरेक दिन अपमान र हरेक रात आँसुको घुट।
कहिलेकाहीँ ऊ ऐनामा आफूलाई हेरेर सोध्थी— “मैले यस्तो जिन्दगी किन रोजेँ?” तर उत्तर कहिल्यै आउँदैनथ्यो। पछि ऊ ऐनासँगै कुरा गर्न थाली— “के साँच्चै म मरेकी छु? किन यो समाजले मलाई मात्र बाँच्ने अधिकार दिन चाहँदैन?” तर ऐनाको प्रतिबिम्ब सधैँ मौन रहन्थ्यो।
सन्ध्याले अन्ततः बुझिसकेकी थिई— नारीहरू एकपटक होइन, सयौँपटक मर्छन्। जब उनीहरूको अधिकार खोसिन्छ, जब उनीहरू वस्तु बनाइन्छन्, मायाको नाममा धोका दिइन्छ, आत्मसम्मान कुल्चिन्छ— त्यो हरेक चोट, हरेक पीडा उनीहरू भोगिरहन्छन्। तर त्यो मृत्यु कसैले देख्दैन, किनभने उनीहरू हाँस्ने अभिनय गर्न बाध्य हुन्छन्।
अन्ततः सन्ध्याले ऐनाबाट नजर हटाइ। अब बाहिर निस्कनुपर्थ्यो— समाजको अगाडि फेरि हाँस्नुपर्ने थियो। तर भित्रभित्रै ऊ मरेकी थिई— एक जिउँदै मरेकी नारी।
✍️लभ कुमार भुजेल
मतिगढा, सिलगढी


