❛❛
हितैका खातिर मितैमा ल्याएँ,
दुःखमा पाउन साथ।
हितैका खातिर प्रितैमा ल्याएँ,
जीवन भरलाई साथ।
भनेर जसै नातैमा गाँसें,
मितैले छोडे देश।
गाँसेर माया मनैमा साँचें,
प्रियाले छोडिन् देश।
काकरीको फेदैमा खाएँ,
मुखै र तितो भो।
मित–प्रित एकैबार ल्याएँ,
साथै र रित्तो भो।
गाउँ नि रित्तै, शहर रित्तै,
रित्तिने भयो देश।
विदेशै आश, विदेशै बास,
भरोसा रह्यो शेष।
बाँझै छ खेत, बाँझै छ बारी,
झाडी भो पाखा–वन।
सबैले देश छोडेर जाँदा,
झन् भारी भयो मन।
लाहुरेको रीतलाई रोजे,
यही कुरा साँचो हो।
गरिबीको ओखती खोजे,
खेत–बारी बाँझो भो।
न चुलो बल्छ, न धुवा उड्छ,
उजाड भयो गाउँ।
देख्दैमा आज यो मन रुन्छ,
बिरानो भयो ठाउँ।
धेरैले रोजे शहर–परदेश,
बाध्यता भयो गाउँ।
रोजी र रोटी खोज्नलाई विदेश,
जानेकै रह्यो नाउँ।
के छ र यहाँ सुख–सुविधा?
दुःखकै मानो हो।
नौ पुस्तादेखि छैन प्रगति,
फुसकै छानो हो।
जीवनका दुःख बिसाउन भनी,
चम्केका चम्क्यै छन्।
रोजी र रोटी भेट्टाउन भनी,
लम्केका लम्क्यै छन्।
विमानस्थल पुगेर हेर्दा,
पीडाले दुख्छ मन।
आफन्तको विलौना देख्दा,
चुडिन्छ मुटु झन्।
जहाज चढी त्यो यात्री उड्छ,
आफ्नाको उड्छ भर।
पीरले मन भतभती पोल्छ,
केही होला भन्ने डर।
कस्तो हो ठाउँ, कस्तो हो काम,
अन्जान त्यो देशैमा।
न भाषा मिल्ने, न भुसा मिल्ने,
पराईको देशैमा।
हातले छाती थिचेर आज,
म विदाइ गर्दैछु।
मुटु टुक्रा झिकेर आज,
मुग्लानमा रोप्दैछु।
उम्रेछ भने कोपिला हाल्ला,
फक्रेर फल लाग्ला।
उम्रेन भने माटोमै सड्ला,
माटोमै बिलाउला।
दैवले सारे, फर्केर आउला,
आमा छिन् भनेर।
दैवले टारे, बिर्सेर जाला,
बस्ला नोट गनेर।
सरोज उपाध्याय
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।