❛❛
बाबु भन्दा प्यारो घरबेटी हुन थालेपछि,
बिहान ढोका ढकढक्याउने उनकै श्रीमती रहेपछि,
हो, म विवश बनेछु,
मैले आफ्नै जन्मदिने बाबुआमाको माया साटेछु।
स्वप्निल रहरहरूको उडान भरेर उडेको म
यिनै निर्जीव मायालु भावहरूमा अल्झिएर,
अझ भनौं, भुलेर —
अहो! मैले त ‘म’ लाई अनि आफैँ लाई पो बिर्सिसकेछु।
चिया घरकी दिदी नै मेरी चेली बनेपछि,
गेट खोल्ने दाइ नै काका बनेपछि,
व्यस्त जीवन गुजारिरहँदा
म को हुँ? कहाँको हुँ? को परिभाषा नै बिर्सिसकेछु।
आँगनमा खेल्ने मेरा भाइबहिनी, भतिजा–भतिजीहरू
सन्दियारका कोठामै पाएँ, अनि त भुलेछु ती अवोधहरू।
भुलाइदियो तिनको याद र माया पनि
तिनै बच्चाहरूको “दादा”, “अंकल” को सम्बोधनले।
सोच्छु —
यो सपनाको भारी पनि कति गह्रौँ रहेछ!
उचाल्नै गाह्रो,
त्यस माथि सकि–नसकि बोकेर हिँड्नै पर्ने,
साहुको भारी बोकेर
गन्तव्यमा पुर्याउने ध्याउन्नमा रहेको
भरियाझैँ।
उफ! यो काल्पनिकताले —
खै, कहिलेसम्म? के का लागि?
र केको उपलब्धिका निम्ति म
आफैँलाई निर्जीव बनाई घिसारिरहेछु?
राति जब पल्टन्छु ओछ्यानमा र सम्झन्छु
त्यो जून देखिने प्वाल परेको छाना,
मनैसम्म शीतल दिने हावा बहने भित्ताका छेदहरू,
अनि छेवैमा टाँसिएको
काली भैंसीको भकारो, गन्हाउने गोठ पनि,
अनि पर टाट्नामा बाँधिएको पेटारे बोका
छुच्चो भए पनि यादमा अटाउँदो रहेछ।
सोच्दै सोच्दै भुसुक्कै निदाएछु।
रात बिती बिहान भइसकेछ।
अनि झल्याँस ब्युँझेँ
तिनै घरबेटी आमाको ढकढक आवाजले —
“बाबु उठ! धारामा पानी आएछ।”
“बाबु उठ! धारामा पानी आएछ।”
विनय इलामेली
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।