आठराई गाउँपालिका वडा नं. २ खाम्लालुङ, तेह्रथुममा जन्मेका केशु विरही मूलतः अनुसन्धानात्मक कृति लेखनमा दख्खल राख्छन्। २०३२ माघ २८ मा जन्मेका विरहीको वास्तविक नाम केशवप्रसाद गिरी हो। उनको हालको बसोबास बेलबारी नगरपालिका वडा नं. २ लालभित्ति, मोरङ रहेको छ। विरहीले एम.ए., बी.एड. सम्मको अध्ययन गरेका छन्। उनका माता मदनदेवी र पिता घनश्याम ज्योतिषी हुन्। साहित्यका अन्य विधा गजल, कथा, उपन्यास, निबन्ध, कविता, लघुकथा, बालकथा, समालोचना आदि क्षेत्रमा पनि विरही सिर्जना गर्छन्। सानैदेखि साहित्य सिर्जनामा खप्पिस उनी ५० को दशकबाट पत्रकारितामा समेत प्रवेश गरेका विरही शिक्षण पेसामा पनि आबद्ध छन्।
“कहालीलाग्दा गोरेटाहरू” उपन्यास (सहलेखन, २०५६), “आमाको माया” उपन्यास (२०५७), “दन्किएको आगो” गजल सङ्ग्रह (२०६३), “सुस्केरा” संयुक्त साहित्यिक सङ्ग्रह (२०६३), “भास्कर वंशावली” (२०६५), “सुलोचना” कथा सङ्ग्रह (२०७१), “रेस्माको स्याण्डल” बालकथा सङ्ग्रह (२०७७), “बेलबारीको साहित्यिक इतिहास” (२०७९), “तेह्रथुम जिल्लाको साहित्यिक इतिहास” (२०८०) र “उपद्रष्टा हर्कमान तामाङ” जीवनी–अनुसन्धानात्मक (२०८१) जस्ता कृतिहरू प्रकाशित गरिसकेका स्रष्टा केशु विरहीका ‘अग्रजका जीवनकथा’, ‘मोरङको पत्रकारिताको इतिहास’ र ‘बाग्दल डाँगी’ जस्ता प्रकाशोन्मुख कृतिहरू समेत रहेका छन्। विरहीले विभिन्न पुरस्कार तथा सम्मान पनि पाइसकेका छन्। उनी विभिन्न साहित्यिक सङ्घ, संस्थाको सदस्य, अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, सल्लाहकार र आजीवन सदस्य जस्ता पदमा रहेर यस क्षेत्रमा आफ्नो क्रियाशीलता देखाइसकेका छन्।
सिर्जना र अनुसन्धान फरक विषय हुन्। सिर्जना आफ्नो वा लेखकको निजी भावको कुरा पनि हो। यसलाई तरल रूपमा पनि लिन सकिन्छ। यद्यपि जीवनी तथा अनुसन्धान भनेको यथार्थपरक तथ्यलाई कोट्याएर वा उधिनेर त्यसलाई जस्ताको तस्तै स्वरूप दिनु हो। सिर्जना डुबुल्की मार्नु जस्तो हो भने अनुसन्धान हीरा खोज्नु जस्तो हो। विना कुनै झन्झट र झिजो नमानी यस्ता असामान्य व्यक्तित्वलाई विविध बाधा र व्यवधानका बीच सबै सामु ल्याउनु वा ल्याउने सामर्थ्य राख्नु पनि चानचुने कुरा होइन। जीवनमा सबैभन्दा ठूलो कुरा कर्म हो। कर्मले नै हो मानिसलाई महान् बनाउने। जसले आफूलाई मात्र उज्यालो बनाउँदैनन्, तिनीहरूले त अरूहरूलाई समेत उज्यालो बालेर जीवनको बाटो देखाउँछन्। त्यस्ता व्यक्तित्व समाजमा कमै हुन्छन्, जसको उज्यालोलाई केशु विरहीले यो कृति मार्फत अझ परपरसम्म पुर्याउने जमर्को गरेका छन्। माथि उल्लिखित सिर्जना, जीवनी र अनुसन्धान यी तीनवटै कुरालाई चाल्नोले झैँ मसिनो गरी छानेर स्वरूप दिने दख्खल राख्छन् नेपाली साहित्यमा केशु विरही। यो परिवेश, समय र क्षमता भएका उनीमा आफ्नै असलीपन छ। १५६ भित्री पृष्ठमा फैलिएको उक्त “उपद्रष्टा हर्कमान तामाङ” नामक कृति मूलतः जीवनी नै हो। आकारका दृष्टिले सानो भए पनि कृतिमा समाजसेवी, राजनीतिज्ञ तथा साहित्यकार हर्कमान तामाङका जीवनका विविध आयाम र तिनका पाटाहरूलाई समेत समेटेको पाइन्छ।
यस कृतिका बारेमा चर्चा गर्नुभन्दा पहिले, उक्त कृतिका बारेमा विभिन्न लेखक, कवि तथा विद्वान् वर्गले आ–आफ्नो मत राखेको पाइन्छ। लेखक स्वयंले पनि आफ्ना केही कुराहरू राखेका छन्। तिनलाई पनि यहाँ उल्लेख नगरी सकिँदैन।
“शुभकामना” शीर्षकको आफ्नो छोटो लेखमा कवि एवम् नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादीका कुलपति भूपाल राई लेख्छन्:
‘केशु विरहीकृत “उपद्रष्टा हर्कमान तामाङ” शीर्षकको प्रस्तुत कृतिमा तामाङको जीवनी, व्यक्तित्व र कृतित्वबारे चर्चा गरिएको छ। यसमा तामाङको बाल्यकालदेखि राजनीति एवम् साहित्यिक यात्राको आरोह–अवरोहपूर्ण फेहरिस्त समेटिएको छ। तसर्थ, यस कृतिबाट नयाँ र पुराना दुवै खाले पुस्ताले तामाङलाई नजिकबाट चिन्न र जान्न पाउनेछन् भन्ने मैले विश्वास लिएको छु।’
त्यस्तै गरी प्राध्यापक टङ्कप्रसाद न्यौपानेले ‘विरहीको उपयुक्त पात्र चयन’ शीर्षकीय आफ्नो लेखमा लेखेका छन्:
‘पिताको जागिरका क्रममा कलकत्ता हुँदै दार्जिलिङबाट बेलबारी, मोरङलाई मूल कर्मथलो बनाएका हर्कमान तामाङ नेपालको राजनीतिमा आएका सत्तालोलुपताका लागि हुन थालेका उछिनपाछिन र विचारहीनताबाट विरक्त भएर वाङ्मय सेवामा समर्पित भएका छन्। विरहीले तामाङलाई ‘उपद्रष्टा’ उपाधि दिएका छन्। उपद्रष्टा भनेको साक्षी हो; सल्लाहकार वा तटस्थ रहेर गुण र दोषको विवेचना गर्ने व्यक्ति हो। तामाङ राजनीति, समाज र वाङ्मयका द्रष्टा भएर सिर्जनातिर आकर्षित भएका व्यक्तित्व हुन्। तसर्थ उनी उपद्रष्टा हुन्। यो उपयुक्त उपाधि हो।’
त्यस्तै गरी ‘लेखकको कलमबाट’ शीर्षकीय आफ्नो लेखमा उक्त कृतिका कृतिकार स्वयम् लेख्छन्:
‘वामपन्थी राजनीतिका साथै नेपाली साहित्यका धरोहरका रूपमा रहेका उहाँलाई मैले बारम्बार एउटा आत्मकथाको पुस्तक लेख्न आग्रह गरिरहें। तर उहाँ आफ्नो बारेमा आफैँले लेख्न नचाहने वा नरुचाउने व्यक्ति हुनुहुँदो रहेछ। उहाँले आफ्नो बारेमा लेख्न रुचि राख्नुभएन। पटकपटक पन्छिने काम गरेको थाहा पाएपछि म आफैँले उहाँका बारेमा लेख्न रुचि बढाएँ।’
बाहिरी कभरको पछाडिको अन्तिम भागमा रहेको प्रकाशकीय टिप्पणीमा भनिएको छ:
‘जीवनको महत्त्वपूर्ण समय समाजकै लागि खर्चिने सामाजिक तथा सांस्कृतिक अभियन्ता हर्कमान तामाङका विषयमा तयार पारिएको यो अनुसन्धानमूलक कृति “उपद्रष्टा हर्कमान तामाङ” लाई समाजकै लागि अर्पण गरिएको छ। …नेपाली साहित्यका कथा, लघुकथा, गजल, उपन्यास, बालसाहित्य, समीक्षा, अनुसन्धान आदि विधामा निरन्तर रूपमा कलम चलाउने केशु विरहीले पछिल्लो समय आफूलाई खोज तथा अनुसन्धानको क्षेत्रमा समर्पित गर्नुभएको छ। जटिल तथा उत्तिकै खर्चिलो मानिने यस विधामा आफूलाई समर्पित गर्नु साहित्यकार विरहीका लागि मात्र नभएर साहित्यलाई माया गर्ने हामी सबैका लागि पनि एउटा ठूलो उपलब्धि हो।’
यद्यपि, सायद स्वाभिमानी मानिस यस्तै हुन्छन्। उनीहरू आफ्नो प्रशंसा आफैँ गर्न चाहँदैनन्; न आफ्नो गुणगान आफैँ गाउन चाहन्छन्। उनीहरू आफ्नो बारेमा आफैँ लेख्न चाहँदैनन्। कुनै ठाउँमा गुण र दोष छुट्याउनु पर्यो भने पनि अरूहरूकै दृष्टिले छुट्याओस् भन्ने उनीहरू चाहन्छन्। उनीहरू पुरस्कार, मान, सम्मान र प्रशंसाका भोका पनि हुँदैनन्। यस्ता असामान्य सोच, विचार र व्यवहार भएका मानिस समाजमा कमै हुन्छन्। त्यस्तैमध्येका एक हर्कमान तामाङ पनि देखिन आउँछन्।
जीवनमा संयमता, धैर्य, कर्मशीलता, लगनशीलता र इमानदारिता व्यवहारतः ठूला कुरा हुन्। यस्ता व्यक्तिको सम्पूर्णता उत्खनन गर्नु महत्त्वपूर्ण त छँदैछ, यो कम चुनौतीपूर्ण र झिजो लाग्दो काम पनि होइन। त्यो काम बडो मेहनतका साथ जीवनीकार तथा अनुसन्धानकर्ता केशु विरहीले उक्त कृतिमा गरेका छन्।
मोटामोटी रूपमा छैटौँ अध्यायसम्म रहेको केशु विरहीकृत “उपद्रष्टा हर्कमान तामाङ” नामक यस कृतिको पहिलो अध्यायमा पात्रनायक हर्कमान तामाङको जीवनी रहेको छ। यसअन्तर्गत ‘क’ मा जन्म र बाल्यकाल, ‘ख’ मा शिक्षा, ‘ग’ मा वैवाहिक सम्बन्ध र सन्तान, ‘घ’ मा संलग्नता, ‘ङ’ मा भ्रमण, ‘च’ मा प्रकाशित कृति र ‘छ’ मा पुरस्कार तथा सम्मानबारे उल्लेख छ। दोस्रो अध्यायमा हर्कमान तामाङको व्यक्तित्वलाई साहित्यिक र साहित्येत्तर गरी दुई भागमा बाँडिएको छ। साहित्यिक व्यक्तित्वअन्तर्गत कवि, कथाकार, उपन्यासकार, समीक्षक, निबन्धकार, अनुवादक, सम्पादक, गीतकार र गायक व्यक्तित्वको चर्चा छ भने साहित्येत्तर व्यक्तित्वमा सामाजिक, पारिवारिक, राजनीतिक र जागिरे व्यक्तित्वको चर्चा गरिएको छ।
तेस्रो अध्यायअन्तर्गत हर्कमान तामाङको साहित्यिक यात्रा र त्यसको चरण विभाजन गरिएको छ। यसअन्तर्गत २०२२–२०२८ लाई पहिलो, २०२९–२०४७ लाई दोस्रो, २०४८–२०७१ लाई तेस्रो र २०७२ देखि हालसम्मलाई चौथो चरण मानिएको छ। चौथो अध्यायमा हर्कमान तामाङका कथा, कविता, उपन्यास र निबन्धजस्ता साहित्यिक रचनाहरूको अध्ययन गरिएको छ।
पाँचौँ अध्यायमा हर्कमान तामाङको मान्यता, प्रवृत्ति र योगदानको चर्चा छ। उनका मान्यताहरूअन्तर्गत वैचारिकता, कर्मवादी तथा आदर्शवादी जीवनदृष्टि, पूर्वीय दर्शनका अध्येता, शालीन विद्रोह, निष्ठाको राजनीति, क्षमाशील व्यक्तित्व, निष्काम कर्मयोगी, योजनाकार, सांस्कृतिक अभियन्ता, युगचिन्तक र अन्तर्मुखी स्वभावजस्ता उपशीर्षक रहेका छन्। त्यस्तै, उनको साहित्यिक प्रवृत्तिअन्तर्गत सामाजिकता, कानुनी राज्यमा जोड, मनोविज्ञानको सफल प्रस्तुति, श्रमको दुरुपयोगमाथि विमति, राष्ट्रप्रेम, मानवतावाद, व्यावहारिक शिक्षामा जोड, बाल अधिकारमा जोड र सरल भाषा-शैलीबारे चर्चा गरिएको छ। उनको साहित्यिक योगदानलाई सङ्ख्यात्मक, ऐतिहासिक र गुणात्मक योगदान शीर्षकमा चर्चा गरिएको छ।
छैटौँ तथा अन्तिम अध्यायमा उपसंहार राखिएको छ, जसमा परिशिष्ट तथा सन्दर्भ सामग्री सूचीलाई पनि समेटिएको छ। परिशिष्ट-१ मा हर्कमान तामाङका दुई प्रतिनिधि कविता, परिशिष्ट-२ मा उनको व्यक्तिगत विवरण र परिशिष्ट-३ मा उनीसँग लिइएका दुईवटा अन्तर्वार्ता प्रस्तुत छन्। त्यसपछि सन्दर्भ सामग्री सूची रहेको छ।
समग्रमा यो कृति समाजसेवी, राजनीतिकर्मी तथा साहित्यकार हर्कमान तामाङका बारेमा जान्न, बुझ्न वा अझ विस्तृत रूपमा अध्ययन-अनुसन्धान गर्न चाहने सबैका लागि एक उपयोगी कृतिका रूपमा प्रस्तुत भएको छ। कृतिको नामाकरण आकर्षक छ। विषयवस्तु, भाषाशैली र विवेचना सामान्य व्याकरणगत त्रुटिबाहेक सैद्धान्तिक रूपमा पनि सफल छ। छोटोमा भए पनि कृतिले व्यक्तिका विविध पक्षलाई मिहिन रूपमा केलाउने प्रयत्न गरेको छ। आफैँ चिनिन होडबाजी गर्ने आजको समयमा साहित्य र साहित्यकारहरू पनि यसबाट टाढा रहन सकेका छैनन्। यस्तो महँगो र कसैले कसैको वास्ता नगर्ने समयमा पनि आफूलाई छोडी अरूलाई चिनाउने प्रयत्न गर्नु ठूलो कुरा हो। यो आफूलाई बिर्सेर भए पनि अरूलाई चिनाउनु वा ओझेलमा परेका प्रतिभाहरूलाई प्रकाशमा ल्याउनु र हर्कमान तामाङजस्ता व्यक्तित्वलाई सबै सामु चिनाउन प्रयत्न गर्नु ठूलो कुरा हो। व्यवहारतः यो धृष्टताका लागि केशु विरही धन्यवादका पात्र बनेका छन्। उनले बडो मेहनतका साथ यो कृति तयार पारेका छन्।
यसरी हेर्दा नेपाली साहित्यको इतिहासमा जीवनीकार तथा अनुसन्धानकर्ता केशु विरहीकृत “उपद्रष्टा हर्कमान तामाङ” नामक कृति एक उत्कृष्ट जीवनीपरक कृतिका रूपमा दरिएको छ। नेपाली साहित्यको जीवनी लेखन परम्परामा यस कृतिले आकारका दृष्टिले सानो भए पनि एउटा दरिलो इँटा थपेको छ। दोहोर्याएर भन्नुपर्दा, यो कृति जीवनीका पाठक तथा हर्कमान तामाङका बारेमा जान्न, बुझ्न इच्छुक एवम् खोज-अनुसन्धान गर्न चाहने जोसुकैका लागि सङ्ग्रहणीय रहेको छ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।