“सिद्धार्थ”— पूर्वीय दर्शनको पश्चिमी पुनर्पाठ
समीक्षक: असल चरित्र
परिचय:
हर्मन हेस्से (१८७७ — १९६२) जर्मन—स्विस साहित्यकार हुन् । उनले आधुनिक युरोपेली साहित्यमा गहिरो आध्यात्मिकता, आत्मखोज र अस्तित्ववादी चिन्तनलाई प्रमुख विषय बनाएका छन् । उनको जन्म जर्मनीको काल्भमा भएको थियो । उनका अभिभावकहरू धार्मिक पृष्ठभूमिका मिसनरी थिए, जसका कारण सानैदेखि उनले धर्म, दर्शन र पूर्वीय आध्यात्मिक परम्पराप्रति चासो राखे ।
हेस्सेको जीवन आफैँमा एक प्रकारको आत्मसङ्घर्ष र आत्मखोजको कथा हो । उनले परम्परागत धार्मिक शिक्षा छोडेर स्वतन्त्र चिन्तनको बाटो रोजे । यही अनुभव उनको साहित्यमा प्रष्ट झल्किन्छ । उनले सन् १९४६ मा “सिद्धार्थ” उपन्यासबाट साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए । उनका प्रमुख कृतिहरूमा सिद्धार्थ, स्टेपनवुल्फ, डेमियन, गेम अफ बिड्स, नार्सिसस एन्ड गोल्डमन्ड, पिटर क्यामेन्जिड आदि पर्दछन् ।
हर्मन हेस्सेको लेखनमा विशेष गरी पूर्वीय दर्शन— विशेषतः बौद्ध दर्शन (Buddhism) र हिन्दू दर्शन (Hinduism) को प्रभाव स्पष्ट देखिन्छ । विश्वप्रसिद्ध उपन्यास “सिद्धार्थ” मा उनले मानिसको आत्मिक यात्रा, आत्मज्ञान र जीवनको अर्थको खोजीलाई साहित्यिक ढङ्गले प्रस्तुत गरेका छन् ।
१. पृष्ठभूमि:
२० औँ शताब्दीको प्रारम्भमा लेखिएको उपन्यास “सिद्धार्थ” एक अत्यन्त प्रभावशाली दार्शनिक उपन्यास हो । बुद्धत्वको खोजीमा हिँडेको एक ब्राह्मण युवकलाई मुख्य पात्र बनाएर लेखिएको जर्मन—स्विस लेखक हर्मन हेस्सेको उपन्यास “सिद्धार्थ” कुनै साधारण उपन्यास होइन, यो पूर्वीय आध्यात्मिकताको पश्चिमी चेतनामा गरिएको पुनर्व्याख्या हो । त्यसताकाको समयमा लेखक हर्मन हेस्से स्वयं आफैँ पश्चिमी सभ्यताको आध्यात्मिक संकटबाट गुज्रिरहेका थिए । प्रथम विश्वयुद्धपछिको निराशा, अस्तित्वको प्रश्न र आत्मखोजको बेचैनीले उनलाई भारत, उपनिषद् र बौद्ध दर्शनतर्फ आकर्षित गरायो । फलस्वरूप यस महान् उपन्यास “सिद्धार्थ” को जन्म भयो ।
सन् १९२२ मा प्रकाशित दार्शनिक उपन्यास “सिद्धार्थ” प्राचीन भारतको पृष्ठभूमिमा आधारित छ, जहाँ आध्यात्मिकता, तपस्या र ज्ञानको खोजी जीवनको केन्द्रमा हुन्छ । यद्यपि उपन्यासको पात्र सिद्धार्थ गौतम बुद्धसँग प्रेरित छ, तर ऊ स्वयं बुद्ध होइन— उसको यात्रा फरक र व्यक्तिगत छ । यस उपन्यासले पश्चिमी साहित्यमा पूर्वीय दर्शनको गहिरो प्रभाव ल्याएको मानिन्छ । भारतको धार्मिक तथा दार्शनिक परम्परा, बुद्धको जीवन र ज्ञानको खोजी, प्रथम विश्वयुद्धपछि युरोपमा देखिएको अस्तित्वको सङ्कट र व्यक्तिगत आत्मानुभूतिका प्रेरणाबाट नै हर्मन हेस्सेले यो उपन्यास लेखेका थिए ।

(पेन्गुइन प्रकाशनद्वारा प्रकाशित हर्मन हेस्सेको उपन्यास “सिद्धार्थ”)
२. कथावस्तु:
कथा सिद्धार्थ नामक एक ब्राह्मण पुत्रबाट सुरु हुन्छ । ऊ अत्यन्त बुद्धिमान्, अनुशासित र आध्यात्मिक जिज्ञासु हुन्छ । तर उसलाई वेद, पूजा, यज्ञ आदि परम्परागत ज्ञानले सन्तुष्टि दिँदैन । उसलाई लाग्छ कि साँचो सत्य वा आत्मज्ञान यी विधिबाट प्राप्त हुँदैन । त्यसैले बाल्यकालमै ज्ञानको खोजीमा घर त्याग्छ । असली ज्ञान र बुद्धत्व प्राप्तिको भोकले घर, परिवार र सांसारिक जीवन त्याग्दै घर छोड्न लागेका सिद्धार्थलाई उनको बाल्यकालदेखिको परम मित्र गोविन्दले साथ दिन्छ । असली ज्ञानको बोध गर्न सिद्धार्थ आफ्नो साथी गोविन्दसँगै साधुहरूको सन्न्यासी जीवन अपनाउँछ । उनीहरूले कठोर साधना, तपस्या, उपवास, आत्मपीडा आदिको अभ्यास गर्छन् । यहाँबाट उनीहरूले धेरै कुरा सिक्छन्, तर सिद्धार्थले त्यहाँ खोजेको जस्तो सन्तुष्टि पाउँदैन । अन्ततः उनीहरू श्रमण जीवन त्यागेर पुनः अर्को यात्रामा निस्कन्छन् ।
पछि गएर उनीहरूको गौतम बुद्धसँग पनि भेट हुन्छ । गोविन्द बुद्धको वास्तविक अनुयायी बन्छ, तर सिद्धार्थ बुद्धको उपदेशलाई सम्मान गर्दै पनि अन्धानुकरण गर्न अस्वीकार गर्छ । किनकि उसलाई लाग्छ— “ज्ञान सिकाएर सिकाउन सकिँदैन, वास्तविक ज्ञान आफैँ अनुभव गर्नुपर्छ ।”
सिद्धार्थ गोविन्दलाई बुद्धसँग छोडेर अर्को यात्रामा निस्कन्छ । यात्रा गर्दै एक दिन सिद्धार्थ सहरतिर जान्छ । त्यहाँ सिद्धार्थको एक सुन्दरी महिला कमलासँग भेट हुन्छ । प्रारब्धमा कमलासँग प्रेम सम्बन्ध बनाउँछ । कमलासँगको प्रेम, कामवासना र भोगमा सिद्धार्थ हराउँछ । कमलासँगको सम्बन्धबाट एक पुत्रको जन्म हुन्छ । त्यसपछि सिद्धार्थ कामस्वामी नाम गरेको एक व्यापारीसँग व्यापार गर्न थाल्छ । व्यापारबाट अपार धन कमाउनुका साथै ऊ जुवा, तास, भोग, विलासिता र लोभको जीवनमा समाहित भई फस्छ । अन्ततः सिद्धार्थ आफैँ आत्मिक रूपमा खाली र थाकेको महसुस गर्छ । एक दिन अत्यन्त निराशा भएर ऊ आत्महत्याको प्रयास गर्छ । तर नदीको किनारमा “ॐ” शब्द सम्झिएर ऊ बच्न सफल हुन्छ । यसले उसको जीवनमा ठुलो मोड ल्याउँछ ।
त्यसपछि सिद्धार्थ नदीमा डुङ्गा चलाउने एक नाविक वासुदेवसँग नदीको किनार नजिक बस्न थाल्छ । नदी नै उसको गुरु बन्छ । “जीवन एउटा चक्र हो, समयको एकत्वबाट सबै कुरा एकैसाथ हुन्छ र सुन्नु र बुझ्नु नै ज्ञान हो” भन्ने कुरा उसले नदीबाट नै सिक्दछ । पछि सिद्धार्थलाई सम्झना हुन्छ कि कमलासँग उसको एउटा छोरा छ । छोरा ऊसँग बस्न त आउँछ, तर सहरको सुखमा हुर्केको हुँदा बुबाको जीवन मन नपर्दा ऊ त्यहाँबाट भाग्छ । सिद्धार्थको छोराप्रतिको मोहले उसलाई पिताको पीडाको अनुभव गराउँछ । पुत्रसँगको वियोगले सिद्धार्थलाई “मोह र माया पनि जीवनका भागहरू हुन्” भन्ने अनुभूति दिलाउँछ । श्रमण जीवन, बुद्धसँगको भेट, सांसारिक जीवन, निराशा र आत्महत्याको प्रयास, नदी, वासुदेव र आत्मज्ञानको बाटो, छोरा र मोह साथै नदीको गहिरो अनुभूति र जीवनका सबै अनुभवहरूबाट सिद्धार्थले अन्ततः निर्वाण (आत्मज्ञान) प्राप्त गर्छ । उसले बुझ्छ कि— “जीवनमा राम्रो नराम्रो सबै आवश्यक छन्, समय र अस्तित्व एकै हुन् र सत्य शब्दमा होइन, अनुभवमा हुन्छ ।”
अन्त्यमा सिद्धार्थको फेरि गोविन्दसँग भेट हुन्छ । उसले गोविन्दको मुहारमा एक दिव्य शान्ति देख्छ । अन्तिममा सिद्धार्थले गोविन्दलाई साँचो ज्ञानको अनुभूति गराउँछ र उपन्यास सकिन्छ ।
३. परिवेश:
हर्मन हेस्सेद्वारा लिखित प्रसिद्ध दार्शनिक उपन्यास “सिद्धार्थ” ले केवल कथा मात्र नभई मानव जीवनका आध्यात्मिक यात्रा र आत्म—अन्वेषणलाई गहिरो रूपमा प्रस्तुत गर्दछ । यस उपन्यासको प्रभावकारी पक्षमध्ये एउटा महत्त्वपूर्ण तत्त्व यसको परिवेश हो, जसले सम्पूर्ण कथालाई दार्शनिक, आध्यात्मिक र प्रतीकात्मक अर्थ प्रदान गरेको छ ।
३.१. ऐतिहासिक र सांस्कृतिक परिवेश
उपन्यासको पृष्ठभूमि प्राचीन भारतको वैदिक—बौद्ध युग हो । यद्यपि लेखक चाहिँ जर्मनी हुन्, उनले भारतको आध्यात्मिक परम्परालाई आधार बनाएर कथा निर्माण गरेका छन् । यसमा ब्राह्मण संस्कृति, श्रमण परम्परा, बुद्धकालीन समयको आध्यात्मिक वातावरण, ध्यान, तपस्या र सांसारिक त्याग जस्ता तत्त्वहरू अधिक मात्रामा पाइन्छन् । समग्रमा यो उपन्यास ऐतिहासिक परिवेशको यथार्थभन्दा बढी मात्रामा आध्यात्मिक कल्पनाशीलतामा आधारित भएकाले यस उपन्यासलाई कुनै दस्तावेजी इतिहास नभई दार्शनिक पुनर्निर्माण हो भन्न सकिन्छ । बुद्धकालीन समाजको सुरुवाती चरण, भारतको त्यसताकाको उपनिषद् ज्ञान र श्रमण परम्पराको परिवेशले सिङ्गो उपन्यासलाई साधना, ज्ञान र बुद्धकालीन समाजको इतिहासलाई उत्खनन गरेको छ ।

(नोबेल पुरस्कार विजेता उपन्यासकार: हर्मन हेस्से)
३.२. प्राकृतिक परिवेश
आख्यान (उपन्यास), कथा, निबन्ध, नाटक र कुनै कवितामा पनि प्रकृति अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील स्थान हो । कल्पनामा मात्र सीमित नभई यथार्थमा पनि नदी, जङ्गल, गाउँ, सहर, हिमालय र आश्रमहरू केवल भौतिक स्थान मात्र होइनन्, ती सबै मानव जीवनका आस्था र अवस्थाहरूका प्रतीक हुन् । उपन्यास परिवेशका भाव अनुसार जङ्गल—तपस्या, त्याग र आत्मनियन्त्रण, सहरलाई भोग, लोभ, प्रेम र सांसारिक मोह त्यसै गरी नदीलाई जीवनको निरन्तरता, समय, एकता र आत्मज्ञानको गहनतम प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ । विशेष गरी नदीलाई उपन्यासको केन्द्रीय प्रतीक बनाइएको छ, जसले समय र जीवनको बहावलाई प्रतिनिधित्व गरेको छ ।
३.३. सामाजिक परिवेश
उपन्यास पढ्दै जाँदा समाज दुई प्रमुख भागमा विभाजित देखिन्छ । आध्यात्मिक जीवन अपनाउने ब्राह्मण, श्रमण र भिक्षु वर्ग त्यसै गरी भौतिक सुख—सुविधामा रमाउने व्यापारी अनि नगरवासी र गृहस्थ वर्ग । यस विभाजनले समस्त “सिद्धार्थ” को आन्तरिक द्वन्द्वलाई अझ गहिरो रूपमा खण्डन गर्छ । समाजले दिएको कुनै पनि बाटो धर्म वा भोग पूर्ण सत्य होइन भन्ने विचार यस उपन्यासको सामाजिक परिवेशले स्थापित गर्छ ।
३.४. मनोवैज्ञानिक परिवेश
यो उपन्यासको सबैभन्दा शक्तिशाली पक्ष यसको मनोवैज्ञानिक वातावरण हो । उपन्यासमा सिद्धार्थको यात्रा बाह्यभन्दा बढी आन्तरिक मनोविज्ञानको यात्रा हो । बाल्यकालको शान्ति र असन्तुष्टि, संन्यास र तपस्याको असफलता, कामवासना र सांसारिक अनुभव अन्ततः आत्मज्ञान र स्वीकारको परिवेश निरन्तर परिवर्तन हुँदै उपन्यासका प्रमुख पात्र सिद्धार्थको चेतनास्तरसँग जोडिन्छ ।
३.५. दार्शनिक परिवेश
“सिद्धार्थ” उपन्यासको सम्पूर्ण परिवेश मूलतः बौद्ध दर्शन र उपनिषद्बाट प्रभावित छ । विशेष गरी “ज्ञान अरूबाट सिकेर मात्र होइन, आफ्नै अनुभवबाट प्राप्त हुन्छ” भन्ने विचार सम्पूर्ण कथामा व्याप्त छ । यस उपन्यास मार्फत लेखक हर्मन हेस्सेले पूर्वीय दर्शनलाई पश्चिमी पाठकसमक्ष सरल, प्रतीकात्मक र कलात्मक रूपमा प्रस्तुत गरेका छन्, जसले पूरा उपन्यासलाई सार्वभौम बनाएको छ । सिद्धार्थ उपन्यासको परिवेश केवल स्थान वा समयको विवरण मात्र होइन, यो एक आध्यात्मिक र मनोवैज्ञानिक संरचना हो, जसले मानव जीवनको सम्पूर्ण यात्रालाई प्रतीकात्मक रूपमा देखाउँछ । जङ्गलदेखि सहरसम्म, नदीदेखि आत्मज्ञानसम्मको यात्रा वास्तवमा मानिसको आन्तरिक विकासको यात्रा हो । यसरी सम्पूर्ण औपन्यासिक परिवेश नै यस उपन्यासको आत्मा हो, जसले कथालाई केवल साहित्यिक मात्र नभई दार्शनिक अनुभव बनाएको छ ।

(लेखक: हर्मन हेस्से)
४. पात्र विश्लेषण:
लेखक हर्मन हेस्सेको यस “सिद्धार्थ” उपन्यासमा प्रत्येक पात्रहरू केवल कथा अघि बढाउने साधन मात्रै होइनन्, बरु उनीहरू आध्यात्मिक अवस्था, जीवनका चरण र दार्शनिक विचारहरूका प्रतीक हुन् । उपन्यासका प्रत्येक पात्रले सिद्धार्थको आत्म—अन्वेषण यात्रामा महत्त्वपूर्ण भूमिका खेल्छ ।
१. सिद्धार्थ— मुख्य पात्र
सिद्धार्थ उपन्यासको मुख्य केन्द्रीय पात्र हो । ऊ ब्राह्मण परिवारमा जन्मिएको, अत्यन्त बुद्धिमान्, जिज्ञासु र आत्मअन्वेषणमा समर्पित व्यक्ति हो । ज्ञान र सत्यको खोजीमा असन्तुष्ट, परम्परागत धर्म र शिक्षाबाट टाढा रहनु, आफ्नै अनुभवबाट सिक्ने र जान्ने विश्वास राख्नुका साथै जीवनका सबै रूप तपस्या, प्रेम, भोग र त्याग अनुभव गर्नु नै उनको जीवनको प्रमुख पात्रगत विशेषता हो । सिद्धार्थ “मानव आत्मा” को प्रतीक हो । ऊ कुनै निश्चित मार्गमा अड्किँदैन, बरु निरन्तर खोजी गर्छ । अन्ततः उसले बुझ्छ कि, सत्य पुस्तक, गुरु वा सिद्धान्तबाट मात्रै होइन, स्वयं अनुभव र आत्म—चिन्तनबाट मात्र प्राप्त गर्न सम्भव हुन्छ ।

(सिद्धार्थ – हर्मन हेस्से)
२. गोविन्द
गोविन्द सिद्धार्थको बाल्यकालको साथी हो । यद्यपि जीवन, अस्तित्व र अन्तिम ज्ञान बुद्धत्वको खोजीमा सिद्धार्थलाई सुरुवातदेखि साथ दिएर सांसारिक जीवन त्याग गर्ने एक त्यागी मित्रको रूपमा गोविन्द देखिन्छ, जो कालान्तरमा गएर बुद्धको अनुयायी बन्छ । उपन्यासमा गोविन्दको विशेषता धेरै विषयमा धेरै किसिमका पाउन सकिन्छ । अनुशासित, धैर्यवान्, भक्तिपूर्ण र परम्परागत गुरु र शिक्षामा विश्वास गर्ने साथै सिद्धार्थको सोच र विचारभन्दा ठीक विपरीत सोच र मान्यता नै गोविन्दको प्रमुख पात्रगत विशेषता हो । “जहाँ र जस्तै किसिमका ज्ञानका लागि पनि धैर्यता चाहिन्छ, तथापि अधैर्य भएर धेरै स्थान घुम्दैमा, साधना गर्दैमा बुद्धत्व प्राप्त गर्न सकिँदैन, तसर्थ साधना र धैर्यताबाट नै एकदिन मुक्ति अवश्यम्भावी छ” भन्ने मान्यता गोविन्द राख्दछ । उपन्यास अनुसार गोविन्दलाई एक “धार्मिक अनुयायी” को प्रतीकको रूपमा लिन सकिन्छ । ऊ बाहिरी शिक्षामा विश्वास गर्छ, सिद्धार्थ जस्तो व्यक्तिगत अनुभवमा होइन । उपन्यासको अन्त्यसम्म उसले सिद्धार्थको ज्ञानलाई बुझ्न त खोज्छ, तर पूर्ण रूपमा ग्रहण गर्न सक्दैन ।
३. गौतम बुद्ध
गौतम बुद्ध उपन्यासमा एउटा ऐतिहासिक र दार्शनिक रूपमा मात्र उपस्थित छन् । उपन्यासमा उनको विशेषता पूर्ण ज्ञान प्राप्त व्यक्ति, शान्त, करुणामय र स्थिर साथै शिक्षाद्वारा सम्पूर्ण मानव जातिलाई मुक्ति दिनमा प्रयासरत एक महामानवका रूपमा परिचित भइरहेको देखिन्छ । गौतम बुद्ध यहाँ “सिद्ध मार्ग” को प्रतीक हुन् । तर सिद्धार्थको बुझाइ अलग छ, सिद्धार्थले बुझ्छ कि बुद्धको शिक्षा उत्कृष्ट भए पनि, आफूले बोध नगरेसम्म अरूको ज्ञान ग्रहण गर्नु उधारो ज्ञान मात्रै हो । सच्चा ज्ञान प्राप्त हुनु बोध र अनुभव अपरिहार्य छ । त्यसैले उपन्यासका प्रमुख पात्र सिद्धार्थले बुद्धलाई सम्मान त गर्छ, तर उनको मार्ग स्वीकार गर्न सक्दैन ।
४. कमला
सिद्धार्थ उपन्यासमा कमला बुद्ध दर्शनलाई चुनौती दिँदै कथाभित्र एउटा पृथक् दर्शनको आयाम लिएर आउने एउटी महत्त्वपूर्ण महिला पात्र हुन् । उपन्यास अनुसार कमला एक सुन्दर, बुद्धिमानी र शिक्षित वेश्या हुन्, जसले उपन्यासका प्रमुख पात्र सिद्धार्थलाई प्रेम, कामवासना र भौतिक संसारसँग परिचित गराउँछिन् । आकर्षक, कलात्मकता, संस्कारी, प्रेम र सौन्दर्यको प्रतीक र सांसारिक जीवनमा दक्षता नै उनको प्रमुख पात्रगत विशेषता हो । उपन्यासमा कमला “इन्द्रिय सुख” र “भौतिक जीवन” को प्रतिनिधित्व गर्छिन् । उनी सिद्धार्थलाई प्रेम, कामवासना र सांसारिक मोहको आकर्षण बुझ्न मद्दत गर्छिन् । तर उनी पनि अन्ततः जीवनको क्षणभङ्गुरता स्वीकार गर्छिन् ।
५. कमलासँगको पुत्र
उपन्यासमा सिद्धार्थ पछि आउने एक महत्त्वपूर्ण प्रतीकात्मक पात्र कमलाबाट जन्मेको छोरो हो । विद्रोही, अहंकारी, असन्तुष्ट र बुबाबाट भाग्न चाहने प्रवृत्तिले यस पात्रलाई पुनरावृत्तिको प्रतीक मान्न सकिन्छ । जसरी जीवन, अस्तित्व र मुक्ति ज्ञानको खोजीमा सिद्धार्थले आफ्ना बुबालाई छोडेका थिए, त्यसरी नै कमलाबाट जन्मेका उनका छोराले पनि उसलाई छोडेर जान्छ । यसले जीवनको दोहोरो चक्र र कर्मको पुनरावृत्तिलाई छर्लङ्ग देखाउँछ । उपन्यासमा सिद्धार्थलाई पितृत्वको पीडा र मोह बुझाउन यस पात्रको महत्त्वपूर्ण भूमिका छ । आसक्ति र बिछोड कस्तो हुन्छ भन्ने पाठ सिद्धार्थलाई अनुभव गराउनमा यस पात्रको प्रमुख महत्त्व रहेको छ ।
६. कामस्वामी
“सिद्धार्थ” उपन्यासमा कामस्वामी एक महत्त्वपूर्ण तर सीमित दार्शनिक गहिराइ भएको पात्र हो । उसले सिद्धार्थको जीवनमा सांसारिक मोह र मायाको प्रतिनिधित्व गर्छ । कामस्वामी एक धनी व्यापारी हो, जसले सिद्धार्थलाई व्यापारमा लगाउँछ । ऊ धन, नाफा—नोक्सानमा केन्द्रित जीवन बिताउने र सिद्धार्थको आध्यात्मिक यात्रामा “भौतिक संसार” को प्रवेश गराउने पात्र हो । ऊ पूर्ण रूपमा भौतिक सुख—सुविधामा विश्वास गर्छ । अध्यात्म, आत्मज्ञान जस्ता कुरामा कुनै चासो नराख्ने ऊ व्यापार, पैसा र प्रतिष्ठा नै जीवन हो भन्ने ठान्छ । त्यसैले कामस्वामी उपन्यासमा “सांसारिक जीवन” को प्रतीक हो । समग्रमा कामस्वामी केवल व्यक्ति पात्र मात्र होइन, एउटा विचार पनि हो । मानिसको लोभ, मोह र भौतिक आसक्ति साथै समाजको त्यो वर्ग, जसले जीवनलाई केवल पैसामा मापन गर्छ यसको प्रतिनिधि पात्रको रूपमा कामस्वामी उपन्यासमा देखिन्छ ।
७. वासुदेव
वासुदेव नदी किनारका डुङ्गा चलाउने एक वृद्ध व्यक्ति हुन् । धैर्यवान्, सरल र मिजासी साथै कम बोल्ने तर गहिरो बुझाइ भएको प्रकृतिसँग एकाकार एक विशेषतायुक्त पात्रका रूपमा रहेका छन् । प्रकृतिकै काखमा बाँच्ने, हाँस्ने जीवन सिक्ने र सिकाउने प्रक्रियामा तल्लीन वासुदेवलाई “प्रकृतिसँगको एकता र मौन ज्ञान” को प्रतीकको रूपमा लिन सकिन्छ । सिद्धार्थ जस्तो उपन्यासका मुख्य पात्रलाई वासुदेव नदी सुन्न सिकाउँछन् । नदीको शून्यता, निर्मलता, निर्दोषपन र प्रकृतिसँगको परिपूरकलाई बुझ्न र महसुस गर्न सिकाउँछन् । नदी, डुङ्गा, माझी र प्रकृति एक अर्काको परिपूरक मात्रै होइन, यो त “सम्पूर्ण जीवन र चेतनाको एकता हो” भन्ने सिद्धार्थलाई बुझाउन वासुदेवको महत्त्वपूर्ण भूमिका रहेको छ ।
८. नदी— एक प्रतीकात्मक पात्र
नदी मानव पात्र होइन, यद्यपि उपन्यासमा यो अत्यन्त महत्त्वपूर्ण र जीवित पात्र जस्तै प्रस्तुत गरिएको छ । निरन्तर बगिरहनु, प्रकृति र जीवनका सबै समय (भूत, वर्तमान, भविष्य) एकसाथ देखाउनु नै नदीको प्रमुख विशेषताहरू हुन् । नदी सम्पूर्ण जीवन र चेतनाको एकता पनि हो । यसले सिद्धार्थलाई यस्तो अन्तिम ज्ञान दिन्छ कि, सबै कुरा एकै प्रवाहमा छन् । दुःख, सुख, जन्म र मृत्यु यी सबै यही प्रवाहका अपरिहार्य हुन् । तसर्थ पनि “सिद्धार्थ” उपन्यासका पात्रहरू केवल व्यक्ति मात्रै होइनन्, बरु मानव जीवनका विभिन्न दार्शनिक अवस्थाहरू हुन् । “सिद्धार्थ” आत्मअन्वेषण, “गोविन्द” ले आस्था र अनुकरण, “बुद्ध” ले ज्ञान र सिद्धि, “कमला” बाट कामवासना, भोग र प्रेम, “पुत्र” ले जीवनचक्र, “वासुदेव” प्रकृतिपरक मौन ज्ञानी र “नदी” ले सम्पूर्ण अस्तित्वको एकता यसरी प्रत्येक पात्रले मिलेर उपन्यासमा मानव जीवनको सम्पूर्ण आध्यात्मिक यात्राको चित्रण गर्छन् ।
५. विषयवस्तु:
हर्मन हेस्सेद्वारा लिखित विश्वप्रसिद्ध दार्शनिक उपन्यास “सिद्धार्थ” केवल एउटा सामान्य कथात्मक कृति मात्रै नभएर, यो एउटा मानव अस्तित्व, आत्मखोज र आध्यात्मिक यात्राको गहिरो पुनर्व्याख्या हो । पूर्वीय दर्शन— विशेषतः बौद्ध दर्शन र हिन्दू दर्शनबाट प्रभावित यस कृतिले जीवनका अर्थलाई बाह्य शिक्षामा होइन, व्यक्तिगत अनुभवमा खोज्नुपर्ने सन्देश दिन्छ ।
उपन्यासको मूल विषय बुद्धत्व, आत्मज्ञान वा आत्मखोज हो । सिद्धार्थको यात्रा कुनै धार्मिक सिद्धान्तको अनुकरण होइन, बरु आफ्नो अस्तित्वको गहिराइमा पुग्ने प्रयास हो । ऊ आफू ब्राह्मण परिवारमा जन्मिएर पनि परम्परागत ज्ञानबाट सन्तुष्ट हुँदैन । ऊ संन्यास, तपस्या, भोगविलास र अन्ततः साधारण जीवन हुँदै आफ्नै अनुभवबाट सत्य पहिल्याउँछ । यसबाट सिद्धार्थले “सत्य अरूले सिकाउन सक्ने वस्तु होइन, त्यो आफूले अनुभूति गर्नुपर्ने प्रक्रिया हो” भन्ने बोध गर्छ ।
उपन्यासमा “अनुभव” र “उपदेश” बीचको दार्शनिक द्वन्द्व प्रस्तुत भएको छ । जब सिद्धार्थ गौतम बुद्धसँग भेट गर्छ, तब उसले बुद्धको महानता स्वीकार्छ, तर उनको शिक्षालाई अन्धानुकरण गर्न अस्वीकार गर्छ । यस प्रसङ्गले “के सत्य केवल गुरुको वचनमा मात्रै सीमित हुन्छ ?” भन्ने गहिरो प्रश्न उठाउँछ । “ज्ञान सुनाएर दिन सकिन्छ, तर बुद्धत्व अनुभूति गरेर मात्र प्राप्त हुन्छ” भन्ने तर्क उपन्यासको केन्द्रमा छ । उपन्यासमा सिद्धार्थको जीवन आध्यात्मिकता र सांसारिकता दुई ध्रुवमा डुलेको छ । कमलासँगको प्रेम, कामस्वामीसँगको व्यापार र धन—सम्पत्तिको मोहले उसलाई भौतिक जीवनमा डुबाउँछ । तर यही अनुभवले उसलाई जीवनको निस्सारता बुझ्न मद्दत गर्छ । यसले बुझाउँछ कि “भोगबाट भागेर मात्रै होइन, भोगलाई बुझेर पनि वैराग्य प्राप्त गर्न सकिन्छ ।”
उपन्यासमा “नदी” सबैभन्दा शक्तिशाली प्रतीकको रूपमा आएको छ । “नदी” केवल भौतिक तत्व होइन, यो समय, जीवन र अस्तित्वको समग्रता हो । वासुदेवसँग बसेर सिद्धार्थले नदीबाट नै जीवनको यस्तो अन्तिम सत्य सिक्छ— “सबै कुरा एकैसाथ अस्तित्वमा छन्; विगत, वर्तमान र भविष्य छुट्टाछुट्टै होइनन् ।” नदीले प्रतीकात्मक रूपमा भन्छ; “जीवन कुनै रेखीय यात्रा होइन, यो एक चक्र हो जहाँ सबै कुरा एकैसाथ बगिरहेको छ ।”
उपन्यासको अर्को गहिरो विषय “एकत्व” हो । सिद्धार्थ अन्ततः यस निष्कर्षमा पुग्छ कि “संसारका सबै विरोधाभासहरू— सुख-दुःख, पाप-पुण्य, जन्म-मृत्यु अन्ततः एउटै समग्रताको अंश हुन् ।” यो विचार बौद्ध दर्शनको “निर्वाण” र हिन्दू दर्शनको “ब्रह्म” को अवधारणासँग मिल्दोजुल्दो छ । उपन्यासमा सिद्धार्थले अन्ततः समयलाई भ्रमको रूपमा बुझ्छ । नदीको प्रवाहले उसलाई सिकाउँछ कि “समय वास्तवमा टुक्रिएको होइन, सबै क्षणहरू एकसाथ विद्यमान छन् ।” यसले जीवनप्रतिको दृष्टिकोणलाई परिवर्तन गर्छ ।
उपन्यास “सिद्धार्थ” को सन्देश आजको युगमा अझ सान्दर्भिक देखिन्छ । प्रविधि, प्रतिस्पर्धा र बाह्य सफलताको दौडमा हराइरहेका आधुनिक मानिसहरूका लागि उपन्यासले भन्छ— आफूलाई चिन, अनुभवलाई प्राथमिकता देऊ, बाह्य सफलताभन्दा आन्तरिक शान्ति खोज र जीवनलाई विभाजनमा होइन, एकत्वमा बुझ । यही नै उपन्यासको महत्त्वपूर्ण सन्देश हो ।
६. भाषा/शैली:
६.१. सरलता भित्रको गम्भीरता:
लेखक हर्मन हेस्सेको भाषाको सबैभन्दा ठुलो विशेषता भनेको यसको सरलता भित्रको गहिराइ हो । पहिलो नजरमा उपन्यासको भाषा अत्यन्त सहज, प्रष्ट र बुझ्न सजिलो देखिन्छ । कुनै जटिल शब्दावली, अलङ्कारिक बोझ वा कठिन वाक्य प्रयोग गरिएको छैन । तर यही सरलताभित्र जीवन, अस्तित्व, आत्मज्ञान, मोक्ष जस्ता गहन दार्शनिक प्रश्नहरू समेटिएका छन् । यसले दुई तहमा काम गर्छ— “बाह्य तह” र “आन्तरिक तह” । “बाह्य तह” सामान्य पाठकले पनि सजिलै बुझ्न सक्छन् । तर “आन्तरिक तह” गहिरो चिन्तन गर्ने पाठकका लागि दार्शनिक अर्थको द्विस्तरीयताले उपन्यासलाई सर्वसुलभ र गम्भीर दुवै बनाएको छ । आलोचनात्मक दृष्टिले हेर्दा, कतिपय ठाउँमा अत्यधिक सरलताले पाठकलाई अधुरो व्याख्या जस्तो लाग्न सक्छ, किनकि लेखकले धेरै कुराहरू सङ्केतमा छोडेका छन् । तर यही खुलापनले पाठकलाई आफ्नै अर्थ निर्माण गर्न स्वतन्त्र बनाउँछ ।
६.२. काव्यात्मकता
“सिद्धार्थ” गद्य उपन्यास हो । यसको भाषा गहिरो रूपमा काव्यात्मक छ । उपन्यासमा लेखक हेस्सेले शब्दहरूको चयन, वाक्यहरूको लय र ध्वंसात्मक पुनरावृत्ति मार्फत एउटा सङ्गीतात्मक प्रवाह सिर्जना गरेका छन् । नदीको बहाव, हावाको स्पर्श, मौनताको गहिराइ— यी सबैलाई वर्णन गर्दा भाषा कविता जस्तै प्रवाहित हुन्छ । उपन्यासका वाक्यहरूमा एक प्रकारको शान्त र दोहोरिने तालको लयात्मकता छ भने दृश्यात्मक र भावनात्मक चित्रणको बिम्ब छ । आलोचनात्मक रूपमा हेर्दा, केही पाठकलाई यो शैली “कथानकहीन” जस्तो लाग्न सक्छ । कथा अगाडि बढ्नुभन्दा बढी भाषा र अनुभूति केन्द्रमा आउँछ । तर यही काव्यात्मकता नै यस उपन्यासको आत्मा हो ।
६.३. प्रतीकात्मकता
उपन्यासको भाषा अत्यन्तै प्रतीकात्मक छ । साधारण वस्तुहरूलाई गहिरो दार्शनिक अर्थ दिइएको छ । नदी— समय, जीवन र एकत्व, ॐ— ब्रह्म, सार्वभौमिक सत्य, र यात्रा— आत्म—खोज जस्ता अर्थ दिएर उपन्यासमा दार्शनिक प्रतीकात्मकताको प्रयोग भएको छ । उपन्यासले प्रत्यक्ष रूपमा उपदेश दिँदैन, बरु प्रतीकहरू मार्फत अर्थ निर्माण गर्छ । यसले पाठकलाई सक्रिय रूपमा सोच्न बाध्य बनाउँछ । आलोचनात्मक रूपमा, प्रतीकहरूको अत्यधिक प्रयोगले कहिलेकाहीँ पाठकलाई अस्पष्ट वा अत्यधिक दार्शनिक बनाउँछ । सबै पाठकले एउटै अर्थ निकाल्न सक्दैनन् । तर यही बहुअर्थीपन नै यस कृतिको साहित्यिक शक्ति हो ।
६.४. ध्यानात्मक शैली
“सिद्धार्थ” उपन्यासको भाषा शान्त, स्थिर र अन्तर्मुखी ध्यान जस्तै छ । कथानक भन्दा बढी चिन्तन, संवाद भन्दा बढी मौनता, क्रिया भन्दा बढी अनुभूति पाइनुले पाठकले पुस्तक पढ्दै गर्दा ऊ कुनै कथा होइन, आफ्नै जीवनमा ध्यान गरिरहेको अनुभूति गर्छ । तर यही शैली सबै पाठकका लागि उपयुक्त नहुन पनि सक्छ । उपन्यासमा तीव्र घटनाक्रम चाहने पाठकहरूलाई भने यो अत्यधिक “सुस्त” वा ढिलो लाग्न सक्छ ।
६.५. दार्शनिकता
भाषामा पूर्वीय दर्शन (विशेषतः हिन्दू र बौद्ध चिन्तन) को गहिरो प्रभाव छ । आत्मा र ब्रह्मको सम्बन्ध, दुःख र मोक्ष, ज्ञान र अनुभव आदि । तर उपन्यासमा लेखकले कुनै निश्चित सिद्धान्त थोपरिरहेका छैनन्, बरु हरेक पात्रहरूको अनुभव मार्फत सत्य उजागर गर्छन् । “ज्ञान सिकाएर सिकाउन सकिँदैन, अनुभव गर्नुपर्छ” भन्ने भाव उपन्यासको भाषामा निरन्तर प्रवाहित छ । आलोचनात्मक दृष्टिले कतिपय ठाउँमा अत्यधिक गहिरो दर्शन भएकोले सामान्य पाठकका लागि कठिन हुनसक्छ । तर यसले सिङ्गो उपन्यासलाई साधारण कथा भन्दा माथि उठाउँछ ।
६.६. पुनरावृत्ति र लय
लेखक हेस्सेले उपन्यासमा केही शब्द र वाक्यांशहरू बारम्बार दोहोऱ्याएका छन् । जस्तै— “नदी”, “ॐ”, “शान्ति” । यसको प्रभावले ध्यानात्मक वातावरण सिर्जना हुन्छ र, पाठकको मनमा गहिरो छाप बस्छ । तर, अत्यधिक पुनरावृत्तिका कारण केही पाठकलाई मोनोटोनस लाग्न सक्छ । यद्यपि ध्यानको प्रकृतिसँग मिल्दोजुल्दो भएकाले जानाजानी पनि यो शैली प्रयोग गरिएको हो । “सिद्धार्थ” उपन्यासमा पुनरावृत्ति र लय केवल भाषिक शैलीका उपकरण मात्रै होइनन्, बरु सम्पूर्ण दार्शनिक यात्रालाई संरचना दिने आधार तत्व हुन् । लेखक हेस्सेले यी तत्वहरूलाई अत्यन्त सचेत ढङ्गले प्रयोग गरेका छन् । यसले कृतिलाई साधारण कथा भन्दा माथि उठाएर ध्यानात्मक र आध्यात्मिक अनुभूतिमा रूपान्तरण गर्छ । पुनरावृत्ति र लयको समन्वयले कथा पढिने र सुनिने मात्र नभई महसुस हुने बन्नुका साथै पाठक पनि पात्र सँगै यात्रामा सहभागी हुन्छ र दर्शनलाई बौद्धिक मात्र होइन, अनुभूतिमूलक बनाउँछ ।
६.७. संवाद शैली
“सिद्धार्थ” उपन्यासमा संवाद शैली अत्यन्त सुस्पष्ट, दार्शनिक र न्यूनतावादी छ । लेखकले संवादलाई केवल पात्रबीचको कुरा आदान—प्रदानको माध्यम मात्रै बनाएका छैनन्, बरु त्यसलाई आत्मअन्वेषण र सत्यको खोजको साधनको रूपमा प्रयोग गरेका छन् । यस उपन्यासका संवादहरू सामान्य सामाजिक वा भावनात्मक कुराकानीभन्दा बढी गहिरा छन् । प्रत्येक संवादमा जीवन, आत्मा, ज्ञान, मोक्ष जस्ता विषय उठ्छन् र पात्रहरूले प्रश्न—उत्तर मार्फत सत्य खोज्ने प्रयास गर्छन् । सिद्धार्थ र गोविन्द बीचको संवादले “ज्ञान सिक्न सकिँदैन कि सकिँदैन ?” भन्ने प्रश्न उठाउँछ भने, गौतम बुद्धसँगको संवादमा सिद्धार्थले “अनुभव नै सत्य हो” भन्ने निष्कर्षतर्फ सङ्केत गर्छ, जसले संवाद यहाँ बहस होइन, आत्मबोधको प्रक्रिया हो भन्ने अनुभूति हुन्छ । संवाद छोटा, स्पष्ट र अनावश्यक अलङ्कारविहीन छन् । लामो व्याख्या भन्दा साना वाक्यमा गहिरो अर्थ राखिएकाले पाठकलाई आफै अर्थ खोज्न प्रेरित गर्छ । संवादले कथालाई अगाडि बढाउँछ, तर त्यो भन्दा बढी पात्रको आन्तरिक विकास देखाउँछ— जसले कथा “घटना” भन्दा “विचार र अनुभूति” मा केन्द्रित हुन्छ । निष्कर्षतः “सिद्धार्थ” उपन्यासमा संवाद शैली साधारण कथात्मक उपकरण होइन, आध्यात्मिक यात्राको मूल माध्यम हो । लेखक हेस्सेले उपन्यासमा संवादलाई न्यून शब्दमा गहिरो अर्थ दिने, मौनतालाई समेत अभिव्यक्तिको रूप बनाउने र पाठकलाई सोच्न बाध्य पार्ने शैलीमा प्रस्तुत गरेका छन् ।
७. संरचना:
हर्मन हेस्से द्वारा लिखित विश्वप्रसिद्ध उपन्यास “सिद्धार्थ” को संरचना बुझ्नका लागि केवल “कथा कसरी अगाडि बढ्यो” भन्ने हिसाबले मात्र होइन, जीवनको आध्यात्मिक यात्रालाई कसरी व्यवस्थित गरियो भन्ने दृष्टिबाट हेर्नुपर्दछ । लेखकले यस उपन्यासमा बाहिरी घटनाभन्दा भित्री अनुभूति र रूपान्तरणलाई केन्द्रमा राखेर संरचना निर्माण गरेका छन् । त्यसैले यस उपन्यासको संरचना व्याख्या गर्दा चरण—चरणमा यसको अर्थ खुल्दै जान्छ । उपन्यासको संरचना मूलतः दुई भागमा विभाजित छ, र यी दुई भागले जीवनका दुई ठुला आयाम देखाउँछन् ।
पहिलो भागमा— सिद्धार्थ बाह्य संसारमा सत्यको खोज गर्छ । ऊ ब्राह्मण जीवनबाट सुरुवात गरेर सन्न्यासको बाटो हुँदै गौतम बुद्ध सम्म पुग्छ । यहाँ उसको विश्वास छ— सत्य कसैबाट सिक्न सकिन्छ । तर अन्ततः सिद्धार्थ असन्तुष्ट नै रहन्छ ।
दोस्रो भागमा— सिद्धार्थ अनुभवतर्फ जान्छ । कमलासँगको भोगवादी जीवन, कामस्वामीसँगको व्यापार र धन आर्जन, छोरा प्रतिको मोह र निराशापछि ऊ नदी किनारमा पुग्छ र त्यही नदीमा डुङ्गा चलाउने वासुदेवसँग बस्दै आत्मज्ञान प्राप्त गर्छ । उपन्यासको यस्तै संरचनाले “सत्य सिकेर होइन, बाँचेर मात्र पाइन्छ” भन्ने स्पष्ट दार्शनिक सन्देश दिन्छ ।
उपन्यासको संरचना सिधा रेखामा अगाडि बढ्दैन, बरु वृत्त जस्तो घुमिरहन्छ । सुरुवातमा सिद्धार्थ शान्त, जिज्ञासु र आध्यात्मिक छ । बीचमा ऊ सांसारिक मोह र भोगवादी जीवनमा फस्छ । अन्त्यमा फेरि शान्त र आत्मबोधमा पुग्छ । यहाँ महत्त्वपूर्ण कुरा के छ भने— ऊ सुरुवातकै ठाउँमा फर्किएको देखिए पनि, त्यो पुरानो अवस्था होइन, परिपक्व रूपान्तरण हो । यसले “जीवन घुम्छ, दोहोरिन्छ, तर प्रत्येक चक्रले मानिसलाई गहिरो बनाउँछ” भन्ने देखाउँछ । उपन्यासमा समय र गतिको चयनात्मक प्रस्तुति बडो गज्जबको छ । उपन्यासको समय लामो छ— बाल्यकालदेखि बुढेसकालसम्म । तर लेखकले सबै कुरा विस्तारमा भनेका छैनन् । केही वर्षहरू छोटकरीमा बिताइएको छ भने केही क्षणहरूलाई धेरै गहिरो बनाइएको छ । यसले के देखाउँछ भने— “जीवनमा सबै समय समान हुँदैन, केही क्षणहरू मात्रै निर्णायक हुन्छन् ।”
निष्कर्षतः “सिद्धार्थ” उपन्यासको संरचना साधारण कथात्मक ढाँचा होइन, यो एउटा आध्यात्मिक नक्सा जस्तै हो । लेखक हर्मन हेस्सेले जीवनलाई चरण, चक्र, प्रतीक र अनुभूतिका माध्यमबाट यसरी व्यवस्थित गरेका छन् कि पाठकले कथा मात्रै पढ्दैन, आफू पनि त्यही यात्रामा बगिरहेको अनुभव गर्छ । यसैले भन्न सकिन्छ— यस उपन्यासमा संरचना केवल कथा मिलाउने तरिकाको रूपमा होइन, दार्शनिक सन्देश व्यक्त गर्ने मूल माध्यमको रूपमा आएको छ ।
निष्कर्ष:
हर्मन हेस्सेको यस प्रसिद्ध उपन्यास सिद्धार्थको अन्तिम निष्कर्ष केवल कुनै कथाको टुङ्गो जस्तो होइन, यो त सम्पूर्ण जीवनदर्शनको परिपक्व अभिव्यक्ति हो । यो उपन्यास कुनै निश्चित उत्तरमा पुगेर टुङ्गिँदैन, बरु पाठकलाई आफै उत्तर खोज्न उक्साउने खुला अन्त्य प्रस्तुत गर्छ । सिद्धार्थको दीर्घ यात्रा— संन्यास, भोग, मोह, मोहभङ्ग र अन्ततः साधारण जीवन सबै अनुभवहरूको समष्टिबाट उसले प्राप्त गरेको बोधले देखाउँछ कि, “सत्य बाहिर कतै लुकेको वस्तु होइन, यो स्वयं जीवनको अनुभवभित्रै विद्यमान छ ।”
उपन्यासको मूल उपलब्धि यही हो कि— यसले ज्ञानलाई सिद्धान्त वा उपदेशको दायराबाट मुक्त गर्दै अनुभवको तहमा उतार्छ । बौद्ध दर्शन र हिन्दू दर्शनबाट प्रभावित दर्शनलाई लेखक हेस्सेले कुनै धार्मिक आग्रहका रूपमा होइन, मानवीय चेतनाको सार्वभौमिक यात्राका रूपमा प्रस्तुत गरेका छन् । सिद्धार्थले अन्ततः बुझ्ने कुरा के हो भने जीवनका सबै द्वन्द्वहरू— सुख र दुःख, पाप र पुण्य, मोह र मोक्ष एकअर्काबाट पृथक् छैनन्; ती एउटै समग्र अस्तित्वका विभिन्न रूप मात्र हुन् ।
उपन्यासको अन्त्यमा देखिने शान्त मुस्कान र मौनता कुनै पराजयको सङ्केत होइन, त्यो पूर्णताको प्रतीक हो । यहाँ शब्दहरू अप्रासंगिक र अनुभूति नै अन्तिम सत्यको माध्यम बन्छ । यही कारणले “सिद्धार्थ” केवल पढिने कृति मात्र होइन, अनुभव गरिने कृति बनेको छ । समकालीन सन्दर्भमा पनि यस उपन्यासको महत्त्व उत्तिकै गहिरो छ । बाह्य सफलताको अन्धदौड, भौतिक उपलब्धिको मोह र पहिचानको संकटबीच अल्मलिएको आधुनिक मानवका लागि यसले आन्तरिक शान्ति, आत्मचिन्तन र आत्मखोजको बाटो देखाउँछ । कथाको अन्त्यमा आइपुग्दा सिद्धार्थ कुनै गुरु, धर्मग्रन्थ वा बाह्य सत्यको प्रतिनिधि हुँदैन, ऊ स्वयं अनुभवबाट निस्किएको सत्यको साक्षी बन्छ । यही बिन्दुमा उपन्यासले आफ्नो सबैभन्दा गहिरो दार्शनिक स्वर प्रकट गर्छ ।
उपन्यासको अन्त्यले स्पष्ट गर्छ कि, सिद्धार्थले प्राप्त गरेका ज्ञान शिक्षण प्रक्रियाको नतिजा होइन । ऊ ब्राह्मणहरूको वेदज्ञान, संन्यासीहरूको तपस्या र स्वयं गौतम बुद्धको उपदेशबाट समेत सन्तुष्ट हुन सक्दैन । अन्ततः ऊ नदी किनारमा साधारण जीवन जिउँदै, आफ्नै अनुभवहरूको समष्टिबाट बुझाइमा पुग्छ । अन्ततः सिद्धार्थको निष्कर्ष एउटा सशक्त सन्देशमा सङ्कलित हुन्छ— सत्य सिकाइने विषय होइन, अनुभूति गरिने यात्रा हो र त्यो यात्रा प्रत्येक मानिसले आफ्नै अनुभव भित्रबाट आरम्भ गर्नुपर्छ ।


